२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । यो सालको वैशाखबाट पार्टी ७५ अौँ वर्षमा प्रवेश गरेको छ । यो वर्ष कम्युनिष्ट पार्टी स्थापनाको हिरक वर्ष (Diamond year) हो र हिरक वर्षलाई मनाउने क्रममा हामीले ७५ वर्षको कम्युनिष्ट आन्दोलनलाई पछाडि फर्केर हेर्न आवश्यक छ । कम्युनिष्ट आन्दोलन आफ्नो लक्ष्यमा कति माथि पुगेको छ वा तल ओर्लेको छ ? कम्युनिष्ट पार्टीमा लागेका हरेक व्यक्ति व्यक्तित्वहरूले ७५ वर्षको इतिहासलाई नियालेर हेर्न र आगामी कार्यदिशालाई कसरी निश्चित गर्न सकिन्छ तथा सर्वहारावर्गको लक्ष्य उद्देश्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विचार गर्नुपर्ने आवश्यकता छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरूले नेपालको सामन्तवाद र विशेषत: भारतीय हस्तक्षेपबाट मुक्त भएको नयाँ जनवादी गणतन्त्र स्थापित गर्ने लक्ष्य राखेका थिए । नेपालमा राजतन्त्रको समूल अन्त गर्नु पथ्र्यो र देशमा सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा संयुक्त जनवादी अधिनायकत्व स्थापना गरेर देशलाई अन्य देशको दाँजोमा पुर्याउनु पथ्र्यो । तर यो महान लक्ष्यलाई पार्टीभित्रका राजापरस्त तत्त्वहरूले तुहाई दिए । तात्कालीन महासचिव केशरजङ्ग रायमाझीले राजाको २०१७ को सैनिक ‘कु’ लाई समर्थन गरेर “प्रगतिशील” कदम बताए । पार्टीलाई दरबारिया पार्टी बनाए । पार्टीले ठूलो धक्का खायो । त्यहाँ भित्रका कैयौँ क्रान्तिकारीहरूले पार्टीको पुनर्गठन गर्न शुरु गरे । तृतीय महाधिवेशनपछि पार्टी फेरि खु्रश्चेभी संशोधनवादतर्फ मोडिन थाल्यो । तात्कालीन महासचिव तुल्सीलालले पार्टीको पुनर्गठनलाई ठीकसित क्रान्तिकारी रुपान्तरण गर्नुको साटो पुँजीवादी बाटोतर्फ लागे । फलस्वरूप बेग्लाबेग्लै क्षेत्रमा एक भन्दा बढी पार्टीहरू गठन हुन थाले । त्यही क्रममा पीएलले कम्युनिष्ट पार्टीको पुनर्गठन गरे । पूर्वमा कोशी प्रान्तीय कमिटी केन्द्रबाट सम्बन्ध विच्छेद गरेर स्वतन्त्र रुपमा संचालित भयो । मोहनविक्रमसिंह सहित अन्य केही नेताहरूले केन्द्रीय न्यूकलसको गठन गरे । यसरी देशमा पार्टी पुनर्गठनको लहर चलेको थियो ।
एउटा जिम्मेवार नेताले पार्टीलाई अवसरवादी बाटोतर्फ लैजान खोज्दाको परिणाम पार्टी टुटफुट विभाजन भई तितरवितर हुन पुग्यो । त्यसपछि पनि पुनर्गठित पार्टीहरू फुट र विभाजित भए । विभाजित भएका पार्टीहरू फेरि पुनर्गठित हुन थाले । एमाले र माओवादी तितरवितर भई छरिएका कम्युनिष्ट घटकहरू मिलेर बनेका पार्टीहरू हुन् । फुट र पुनर्गठनको काम त्यही मात्र सीमित छैन । स्वयं एमाले कैयौँ पटक फुटेको छ फेरि पुनर्गठन भएको छ । माओवादी पनि पाँचौँ महाधिवेशनपछि एक पटक फुटे पछि कैयौँ घटकहरू मिलेर बनेको हो । त्यो पार्टी पनि कैयौँ टुक्रामा विभाजित हुन पुग्यो । फेरि एमाले र माओवादी एकीकरण भई पुनर्गठन भयो । त्यो धेरै दिन टिक्न सकेन । अहिले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) दुई क्रान्तिकारी पार्टीबीच एकता भएको छ । माओवादीकेन्द्र सहित केही घटकहरूको समाजवादीकेन्द्र बनाउने कुरा चलेको छ । नेकपा (नेकपा) को पछिल्लो फुट क्रान्तिकारी र अवसरवादीबीचको फुट थिएन । त्यो अवसरवादीहरू बीचको गुटगत स्वार्थको फुट थियो । तर माओवादी भित्रको फुटमा अशंत: संशोधनवादका विरुद्धको फुट थियो ।
आज नेपालको कम्युनिष्ट आन्दोलन फेरि सङ्कटमा परेको छ । हिजो एउटा केशरजङ्ग रायमाझी मात्र केही पिछलग्गुहरूलाई लिएर राजापरस्त भएर गएका थिए । तर आज त्यस्ता केशरजङ्ग रायमाझी धेरै पार्टीहरूमा रहेका छन् । जसका कारणले गर्दा कम्युनिष्ट भनिने पार्टीहरू दलाल पुँजीवादी संसदीय व्यवस्थामा चुर्लुम्म डुबेका छन् । त्यसको नेतृत्व एमाले र माओवादीले गरिरहेका छन । विश्वमा संशोधनवाद अहिले मजबुत अवस्थामा छ । त्यसले साम्राज्यवादसित सहकार्य गरेको छ । विश्वस्तरमा चीन लगायतका देशहरूले त्यसको नेतृत्व पनि गरिरहेका छन् । त्यसकारण विश्वभरिका वामपन्थी क्रान्तिकारीहरूलाई अवरोधहरू खडा गरिएका छन् । पार्टीमा सङ्गठित वा असङ्गठित रुपमा रहेका नेपालका वामपन्थी क्रान्तिकारीहरू आज पनि ठूलो सङ्ख्यामा निस्क्रिय अवस्थामा आफ्ना विचार सम्प्रेषणमा सीमित भई बसेका छन् । यो अवस्था कम्युनिष्ट आन्दोलनका लागि चिन्ताको विषय हो ।
हाम्रो पार्टी नेकपा (मशाल) पनि मसालभित्रको संशोधनवादका विरुद्ध सङ्घर्षबाट जन्मिएको हो । कुनै बेला मसाल नेपालको प्रमुख क्रान्तिकारी पार्टी थियो । नेपालका सर्वहारा जनताले मसालबाट क्रान्ति र परिवर्तनको ठूलो आशा गरेका थिए । तर कालान्तरमा मसाल पनि दलाल पुँजीवादका अगाडि आत्मसमर्पण गरेपछि क्रान्तिकारीहरू त्यहाँबाट विद्रोह गर्दै पार्टी पुनर्गठन गर्न पुगे र आज पुनर्गठित नेकपा (मशाल) ले क्रान्तिकारी विचारलाई अगाडि बढाएको छ । अहिले क्रान्तिकारीहरू सामु क्रान्तिकारी विचारको रक्षा एउटा चुनौती बनेको छ । क्रान्तिकारी विचारको रक्षा कुनै एउटा पार्टीले मात्र गर्न सक्दैन, सङ्गठित वा असङ्गठित सबै क्रान्तिकारीहरूको साझा दायित्व हो । त्यसकारण पार्टी पुनर्गठन र ध्रुवीकरणको पहल गर्नु पनि सबैको दायित्व हो ।
डा. केशरजङ्ग रायमाझीले शुरु गरेको क्रान्तिविरोधी यात्राको सूची धेरै लामो छ । त्यो यात्रा अहिले एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र हुँदै मोहनविक्रम सिंहसम्म आइपुगेको छ । यो यात्राका अनुयायीहरू अरु थपिंदै जानेछन् । किनकि संशोधनवादले माक्र्सवादी लेनिनवादी सिद्धान्त विरुद्ध विश्वव्यापी अभियान चलाएको छ ।
रायमाझी दलाल पुँजीवाद वा अमेरिकन साम्राज्यवादलाई समर्थन गर्ने दलाल भएनन् । विशेषत: सामन्तवादका दलाल र शोभियत सामाजिक साम्राज्यवादका अनुयायी भए । तर अहिलेका अन्य नेताहरू दलाल पुँजीवादको सेवा गर्दै साम्राज्यवादसित सम्बन्ध जोडेका छन् । रायमाझीले नेपाल राष्ट्रको अस्मितामाथि खेलवाड गरेनन् । अर्थात् उनी लेण्डुप दोर्जे बनेनन्् । तर अहिलेका नेताहरू लेण्डुप दोर्जे बन्ने लाइनमा बसेका छन् । राजाको अधिनायकवादले जनताको मौलिक हक खोसेको थियो । तर अमेरिकी साम्राज्यवाद, यूरोपियन साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरूको अधिनायकवादले देशलाई नै साम्राज्यवादीहरूको रणमैदान बनाउने अवस्था छ । कुनै पनि बेला देश युक्रेन वा सिक्किम बन्ने अवस्था नजिकिंदै गएको छ । केशरजङ्गको गद्दारीले जनतालाई आफ्नै देशको राजाले दास बनाएको थियो भने अहिलेका कथित कम्युनिष्ट नेताको गद्दारीले साम्राज्यवादको दास बन्नु पर्ने अवस्था आएको छ । यसबाट स्पष्ट छ कि रायमाझीको भूमिका भन्दा अहिलेका कम्युनिष्ट नेताहरूको भूमिका धेरै नै खतरनाक छ । देशमा जतिपनि राष्ट्रघात, जनघात वा भ्रष्टाचार भएको छ, त्यो सबै यी गद्दार कम्युनिष्ट नेताहरूको सहयोगबाटै भएको छ । महाकाली सन्धिदेखि लिएर एमसीसी र राष्ट्रघाती नागरिकता विधेयक÷ऐनसम्म यिनीहरूको सहयोगी भूमिका रहेको छ । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणले झन नंग्याएको छ ।
७५ वर्षको अवधिमा कम्युनिष्ट आन्दोलनले लक्ष्य चुम्न सकेन । तर पनि एउटा उपलब्धि भएको छ– त्यो हो लोकतान्त्रिक गणतन्त्रको स्थापना । अहिलेको वाम आन्दोलनको विवाद लोकतन्त्रमा सीमित रहने कि नयाँ जनवाद र समाजवादतर्फ अगाडि बढ्ने भन्ने रहेको छ । लोकतन्त्र एउटा समयमा एउटा उपलब्धि भयो । तर त्यसमा सीमित रहनु भनेको विश्व पुँँजीवाद र नव उपनिवेशवादलाई स्वीकार गर्नु हो । नेपालको हकमा दलाल पुँजीवादलाई स्वीकार गर्नु हो । अरु देशमा खास गरेर रूसमा पार्टी स्थापनाको दुई दशक र चीनमा तीन दशकमा सर्वहारावर्गले सत्ता कब्जा गर्यो । तर नेपालमा सात दशक वित्दा पनि नेताहरू कै कारण शुद्ध पुँजीवाद पनि कायम गर्न सकेनौँ । हिरक वर्षको सन्दर्भमा नेपालका वामपन्थी क्रान्तिकारीहरूले अब सोच्नु पर्ने बेला आएको छ । अवसरवादी नेतृत्वका कारण संशोधनवादी भट्कावमा फसेको कम्युनिष्ट आन्दोलनलाई अब ठीक क्रान्तिकारी बाटोमा ल्याउन आ–आफ्नो ठाउँबाट सबैले प्रयास गरौँ ! माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौँ !
(नेपाल कम्युनिष्ट पार्टी मशालको मुखपत्र मशालको सम्पादकीय)