MDMS प्रणाली आजदेखि लागू हुँदै, दर्ता नभएका सेट बन्द हुने

काठमाडौ, २० कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि MDMS प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS)मा दर्ता नभएमा मोबाइल सेट सोमबारदेखि क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्षले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ । करिब १० हजारवटा उच्च मूल्यका सेट एमडिएमएसमा दर्ता नभएको पाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए । त्यसमध्ये सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन् । क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने उनको भनाइ छ ।

परीक्षण सुरु गरिएको एक वर्षपछि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस पूर्ण रूपमा कार्यान्वयन गर्ने भएको छ । प्राधिकरणले अवैध रूपमा नेपाल भित्रिएका मोबाइल सेटलाई नियन्त्रण गर्न ०७९ असोजदेखि एमडिएमएस प्रणाली आंशिक लागू गरेको थियो । साथै, पुस १५ देखि पूर्ण रूपमा सञ्चालन गर्ने घोषणासमेत गर्‍यो । यो सिस्टम सञ्चालनमा आएपछि नेपालभित्र चल्ने सबै मोबाइल अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । यसले नेपालमा खरिद गरिएका मोबाइल मात्रै नेपालमा चल्ने हुन्छ । तर, विदेश गएका नेपालीले साथमा ल्याउने मोबाइलको हकमा भने व्यक्ति आफैँले सिस्टम दर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो।

सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ अथवा ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित