महासचिव नेपालीद्वारा कामरेड धनबहादुर केसीप्रति श्रद्धाञ्जली

काठमाडौं, ३० मंसिर । अर्घाखाँची सन्धिखर्क निवासी कामरेड धनबहादुर केसीको आज निधन भएको छ । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले कमरेड धनबहादुर केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०८० मङ्सिर ३० गते एक शोक वक्तव्य प्रकाशित गर्नु भएकोछ ।

वक्तव्यमा पूर्ण पाठ यस प्रकार छ : “अर्घाखाँची जिल्ला सन्धिखर्क–७ निवासी क‍‍. धनबहादुर केसीको मिति २०८० मंसिर ३० गते विहान असामयिक निधन भएको खबरले मलाई स्तब्ध बनायो । उहाँ विगत करिब ५ दशकदेखि नेकपा (मसाल) मा रहेर पार्टीलाई अमूल्य योगदान दिनु भएको थियो । केही वर्षसम्म पार्टी सदस्य कै रूपमा काम गरे पनि सरकारी जागिरका कारण पार्टीको समर्थक सदस्य बनेर पार्टीलाई सहयोग पुर्‍याउनु भयो । पार्टीको दक्षिणपन्थी नेतृत्वले आलोचनात्मक चेतना भएका नेता तथा कार्यकर्ताहरूलाई पार्टीबाट सफाया अभियान चलाएपछि निस्काशित नेता तथा कार्यकर्ताहरू विद्रोही मसालको रूपमा केन्द्रीय समन्वय समिति बनाएपछि अर्घाखाँची जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने बेला उहाँकै सहमतिमा विद्रोही पंक्तिमा उहाँको नाम राखिएको थियो । तर मसालको जिल्ला नेतृत्वले उहाँलाई दबाब दिएर विद्रोही मसाल (हालको मशाल) बाट छुटाई मसाल मै रहेको वक्तव्य दिन लगाएको थियो ।

हक्की स्वभाव, निडर, कर्तव्यनिष्ट, समाजसेवी, मिलनसार र निस्वार्थ सेवाको भावनाले ओतप्रोत क. धनबहादुर के.सी. जनतामा लोकप्रिय र निष्ठावान व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त्यही स्वभावका कारण भावनात्मक रूपले उहाँ पार्टीभित्र क्रान्तिकारी पक्षको नजिक रहँदै आउनुभयो । मानिसहरू केही वर्षका लागि कम्युनिस्ट बन्न सक्छन् तर जीवनभरि अनेकौँ दु:ख कष्ट झेलेर कम्युनिस्ट बन्ने मानिस कमै हुन्छन् । उहाँ त्यही प्रकारका कम व्यक्तिहरू मध्येको एक हुनुुहुन्थ्यो । उहाँले सादा जीवन तर उच्च क्रान्तिकारी भावनाका साथ निरन्तर पार्टीलाई योगदान पुर्‍याउँदै आउँनु भएको थियो । उहाँको मृत्युले त्यो कडी टुटेको छ । कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ । उहाँको पार्थिव शरीरलाई मंसिर ३० गते गच्छेघाटमा दाहसंस्कार गरिएको छ । दु:ख र शोकको यो घडीमा म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु । त्यसका साथै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछु ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित