डिजिटल साक्षरता र साइवर सुरक्षा

सुदिप पौडेल ••

भनिन्छ नि आजको युग सूचना प्रविधि र इनोभेसनको युग हो । समय जति बढ्दै जान्छ नयाँनयाँ प्रविधिले हामीलाई जोड्दै जान्छ । अन्तत: त्यस प्रविधि हाम्रो जीवनको अभिन्न भाग बन्दछ । यसको उदाहरणको लागि धैरै टाढा जान पर्दैन । तपाई हाम्रो केही वर्ष अघिको दिनचर्या र अहिले हाम्रो दिनचर्या मात्र तुलना गरे पुग्छ । कुनैबेला हाम्रो लागि मोवाइल फोन बोक्नु ठुलो उपलब्धि हुन्थ्यो तर अहिले त्यस समयको मोवाइल फोन देखि इन्टरनेट र सामाजिक सञ्जालको दुनियाँमा आइपुगेको हिजोको आज जस्तै लाग्दछ । जति समय हामीलाई मोवाइलबाट इन्टरनेटमा आइपुग्न समय लाग्यो अबको दिनमा हामीलाई नयाँ प्रविधि आत्मसाथ गर्न पहिले जस्तो समय खर्च गर्नु पर्नेछैन । किनकी हाम्रो यो विश्वलाई केही सेकेन्डमै जोड्ने प्रविधिको नयाँनयाँ ढोका खोलिसकेका छौँ । विश्वको एउटा कुनामा गरिएको आविष्कार अर्को कुनामा सहजै पुग्न सक्छ कारण हो यिनै नविनतम प्रविधि । यस लेखमा मैले प्रविधिको विकासभन्दा पनि प्रविधि प्रयोग सहि तरिका र प्रविधिको माध्यमबाट हुने गलत कृयाकलापको बारेमा चर्चा गर्ने छु ।

डिजिटल साक्षरता
साक्षरता शब्द जति सरल र यसको पाटो त्यति नै गहिरो छ । जुन विषयमा हामी अनभिज्ञ हुन्छौँ त्यही विषयको सामान्य ज्ञान नै साक्षरता हो । डिजिटल साक्षरता पनि एउटा अनभिज्ञ मानिसलाई डिजिटल सम्बन्धी ज्ञान दिने नै हो, जुन अहिलेको समयमा अत्यन्तै आवश्यक छ । अब प्रश्न आउँछ हामीले चलाएको प्रविधि त हामीले ज्ञान पाएरै चलायौ अनि किन त साक्षरता ? यही प्रश्नले नै हामी बिचको अज्ञानतालाई झल्काउँछ । हामी जति प्रविधि चलाउन जान्यौँ भने पनि त्यसको सही प्रयोग र उपयोगिताको ज्ञानको अभाव सधैँ रहने गर्दछ । जुन प्रविधि जे प्रयोजनको लागि बनेको हो त्यसको प्रयोग सोही प्रयोजनलाई उपयोग गरिनुपर्दछ, प्रविधिको गलत प्रयोग नै असाक्षरताको झलक हो । आजका दिनमा हामीसँग कैयौँ प्रविधि साथमा छन् तर त्यसको सही र भरपुर उपयोग हामीले कमै मात्र गर्छौँ ।

उदाहरणको लागि मोवाइल फोनलाई हामीले सञ्चारको रूपमा बढी प्रयोग गर्छौ र स्मार्ट फोनहरूलाई त हामीले बढीभन्दा बढी मनोरञ्जनको रूपमा हेर्छौँ, अझ विषेश गरि समाजिक सञ्जालको बढी प्रयोग गर्छौ । हामीले उक्त स्मार्ट फोनमा भएको कैयौँ कुराहरू प्रयोग नै गर्दैनौँ, जुन हाम्रो लागि जीवन उपयोगी छन् । जस्तै एउटा उदाहरणको लागि मोवाइलमा भएको गुगल म्याप जुन हामी कुनै ठाउँ जाँदा होस् या कुनै ठाउँको बारेमा खोज्दा होस् यो एप एकदमै उपयोगी रहन्छ । हामीलाई जाने ठाउँको बाटो दुरी, बाटोको मार्ग सबै यसबाट खोजेर पुग्न सकिन्छ । उक्त एपलाई नयाँनयाँ पुस्ताले प्रयोग गरे पनि पुरानो पुस्ता जो स्मार्ट फोन त प्रयोग गर्नुहुन्छ तर यसको बारेमा अनविज्ञ हुनुहुन्छ । यति मात्र होइन अध्ययन अनुसन्धान पनि डिजिटल डिभाइसको माध्यमबाट सहजै गर्न सकिन्छ । अझ यो कोभिड महामारीले त हामीलाई धेरै कुरा सिकायो । हामी जस्तो सानो मुलकमा कोभिड महामारी अधि अध्ययन गर्ने कार्यमा सुचना प्रविधिको प्रयोग कमै मात्र प्रयोग हुने गर्दथ्यो । तर अहिले कोभिड पछिको दृश्य हेर्यौँ भने अध्ययनमा सूचना प्रविधिको प्रयोग व्यापक हुने गरेको छ । यस विषयको पनि सहि साक्षरता हुनु अनिवार्य देखिन्छ ।

साइबर सुरक्षा
जतिजति प्रविधिको प्रयोग बढ्दै जान्छ त्यतित्यति यसबाट हुने अपराध पनि बढ्दै गई रहेको छ । प्रविधि र डिजिटल माध्यमबाट हुने अपराधलाई साइवर सुरक्षा भनिन्छ । हामी पनि अन्जान बस साइवर उपराधको सिकार बन्दै गएका छौँ । दैनिक प्रयोग हुने सामाजिक सञ्जालमा आउने कैयौँ विषयवस्तु हामीलाई भ्रमित पार्ने खालका हुन्छन्, उक्त विषयको बारेमा सही ज्ञान नहुनाले पनि हामी उपराधको सिकार बन्ने गरेका छौँ । युवा पुस्ता अझ उच्च माध्यमिक तह पढ्दै गरेको विद्यार्थीहरू अहिले धेरैभन्दा धेरै साइवर अपराधको सिकार बन्न पुगेका छन् । उनीहरूको जिज्ञासु उमेर र सही मार्गदर्शनको अभावमा यस प्रकारको अपराधले धेरै भन्दा धेरैलाई असर गरेको छ । अब कुरा यस्ता खालका भ्रमित र उपराधजन्य कृयाकलापहरूबाट कसरी बच्ने त ? यसका लागि सर्वप्रथम आफ्नै सचेत र जिम्मेवार हुन जरुरी हुन्छ । सामाजिक सञ्जालमा आउने सबै विषयलाई अन्धाधुन्द विश्वास नगर्ने, सधै सही र भरपर्दो विषयहरूलाई मात्र फलो गर्ने र भरपर्दो र चिनेको व्यक्तिलाई मात्र साथी बनाउनाले यस्ता अपराध धेरै हदसम्म कम हुन्छ । साथै कुनै झुक्काउने र आफूलाई शङ्का लागेको विषय सामाजिक संजालमा आएको छ भने त्यसलाई आफ्नो अभिभावकहरू र सो विषयमा जानकारहरूसँग परामर्श गर्नाले पनि धेरै हदसम्म साइवर अपराधलाई कम गर्न सकिन्छ ।

यसरी साइवर अपराध र डिजिटर साक्षरता अहिलेको युगमा अति नै महत्त्वपूर्ण र अनिवार्य भई सकेको छ सबै नागरिकले यसका बारेमा सहि ज्ञान र परामर्श लिनु उचित हुन्छ । यस विषयमा थप अध्ययन र अनुसन्धान गर्नु पर्‍यो भने हामी युटुब वा गुगलमा गएर साइवर सुरक्षा र डिजिटल साक्षरता भनि खोज्यौँ भनि सजिलै ज्ञान प्राप्त गर्न सक्छौँ । समय अनुसार इन्टरनेट र डिजिटल उपकरणको प्रयोग सही कार्यमा प्रयोग गर्नुले नै हामीलाई डिजिटिल साक्षर बनाउँछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित