लालबहादुर जाग्री ••
यो घटना २०५९कार्तिक १ गतेको हो । देशमा सङ्कटकालीन स्थिति थियो । ४÷५ वर्ष पहिले मेरो गाउँ डडेल्धुरा जिल्लाको कर्रेनीमा एउटी महिलाले आत्महत्या गरेकी थिइन् । गाउँलेहरू मृतक महिलाबारे प्रहरीलाई रिपोर्ट पहिले नै दिएका तर दुई वर्षपछि टुङ्गो लगाउन इलाका प्रहरी कार्यालय जोगवुडा लालढुङ्गा जान गाउँलेहरू डराइरहेका थिए । त्यसबारे मुचुल्का तयार पार्ने सन्दर्भमा गाउँलेहरूले मलाई बोलाएका थिए । म गाउँलेहरूसँगै प्रहरीमा गएँ र त्यो काम सम्पन्न भयो ।
काम सकाएर म फर्र्किएर बजारमा आएँ । डडेल्धुराको रङ्गुन खोलाको किनारमा बजार थियो । रात परिसकेको थियो । म बजारको ठगुन्ना होटेलमा बास बसेको थिएँ । अचानक मेरो गाउँको एउटा भतिजो पर्ने केटा भीम बहादुर महत हस्याङ्ग फस्याङग् गर्दै म बसेको होटेलमा आए । “के भयो ?”–मैले सोधँे । “मलाई सेनाले लखेट्दै आएको छ । मलाई माओवादी भनी सेनाले पक्रिएर लान खोजेका छन् । ”– भीमबहादुरले भने । हामीले कुरा गर्दा गर्दै सेनाले ढोका खोल भन्दै ढोका ढकढकाउन आयो । काठमाथि टीनले छाएको एउटा होटेल थियो । विजुली थिएन । चकमन्न अँध्यारो थियो । हामीले ढोका खोल्यौँ । भिमबहादुरलाई जाउँ जाउँ भन्दै पक्रिएर लान खोज्यो । मैले यी भाइ माओवादी हैनन् । मैले चिनेकै भाइ हुन् भन्दै कुरा गरें । मैले नलैजानुस् भन्दाभन्दै घिसार्दै हत्कडी लगाएर हिडाले । मैले भने कि लानु भयो । कुट्ने र मार्ने काम नगर्नु होला । मैले लप्टानसित कुरा गर्ने छु । एउटा गेट भएको वरपर पर्खाल लगाएको कम्पाउण्ड भएको होटेल थियो । लप्टान बाहिरबाट सुनिरहेको रहेछ । त्यसलाई पनि लिएर आउ भन्यो । मलाई पनि समाएर घिसार्न थाले । पहिले कालो पट्टी आँखामा बाँधे ।
रङ्गुनखोलाको किनारमा बगरमा आर्मी क्याम्प थियो । त्यसको नजिकै प्रहरी पोष्ट पनि थियो । भित्र काँडेतार विच्छाएको रहेछ क्याम्पमा घुमाउँदै घुमाउँदै लग्यो । राम्रैसित अब कुट्ने भयो भन्ँने सोचिरहेको छु । भीमबहादुर भाइलाई छोपेर कहाँ लग्यो थाहा भएन । त्यहाँ बङ्कर बनाएको थियो । कतै बङ्करमा राख्यो कि भन्ने पनि सोच्दछु । बगरको चिसो बालुवामा राख्यो । आँखामा पट्टी बाँधेको छ । केही समयपछि एउटा सेना हत्कडी लिएर आयो । वकिल रहेछस् । जो भएपनि राजाको हत्कडी त लाउनै पर्यो भन्यो । राती १ बजेतिर बयान लिन प्रहरी आयो । सेनाले नजिकै प्रहरी पोष्टबाट वयान लिन प्रहरी इन्स्पेक्टर भोजप्रसाद खतिवडालाई बोलाएको रहेछ । उनी सिन्धुलीका रहेछन् । जन्म, आमा, बाबा, ठेगाना, पेशा मेरो पृष्ठभूमि सबै सोधेर चित्रबहादुर केसी वा लिलामणि कतातिरका हौ सम्म भनेर बयान लियो ।
हत्कडी लगाइसकेपछि मलाई पिटेका पनि छैनन् । भनेपछि अब खोलाको किनार वा जङ्गलमा लगेर गोली हानेर मार्ने भए भन्ने मलाई लागेको थियो । त्यो क्याम्पमा त्यो क्षेत्रका करिब डेढ सय मान्छेलाई सेना, प्रहरीले हिरासतमा मारिसकेको भन्ने सुनिन्थ्यो । काङ्ग्रेसहरूले पोलेका सुराकी गरेका धेरै मान्छे मारिएका थिए । यातना कतिसम्म दिएको सुनिन्थ्यो भने पिट्दापिट्दा शरिरमा बनेका घाउहरूमा पिप र किरा पर्दासम्म पनि त्यहाँ यातना दिएका थिए । बाँचिदैन होला भन्ने लागेको थियो ।
रातीमा वयान नल्याएका बेला मलाई हेर्ने जिम्मा लिएको सेनाको सिपाही भाइ बागलुङको परेछन् । उसले सुस्तरी मेरो कानमा आएर भन्थ्यो, “सर ! तपाई निर्दोष मान्छेलाई यहाँ लिएका छन् । मेरो घर बागलुङ हो । मैले अखिल (छैठौँ) मा काम गरेको हुँ” भन्दै मसालको कुरा गर्यो । मेरो कुरा फुस्काउन ठिक्क पारेको होला भनेर वास्तै गरेन ।
विहान ४ बजेतिर करिव १० जना सेनाले पक्रिएर मलाई क्याम्प बाहिर ल्याए । अब मार्ने भए । मार्न लगे भन्ने सोच्दै थिए । बजार सुनसान छ । बाहिर ल्याएर हातको हतकडी र आँखाको कालो पट्टी पनि खोली दिए । मलाई सरासर बेलुकी म बसेको होटेल भित्र छिराइदिएर फर्किए । अनि मलाई लाग्यो, ए ! यति भए पछि मार्ने रहेनछन् । रातिमा स्थानीय काङ्ग्रेसहरूलाई पनि उनीहरूले सोधे, मलाई लाग्छ स्थानीय काङ्ग्रेसहरूले मलाई माओवादी हैन भने होलान् ।
प्रहरीको अनुसन्धान सबैबाट माओवादी हैन भन्ने ठानेपछि मलाई छाडिदिए । तर मेरो मनमा भीमबहादुर भाइलाई मारेकी ज्यूँदै छ भन्ने लागिरहेको थियो ।
विहान उज्यालो भएपछि म महेन्द्रनगरतिर हिंडे । ज्यूँदो वा मर्दो जे भए पनि भीमबहादुर भाइको बारेमा खोजी गर्नु पर्दछ भनेर म एक जना साथी बनाएर महेन्द्रनगरतिर जाँदै थिएँ । गाउँमा फोन नभएकाले फोन गर्न कञ्चनपुरको महेन्द्रनगर पुग्नु पर्दथ्यो ।
म जाने बाटोमा, मोटाहल्दी गाउँमा सेनाहरूले घर घरमा खान तलासी गर्दै थिए । त्यस मध्ये एक जना राति मलाई ड्युटी गर्ने भाइ पनि रहेछन् । सबै सेनाहरू घर घर फिंजारिएका थिए । उनी दौडिँदै सर नमस्कार भन्दै खुशी हुन आए । तपाई छुट्नु भयो खुशी लाग्यो भन्दै फेरि बालुङमा छैठौँमा काम गरेको कुरा गरे । राति मलाई शङ्का लागेका थियो । अहिले तिनी छैठौँ नै थिए भनेर विश्वास लाग्यो । रोजीरोटीले सेना भए पनि आस्था र विश्वास, वर्गीय प्रेम नमर्दो रहेछ भन्ने लाग्यो । आधी बाटो पुग्दा गाउँका मान्छेहरू फर्काउन आए ।
भीमबहादुर पनि रिहा भए गाउँमा आए, अब महेन्द्रनगर गएर चित्रबहादुर के.सी.लाई फोन गर्न पर्दैन भनेर मलाई मान्छेहरू फर्काउन आए । मैले बेलुकी सेनासित भीमबहादुुर माओवादी हैन, नपिट्नु, नमार्नु भनेको कुराले काम गरेको हुनुपर्दछ भन्ने लाग्यो । मलाई र भीमबहादुर भाइलाई सेनाले दु:ख दिएको घटना इन्सेकको मानव अधिकार वर्ष पुस्तकमा छापिएको छ ।