शशिधर भण्डारी
२० डिसेम्बर १९३९ मा क. माओले क. स्टालिनको जन्म दिवसको अवसरमा क. स्टालिन र तत्कालीन सोभियत संघका जनतालाई चिनियाँ जनताका सच्चा मित्रका रुपमा परिभाषा गरेका छन् । त्यस सिलसिलामा माओले लेखेका छन्– केवल समाजवादी देश र त्यहाँका नेता र त्यहाँका जनता र समाजवादी विचारक, राजनीतिज्ञ र मजदुर नै चिनियाँ राष्ट्र र चिनियाँ जनताको मुक्तिका लागि वास्तविक सहायता दिन सक्छन् र तिनको सहायताको अभावमा हाम्रो उद्देश्य अन्तिम रुपमा विजय हुन सक्दैन ।
माओत्सेतुङले अगाडि सारेको चिनियाँ क्रान्तिको मोडेल र अन्य केही सामान्य विषयमा स्टालिन र माओत्सेतुङका बीचमा सामान्य मतभेदहरु थिए । त्यो स्वाभाविक थियो । तर त्यतिबेला माओत्सेतुङ नेतृत्वको चिनियॉँ कम्युनिष्ट आन्दोलनलाई सोभियत संघले क. स्टालिनको नेतृत्वमा भरपुर सहयोग गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले जापानी साम्राज्यवादका विरुद्ध मुक्ति युद्ध लड्ने बेलामा क. स्टालिन नेतृत्वको सोभियत संघले वायुयान र रासनपानीको सहयोग नगरेको भए चीनको जापानी साम्राज्यवाद विरोधी मुक्ति युद्ध असफल पनि हुन सक्थ्यो । त्यतिबेला सोभियत संघ स्टालिन र सोभियत संघका जनतालाई क. माओ र चिनियाँ कम्युनिष्ट पार्टीले सबभन्दा नजिकका मित्र मानिरहँदा विश्वका पूँजीवादी तथा साम्राज्यवादी मुलुक र त्यहाँका शासकहरुले स्टालिन र सोभियत संघलाई सबभन्दा ठूला शत्रुका रुपमा हेर्दथे ।
आज पनि क. स्टालिनलाई पू‘ँजीवादी तथा साम्राज्यवादीहरुले हिटलर र मुसोलिनीको स्तरको तानाशाहका रुपमा व्याख्या गर्दछन् । संशोधनवादीहरुले पनि लगातार स्टालिनका योगदानहरुलाई अमानवीयकरण गर्दै आएका छन् । प्रश्न त्यहीं मात्र सीमित छैन । विश्वका कतिपय माओवादलाई नै आदर्श मान्ने कम्युनिष्ट पार्टीहरुले समेत क. स्टालिनलाई वामपन्थी संकीर्णवादी कोणबाट आक्रमण गरेको देखिन्छ । त्यसमा सर्वप्रथम अमेरिकाको क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसका नेता बब अवाकियनको नाम आउँछ ।
आजभोलि एउटा न्यूसेन्थेसिस भन्ने क्रान्तिकारी पलायनवादी विचार सम्प्रेषण गरिरहेका बब अवाकियनले अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन (रिम) क्रियाशील भएको अवस्थामा तीन ब्लकको सिद्धान्त अगाडि सारेका थिए । जस अनुसार विश्व कम्युनिष्ट आन्दोलनका पाँचजना प्राधिकार माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको ब्लकबाट एंगेल्स र स्टालिनको तस्विर हटाइएको थियो । यो विचारबाट जनयुद्धकालमा नेकपा (माओवादी) पनि केही समय प्रभावित भएको थियो । त्यतिबेला नेकपा (माओवादी) को सहयोग रसिद र लेटरप्याडमा तीनजना प्राधिकारको मात्र तस्विर भएको ब्लक छापियो । प्रतियोगितात्मक पूँजीवादी युगको सर्वहारा क्रान्तिको सैद्धान्तिक दार्शनिक अस्त्र माक्र्सवाद थियो । माक्र्सवाद भनेको माक्र्स र एंगेल्सको संयुक्त मष्तिष्कको उपज हो । त्यसकारण माक्र्सवादको भाष्यबाट एंगेल्सको भूमिकालाई किकआउट गर्दा माक्र्सवाद अपांग बन्न जान्छ । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको सैद्धान्तिक र संगठनात्मक अस्त्र हो । लेनिनवादको निर्माण र विकासमा स्टालिनको महत्वपूर्ण योगदान रहेको छ । ती योगदान दर्शन, संगठन, युद्ध, शान्ति र वैज्ञानिक समाजवादको प्रयोग तथा विकाससित सम्बन्धित छन् । त्यसैले लेनिनवादको भाष्यबाट स्टालिनको योगदान र भूमिकालाई किकआउट गर्ने हो भने लेनिनवाद नै अपांग हुन जान्छ ।
क. स्टालिनको जन्म सन् १८७९ डिसेम्बर २१ मा जर्जियाको गोरीमा एउटा सामान्य परिवारमा भएको थियो । उनको मृत्यु मार्च ५, १९५३ मा भएको थियो । आज स्टालिनको मृत्यु भएको समयले सात दशक पूरा गरिसकेको छ । आज सोभियत संघ विघटन भएर रुस मात्र रहेको छ । रुसमा लेनिन स्टालिनको नेतृत्वमा सन् १९१७ मा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । विशेषतः सन् १९२७ पश्चात स्टालिनको नेतृत्वमा प्रथम पञ्चवर्षीय योजना मार्फत सोभियत रुसमा कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण, राष्ट्रियकरण र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको कार्य अगाडि बढेको थियो ।
आज रुसमा क. स्टालिनको नेतृत्वमा स्थापना भएको वैज्ञानिक समाजवाद छैन । त्यहाँ घोषितरुपमा पूँजीवादको पुनस्र्थापना भएको समयले पनि तीन दशक नाघिसकेको छ । तर यो गम्भीर प्रतिक्रान्ति समयमा पनि मात्रात्मकरुपमा वैज्ञानिक समाजवादी व्यवस्थाको पुनस्र्थापनाका निमित्त कामहरु भइरहेका छन् । अहिले सोभियत जनतामा झन पछि झन क. स्टालिनप्रति श्रद्धा बढ्दै गएको कुरा कतिपय एजेन्सीहरुमार्फत सार्वजनिक भइरहेको देखिन्छ । तर आज पनि क. स्टालिनका विरुद्धमा पूँजीवादी तथा साम्राज्यवादी कोणबाट र कम्युनिष्ट आन्दोलनको शिविरमा दक्षिणपन्थी संशोधनावादी तथा वामपन्थी संकीर्णवादी कोणबाट क. स्टालिन र उनका योगदानहरुमाथि आक्रमण गर्ने, अवमूल्यन गर्ने अनि अमानवीयकरण गर्ने कार्यहरु भइरहेका छन् ।
सन् १९२२ मा स्टालिन सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव भए । १९२४ मा लेनिनको मृत्यु भयो । स्टालिनलाई देशभित्रका श्वेत आतंककारी आक्रामक, १४ वटा पूँजीवादी मुलुक तथा फाशिष्टहरुसँग एकै पटक विभिन्न मोर्चामा लड्नुप¥यो । पार्टीभित्रको अवसरवादका विरुद्धको संघर्षको प्रश्न आन्तरिक समस्याका रुपमा आफैमा एउटा गम्भीर प्रश्न बनिरहेको थियो । कमजोर चेतनास्तर भएका किसानहरु जमिनको राष्ट्रियकरण र सोभियत सत्ताका विरुद्धमा प्रदर्शनमा थिए । तिनीहरुलाई श्वेत आतंककारीहरुले उचालिरहेका थिए । त्यतिबेला सोभियत संघ भयानक गरिवी र विपन्नतासित पनि जुधिरहेको थियो । त्यस्तो अवस्थामा सोभियत संघलाई समृद्ध बनाउन पञ्चवर्षीय योजना कार्यान्वयन गर्नु र समाजवाद निर्माणको प्रक्रियालाई अगाडि बढाउनु सामान्य चुनौतीका विषय थिएनन् ।
त्यतिबेला सम्म विश्वमा माक्र्सवादी लेनिनवादी सिद्धान्तको आधारमा वैज्ञानिक समाजवादी व्यवस्थालाई व्यावहारिक रुप दिने कार्यको अन्तर्राष्ट्रिय अनुभव पनि थिएन । त्यस्तो एउटा जटिल अवस्थामा सर्वहारा वर्गको अधिनायकत्वलाई कडाइपूर्वक लागु नगरिकन देशलाई वैज्ञानिक समाजवादी लक्ष्यमा हिडाउन सम्भवै थिएन । त्यस्तो परिस्थितिमा सर्वहारा वर्गको अधिनायकत्व लागु गर्ने सिलसिलामा क. स्टालिनबाट कतिपय कमी कमजोरी अवश्य भएका थिए । ती कमीकमजोरीहरुलाई क. माओत्सेतुङले पनि औंल्याएका थिए । यद्यपि माओका लागि क. जोसेफ स्टालिन जतिको नजिकको राजनीतिक, सैद्धान्तिक वैचारिक र वर्गीयरुपमा घनिष्ट मित्र अर्को थिएन । त्यसकारण क. स्टालिनबाट भएका केही कमी र कमजोरीहरु परिस्थितिजन्य कमजोरीहरु थिए । सोभियत संघ र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा क. स्टालिनका कमजोरीका तुलनामा उनका योगदानहरु विराट महत्वका थिए ।
आज पनि विश्वका पूँजीवादी तथा साम्राज्यवादी शासकहरुले क. स्टालिनलाई एउटा क्रुर तानाशाहका रुपमा भ्रामक व्याख्या गर्नु स्वाभाविक हो । तिनीहरुले लेनिन र माओलाई पनि तानाशाहका रुपमा भ्रामक व्याख्या गर्दछन् । तर कम्युनिष्ट आन्दोलनको झण्डामुनि दक्षिणपन्थी संशोधनवादी तथा वामपन्थी संकीर्णवादीहरुले समेत क. स्टालिनलाई प्राधिकारको ब्लकबाट किकआउट गर्ने, अवमूल्यन गर्ने र अमानवीयकरण गर्ने कार्य गर्दै आएका छन् । यो सन् १९५६ मा तत्कालीन सोभियत संघको कम्युनिष्ट पार्टीको बीसौ महाधिवेशनमा खु्रश्चेवले स्थापित गराएको परम्परा हो । सो परम्परामा आज पनि आधुनिक संशोधनवादीहरु र वामपन्थी संकीर्णवादीहरु बगिरहेका देखिन्छन् । प्रथमतः आज विश्व कम्युनिष्ट आन्दोलन नै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । द्वितीयः विश्व कम्युनिष्ट आन्दोलनको शिविरमा स्टालिन विरोधी दक्षिणपन्थी संशोधवादीहरुको बाहुल्यता छ । दक्षिणपन्थी संशोधनवादीहरु मात्र होइन वामपन्थी संकीर्णवादीहरु स्टालिनको विरोध गर्दै जाने क्रममा पूँजीवादका मित्र हुँदै परिष्कृत तथा नवपूँजीवादी स्वरुपमा पतन भइरहेको पनि देखिन्छ ।
विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा यस्ता धेरै उदाहरणहरु छन् । त्यसो त क. स्टालिन र उनका विचार विश्व पूँजीवाद र साम्राज्यवादी शासकका सबभन्दा ठूला शत्रु हुन् भने आधुनिक दक्षिणपन्थी संशोधनवादीहरु तथा वामपन्थी संकीर्णवादीहरुले क. स्टालिनलाई निकै टाढा देख्छन् । आज विश्व कम्युनिष्ट आन्दोलनको शिविरमा यिनीहरुकै वर्चश्व छ । यस्तो अवस्थामा कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अगाडि बढाउने प्रश्नमा क. स्टालिनको विचार र योगदानको उपादेयता अरु बढेर गएको छ । क. स्टालिनको विचार, योगदान र अनुभवबाट पाठ नसिकिकन र उनका सिद्धान्त ग्रहण नगरिकन आधुनिक कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देश गर्न सकिन्न । स्टालिनका योगदानहरुलाई अस्वीकार गर्नुको अर्थ लेनिनवादलाई नै अस्वीकार गर्नु हो ।
आज नेपालको कम्युनिष्ट आन्दोलन दिशाहीनता, मूल्यविघटन, सत्तालिप्सा हुँदै गम्भीरढंगले परिष्कृत पूँजीवादको दिशामा तीब्रढंगले ओरालो लागिरहेको छ । यस्तो अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, हेरचाह र विकासका निमित्त स्टालिनको योगदान, भूमिका र सकारात्मक विचारहरुलाई पक्रनु जरुरी छ । २६ डिसेम्बर क. माओको जन्म दिवस हो । माओ विचारधारा वा वाद मान्ने कम्युनिष्ट पार्टीहरुले माओ दिवस धुमधामले मनाए र क. माओको योगदानबारे चर्चा गरे । यो महत्वपूर्ण काम हो । यसका साथसाथै २१ डिसेम्बर क. स्टालिनको जन्म मिति हो । २१ डिसेम्बरको अवसरमा स्टालिनको सम्झना मात्र गरेको पाइयो । क. स्टालिन र क. माओको दुबै विश्व कम्युनिष्ट आन्दोलनका प्राधिकार तथा महापुरुषहरु हुन् । कम्युनिष्ट आन्दोलन जति मूल्यविघटनको दिशामा पतन हुँदै जान्छ त्यत्तिकै मात्रामा स्टालिन र माओ थप सान्दर्भिक हुँदै गएका छन् । त्यसकारण सोभियत संघ र विश्व कम्युनिष्ट आन्दोलनमा स्टालिनको विचार, योगदान, नीति तथा कार्यक्रमको उपादेयताका विषयमा छलफल, विमर्श तथा क्रिया प्रतिक्रिया हुन आवश्यक छ ।
क. स्टालिन विश्वका श्रमजीवी सर्वहारा वर्गका महान मित्र तथा विश्व पूँजीवाद तथा साम्राज्यवादी शासकको सबभन्दा ठूला शत्रु हुन् । क. स्टालिनको माक्र्सवाद लेनिनवादप्रतिको अडान सर्वहारा अधिनायकत्वको व्यावहारिक प्रयोग र वर्ग दुश्मनप्रतिको घृणाको इतिहासले आज पनि विश्व पूँजीवाद तथा साम्राज्यवादी शासकहरुलाई लघारिरहेको छ । आज युरोपमा स्टालिन युगको राजनीति, इतिहास, आर्थिक तथा सामाजिक विषयमा पर्याप्त खोज र अनुसन्धानहरु भइरहेका छन् । इतिहासकारहरुले त्यस बेलाका दुर्लभ दुर्लभ दस्तावेजहरु प्राप्त गरेका छन् । जस अनुसार स्टालिन होइन स्टालिनमाथि ख्रुश्चेवले लगाएका गम्भीर अभियोगहरु झुटा सावित भएका छन् । पूँजीवादी तथा साम्राज्यावादी शासकहरुले लगाएका लाञ्छनाहरुमा पनि सत्यता नभएका तथ्यहरु बाहिर आएका छन् । यसले स्टालिन विश्व कम्युनिष्ट आन्दोलनमा विराट महत्व राख्ने महान माक्र्सवादी लेनिनवादी थिए भन्ने कुरा थप पुष्टि भएको छ ।