नेपालीहरूको वैदेशिक यात्राको इतिहास निकै पुरानो छ । भारततर्फ जानू भन्दा पहिले नेपालीहरू भोट तिर जाने गर्थे । नेपालीहरू विदेशी सेनामा भर्ती भएर जाने गरेको सन् १९४७बाट हो । त्यो भन्दा अगाडि आफूखुशी भारतमा जाने गर्दथे । दोस्रो विश्व युद्धको समयमा नेपालीहरू बेलायतकोतर्फबाट लडाई लड्न गएका थिए ।
आम्दानीको माध्यम देशको सरकारी सेवा बाहेक बृटिस र भारतीय सेनामा लड्ने र पैसा कमाउने चलनको विकास भयो नेपालीहरू छिमेकी भारतमा भने खुला सिमानाको कारण जुनसुकै समयमा जाने रोजगारी गर्ने र पैसा कमाएर फर्किने गर्दथे । विदेश भनेको भारत, पाकिस्तान हुने गर्दथ्यो, छिमेकी जिल्लाहरूमा अवस्थाको निरन्तरताको रुपमा रहेको थियो ।
पछि खाडी मुलुक सहित अन्य देशमा रहेका युवाहरूलाई क्रमिक रुपमा विदेश पठाउने क्रम बढ्दै गयो । सरकारले विदेश सँग श्रम सम्झौता गरी विदेश पठाउने काम गर्दै आइरहेको छ । अहिलेसम्म विदेशमा पठाउनको लागि नेपालले १११देशमा मात्रै श्रम सम्झौता गरेको छ । नेपालले श्रम सम्झौता गरेको देशहरूमा नेपालीहरू श्रम बेच्नकोलगि विदेश जान परेको छ । विदेश औपचारिक रुपमा कानुनी बाटो बाट विदेश जाने गरेका छन् । नेपालीहरू अनौपचारिकरुपमा आफूलाई मन लागेका देशमा १७८देशमा जाने गरेको बताइन्छ । यसरी सरकारले तोकेभन्दापनि फरक स्थानमा अहिले नेपालीहरू पुगेको भन्ने खबर आइरहेको छ । नेपालीहरू विदेश जाने भनेपछि जुनसुकै माध्यमबाट भएपनि विदेशको यात्रा गर्ने भन्ने जस्तो मनस्थितिमा पुगेको देखिन्छ । कैयौँ देशहरूमा नेपाली अवैध तरिकाले छिरिहेका छन् । नेपालीहरू विश्वको कुनाकाप्चामा पुगेका छन् ।
यसलाई लोभ प्रलोभनमा पारेर वा दलालले आकर्षक तलबको आश्वासन देखाएर वा झुक्याएर नेपालीहरू विदेशको जुनसुकै कुनामा काम गर्न पुगेका छन् । नेपालीहरू मानवतस्करको संजालमा परेर, मानव बेचविखनमा सक्रिय गिरोहको फन्दामा परेर होस वा राम्रो कामको आसमा होस जे भएपनि नेपालीहरू विदेश पुगिरेका छन् । नेपाली त्यहाँ पुगेर जुनसुकै काम गर्न तयार भएका छन् ।
आफ्नो शरिर जोखिममा राखेर, जुनसुकै समयमा जेसुकै खतरा आउनसक्ने हुँदा हुँदै पनि नेपालीहरू खतरायुक्त देशमा पुगेका छन् नेपालीहरूलाई पुर्याईएको छ । उनीहरूबाट लाखौँ असुल गरिएको छ । र सोचेभन्दा दु:ख दिइएको छ । नेपालीलाई यो देशबाट पठाउन नसकेमा अरु देशबाट भएपनि अवैध तरिकाले पठाइएको छ । पहिले पहिले भारतबाट मात्रै पठाइथ्यो अहिले नेपालीहरू अन्यदेशमा रहेकालाई समेत प्रलोभन दिएर विदेश छिर्ने बनाईएको छ । जुन देशमा सरकारको सम्झौता भएको छैन त्यो देशमा समेत पठाउने गिरोह सक्रिय रहेको छ । जुन देशमा सरकारले तत्कालको लागि प्रतिबन्ध लगाएको छ त्यो देशमा समेत नेपाली पुगेका छन् । पहिले पहिले पुरुषमात्रै विदेश पुगेका थिए अहिले महिलाहरूपनि वैध अवैध जुनसुकै तरिकाबाट विदेश पुगेका छन् ।
सकि नसकि काम गर्न बाध्य रहेका छन् । त्यो मात्रै हैन नेपाली युवाहरू विदेशी सेनामा राज्यलाई बिना जानकारी भर्ती गराएको पाईएको छ । यसको उदाहरण युद्धरत मुलुक रूसमा नेपालीको युक्रेनसङ्गको लडाईमा मृत्यु भएको खबर हो । त्यहाँ नेपालीहरू २००को हाराहारीमा रहेको परराष्ट्रमन्त्रालयले सुचना प्राप्त गरेको बताएको छ । अनौपचारिक रुपमा झण्डै २०हजारको सङ्ख्यामा नेपाली रहेको पनि भनिएको छ । अहिले रूस युक्रेन युद्धमा नेपालीहरू मारिएको रूसको परराष्ट्रमन्त्रालयले नेपालको परराष्ट्रमन्त्रालयलाई जानकारी दिएपछि यो कुरा अझ स्पष्ट रुपमा बाहिर आएको छ । नेपालीहरू मारिएका छन् । उनीहरूको मृत शरिर नेपालमा आफ्ना आफन्तीले पाउनेमा शङ्का छ । आफन्तीले आफ्नाको मृत शरिर समेत पाउने बारे अनिश्चित बनेको छ । यस्तो भयावह स्थितिमा नेपाली युवाहरूलाई रूस पुर्याईएको छ । अब आफन्तीले भन्ने कहाँ ? अहिले रूसी सेनामा भर्ती भएका नेपालीहरू कतिपय मारिएका छन् । कतिपय युक्रेनी सेनाको पकडमा रहेको विवरण सार्वजनिक भएको छ । कति नेपालीले लडाईको रेड जोनमा रहेको कतिबेला केहुने हो?भन्ने केही थाहा नभएका, आफूहरूलाई उद्धारको लागि पहलको माग गर्दै आफन्तीलाई हारगुहार गरिरहेको आफन्तीले आफ्नालाई उद्धार गरिदिन सरकारसङ्ग माग गरिहेको, घरमा रहेकाले केही सुचना नपाएरै उनीहरूलाई त्यहाँ पुर्याईएको एक देशमा भनी अर्को देश पुर्याएको, नबुझीकन कोहीलाई पनि नआउन अनुरोध गरिएको समाचारहरू पछिल्लो समयमा आइरहेका छन् ।
आखिर यस्तो कसरी सम्भव भएको छ ? मानव तस्करहरूले कसरी सर्वसाधारणलाई झुक्याउन सफल भएका छन् ? कसरी नेपालीहरूलाई तलबको लोभ देखाउन सफल भएका छन् ? कसरी नेपालीलाई फसाउन सफल भएका छन् ? के सरकारले आफ्ना नागरिकले के गर्दैछ भन्ने जानकारी राख्दैन ? के सरकारले आफ्ना नागरिक बिक्री भइरहेको थाहा पाउँदैन ? के जनताले पैसा मात्रै देख्ने भएका हुन ? नेपाली युवाहरूहरू श्रमबजारमा जे पनि काम गर्नको लागि तयार छन् ? के नेपालीहरूलाई आफ्नो देश नागिकताको माया छैन ? पछिल्लो घट्नाले यस्तै प्रश्न उब्जाएको छ । नेपालीहरू संसारभरमा अर्काको देशको लागि गरिरहेका छन् अर्काको देशको लागि नै मरिरहेका छन् । यो स्थिति हुनु निकै दु:खद हो ।
यो सबै हुनुको कारण अवैध वैदेशिक यात्रा लाई रोक्न नसक्दा भएको हो । यो स्थिति रोक्न सबैले ध्यान दिनु पर्दछ त्यसको लागि सरकारले पहिलो प्राथकिमतामा ध्यान दिनु पर्दछ । सरकारले आफ्ना नागरिकको जिम्मा लिनु पर्दछ । सरकारले नजाउ भनेको स्थानमा वैदेशिक यात्रालाई रोक्नु पर्दछ । मानव तस्करहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । सबै नागरिक सचेत बन्नु पर्दछ । देशमा रोजगारको व्यवस्था गर्नु पर्दछ । आफ्ना नागरिकलाई आफ्नो देशमा सरकार छ सरकारले जनताको लागि केही गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नु पर्दछ ।