भक्तबहादुर श्रेष्ठ
पुँजीको वृद्धि र मजदुरवर्गको स्थिति
उत्पादनको प्रक्रियामा निरन्तर पुनर्नवीकरण र लगातार पुनरावृत्ति समाजको अस्तित्त्वको एउटा अनिवार्य शर्त हो र त्यसलाई पुनरुत्पादन भनिन्छ । यसबाट भौतिक सम्पत्ति मात्र होइन, श्रमशक्ति र सामाजिक उत्पादनसम्बन्धको पनि निरन्तर पुनर्नवीकरण भइरहन्छ । पुनरुत्पादन साधारण र विस्तारित दुई प्रकारको हुन्छ । साधारण पुनरुत्पादनमा पुँजीको राशिमा वृद्धि हुँदैन र जति अ.मु. पाउँछ, त्यो सबै पुँजीपतिले उपभोग गर्दछ भने विस्तारित पुनरुत्पादनले पुँजीको राशिमा लगातार वृद्धि गराउँदै लैजान्छ ।
पुँजीवादी उत्पादनलाई निरन्तर प्रक्रियाको रुपमा हेर्यौँ भने पाउँछौँ–पुँजीपतिले मजदुरलाई दिने मजदुरी उसको खल्तीबाट दिनुपर्दैन, त्यो मजदुरको श्रमबाट तयार भएको मूल्यको एक भाग हुन्छ । यसबाट के देखिन्छ भने पुँजीपतिले मजदुरलाई होइन, बरु मजदुरले पुँजीपतिलाई दिइरहेको हुन्छ । यसरी के स्पष्ट हुन्छ भने पुँजीपतिको उसको पुख्र्यौली सम्पत्ति भए पनि उसको त्यो सम्पत्ति उसले उपभोग गरिसकेको हुन्छ र मजदुरबाट शोषण गरेको अतिरिक्त मूल्यबाट उसको सम्पत्ति परिवर्तन हुन्छ । त्यसकारण साधारण पुनरुत्पादन भन्दा उसको सम्पत्तिमा वृद्धि हुन विस्तारित पुनरुत्पादन गर्नुपर्छ । यस विस्तारित पुनरुत्पादनबाट आएको अ.मु. को एक भाग उसले आफ्नो व्यक्तिगत उपभोगमा खर्च गर्छ र एक भाग पुँजीको रुपमा लगाउँछ । जति पुँजीमा वृद्धि हुँदै जान्छ, त्यसको वनावट पनि फेरिँदै जान्छ ।
यसबाट एकातिर पुँजीको विकास हुँदै जान्छ भने अर्कोतिर पुँजीको केन्द्रीकरण पनि हुँदै जान्छ । पुँजीको केन्द्रीकरणले अनेक व्यक्तिगत पुँजी ठूलो पुँजीमा बदलिन्छ र ठूलो पुँजीले साना पुँजीलाई निल्दै जान्छ । उत्पादनको प्रक्रियालाई बुझ्नका लागि एउटा उदाहरण लिऊँ : १ लाख रुपँयाँको उत्पादनका साधनहरूमध्ये जस्तो मेसिन, कच्चा माल इत्यादिमा यो अचल पुँजी ८० हजार र २० हजार मजदुरलाई दिन चल पुँजीमा लगाउँछ । यसबाट १०० प्रतिशत अ.मु. पायो भने प्रतिवर्ष २० हजार अ.मु. प ाउँछ । यस अ.मु. बाटै उसले आफ्नो व्यवहार चलाउँछ । त्यसबाट उसले केही भाग बचाएर मेसिन फेर्न र मर्मत गर्न, उत्पादन चालु राख्नको लागि लगाउँछ । त्यसो गर्न सकेन भने पुँजीपति अडिन सक्दैन । यसरी पुँजीको लागत र वस्तुहरूको परिमाणलाई जस्ताको तस्तै राखेर जुन उत्पादन हुन्छ त्यस अ.मु.लाई निजी काममा लगाउँछ । त्यसलाई साधारण पुनरुत्पादन भनिन्छ ।
फेरि जब अ.मु. को एक भाग पुँजीको रुपमा भनौँ अ.मु. पुनरुत्पादनमा लगाई यसबाट पनि अ.मु. जम्मा गर्छ । यसरी लगाएको पुँजी बढ्दै जान्छ भने त्यसलाई विस्तारित पुनरुत्पादन भनिन्छ । यस्तो अ.मु.द्वारा पुँजीको मुल आकारको मात्र रक्षा हुँदैन, पुँजीको त्यो मूल आकारमा पनि लगातार वृद्धि हुँदै जान्छ ।
यसरी एकातिर अ.मु. को शोषणले पुँजीपति झन् धनी हुँदै जान्छ भने मजदुर तथा गरिव वर्ग शोषणको चक्करमा झन् गरिब बन्दै जान्छ । स्वचालित मेसिनको आविष्कारले गर्दा पुँजीपतिले कम खर्चमा धेरै नाफा बनाउँछ । यसबाट मजदुर वर्गको आवश्यकतामा कमी आउँछ । बेकारी र गरिबीको वृद्धिको कारण जनसङ्ख्याको वृद्धि हो भन्ने सिद्धान्त माल्थसले अघि सारेका छन्: “जनसङ्ख्याको वृद्धि हुँदै जान्छ यो वृद्धिको अनुपातमा खाद्यान्नको कमीले खानपिनमा कमी आउँछ, त्यसबाट रोगव्याधी बढ्छ, परस्पर युद्ध मच्चिन्छ र मानिसहरू मर्छन् । अनि जनसङ्ख्या घटेर मानिसको अवस्थामा फेरि सुधार आउँछ, यही क्रम दोहोरिइरहन्छ । ” यसमा माक्र्सको भनाई फरक छ । उत्पादनमा सामाजिक सम्बन्ध, उत्पादनका साधन र उत्पादित वस्तुमा व्यक्तिगत स्वामित्वका नै बेकारी र गरिबको कारण हो । पुँजीपति वर्गले मजदुरको अतिरिक्त श्रमबाट शोषण गरेर धनी हुँदै जान्छ र शोषित मजदुरवर्ग गरिब हुँदै जान्छ । विज्ञानको प्रयोग र मेसिनको विकासले गर्दा मजदुरको सङ्ख्या बढ्दै जान्छ र बेकारीमा वृद्धि हुन्छ । यस्तो अन्तर्विरोधको समाधान समाजवादी क्रान्तिले मात्र पुरा गर्छ । उत्पादनका साधन र उत्पादित वस्तुमा सामाजिक स्वामित्व भएपछि मात्र यसको समाधान हुन्छ ।
अतिरिक्त मूल्यको बाँडफाँड
अतिरिक्त मूल्यको बाँडफाँड पुँजीपतिहरूका बीच यसरी हुन्छ : १) औद्योगिक पुँजीपति, यसको वस्तुहरूको उत्पादनसँग सम्बन्ध हून्छ र कारखाना चलाएर मजदुरबाट अ.मू. को शोषण गर्छ, (२) पुँजीपति –व्यापारी, यसले वस्तुहरू खरिदविक्री गर्ने काम गर्दछ, खुद्रा व्यापारी र उपभोक्ता ग्राहकहरूद्वारा मुनाफा लिन्छ, (३) पुँजीपति जमिन मालिक, यसको आम्दानीको साधन नै जमिनको लागत हो । पुँजीपतिहरूले जमिन लगानमा लगाउँछन् र त्यसबाट रकम प्राप्त गर्छन् । यस्तो जमिन पुँजीपति किसानहरूले लिन्छन् र उनीहरूले मजदुर लगाएर त्यसबाट शोषण गर्दछन् । जमिन मालिक आफैले पनि मजदुर लगाएर पुँजीवादी खेती गर्दछ र (४) सुदखोर महाजनले पुँजीपतिहरूलाई अरुलाई रुपैयाँ कर्जा दिने र त्यसबाट व्याज लिने काम गर्दछन् ।
जति पुँजीपतिको पुँजीको संचारमा वृद्धि हून्छ, त्यति नै पुँजीपतिहरूलाई फाइदा हुन्छ । त्यसको संचार रोकियो भने अ.मु. को बाटो पनि रोकिन्छ । पुँजीपतिको संचार एकप्रकारको बाटुलो घेरामा हुन्छ, यसलाई वृत्ताकार आवर्तन भनिन्छ । वस्तु बिक्री गरेर फेरि मुद्रा वापस लिन्छ र फेरि उत्पादनका साधन र श्रमशक्ति लगाउँछ । एवं क्रमले पुँजीको आकारमा वृद्धि हुँदै बाटुलो घेरामा चक्कर मारिरहन्छ ।
पुँजीपतिहरूको अ.मु. बाँडफाँड, लाभ, मुनाफा, फाइदा आदिको नामबाट हुन्छ । त्यसैले औद्योगिक लाभ पुँजीपतिहरूले पाउने लाभको रकम र व्यापारीबाट पाउने मुनाफाको रकम हो । त्यस्तै महाजन वा बैङ्कको लाभ भनेको उसले पाउने ऋणको व्याज हो भने जमिन मालिकको लाभ जमिनको लगानको किराया हो ।
लाभको दर र अतिरिक्त मूल्यको दर
पुँजीको जम्मा लागत मूल्यमा चल र अचल पुँजी पनि जोडिन्छ । पुँजीपतिले कुनै उद्योगधन्दा खोल्न जति रकम छुट्याइ उत्पादन कार्यमा लगाउँछ, त्यो रकमलाई लागत मूल्य भनिन्छ । त्यसमा उत्पादनका साधन खरिद गर्न जुन पुँजी लगाइन्छ, त्यो अचल पुँजीमा र मजदुरको श्रमशक्ति खरिद गर्न लगाइएको पुँजी चल पुँजीमा सामेल हुन्छ । लाभको दर र अतिरिक्त मूल्यमा फरक हुन्छ । लाभ र अ.मु.लाई हेर्ने काइदा बेग्लाबेग्लै हुन्छन् । लाभलाई यसरी हेरिन्छ : लागत ८०, बिक्री १००, लाभ २० । लाभलाई हेर्दा अचल र चल दुवै पुँजी जोडिन्छ र बढी आएको मानिन्छ, तर अचल पुँजी जस्ताको तस्तै रहने भएकोले अ.मु. लाई हेर्दा त्यो जोडिदैन । अ.मु. तय गर्न केवल चल पुँजी अथवा मजदुरलाई दिने रकम र अ.मु. को बीचको अनुपात हेरिन्छ । जस्तो : अतिरिक्त ÷चल पुँजी १००, लाभको दरलाई हेर्दा अ.मु.÷अ.पु+ च.पु. १०० । यहाँ लाभको दर, जस्तो : २०,०००÷८०,००० ००= २० प्रतिशत । पुँजीवादी अर्थशास्त्रीले शोषणको दरलाई कम देखाउन यसैलाई मात्र हेर्दछन् । यसैमा पुँजीपति वर्गको हित छ । लाभको दरको हिसाबले पुँजीवादी शोषणको चक्रलाई पर्दा हाल्ने काम गर्दछ ।
यस हिसाबलाई अ.मु. को तरिका अनुसार लैजाँदा, यहाँ लाभलाई भनौँ २० हजारलाई अ.मु. मा र चल पुँजी २० हजारलाई भाग दिई १०० ले गुणा गर्दा १०० प्रतिशत देखिन्छ भने माथिको हिसाब अनुुसार लाभ २० प्रतिशत मात्र देखिन्छ । जस्तो अ.मु. मा २० हजार ÷२० हजार १०० प्रतिशत । यसरी हेर्दा १०० प्रतिशत शोषण भएको हुन्छ ।
औसत लाभ र उत्पादनको दाम उत्पादनमा लाग्ने मजदुरहरूको आवश्यक श्रम कम गरेर विशेष अतिरिक्त मूल्य पैदा गरिन्छ, जसलाई विशेष लाभ र अतिरिक्त लाभ भनिन्छ । आवश्यक श्रम समय भनेको मजदुरले आफूले पाउने ज्यालाको समय हो । जस्तो : १२ घण्टा काम गर्दा ६ घण्टामा आफूले पाउने ज्यालाको उत्पादनको काम गरिसक्छ र बाँकी ६ घण्टाको उत्पादन पुँजीपतिको लागि गरिदिन्छ । अब आवश्यक श्रम समय ६ घण्टामध्ये ४ घण्टामा नै पुँजीपतिले ६ घण्टाको उत्पादन गरिसक्छ । कसरी भने, उसले मेसिनमा तीव्रता ल्याइदिन्छ अथवा श्रमको तीव्रताद्वारा २ घण्टा विशेष अतिरिक्त लाभ भयो ।
अतिरिक्त लाभको सम्भावना एकै उद्योगको निम्ति मालिकहरूको बीचमा मात्र हुँदैन । छुट्टाछुट्टै उद्योगहरूका मालिकहरूका बीचमा पनि हून्छ । पुँजीपतिले अरु बढी फाइदा उठाउने कारण के पनि हुन्छ भने वस्तुहरूको माग चाहिं धेरै भयो र पूर्ति भने थोरै भयो भने पनि वस्तुको मागले गर्दा पुँजीपतिहरूले आफ्नो पुँजी त्यो वस्तु उत्पादनपट्टी लगाउँछन् र धेरैले त्यतापट्टि ध्यान दिन्छन् । यसले गर्दा पैदावारमा वृद्धि भई माग भन्दा उत्पादन बढी हुन जान्छ र फेरि मालको दाम खस्न थाल्छ, अनि पुँजीपतिले माल लुकाएर, कृत्रिम अभाव पैदा गराएर, कालोबजारबाट फाइदा लिन्छ ।
पूँजीपतिहरूले बढी फाइदा लिनको लागि जतिसक्यो धेरै छिटो पैदावार बढाउने तरिका अँगाल्न थाल्छन् र अरुभन्दा सस्तो मूल्यमा चीजहरू पैदा गर्न असल मेसिनहरू लगाई उत्पादनमा वृद्धि गर्छन् । अर्कोले पनि त्यसै गरेर प्रतियोगिता बढाउँछ । यसरी परस्परको प्रतियोगिताले वस्तुहरूको लागतमा एउटा औसत मुनाफा निश्चित हुन्छ । तिनीहरूले परस्पर सम्झौताको आधारमा यसलाई निश्चित गर्दछन् । जब एकै प्रकारको पुँजीमा समान रुपबाट लाभ प्राप्त हुन्छ, त्यसलाई औसत लाभ भनिन्छ । कुनै वस्तुको लागत मूल्यमा औसत लाभको रकम जोडेर जुन दाम निश्चित गरिन्छ, त्यसलाई उत्पादनको नाम भनिन्छ । यसप्रकार उत्पादनको दाम अचल पुँजी, चल पुँजी र औसत लाभ जोडेर गरिन्छ ।
लाभको दर र लाभको जोड
जति जति पुँजीवादी उत्पादन बढ्दै जान्छ, त्यति त्यति पुँजीको अनुपातमा पनि वृद्धि हुँदै जान्छ । यसमा अचल पुँजी बढी लाग्दै जान्छ, तर मजदुरको सङ्ख्यामा भने त्यस अनुपातमा वृद्धि हुँदैन । यसले गर्दा पुँजीपतिले लाभको दरमा स्वाभाविक रुपले घटाउँछ, तर पुँजीको कुल लाभमा कुनै कमी आउँदैन र पुँजीको जोड भने बढ्दै जान्छ । यसमा लाभको कमीले गर्दा पुँजीपति गरिब हुँदैन, किनभने पुँजीको शारीरिक अनुपातमा वृद्धि हुँदै जान्छ । कसरी भने जस्तो कुनै पुँजीपतिले १ करोडको पुँजीमा ६० लाख अचल पुँजीमा र ४० लाख चालु पुँजीमा लगाउँछ, उसको अ.मु. को दर १०० नै हुन्छ र लाभ वा अ.मू. ४० लाख नै पाउँछ किनभने अचल पुँजी उसको जस्तोको तस्तै छ, तर चल पुँजी ४० लाखको अ.मु. ४० लाख नै पायो, त्यसकारण अ.मु. को दर १०० प्रतिशत भयो, तर कुल पुँजीको अनुपातमा ४० प्रतिशत नाफा कमायो । उसले अब त्यस नाफाको वृद्धिबाट असल मेसिन प्रयोग गर्न थाल्छ । त्यसले गर्दा मजदुरको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुनै आवश्यकता पर्दैन र चल पुँजीमा उसको पुँजीको अनुपातमा कम पुँजी लगाएर पनि हुने भयो अनि उत्पादनको वृद्धिले उसले लाभको दरमा कमी ल्याउँछ । तर, उसको पुँजीमा कमी आउँदैन वृद्धि हुँदै जान्छ ।
जस्तो १० वर्षमा कुुल पुँजी १ करोड मध्ये अचलमा ६० लाख चलमा ४० लाख छ । अ.मु. ४० लाखले ४० प्रतिशतको लाभको दर भयो । अब त्यो वृद्धि हुँदै गएर अर्को १० वर्षमा कुल पुँजी २ करोड भयो । त्यसमध्ये अचल पुँजी बढ्न गयो डेढ करोड भयो तर चलपुँजी त्यस अनुपातमा नबढाई ५० लाख मात्र भयो र अ.मु. को दर १०० प्रतिशत नै भयो ५० लाख तर लाभको दर २५ प्रतिशत मात्र भयो ।
व्यापारिक फाइदा
औद्योगिक पुँजीपतिलाई व्यापारिक सहयोग भएन भने त्यो पुँजीपतिलाई पसल खोल्नका लागि अर्को सहयोग चाहिन्छ । त्यसैले यस सहायताको बदलामा व्यापारीलाई आफ्नो नाफामध्ये केही अंश नाफा दिन्छ । यसमा लाभको दृष्टिबाट दुवैमा अन्तर हुँदैन । यदि अन्तर भयो र उसले नाफा पाएन भने व्यापारमा कसैले पुँजी लगाउँदैन । व्यापार पनि २ किसिमबाट हुन्छ र फुटकर र थोक व्यापार । व्यापार देशभित्र मात्र हुँदैन, देश बाहिर विभिन्न देशहरूसँग पनि हुन्छ, जसमा आफूले विदेश पठाउनेलाई निर्यात र विदेशबाट माल झिकाउनेलाई आयात भनिन्छ । यसरी आयात र निर्यातमा निर्यात बढी भयो भने त्यो देश धनी हुँदै जान्छ र आयात बढी भयो भने त्यो अरु देशको ऋण बन्दै जान्छ । किनभने हामीले कम निर्यात गर्यौँं भने कम विदेशी मुद्रा पाउँछौँ र विदेशबाट खरिद गर्न बढी विदेशी मूल्य तिर्नुपर्ने हुन्छ । त्यसैले वास्तवमा आम्दानीभन्दा बढी खर्च गर्न ऋणी हुनुपर्छ र अर्काको कब्जामा वस्नुपर्ने स्थिति आउँछ ।
संयुक्त पुँजीको लगानी
पुँजीवादको विकाससँगै त्यही गतिमा उद्योगहरूमा पनि वृद्धि हुँदै गयो, अनि यस्ता उद्योगहरूको जन्म भयो, जसलाई चलाउन ठूलो मात्रामा पुँजीको आवश्यकता बढ्दै गयो, फलस्वरूप पुँजीपतिहरूलाई संयुक्त रुपले उद्योगधन्दा चलाउन आवश्यक पर्यो । यही आवश्यकताले गर्दा विभिन्न पुँजीपतिहरू संयुक्त हुन थाले, जसलाई ज्वाइन्ट स्टक कम्पनी भनिन्छ । ज्वाइन्ट स्टक कम्पनीका सेयरहोल्डरहरूलाई आफूले राखेको सेयरको अनुपातमा हिस्सा बाँडिन्छ । हिस्सा पाउनेहरूलाई सेयरबाट जुन लाभ हुन्छ त्यसलाई लाभांस भनिन्छ ।
सेयरहोल्डरलाई आफूले राखेको रकमको अधिकारपत्र दिइन्छ, जुन बजारमा पनि खरिद बिक्री हुन सक्छ । त्यसलाई स्टक एक्सचेन्ज भनिन्छ । कुनै कम्पनीमा स्वेच्छापूर्ण अधिकार प्राप्त गर्नाका लागि जति सेयरको आवश्यकता हुन्छ, त्यसलाई नियन्त्रणकारी हित भनिन्छ ।
पुँजीवादी लगानी
पुँजीको लगानी उद्योगधन्दामा मात्र हुँदैन, कृषि व्यवस्थामा पनि पुँजीवादी व्यवस्था हुन्छ । तर, जमिनमा पुँजीवादी लगानी र सामन्तवादी लगानीमा फरक हुन्छ । सामन्तवादी लगानीमा जमिनमा काम गर्ने किसानलाई सानो स्तरमा जमिन कमाउन दिई किसानको श्रमबाट उत्पादन भएका चीजहरू विभिन्न किसिमले असुल गर्दछ ।
पुँजीपति जमिन मालिकहरूले आफ्नो जमिनलाई पुँजीवादी माध्यमको प्रयोगमा ल्याउँछन् र पुँजीवादी किसानहरूले त्यस जमिनमा खेत मजदुरबाट खेती गराउँछन् । खेत मजदुरहरूको श्रमको फलस्वरूप जुन अ.मू. पैदा हुन्छ, त्यसको बाँडफाँड पुँजीवादी पट्टेदार किसानहरू र जमिन मालिकहरूको बीचमा हुन्छ कहिले कहिले जमिन मालिकले आफै खेत मजदुर राखेर खेती गराउँछ र एउटैले अ.मु. प्राप्त गर्छ ।
खेतीमा पुँजीवादको पसार भएपछि जमिनहरू किसानहरूबाट पुँजीपतिले खरिद गर्दै जमिन केन्द्रीकरण हुँदै जान्छ र जमिनका चक्लाहरू बढ्दै जान्छन् र किसानहरू भूमिहीन हुँदै जान्छन् । यस्तो सर्वप्रथम इङ्ल्याण्डमा भएको थियो । उनको लागि भेडापालन ठूलाठूला जमिन किनी चरनको रुपमा प्रयोग गरी किसानहरू भूमिहीन भएर सहरतिर ओइरो लागेका थिए । त्यस्तै अरु पुँजीवादी खेती गर्न पनि भएको थियो । पुँजीवादी खेती गर्दा त्यही भूमिहीन वर्गबाट पुँजीपतिले खेती गराउँछ र त्यसैले पुँजीवादी खेतीका लागि भूमिहीन वर्गको एकदम आवश्यक हुन्छ ।
यसरी पुँजीवादी खेतीको वृद्धिले सानासाना किसानहरू उन्मूलन हुँदै जान्छन् । जमिनले ठूलो पुँजीवादी खेतीको रुप लिएपछि त्यसमा खेती गर्न राम्रा मेसिनहरूको आवश्यकता हुन्छ र त्यसलाई सरकारले ऋण सहायता गर्छ । यसरी पुँजीवादी खेतीमा पुँजीवादी पद्धति बढ्दै गएपछि पुँजीवादी किसान र खेती मजदुरमा गाउँभित्र नै अन्तर्विरोध बढ्न थाल्छ र साथै सहर र गाउँको बीचमा पनि अन्तर्विरोध हुन्छ । क्रमश: