कमरेड, गदर प्रति श्रद्धाञ्जलीका दुई पुष्प

नारायण योगी ••
गुम्मादी विप्ठल राव जो गदरका नामले लोकप्रिय र क्रान्तिकारी गीत सङ्गीतको क्षेत्रमा प्रशिद्ध थिए । जसको हैदरावादको अपोलो अस्पतालमा उच्च रक्तचापका कारण, भर्ना भएका र सो नियन्त्रण नभएर मस्तिष्क आघातका कारण ५ अगस्ट २०२३ को सबेरै मृत्यु भयो । उनी एक प्रशिद्ध क्रान्तिकारी जनगायक तथा पूर्व भाकपा (माओवादीका) एक क्रान्तिकारी कार्यकर्ता थिए । गदर क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा सहभागी मात्र नभएर जननाट्य मण्डलीको नेतृत्व समेत गरेका थिए । गदर असी र नब्बेको दशकमा विशेषत : अभिभाजित आन्ध्र प्रदेशमा निकै लोकप्रिय थिए । उनका क्रान्तिकारी गीतहरूको हिन्दी लगायत धेरै भाषामा अनुवाद गरिएको छ । हामीले यहाँ केही गीतहरू थारु भाषामा पनि अनुवाद गरेर जनतामाझ लिएर गएका छौँ ।

उनले भाकपा (माओवादी) पार्टी सन् २०१० मा छाडेर तेलङ्गाना निर्माण अभियानमा लागे र सन् २०१७ मा तेलङ्गाना प्रजा परिषद् गठन गरे । कमरेड गदरको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । उनीसँग मेरो पनि प्रवासमा काम गर्दाका बखत संयोगले भेट भएको थियो, त्यसबारेमा पनि निम्न कुरा राख्न चाहान्छु ।

म छत्तिसगढ राज्यको भिलाई स्पात नगरमा करिब आठ वर्षदेखि रहँदै आएको थिएँ । त्यहाँ अभानेए समाजसँग सम्बद्ध भएदेखि नगर सचिव र नेकपा (मसाल) को भिलाई पार्टी नगर सचिव जिम्मेवारी लिएर काम गरेको थिएँ । त्यही सिलसिलामा भारतीय कम्युनिस्ट पार्टी रेड फल्यागका कमरेड तुहीन देव, कमरेड उमाकान्तसँग पनि परिचय भयो । यसै सिलसिलामा सन् १९९० अक्टोवर २ को गान्धी जयन्तीको बेलामा शङ्कर हा नियोगीले नेतृत्व गरेको छत्तिसगढ मुक्ति मोर्चा, जसको मुख्य मागहरू मध्ये एउटा छुट्टै छत्तिसगढ राज्य निर्माणको माग थियो, जो पछि बन्यो पनि । छत्तिसगढ मुक्ति मोर्चाले गान्धी जयन्तीको सन्दर्भमा भिलाई इस्पात नगरीमा ३०–४० हजार मजदुर, किसानहरूको जनसमूहको सहभागितामा विशाल जन प्रदर्शनको कार्यक्रम राखेको थियो । पछि त्यो कार्यक्रमलाई स्थानीय सरकारले भिलाईमा गन रोक लगायो र रायपुरमा कार्यक्रम गर्ने ठेगान भयो । ठिक त्यही बेलामा, भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार ग्रुप) माथि प्रतिबन्ध आन्ध्र प्रदेशमा अस्थायी रुपमा फुकुवा भएको, थियो र त्यही सिलसिलामा पीडब्लुजीको सांस्कृतिक सङ्गठन जन नाट्य मण्डलीको नेतृत्व गरेर भारतव्यापी अभियान संचालन गरेर हिंडेका क्रान्तिकारी जनगायक कमरेड गदर र क्रान्तिकारी करिव क. बर्बरा राव पनि आफ्नो सांस्कृतिक टोली लिएर भिलार्ई आइपुगेका थिए ।

उक्त टोलीले भिलाई, दुर्ग, सुपेलाका मजदुर वस्तीहरूमा र विशेष गरेर भिलाई इस्पात नगरीमा मजदुरहरूको बीचमा आफ्नो क्रान्तिकारी गीत, सङ्गीत र सडक नाटक प्रस्तुत गर्दै पीडब्लुजीको बारेमा व्यापक प्रचारप्रसार गरिरहेको थियो । म उहाँहरूको कार्यक्रम हेर्नका लागि सम्भव विभिन्न स्थानहरूमा सहभागी हुने गरें । उहाँहरूको बस्ने स्थान र मेरो बस्ने कोठा पनि नजिकै रहेकोले म कार्यक्रम नहुँदा पनि भेट्न जान्थेें । कमरेड गदर कमरेड बर्बरावको नाम मैले सुनेको, उहाँहरूको रचना पढेको, र गीतहरू पनि अडियोमा सुनेको थिएँ । प्रत्यक्ष भेटको अवसर भने पहिलो पटक जुर्‍यो । उहाँहरू एघार जना र दुई जना सहयोगीहरू सहित तेह्र जना हुनुहुन्थ्यो । उहाँहरूको टोलीले एउटा मिनी बस नै लिएर आएको थियो । जसमा रसद, पानी साथमा थियो, उहाँहरू आफै मेष चलाउने गर्नु हुन्थ्यो ।

कमरेड, गदर, गुम्बादी विठुल राव होचो कदका, गोलो र हसिंलो अनुहार, रङ्ग गहुँ गोरो, अनुहारमा देदिप्यमान चमक, मृदुभाषी र तर्कशिलता जवरजस्त थियो । उनको लामा लामा दाह्री जुँगा घुम्रिएको कपाल, उमेर ४० वर्ष करिब थियो । उनी निकै जोशिला र उर्जावान देखिन्थे । उहाँहरू खास गरेर छत्तिसगढ मुक्ति मोर्चाको २ अक्टोबर १९९० मा हुन गैरहेको विशाल जनसभामा आफ्नो कार्यक्रम प्रस्तुत गर्ने योजना सहित आउनु भएको थियो । छत्तिसगढ मुक्ति मोर्चाका नेता शेकर गुहा नियोगीको राजनैतिक पृष्ठभूमि पनि पिडब्लुजीसँग जोडिएका थियो । तर उनी प. बङ्गालबाट भिलाई र डल्ली राजहरा आएर आफ्नो सङ्गठन बनाएर त्यसमार्फत् धेरै ठूलाठूला मजदुर, किसान, आन्दोलन, रक्सी विरोधी आन्दोलनहरू सफल रुपमा चलाएर भारतको जनआन्दोलनको बेग्लै धारा निर्माण गरिसकेका थिए । यसबारेमा अरु कुनै बेला विस्तृत रुपमा चर्चा गरौँला ।

शङ्कर गुहा नियोगी पिडब्लुजी वा अन्य सङ्गठनसँग संलग्न थिएनन । किनकि उनले आफ्नै बलबुताले विशाल र जुझारु सङ्गठन निर्माण गरेर, त्यहाँका मजदुर किसानको हितमा छत्तिसगढ मुक्ति मोर्चाको निर्माण गरी सफलतापूर्वक काम गरिरहेका थिए ।

तर प्रतिक्रियावादी राज्य सरकारले उनलाई पिडब्लुजीसँग सम्बन्ध रहेको र उनी आतङ्ककारी नै हुन् जस्तो व्यवहार प्रदर्शती गरिरहेको थियो ।

क. गदरसँग र कहाँको साथीसँग पीडब्लुजी एक दिन साँझ पङ्ख म उहाँहरूको कोठामा गएको थिएँ । गदर आफ्नो दिउँसो कै पहिरनमा हुनुहुन्थ्यो । अर्थात् काँधमा छिर्के बिर्के पातलो एउटा रातो रुमाल, काँधमा कम्मल, सेतो लुङ्गी र खुट्टामा चाँपहरू बाँधिएको थियो । मानौँ अब फेरि कार्यक्रममा पुन: जाने तयारीमा जस्तो । मलाई अनौठो लाग्यो र सोधे तपार्ईले कार्यक्रम गर्ने बेलाको डे«स पनि फेर्नु भएको छैन त कमरेड, उहाँले हाँस्दै भन्नु भयो– हेर्नु योगीजी, यो प्रतिक्रियावादी सरकारले हामीलाई केही समयको लागि यसो छुट दिए जस्तो मात्र गरेको हो । यसले हाम्रा गोप्य ठेगाना, सङ्गठन र हाम्रो शक्तिको बारेमा थाहा पाउन यो खुला गराएको हो । यो केवल एउटा नौटङ्की मात्र हो, यसले हामीलाई कतिबेला गिरफ्तार गर्दछ थाहा छैन ।

आफ्नो खुट्टामा बाँधेको चाँप छमछम पार्दै हातमा लिएको बाँसको लाठी पनि जमिनमा ठयाक ठ्याक पार्दै भन्नुभयो –“म यो लाठी समाएर र घुँघरु पहिरेर सुत्छु, यदि सरकारले समात्यो भने मैले भन्ने छु, मलार्ई यो सरकारले कार्यक्रम गर्दा गर्दै समात्यो, कार्यक्रम गर्न दिने भनेर छुट दिने, फेरि समात्ने, भन्दै सबै जना एकै पटक गलल हाँसे । मैले मनमनै भने, वाह क्या वात ! यो हो क्रान्तिकारी, उत्साह, जो, क्रान्तिप्रतिको अगाध स्नेह । त्यही प्रसङ्गमा गदरले भन्नुभयो, तपाईले ठीक समयमा कुरा उठाउनु भयो, उहाँहरूकै टोलीका मेषका जिम्मा लिएका कमरेडतर्फ इसारा गर्दै भन्नुभयो तपाईसँग रहेको पैसा कति छ, उनले रु. पाँच हजार छ भने, हेर्नुस योगी जी यो सरकारका पुलिसले गिरफ्तार गर्दा हामीसँग भएको रकम पनि खोसेर लैजान्छन् । के थाहा भोलि नै हामीलार्ई गिरफ्तार गर्ने हुन् कि ! उता नियोगीको कार्यक्रममा नियोगीले मंच दिने नदिने केही कुरा टुङ्गिएको थिएन । उनले दोहोरो कुरा गर्दैछन् भनेर गदरले भनी रहनु भएको थियो । नियोगी, आजभोलि धेरै चतुर भैसके । यहाँ सङ्गठन बनाउन भित्रभित्रै हाम्रो सहयोग बाहिर गान्धीलाई बोकेर हिंड्छन् । यस्तै छ योगीजी भन्नुभयो । यसरी त्यस साँझ मलाई रु. ५,०००/ (पाँच हजार) राख्न दिनुभयो ।

मैले त्यो रकम सुरक्षित साथ राखे । भोलिपल्ट कार्यक्रम गर्न रायपुर जो हाल छत्तिसगढको राजधानी छ, त्यहाँ जानु पर्ने भयो । उहाँहरूसँग म पनि उक्त कार्यक्रम हेर्न गएँ । त्यसदिन निकै ठूलो पानी परिरहेकोले त्यो भव्य कार्यक्रममा पानीले व्यवधान उत्पन्न गरायो । उक्त कार्यक्रममा नियोगीको निमन्त्रणालाई स्वीकारेर आउने धेरै मानिसहरूलाई मैले चिन्न सक्ने कुरा नै भएन, तर बधुवा मुक्ति मोर्चाका नेता स्वामी अग्निवेश चाहिं त्यहाँ आएका थिएँ, यसै पनि उनको नाम र कामको बारे थोरै जानकारी मलार्ई थियो ।

उक्त कार्यक्रममा जन नाट्य मण्डलीले कार्यक्रम देखाउन मंच पाएन, तर पनि त्यो टिमका अन्य कलाकारहरूले त्यहाँ आएका जनताहरूलाई लक्षित गरेर, फिल्डमा पानीमा रुझ्दै विभिन्न नृत्यहरू प्रदर्शन गरिरहे । साँझपख हामीहरू त्यही बसमा फर्कियौँ । भोलिपल्ट, गदरले भिलाई नगरकै एउटा मजदुर बस्तीमा जाने कुरा गर्नु भयो उहाँहरूले । त्यहाँको लोकेशन मलाई थाहा थियो त्यही भएर मलाई पनि जाउँ भन्नुभयो । मलाई पनि के खोज्दछेस कानी आँखा भने झैं, गदरको गीत नृत्य हेर्ने उत्कट चाहना थपिएको रहेको थियो । यद्यपि त्यो, ३–४ दिनको बसाईमा मैले उनको नृत्य पटपटक हेरिसकेको थिएँ, तर मेरो आँखा अघाएको थिएन । बस उहाँहरू बसेको स्थान खुर्सीपारबाट भिलाई पूर्वतर्फ दौडियो । यस यात्रामा कवि बर्बर राव हुनुहुन्थ्यो । उहाँ के कामले हो पावर हाउस तिर नै जानु भएको थियो ।

बस रायपुरतर्फको बाटो समाएर भिलाई ३ को ओभर ब्रिज पुल क्रस गर्दै धिमा गतिका साथ दौडिरहेको थियो । म ढोका नेर नै थिएँ, मेरो नजिकै गदर पनि उभिनु भएको थियो । गाडी भिलाई ३ को थानानेर अचानक रोकियो पुलिसले पिछा गर्दै आइरहेको रहेछ र थानानेर आएपछि अरु थप प्रहरी बल प्रयोग गरेर रोक्ने निर्देशन रहेछ, त्यसैको आधारमा गाडी रोकियो र गाडीलाई तुरुन्त फिर्ता गर्ने र त्यतिबेला भिलाई मध्यप्रदेशको राज्यमा गनिथ्यो मध्येप्रदेश सरकारले गदरको टिमलाई यो राज्य छोड्ने आदेश गरेको रहेछ । मैले गदरतर्फ पुलुक्क हेरें, पुलिसले सोधपुछ गर्न थालिसकेको थियो, गदरले भन्नुभयो योगीजी तपाई तुरुन्त ओर्लनुस र यो कुरा बर्बरा रावलाई बताउनुस् । म पनि फुर्तिका साथ ओर्लिएर लोकल टेम्पो समाएर पावर हाउस गएँ । पावर हाउस गैसके पश्चात मैले आफ्नो अलि बढेको दारी र जुँगा फाले त्यस पश्चात् बर्बरा रावलाई भेटेर सबै कुरा भने । पुलिसले उहाँहरूको पछि टोलीलाई पावर हाउस ठानामा लिएर गयो । केही समय राख्यो र खुर्सिपारको डेरामा ल्याएर छाड्यो । राती नै मध्यप्रदेश छोड्ने सर्तमा त्यहाँबाट पुलिस गएछ । साँझ, झम्मक परिसकेको थियो । मलाई पनि एक प्रकारले चनाखो बन्नु पर्ने स्थिति देखियो र उहाँहरूले राख्न दिएको रु. ५०००/– (पाँच हजार) फिर्ता गरेर उहाँहरूसँग विदा भएर कोठामा फर्किएँ, त्यसपछि गदरसँग प्रत्यक्ष भेट हुने कुनै अबसर जुरेन, हो, एकपटक म उहाँहरूको विशाल जनसभा हेर्न भिसाखा पटनम हुँदै हैदरावाद गएको छु जहाँ करिव २ लाख मानिसहरूको सहभागिता थियो ।

कमरेड गदरको गीत सङ्गीतले मलाई यति धेरै प्रभावित तुल्यायो कि म २०४६ सालको पंचायती व्यवस्थाको अन्त र दलिय व्यवस्था स्थापना पश्चात् म देशभित्र आएपछि उनका गीतहरू खास गरेर गाउँ हमार हो, चलो रे चलो, उठो सङ्घरियौँ, आइल रे मई दिन, लगायतका हिन्दी भाषाबाट थारु भाषामा अनुदित गरेर देशव्यापी रुपमा मुख्यत तराईका फाँट र पहाडहरू पनि अभिनय गर्ने गरें र पछि गाउँ हमार गिती एल्वम पनि थारु जन सांस्कृतिक मंचकोतर्फबाट प्रकाशन गर्ने कार्र्य भयो ।

गदर विलक्षण प्रतिभाका धनी थिए । उनले दक्षिण भारतको लोक संस्कृतिलाई क्रान्तिकारी विचारधारा सँग जोडेर जनआन्दोलनलार्ई अगाडि बढाउन भरमग्दुर प्रयत्न गरें, उनले गीतहरू केवल क्रान्तिकारी चेतनासँग सम्बन्धित गाएका छैनन् । जहाँ जहाँ जनताका समस्याहरू देखा पर्दछन् त्यहाँ त्यहाँ पुगेर थ्रुपै गीत गाएका उदाहरणहरू छन् । भारतको मध्यप्रदेशको राजधानी भोपालमा भोपाल ग्याँस काण्डले ठूलो नरसंहार गर्‍यो, त्यो बखतमा पनि उनी आफ्नो टोली लिएर गई सांस्कृतिक कार्यक्रम गरेका थिए । यो कुरा हामी सम्पूर्ण क्रान्तिकारी, कलाकर्मी वा साहित्य प्रेमीहरूले सिक्ने कुरा हो ।

क. गदरको जीवनको बारेमा संक्षेपमा केही कुरा जोड्नु प्रासङ्गिक ठानी निम्न केही जाकारी राख्न चाहन्छु ।

जस्तो कि उनको आफ्नो खास नाम गदर होइन । गदर शब्दले जो हिंदी, उर्दु फारसी मिलेर बनेको शब्द हो जसले विद्रोह, राज्य, विप्लव, क्रान्ति जनाउँछ । गदर क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा भाकपा (पी.डब्लु.जी) पछि त्यो माओवादी बन्यो, त्यसको सदस्य भई काम गरे ।

जसको सांस्कृतिक मोर्चा विरसममा सक्रिय रहे पछि जन नाट्य मण्डली नामक संस्थाद्वारा भारतका विभिन्न राज्यहरू आन्दप्रदेश, तमिलनाडु, उडिसा, महाराष्ट्र, मध्यप्रदेश विहार, दिल्ली, पञ्जाव, झारखण्ड आदिमा सांस्कृतिक कार्यक्रमहरू गरे । उनको पत्नी विमला जसको अल्पायुमै रोगका कारण सन् २००३ मा निधन भयो । उनका दुई छोरा र एक छोरी छन् ।

गदरले सन् २०१० मा भाकपा माओवादीसँग सम्बन्धविच्छेद गरेका थिए र २०१७ मा उनले तेलङ्गाना प्रज्ञा परिषद् गठन गरेका थिए । पछिल्लो स्थितिमा उनले भारतीय संविधानले दिएको मौलिक हक र जीवन रक्षाका खातिर दल दर्ता गरेर निर्वाचन जाने भनेर दल दर्ता गर्ने र आगामी विधानसभा निर्वाचन २०२४ मा भाग लिने समेत घोषणा गरिसकेका थिए । यसै सिलसिलामा उच्च रक्तचापका बढेकै अवस्थामा हैदरावाद अपोलो अस्पतालमा भर्ना भएका थिए । उपचाररत अवस्थामा नै मस्तिष्क आघात मै उनको असामयिक निधन भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित