– सुरेन्द्र भण्डारी
मेरो परिवार राजनीतिक परिवार हो । म सानै देखि राजनीतिक वातावरणमा हुर्किएँ । माथिल्लो तलामा पार्टीका नेताहरू गोप्य छलफल गर्नु हुन्थ्यो । माथिल्लो तलामा घण्टी झुण्डाइएको हुन्थ्यो । त्यो घण्टीमा रसी बाँधेर तल्लो तला सम्म रसी ल्याइएको थियो । अपरिचित मान्छे आउँदा रसी तानिन्थ्यो । माथिल्लो तला घण्टी बज्दथ्यो । नेताहरू सतर्क बन्नु हुन्थ्यो । मलाई तल्लो तलामा बसेर घण्टीको रसी तान्ने जिम्मेवारी दिइएको हुन्थ्यो । कोही मान्छे आयो भने मैले रसी तान्थे । हामी केटाकेटीहरूले यस्ता कुरा कसैलाई भन्दैन थियौँ । गोप्य नै राख्थ्यौँ । भूमिगत नेताहरू दिनभरि माथिल्लो तलामै (सिलिङमा) लुकेर बस्नु हुन्थ्यो ।
२०४४ मा सम्पन्न स्थानीय चुनावमा मेरो बुबा जनपक्षीय उम्मेदवार बनी मोरङ जिल्ला,इटहरा गाउँ पन्चायत, वडा नम्बर ८ को अध्यक्ष निर्वाचित हुनु भएको थियो । बुबा ओमप्रशाद भण्डारी र आमा लिलादेबी भण्डारी दुवै नेकपा (मा. ले.) को भूमिगत राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो ।
पन्चायतकालमा मोरङको इटहरामा बिहानी साँस्कृतिक परिवार सकृय थियो । त्यो साँस्कृतिक परिवारमा सानै उमेरदेखि बाल कलाकारको रुपमा मैले काम गरेको थिएँ । त्यो साँस्कृतिक परिवारले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दथ्यो । २०४४ को अन्त्य तिर मोरङको इटहरा स्थित हिमालय निमाबिमा एउटा नाटक प्रदर्शन गरिएको थियो । नाटकको शीर्षक राखिएको थियो – “आँशुमा डुबेको जिन्दगी” । त्यो नाटकको वास्तविक शीर्षक “रगतमा डुबेको जिन्दगी” थियो । रगत भने पछि क्रान्ति, विद्रोहको प्रतिक हुन्छ र यस्तो नाटकलाई पन्चायती व्यवस्थाले स्वीकृति दिदैन भन्ने ठानेर नाटकको शीर्षक परिवर्तन गरिएको थियो ।
त्यो नाटक झोडा काण्डमा आधारित थियो । मोरङ जिल्लामा झोडा भन्ने ठाउँ छ । उतिबेला झोडा राजघाट गाउँ पन्चायतमा पर्दथ्यो । अहिले त्यो उर्लाबारी नगरपालिका अन्तर्गत पर्दछ ।
२०२७-२०२८ साल तिर झोडामा जनताले वन फडानी गरेर सुकुम्बासी वस्ती बसालेका थिए । सरकारले सुकुम्बासी बस्ती बस्न नदिन दमन गरेको थियो । प्रहरीको दमनमा परी प्रेमबहादुर पोमु (लिम्बू) मारिएका थिए । झोडा काण्डमा आधारित रहेर सहिद प्रेम बहादुर पोमुका छोरा यामबहादुर पोमुले त्यो नाटक लेखेका थिए । कथालाई जस्ताको तस्तै नाटक बनाई जनतालाई उठ जाग ठोक भन्दा प्रशासनले स्वीकृति नदिने हुँदा जनताको दु:ख चित्रण गरेर बिस्तारै व्यवस्थाका विरुद्धमा जनताको मनिस्थिति निर्माण गर्ने खालको त्यो नाटक थियो । मेरो बुबा र अर्को एक जना भएर प्रशासन सित स्वीकृति लिन जानु भएको थियो । विराटनगर नगर पन्चायतका प्रधान पन्च ध्रुवनारायण श्रेष्ठले पन्चायतबाट नाटकको स्वीकृति लिन सहजीकरण गरेका थिए । मेरो बुबाका अनुसार श्रेष्ठ पनि जनपक्षीय प्रधान पन्च थिए । यो नाटकमा मेरो बुबा जमिन्दारको भूमिकामा खेल्नु भएको थियो । म बालकलाकार भइ नाचेको थिएँ । डिल्ली पोमुले नृत्य निर्देशन गर्नु भएको थियो । साना ठूला गरेर करिब ५० जना कलाकार थियौँ । नाटकको सन्चालन र व्यवस्थापनमा करिब ४० जना परिचालन हुनु भएको थियो । तीन दिनसम्म हरेक दिन तीन शो इटहराको हिमालय नि.मा.वि. को हलमा फुल हाउसमा नाटक सन्चालन भयो । स्कुल खुले पछि नाटक बन्द भयो । नाटकमा प्रगतिशील, देशभक्त र प्रेमका गीतहरू थिए । हामी बच्चाहरू त्यसमा नाच्ने गर्दथ्यौँ । खासमा त्यसको भित्री योजना तत्कालीन मा. ले. ले बनाएको रहेछ । हामी केटाकेटीहरूलाई त्यस्ता कुरा थाहा हुन्थेन । २०४५ मा पनि नाटक प्रदर्शन भयो । २०४६ मा “फैसला” नाटक प्रदर्शन भयो । “फैसला” मा अन्यायमा परेको किसानले न्याय पाएको कथा छ । त्यस्ता नाटकहरूले समाजमा ठूलो जागरण ल्याएको थियो ।
२०४६ मा बहुदल आयो । अब हामी एमालेको जनसाँस्कृतिक मन्चको कलाकार भएर हिँड्न थाल्यौँ । २०४८, २०५१ को चुनावमा म कलाकार भइ झापा, मोरङ, सुनसरीका गाउँ गाउँमा हिडेको थिएँ । जनवादी कलाकार जे .बि .टुहुरेको टिममा बालकालाकार बनेर हिंडे ।
“यो मेरो रातो रुमाल,
सहिदको रगतले भिजेको,
सहिदको माया र ममताले बाँचेको,
यो मेरो रातो रुमाल …….
सधैं सधैं अजम्मरी छ है
यो मेरो रातो रुमाल …. । ”
धेरै गीतमा नाचियो तर रातो रुमाल शीर्षकको यो गीतमा हरेक स्टेजमा म नाच्ने गर्दथे । हामीलाई यस्तो लाग्दथ्यो । “नाँच्दा नाँच्दै जनताको बीचमा मर्न पाउँ, जनताकै बीचमा सहिद बन्न पाउँ” भन्ने भावना आउँथ्यो । हामीलाई सिनियर कलाकार दाइहरूले यस्तै प्रशिक्षण गर्नु हुन्थ्यो ।
जे.बि. टुहुरेको गीत –
बँसाई हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौँको लागि उजाड छ यो देश
मुठ्ठिभरलाई त स्वर्ग छ ।
…………………
आमा दिदी बहिनी हो
कति बस्छौ दासी भइ
सुखको सधै प्यासी बनेर ।
……………
टुहुरेका यस्ता जनमनका गीतहरूले हरेक कार्यक्रममा जनतालाई उत्साहित बनाउँथे ।
५०- ५१ सम्म पुग्दा कलाकारहरूमा असन्तुष्टिको स्वर आउँथे ।
कलाकारहरू चुनावमा प्रयोग जस्तो मात्र हुन थाले । साँस्कृतिक आन्दोलनलाई उचाइमा पुर्याउनु पर्दछ भन्ने कुरा कमजोर बन्दै गए । सत्ता भत्ताले पार्टीका नेताहरू आलोचनाका पात्र बन्दै गए ।
म एस .एल.सी. पास भए पछि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ । त्यहाँ पनि म जनसाँस्कृतिक मन्चका हर्क चुम्बे जस्ता पूर्बी नेपालका प्रख्यात कलाकारहरू सित भेट भयो । क्याम्पसमा अखिलको स्वागत कार्यक्रममा म पनि कलाकार बने । २०५४ मा एक दिन धरानको पब्लिक क्याम्पसमा रक्तिम परिवारको भव्य साँस्कृतिक कार्यक्रम भयो । त्यहाँ रक्तिमका हामीले सुनेकै गीत र नाँचहरू प्रदर्शन भए । ममा त्यसले एउटा प्रभाव छाड्यो । एक दिन इटहरा देखिकै मेरो साथी दाताराम दाहालले रक्तिमको कार्यक्रममा पहाड तिर घुम्न जाउँ भने । रक्तिम कै कार्यक्रम हो भने त जाउँ भने । त्यतिबेला पूर्वी नेपालमा नेकपा (मसाल) को इन्चार्ज दीनानाथ शर्मा हुनुहुन्थ्यो ।
साथीहरूले मलाई दीनानाथ सित भेट गराउनु भयो । दीनानाथजीले मलाई जीवन शर्माको केन्द्रीय टिममा बसेर काम गर्नु पर्दछ भनेसी म अरु नजिक हुँदै गएँ । यदि रक्तिमको कार्यक्रम हो भने जाउँ घुम्न भने । पश्चिमबाट कमला केसी आउनु भएकोथियो । कमला केसी निकै राम्रो नाच्ने कलाकार हो । म यता विहानी साँस्कृतिक परिवार देखि जनसाँस्कृतिक मंचको कार्यक्रम सम्म नाचेको अनुभव छँदै थियो । गु्रप डान्समा कमला जी र मैले कतिपय गीतमा त बाटामा हिँड्दा हिँड्दै पनि नाच कम्पोज गरिदिथ्यौँ । कमलाजी मरेर जानु भयो । दु:ख लाग्छ । भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटामा कार्यक्रम दियौँ । दीनानाथजीले मलाई कतिपय ठाउँमा ल भण्डारी जी तपाईले यी भाइ बहिनीलाई प्रशिक्षण गर्नुस भन्न थाल्नु भयो । म ख्यालख्यालैमा मसालको मान्छे हुँदै गएछु । सङ्खुवासभाको खाँदबारीमा काठमाडौबाट प्लेनमा चित्र बहादुर केसी भाषण गर्न आउनु भएको थियो । तल धरानबाट दीनानाथ शर्मा सहित हामी कलाकारहरू पुगेका थियौँ ।
२०५५ साल तिर काठमाडौ डिल्लीबजारमा रक्तिमको प्रशिक्षण भएको थियो । धनकुटाका दिगीम लिम्बु, इटहरा मोरङका दाताराम दाहाल लगायत हामी प्रशिक्षण लिन गएका थियौँ ।
राजनीतिक प्रशिक्षण र कला साहित्य सम्बन्धी प्रशिक्षण प्राप्त गरेका थियौ । जीवन शर्मासित मेरो प्रत्यक्ष भेट भएको त्यतिबेला नै हो ।
मलाई दीनानाथ शर्माजीले जीवन शर्माजीको केन्द्रीय टिममा रहेर कलाकार भइ हिड्ने भन्नु भएको थियो । मसालमा आए पछि म पूर्वी नेपालको टिममा कलाकार बने तर कहिलै पनि जीवनजीको टिममा हिड्न पाइन किनभने विद्यार्थी सङ्गठन र अन्य राजनीतिक जिम्मेवारीका कारण म कलाकार भन्दा ज्यादा राजनीति र सङ्गठनको काममा ध्यान दिनु पर्यो ।
जनसाँस्कृतिक मन्चदेखि रक्तिम परिवारसम्मको यात्रामा कैयौँ प्रगतिशील गीतमा नाँचियो । स्टेजमा उभिएर साथीहरू सित गाइयो पनि । नेपालका आफुलाई वामपन्थी भन्ने राजनीतिक दल र तिनका नेताहरूमा झन पछि झन प्रगतिशील आचरणमा ह्रास हुँदै गइरहेको छ । प्रगतिशील आचरण, प्रगतिशील संस्कृतिको निर्माणका लागि प्रयत्न गर्न जरुरी छ । पुराना प्रगतिशील गीतहरूलाई खोजी पुन: गाउने, नयाँ साङ्गीतिक प्रविधिको प्रयोग गरेर पुराना गीतलाई पुन: रेकर्डिङ गरेर प्रचारमा ल्याउने र आजको नयाँ सन्दर्भमा नयाँ सृजनाहरू पनि गर्नु पर्दछ ।