आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, २३ मंसिर । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००३ अक्टोबर ३१ मा एक प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस घोषणा गरेको थियो । यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा मनाउने संयुक्त राष्ट्र संघले घोषणा गरेको थियो ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उद्देश्य विश्वभर भ्रष्टाचार र यसको उन्मूलन बारे चेतना फैलाउनु रहेको छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्य मान्यता विरुद्धको आचरणलाई भ्रष्ट आचरण मानिन्छ। सर्वसाधारणको जीवनमा यो आर्थिक अपराधसँग जोडिएको छ ।

भ्रष्टाचार धेरै प्रकारका हुन सक्दछन् । जस्तै: घुस लिने, चुनावमा धाँधली गर्ने, जबरजस्ती चन्दा, आफ्नो विरोधीलाई दबाउन सरकारी संयन्त्रको दुरुपयोग, गलत वा पक्षपातपूर्ण निर्णय गर्ने न्यायाधीशहरू,  ब्ल्याकमेलिंग, कर छली, झूठो बयान दिने, झूठो परीक्षणको रिपोर्ट दिने, उम्मेदवारको गलत मूल्याङ्कन गर्ने, सहि उत्तरमा अंक नदिने र गलत/अलिखित उत्तरमा अंक दिने, पैसा लिएर भोट हाल्ने, भोटका लागि पैसा र मदिरा बाँड्ने, पैसा लिएर प्रतिवेदन छाप्ने, विभिन्न अवार्डका लागि छनोट भएका व्यक्तिहरूबीच पक्षपात गर्ने आदि विषयहरु भ्रष्टाचारका केही उल्लेख्य विषय रहेका छन् ।

भ्रष्टाचार विरुद्ध हामी सबै अघि बढौँ, घूस खोरी र भ्रष्टाचारीलाई  जरैदेखि उखेल्न हातेमालो गरौँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित