लोकनारायण सुवेदी
भनिन्छ भारतमा यतिबेला ‘स्पाई मास्टर’ मानिने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो राजनीतिक जीवन यात्राको सबैभन्दा ठूलो चूनौतिको सामना गर्नु परिरहेको छ । हुन पनि अमेरिकी प्रशासनले भारतले घोषित गरेका एकजना खालिस्तानी आतङ्कवादी गुरपतवन्त सिंह पन्नुलाई बचाउनका लािग भारतको सम्पूर्ण गुप्तचर संयन्त्रलाई कठघरामा उभ्याउने कोशिश गरिरहेको अौँल्याइन्छ । सतहीरुपमा हेर्दा त भारत र अमेरिका आफ्नो दुइ पक्षीय सम्बन्धमाथि कुनै आँच आउन नदिने प्रयास नै गरिरहेका देखिन्छन् । तर यतिबेला क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको आरोप पछि अमेरिकी अदालती कारबाहीको निक्कै दूरगामी परिणाम आउन सक्ने अडकलबाजी गरिदैछ ।
भारतका चर्चित र वरिष्ठ राजनीतिक विश्लेषक ब्रहृम चेलानीका अनुसार भारतीय नागरिक निखिल गुप्ता र अज्ञात गुप्तचर अधिकारीका विरुद्ध अदालतमा दायर गरिएको आरोपपत्र तोता–मैनाको कथा जस्तो छ । त्यसबारेमा नवीनतम सूचनाहरूले बताए अनुसार भारतको गुजरात पुलिसको रेकर्डमा निखिल गुप्ताका बरेमा कुनै आपराधिक सूचना नै छैन । अर्को एउटा रिपोर्टका अनुसार भने निखिल गुप्तालाई चेक गणराज्यले अमेरिकालाई सुम्पिदिएको छ । पत्यर्पणको सम्पूर्ण कथापछि पनि भारतीय दूतावासलाई त्यस अभियोगको कुनै जानकारी दिइएको छैन । यसले गर्दा भारतीय विश्लेषकहरू यस मामिलालाई अमेरिकी प्रशासनको भारतलाई फसाउने एउटा पूरै षडयन्त्रकारी कोशिसकोे रुपमा ब्याख्या गर्न थालेका छन् ।
भर्खरै एक सय वर्षको उमेरमा देहावसान भएका अमेरिकी पूर्व विदेशमन्त्री एवं चर्चित तर विवादास्पद कूटनीतिज्ञ हेनरी किसिञ्जरको यो दम्भपूर्ण र परिचित कथन कि ‘अमेरिकासँग दुश्मनी गर्नु खतरनाक छ तर अमेरिकासँग दोस्ती गर्नु पनि ज्यान जाने कुरा हुन्छ’ । यस भनाइको परिप्रेक्षमा भारतको सन्दर्भमा के भनिदैछ भने भारतका बिदेशमन्त्री सुब्रमण्यम जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहले किशिञ्जरको यो अमेरिकी प्रवृत्तिको यो कथनलाई बेवास्ता गरिदिएका थिए । भारतमा आजभोली के प्रश्न उठाइन थालेको छ भने अमेरिकी प्रशासनको तारो आखिर को हो ? राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल कि मोदी सरकार ? अमेरिकामा आरोपपत्र दाखिल गरिएपछि भारतकोतर्फबाट त्यो विषयको छानविन गर्न जुन उच्च स्तरीय कमिटी गठन गरियो त्यसको सञ्चालन डोभालले नै गरिरहेका छन् ।
यसबाट नै स्पष्ट हुन्छ कि मोदी सरकार डोभालका पछाडि उभिएको छ । यसै सन्दर्भमा अर्को एउटा प्रतिवेदनका अनुसार अमेरिकाले भारतमा जुन दबाब सिर्जना गर्यो त्यसले गर्दा वाशिËटन र लण्डनमा भारतीय गुप्तचर एजेन्सी(‘र’को स्टेशन प्रमुखलाई पदच्यूत गर्नु परेको थियो । क्यानाडाका शीर्षस्थ अधिकारलाई त पहिला नै भारतबाट निकाला गरिसकिएको थियो । यदि त्यो प्रतिवेदन सही हो भने ती प्रमुख तीन देशहरूमा भारतको राष्ट्रिय हितको सुरक्षाका लागि भारतको गुप्तचर सूचना एकत्र गर्ने प्रणाली कमजोरतम भएको ठहर्छ भनेर भारतकै बिश्लेषकहरू अौँल्याइरहेका छन् । अनि भारतमा के सन्देह गरिदै गरेको देखिन्छ भने कि अमेरिकाले यसै मनसायले सम्पूर्ण कसरत गरिरहेको हो ।
भारतीय ज्ञाता र विश्लेषकहरू भन्छन् कि अमेरिकी गुप्तचर संस्था सिआईएको भारतको राजधानी दिल्ली लगायत पूरै भारतभर व्यापक तानावाना बनाइएको छ । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यकालमा नियुक्त गरिएका एक अमेरिकी राजदूतले आफ्नो संस्मरणम लेखेकै थिए कि ‘केन्द्रीय मन्त्रीमण्डलको बैठकको केही घण्टा पनि बित्न नपाउँदै उनको मेचमा विचार विमर्शको सम्पूर्ण व्यहोरा आइपुग्थ्यो’ । शायद इन्दिरा गान्धीले त्यस गतिविधिको लख काटेकी थिइन् ।
त्यसैले उनले अर्को छुट्टै किसिमको निर्णय लिने गर्दथिन् । उनको त्यस प्रकारको सुझबुझले गर्दा सीआईएका दिल्लीस्थित स्टेशन प्रमुख जोक्कर साबित हुन पुग्दथे भनिन्छ र अहिलेका प्रधानमन्त्रीले त्यसै गरुन् भन्ने भारतीय कूटनीतिका ज्ञाताहरूको राय देखिन्छ । उनीहरू सबैभन्दा राम्रो कुरा त के हुन्छ भनिरहेका छन् भने भारत सरकारकोतर्फबाट यस सम्बन्धि एउटा श्वेतपत्र जारी गरियोस् जसमा विदेशी गुप्तचर एजन्सीहरूका सबै गतिविधिहरूको सूचि होओस् ।
यस्तै परिदृष्यका बीच भारत र यसको सेरोफेरोमा घटेको एउटा महत्त्वपूर्ण घटनाहरूमथि सायद मानिसहरूको ध्यान कमै गएको होला । त्यो के भने रूसको नौसेनाले पुन: हिन्द महासागरमा गस्ती लगाउन शुरु गरेको छ । रूसी नौसेनाले भारत, बङ्गलादेश तथा म्यानमारका नौसेनाहरूसँग मिलेर हलैमा संयुक्त सैन्य अभ्यास पनि गरेको छ । रूसी नौसेनाको यो सक्रियता भारतको जानकारी र सहमति बेगर भएको छैन र हुँदैन भन्ने पनि भारतीय पक्षको विश्वास रहेको पाइन्छ ।
यी सबै परिप्रेक्ष र गतिविधिका बीच निश्चय नै भारतले के सन्देश दिन खोजेको देखिन्छ भने भारत क्वाड(Quadrilateral Security Dailouge)को सदस्य भए पनि उसले आफ्नो विश्वासिलो मित्र रूसको हिन्द महासागरमा उपस्थिति होस् भन्ने चाहन्छ । पर्यवेक्षकहरू भन्न थालेका छन् कि इतिहासले आफुलाई दोहोर्याउँदछ, शायद हिन्दमहासागर क्षेत्रको हकमा पनि त्यसै भएको छ । १९७१ मा अमेरिकाको दबाब र धम्कीलाई नसुनी रूसी सेना हिन्द महासागरमा तैनाथ भएको थियो । भारतले अहिले त्यो पनि सम्झन थालेको देखिदैछ । अमेरिकासँग दोस्ती पनि दुश्मनी पनि खतराले खाली नहुने कुरा भारतले अहिले अझ बढी बुझ्न थालेको हो कि ?