मनु वि.क.
भूताह खोला वर्षामा निकै गड्गडाउँछ । पाखाकाखाबाट सोहोरिएर आएको पानीको वेगले भूताह खोलाको नजिक जान सकिने अवस्था हुँदैन । माथिबाट झर्दै आएको पानीको गड्गडाहट अरु अविरल रुपमा बग्ने खोलाको भन्दा कम हुँदैन । पानीको वेगले भूताह खोला निकै ठूलो गहिरो भएको छ । गाडीको बाटो भूताह खोलामा पुल बनाईएको थियो र त्यो आज पनि छ । किन हो कुन्नि भूताह खोलाको वरपर छेउ छाउमा मान्छेहरूको एउटा सम्मपनि घर थिएन । गाउँलेहरू गाई बाख्रा लिएर कहिलेकाहीँ हिउँदमा खोला वरपर छेउ छाउ चराउन आउथे । हिउँदमा पानी हुँदैन । सुख्खा भएपनि मानिसहरू त्यो खोला वारिपारी गर्न चाहँदैनथिए । गाडीमा चढ्नेहरू त नहिँडी भएन । तर भूताह खोला निर पुग्दा सबैको कामना हुन्थ्यो खोला छिटो काट्न पाए हुने थियो ।
धेरै यात्रा गर्ने मान्छेहरू त्यो कुरा थाहा पाउने बित्तिकै भूताह खोलामाथि पुग्दा मुटु छिटो छिटो चल्दथ्यो । ड्राईभरले भूताह खोलाको पुल काटेपछि सुखको सास फेर्दथे । सुखको अनुभुति गर्दै अहिलेलाई बाँचियो भन्दथे । एक दुई जना हैन सबै ड्राईभरले । भूताह खोलाको हल्ला धेरै पहिला सानै हुँदा सुनेकी थिएँ । गाउँमा भूताह खोलाको कथा नै फैलिएको थियो । “त्यहाँ एक्लै जानु हँुदैन, भूताह खोलामा त बनस्खण्डी छ रे । बनस्खण्डी त आफ्ना दूधहरू काँधमा हालेर हिँड्छे रे । त्यहाँ त जेपायो त्यसैलाई खान्छ रे । त्यहाँ त बच्चा च्याँल च्याँल रोएको सुनिन्छ रे । दिउँसै बच्चा रुन्छ रे । दिउँसै आईमाईको आवाज ऐया !मरेनी भन्ने आवाज आउँछ रे, कसैलाई छोड्दिन्न भन्दै कराउँछ रे । ” यो सबै कुरा मेरो बाल दिमागमा साँच्चिकै डरको विषय बनेर बसेको थियो । मेरो मनमनमा त्यो दिउँसै डराउन दिने आईमाई र आमाको काख खोज्दै रुने बच्चा हेर्न जान पाए हुने थियो जस्तो भइरहन्थ्यो । घरमा एक्लै बसेको बेलामा वा राती साँझमा एक्लै हिड्नु पर्दा उहीकुरा मनमा खेलिरहन्थ्यो । जब म ठूलो हुँदै गएँ भूताह खोलालाई साँच्चि नै नजिकबाट देख्न पाएँ भूताह खोला साँच्चिकै डरलाग्दो रहेछ । तर सानोमा सुनेको जस्तो भूताह खोलाको आवाज केही पनि सुनिन ।
मेरो खुल्दुली झनै बढ्दै गयो । म भूताह खोलाको बारेमा साँेच्दा साँेच्दै निकै छटपटी भइरहृयो । मलाई के गर्ने ? भन्ने भयो । मान्छेहरूको डर भगाउन र भूताह खोलाको हल्ला कम गराउन पाए हुने थियो जहाँ यात्रीहरू खुल्ला दिलमा यात्रा गर्न पाउन । मेरो छटपटी यति धेरै बढेर गयोकि मैले कुरा केहो ? बुझेरै छोड्न मन लाग्यो तर लाग्यो भन्दैमा पाईन्छर ? तर पनि केही उपाय सुझिहाल्छ कि भन्दै म भूताह खोलादेखि एक घण्टा हिँडेर पर पुरानो गाउँमा गएँ । भूताह खोलाबाट हिँडेर गाउँमा पुग्दा झमक्क रात परिसकेको थियो । त्यहाँ पुगेर एउटा घरमा पसेँ । त्यहाँ एक जना ५० वर्षे पुरुष भेटे । उनलाई यो गाउँमा सबभन्दा बुढा मानिस को छन् ? भनेर सोधे उनले अचम्म मान्दै सोधे किन र ? मैले जबाफ दिएँ भूताह खोलाको बारेमा सोध्नु छ । उनी दङ्ग परेर अगाडि भनँे “यहाँबाट माथि जानुपर्दछ । त्यहाँ जाँदा मोहन बहादुर चौहान भन्ने बाजेहुनुहुन्छ । वहाँको उमेर ८०वर्षभन्दा माथि रहेको छ । वहाँकै घरमा जानु । ” ।
उनको कुरा सुनेपछि म फेरी माथितिर लागेँ । तर एक्लै कता कता डर लागिरहेको थियो । झमक्क साँँझ परिरहेको थियो । तर पनि एउटा हातमा राँको बालेर उनैले सुझाएको घरतिर लागेँ । म पुग्दा त्यो घरमा खाना पकाउने बेला भएको थियो । मोहनबहादुर ख्वाङ, ख्वाङ खोकिरहेका थिए । मैले घरका मान्छेहरूलाई बोलाएँ । आवाज निकालेँ । मोहनबहादुरको घर हो? मोहनबहादुरले खोक्न एकैछिन् रोक्दै कान सुने । उनकी बुहारी बाहिर निस्किईन् । हो, यहि नै हो । मोहन बहादुर कोठीमा सुतिरहनुभएको छ । बुहारीले भनिन् मैले आफ्नो परिचय दिएँ । उनीहरूले मलाई बस्न दिए । म त्यहाँ बसेँ । यतिबेलासम्म रातको आठ बजिसकेको थियो । मैले मोहनबहादुरलाई नमस्कार गरेँ । उनले बसेरै नमस्कार फर्काए । म आज यहिँ बस्न सक्छु भनि सोेधेँ । सबैले बस्नु भन्ने कुरा गरे । मलाई खुशी लाग्यो । म टाढाबाट हिँडेरगएकी थिएँ । मलाई थकाई लागिरहेको थियो । थकाईलागेपनि मैले थकाईलागेको कुरा उनीहरूलाई बताईन । उनीहरूको घरमा साँझको खाना खाने बेला भएको रहेछ । सबैले खाना खान थाले मोहनबहादुरलाई पनि खाना खान बोलाए । मोहनबहादुरलाई सबैले बाजे भन्दा रहेछन् । र बाजेलाई पनि खाना खान बोलाए । खाना खान दिए । बाजेले खोक्दै खाना खाए । खान खाएपछि बाजे त ओछ्यानमा खुत्रुक्कै पल्टिने रहेछन् ।
मोहन बाजेको खाना खाएका थालहरू बुहारी नाति, नातिनीहरूले स्याहार्ने रहेछन् । बाजे त खाना खाएर निदाइहाले । मैले सोध्न चाहेको कुरा । त्यो रातलाई त्यत्तिकै भयो । मलाईपनि भित्र एउटाभागमा सुत्ने ठाउँ मिलाईयो । म त्यहि गएर पल्टिएँ । दिनभरि हिँडेको थकानले जिउ भारी भैरहेको थियो । कतिबेला निदाएँछु थाहा नै भएन । भोलिपल्ट बिउँझिए । म बिउँझिनु भन्दा अगाडि नै घरको केटाकेटी बाहेक सबै सदस्यहरू उठी सकेका रहेछन् । आ्आफ्ना काम धन्दा समाईसकेका रहेछन् । म पनि हातखुट्टा, मुख धोएर ओछ्यानमा बसेँ । काम गर्न थाहा थिएन । म काम नगरीकन बस्नुपर्दा निकै पीर परिरहेको थियो । म पनि केही काम गर्छु भनेर घरकी बुहारी सङ्ग भनेँ तर बुहारीले तपाँई काम गर्न केही मेसो पाउनुहुन्न भन्दै ढकियाभरि मकैका घोँगा लिएर आएर छोडाउन लगाईन् । मैले ढकियाको मकै आधा आधी छोडाएँ मोहनबहादुर बाजेको नित्यकर्म सकियो । बाजेसङ्ग कुरा गर्न नजिकै गएर बसेँ । त्यतिबेलासम्म घाम उदाउन थालिसकेको थियो । मैले बाजेलाई सोधेँ । यो भूताह खोलाको हल्ला के हो ?बाजे बाजेले आफूसानो हुँदादेखि सुनेको कुरा यसरी सुनाए “म सानै थिएँ । मेरो आमाले भनेकी थिईन् म अलिकता जान्ने भएपछि सुनाएकी थिईन् । भूताह खोलामा एउटी आईमाई गाई चराउन माथि जङ्गलमा गाईलिएर गएकी रहिछ ।
त्यहाँ जङ्गलमा अर्को एक जना जवान पनि गाई चराँउँदै रहेछ । आईमाइले यति मिठो गीत गाईकि त्यो जवान मोहित भएछ । जवानले पटक पटक गीत गाउन भनेछ । उसले पटक पटक गीत गाईछ । गाईहरू आ –आफ्नै सुरमा चरिरहेका रहेछन् । जवानले त्यो आईमाईलाई भूताह खोलामा लगेछ र कसैले थाहा नपाउने गरी बलत्कार गरेछ । ,बलत्कार गरेपछि उसले सबलाई भनिदिन्छे भनेर, उ बाँचेमा शत्रुता बढेर जाने ठानेर त्यही खोलामा नै ढुङ्गाले ठोकेर उसलाई मारेछ । र गाईहरू छोडेर भागेछ । त्यो आईमाई रातिसम्म घरमा नआएपछि खोज्दै जाँदा गाईहरू कुनै एक्लै घर फर्किएछन् । कुनै त्यही आईमाईको लाश वरिपरि बसेका रहेछन् । गाउँलेहरूले लोटेर मरेकी होकी भनेर हेरेछन् तर उसको योनी निकै बिग्रेको र योनीमा चिप्लो सेतो पदार्थ सुकेको देखेछन् । टाउकामा चोटैचोट देखेछन् । उसको पेटमा चार महिनाको बच्चा पनि रहेछ । बच्चा आमा एकै ठाउँमा मरेछन् । बच्चाले जन्मिन नपाउँदै मरेकाले त्यस भूताह खोलामा हिड्दा बच्चा रोएको सुनिन्छ रे । त्यो आईमाई लाई मारेको मान्छे एक हप्ता पछि त्यहाँ आएको रहेछ गाई हेर्न जाने मान्छेहरूले उसलाई समातेछन् । उसले सबै कुरा बकेछ रे ! त्यहाँ एउटी आईमाइको मृत्यु भएकाले आईमाईले आफूलाई मारेर फाल्नेलाई बदला लिन बाँकी जीवन जिउन नपाएकाले, उसका रहरहरू यत्तिकै मरेकाले बतास सङ्गै पानीसँगै भूताह खोलामा उ खेलिरहेकी छरे । उसले निकै द:ुख दिन्छेरे । भनेर आमाले मलाई भनेकी थिईन्
आईमाई छोरी, बुहारी श्रीमती कसैलाई पनि अपराध गर्नु हुँदैन ती सबै श्रष्टिकर्ता हुन् । ”“आमाको यो भनाई मेरो जीवन दर्शन हो । म बुढो भइसकेँ । यतिबेला सम्म पनि यो भूताह खोलाको भूतको चर्चा उत्तिकै छ । नानी पनि त्यहि हल्लामा यहाँ आयौ । मेरो भेट भयो । मोहनबहादुरले अगाडि थपे “ आईमाई भनेका आमा हुन् आमालाई दु:ख दिनु हुँदैन । यो कथा मा त झन् आमा बच्चा दुवै मारिएका छन् । अपराध गर्दा अपराधीले ख्याल गर्ने कुरा भएन । ” मोहनबहादुरका यी कुरा सुनिसकेपछि म निकै पीडा महसुस गरेँ । बाजेलाई बुहारीले चिया लिएर दिईन् । मलाई पनि चिया मकै ल्याइदिईन् । म मकै र चिया खाएँ । त्यो कारुणिक कहानी सुनेर मनमा निकै उथलपुथल भयो । अब घाम पनि माथि चढेको थियो । म बिस्तारै आफ्नो स्थानतिर फर्किनु पर्ने थियो । मुटुलाई द:ुखाउँदै मोहनबहादुरको परिवारसङ्ग बिदा भएर आफ्नो घरतिर फर्किए । बाटाभरि त्यो अमुक अपराधीको अपराधकर्म नदेखेपनि नभोगेपनि आफै भोगेझँै भएर फर्किए र लेख्न पुगेँ भूताह खोलाको कथा । आईमाई भएकै कारण उनीमाथि अपराध नगर । यस्ता अपराधको कथाले संसार लज्जित बनेको छ ।