काठमाडाै, २२ मंसिर । टर्कीका राष्ट्रपति रेसेप ताइप इरडोगनले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्नुपर्ने कुरा बताएका छन् ।
उनले गाजामा गरेको जातीय नरसंहारको अभियोगमा उनी सहित उनका सहयोगीहरु साथै उनको पक्षमा काम गरिरहेका राजनीतिज्ञहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताएको रुसको समाचार संस्था तासले जनाएको छ ।
ग्रीस भ्रमण सकेर फर्के लगत्तै पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति इरडोगनले सो कुरा बताएका हुन् । नेतान्याहुलाई गाजा क्षेत्रको हत्यारा भएको बताउँदै उनी लगायत उनका सहयोगीहरुले सजाय पाउनुपर्ने कुरामा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न वकिलहरुको तयारी भइरहेको समेत बताएको समाचारमा उल्लेख छ ।