शशिधर भण्डारी ••
मार्क्सवादी सिद्धान्तको निर्माण प्रक्रियामा फ्रेडरिक एङ्गेल्सको अत्यन्त महत्त्वपूर्ण योगदान र भूमिका रहेको छ । मानव जातिको ऐतिहासिक विकासका सन्दर्भमा एङ्गेल्सले मिथकवादी सिद्धान्तको विरुद्धमा वैज्ञानिक सिद्धान्तको प्रतिपादन गरे । राज्यसत्ता र निजी सम्पत्तिको उद्भवका विषयमा एङ्गेल्सको परिवार निजी सम्पत्ति र राज्यसत्ताको उत्पति नामक पुस्तकले वैज्ञानिक ढङ्गले ऐतिहासिक विवेचना गरेको छ । एङ्गेल्सले मोर्गनको अनुसन्धानलाई आधार बनाएर उक्त पुस्तक लेखेका थिए । अन्तर्राष्ट्रिय मजदुर आन्दोलन अत्यन्तै सङ्कटग्रस्त भएको अवस्थामा सन् १८८३ मा माक्र्सको मृत्यु भइहाल्यो । त्यस पश्चात सन् १८७१ को पेरिस कम्युनको पराजयबाट थला परेको मजदुर आन्दोलनलाई वैचारिक नेतृत्व प्रदान गरेर व्यवस्थित गराउने काममा एङ्गेल्सले ठूलो योगदान पुर्याए । पेरिस कम्युनको पराजयपश्चात सन् १८७६ मा प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियको विघटन भएको थियो । फ्रेडरिस एङ्गेल्सको नेतृत्वदायी भूमिकाकै कारण सन् १८८९ मा द्वितीय कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापना भएको थियो । माक्र्सको पालामा पूँजीको खण्ड एक मात्र प्रकाशित भएको थियो । माक्र्सले खण्ड दुई र तीनका लागि सामान्य नोटमात्र तयार पारेका थिए । तीनै नोटका आधारमा एङ्गेल्सले पूँजीका खण्ड दुई र तीन पूरा गरे ।
लेनिनले एङ्गेल्सको प्रशंसा गर्दै पूँजीका खण्ड दुई र तीन एङ्गेल्सका एक प्रकारका स्वतन्त्र रचना हुन् भनेका छन् । कतिपय मानिसहरूले एङ्गेल्सलाई माक्र्सका आर्थिक सहयोगी तथा सहृदयी साथीका रुपमा मात्र परिभाषा गरेको पनि पाइन्छ । तर वास्तविकता त्यति मात्र होइन । एङ्गेल्स माक्र्सका बौद्धिक सहयोगी साथी पनि थिए । स्वयं सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र कार्लमाक्र्स र फ्रेडरिस एङ्गेल्सको संयुक्त मस्तिष्कको उपज थियो । त्यसकारण माक्र्सवादको भाष्यमा एङ्गेल्सको भूमिका अतुलनीय देखिन्छ । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद माक्र्सवादको आधारभूत दर्शन हो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद तथा माक्र्सका समग्र वैज्ञानिक समाजवादी सिद्धान्तलाई माक्र्सवाद भन्न थालियो । यो शब्दको प्रयोग माक्र्सले गरेका थिएनन् । यसको प्रयोग कार्लमाक्र्सका अनुयायीहरूले गरेका थिए ।
माक्र्सका अनुयायीहरूले माक्र्सवाद शब्दको प्रयोग गर्नु ठीक थियो किनभने द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी दर्शन, अर्थशास्त्र र इतिहासको रचना माक्र्सले नै गरेका थिए । माक्र्सवादी सिद्धान्तको निर्माण प्रक्रियामा एङ्गेल्सको अभूतपूर्व योगदान रहेको भए तापनि माक्र्सका अनुयायीहरूले माक्र्सवाद एङ्गेल्सवाद शब्दको प्रयोग गरेनन् । माक्र्सवाद भन्ने शब्द मात्र प्रयोग गरे । यो दर्शनमा प्रतीकका रुपमा माक्र्सको मात्र नाम आए तापनि विश्वको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा एङ्गेल्सको महान र ऐतिहासिक योगदानको अवमूल्यन भएको पाइन्न र गर्न पनि मिल्दैन । अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा एङ्गेल्सको नाम र भूमिका प्राधिकारका रुपमा स्थापित छ । माक्र्सवाद जस्तै प्रतीकका रुपमा एङ्गेल्सको नाम नआउनु अस्वाभाविक होइन किनभने माक्र्सवादी सिद्धान्तको निर्माणमा एङ्गेल्सको अपेक्षा माक्र्सको योगदान निर्णायक र महत्त्वपूर्ण थियो । प्रतियोगितात्मक पूँजीवादी युगमा सर्वहारा क्रान्तिको अस्त्रको रुपमा रहेको माक्र्सवादी सिद्धान्त माक्र्स र एङ्गेल्सको संयुक्त मस्तिष्कको प्रतिफल हो भन्ने कुरामा विश्वभरिका सच्चा माक्र्सवादीहरू प्रष्ट हुन जरुरी छ । एङ्गेल्स पनि माक्र्स जस्तै विश्व कम्युनिष्ट आन्दोलनको आम कार्यदिशाका प्राधिकार हुन् । माक्र्सवादबाट एङ्गेल्सको भूमिकालाई अलग गराउन मिल्दैन । त्यसरी अलग गराउँदा बित्तिकै सिङ्गो माक्र्सवाद अपाङ्ग हुन पुग्छ । यसबाट पनि विश्वको मजदुर आन्दोलनमा एङ्गेल्सको योगदानको ठूलो महानता देखा पर्छ ।
माक्र्स र एङ्गेल्स उन्नाइसांै सताब्दीका महानतम विचारक थिए । तिनीहरूले ‘संसारका मजदुर एक हौ’ भन्ने नारा सहितको प्रतिध्रुवीय विचारको सङ्खघोष गरे । त्यसपूर्व दर्शन, इतिहास, राजनीति, अर्थशान्त्र, कानुन र समग्र राज्यसत्ताकै विषयमा कुनै पनि दार्शनिकले प्रतिध्रुवीय विचारको प्रतिपादन गर्न सकेका थिएनन् । दर्शनको क्षेत्रमा प्रतिध्रुवीय भौतिकवादी दर्शन थियो तर व्यवस्थित थिएन । माक्र्सवादले प्रतिध्रुवीय दर्शनलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका रुपमा विकसित गराएर वर्गीय राज्यसत्ताको आलोकमा विवेचना गर्यो । पृथ्वीको पूर्व र पश्चिम दुवै गोलाद्र्धमा आदर्शवादी र भौतिकवादी चिन्तनधाराका बीचमा भीषण सङ्घर्षहरू हुँदै आए । तर भौतिकवादी दर्शन पूर्वमा चार्वाक वा लोकायतका रुपमा उदायो । तर यो दर्शनमाथि निर्मम दमन भएको कारणले राज्यसत्तासँग जोडिन सकेन ।
आदर्शवादी पण्डाहरूले लोकायत दर्शनको अवशेषलाई समेत बाँच्न दिएनन् । आज हामीले लोकायत दर्शनमाथि भएको आलोचना र खण्डनलाई आधार बनाएर बुझ्नुपरेको छ । मिथक वा दैवी सिद्धान्तका विरुद्धमा पश्चिममा सत्य र तर्कको जगमा परिभाषा गर्ने दार्शनिकहरूको उदय भयो । आदर्शवादीहरूले तिनीहरूमाथि निर्मम दमन गरे । तर मिथकका विरुद्धमा उठेको तर्कसहितको विज्ञानको झण्डालाई ढाल्न आदर्शवादीहरूले सकेनन् । त्यही सङ्घर्षको पर्याय नै पुनर्जागरणकाल थियो । माक्र्सवादको उदय युरोपको पुनर्जागरण र औद्योगिक क्रान्तिको प्रतिफल थियो । त्यसो त माक्र्सवादले पूँजीवादी शोषणका कारण मजदुर वर्गमा पैदा भएको अभाव र दु:खको क्रन्दनलाई जोडदाररुपमा सम्बोधन गर्यो । माक्र्सवादले मजदुर वर्गको आर्थिक समस्याको मुक्तिको कुरा मात्र गरेन । त्यो वर्गको राज्यसत्ताको आवाजलाई बुलन्द गर्यो । माक्र्सवादले पूँजीवादलाई पछार्न सशस्त्र वर्ग सङ्घर्ष र पूँजीवाद ढलेपछि वर्गसत्ता टिकाउन मजदुर वर्गको अधिनायकत्वमा जोड दियो । माक्र्सवादको यो गुदी सिद्धान्तको प्रतिपादनमा माक्र्ससँगै एङ्गेल्सको पनि महत्त्वपूर्ण योगदान रहेको छ ।
निजी सम्पत्तिको उदय भए पश्चात मानिसको आर्थिक दृष्टिकोण र मनोविज्ञान वर्गीय हुन थालेको देखिन्छ । एउटा मानिस अरुको काम गर्न जाँदा बढी ज्यालाको आशा र माग गर्दछ । त्यही मानिसले आफ्नो काममा अरुलाई लगाउनुपर्यो भने सकेसम्म कम ज्यालामा काम लगाउन पाए हुन्थ्यो भन्ने सोचाइ राख्दछ । यो मानिसको निजी सम्पत्तिमा आधारित वर्गस्वार्थमात्मक मनोर्वज्ञानिक दृष्टिकोण हो । विश्व सर्वहारा आन्दोलनका नेता फ्रेडरिक एङ्गेल्सको जन्म सनु १८२० मा जर्मनीको एउटा उद्योगपति परिवारमा भएको थियो । उनका पिता कारखानाका मालिक थिए । वर्गीय समाजमा एउटा पूँजीपतिको दृष्टिकोण मजदुरहरूलाई जति सक्यो सस्तोमा कजाउने र बढीभन्दा बढी नाफा सोहोर्ने नै हुन्छ । एङ्गेल्सले कारखाना पनि चलाए तर उनमा पूँजीपति मालिकत्वमा हुने प्रवृत्ति भएन । एउटा औद्योगिक घरानामा जन्मेर पनि फ्रेडरिक एङ्गेल्स आजीवन मजदुरहरूको हक अधिकार तथा सर्वहारा वर्गीय राज्यसत्ता र त्यसको अधिनायकत्वका लागि सबै कुरा त्यागेर विचार र साङ्गठनिक सङ्घर्षमा होमिए । माक्र्सलाई जीवनभर आर्थिक सहयोगको समेत हात बढाइरहे । एङ्गेल्सको विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा सामान्य योगदान थिएन । एङ्गेल्सले आफू जन्मेको वर्ग धरातलीय दष्टिकोणलाई पूर्णरुपमा परित्याग गरे । विश्वको राजनीतिक आन्दोलनको इतिहासमा एङ्गेल्सको जस्तो उच्च स्थान प्राप्त गर्ने विचारकहरू धेरै कम छन् ।
त्यो युगको मजदुर आन्दोलनमा अराजकतावाद र दक्षिणपन्थी सम्झौतावादीहरूको प्रभाव रहने गर्दथ्यो । पेरिस कम्युन महान थियो तर त्यसको नेतृत्व अराजकतावादीहरूको हातमा भएको हुनाले भयानक क्षतिको सामना गर्नु परेको देखिन्छ । अराजकतावादीहरूको क्रान्तिकारी त्याग र स्प्रिटमा शङ्का थिएन तर वस्तुस्थितिको ख्याल नगरिकन घोषणा गर्ने सङ्घर्षले क्षतिको सामना गर्नुपर्दथ्यो । पेरिस कम्युनको असफलता र कम्युनिष्ट अन्तर्राष्ट्रियको विघटनको एउटा निराशाको समयमा कार्ल माक्र्सको मृत्यु भयो । एङ्गेल्सका सहयोद्धा माक्र्सको मृत्यु हुँदा विश्वमा जम्मा २०० जति मात्र माक्र्सवादीहरू थिए । त्यस्तो अवस्थाको मजदुर आन्दोलनलाई माक्र्सको निधनपश्चात एङ्गेल्सले नै वैचारिक नेतृत्व प्रदान गरेर ठीक दिशामा अगाडि बढाउने काम गरे । सन् १८८९ मा स्थापना गरिएको द्वितीय कम्युनिष्ट अन्तर्राष्ट्रिय त्यसैको परिणाम थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो ।
त्यसपश्चात बर्नस्टेनको दाहिने संशोधनवाद झाङ्गिन पुग्यो । ४ अगस्त १९१४ मा जर्मनीको संसदमा कार्ल काउत्स्कीको नेतृत्वमा जर्मन कम्युनिष्ट पार्टीले पूँजीवादीहरूले ल्याएको युद्ध बजेटको समर्थन गर्ने काम भयो । एङ्गेल्स जस्तो ठीक सैद्धान्तिक समझदारी नभएको नेताको अभावमा यी घटनाहरू भएका देखिन्छन् । त्यसकारण माक्र्सवादी सिद्धान्तलाई वैचारिक समृद्धि प्रदान गर्ने कार्यमा पनि एङ्गेल्सको ठूलो ऐतिहासिक योगदान रहेको देखिन्छ । विश्वका कतिपय कम्युनिष्ट पार्टीहरूले एङ्गेल्सको योगदानलाई माक्र्सवादको धरातलबाट अलग गराउने मात्र होइन प्राधिकारको व्लकबाटै हटाउने गरेको पनि पाइन्छ । त्यो एउटा भड्काउवादी चिन्तनप्रणाली हो । माक्र्सवादी सिद्धान्त निर्माणको ऐतिहासिक परिदृश्य हेर्दा एङ्गेल्सको योगदानले नै माक्र्सवादलाई पूर्ण बनाएको देखिन्छ । माक्र्सवाद भनेको एङ्गेल्सको पनि मस्तिष्को उपज हो । त्यसकारण अन्तर्राष्ट्रिय कम्यनिष्ट आन्दोलनमा एङ्गेल्सको नाम मार्क्सवादी भाष्यको एउटा अङ्गको प्रतीकका रुपमा सधैभरि रहिरहने छ ।