जनकपुर, पौष ७ । भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा आज संगठनको प्रथम धनुषा जिल्ला भेला सम्पन्न भएकोछ । भेलाले केन्द्रीय सदस्य इन्द्रदेव यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला आयोजक समिति गठन गरेकोछ ।
जसमा संयोजक इन्द्रदेव यादव र सदस्यहरू जयराम यादव, सुशील मंडल, बैद्यनाथ पासवान, चन्देश्वर नेपाली, राजकुमार ठाकुर, जयप्रकाश साह सर्वसम्मतिबाट चयन हुनु भएको छ । बाँकी ४ स्थान पुनः पूर्ति गर्ने बताइएकोछ। ।
भेलामा जिल्लाका विभिन्न क्षेत्रबाट २५ जना भौतिकवादीहरूको उपस्थिति थियो । जनकपुरको गोपाल धर्मशालामा ११ बजेदेखि शुरु भएको भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवि, केन्द्रीय सदस्यहरू रोशन जनकपुरी, भागिरथी प्रकृति, शंकर राय, ईन्द्रदेव यादव, मोहरम नदाफको उपस्थिति थियो ।
कार्यक्रममा शंकर रायले उद्घोषण, केन्द्रीय अध्यक्ष श्रमजीवि र केन्द्रीय सदस्यहरुले संगठनको विचार, दर्शन, उद्देश्य , लक्ष्यको बारेमा मन्तव्य राखेका थिए । भेलामा श्रीचन मुखिया, अनील पासवान, रघुनाथ यादव, बैद्यनाथ पासवान लगायत सहभागीहरूले पनि विचार प्रकट गरेका थिए ।
समाजमा विद्यमान अन्धविश्वास तथा अधिभूतवादी चेतनालाई बदलेर मानवीय हितकर चेतनाको विकास र विज्ञानसम्मत, विवेकशील तथा तार्किक सामाजिक रुपान्तरणको लागि भौतिकवादी विचारको प्रसार आवश्यक रहेको बताए । भौतिकवादी समाजको निर्माण महत्वपूर्ण रहेको विचार सहभागीहरुले व्यक्त गरेकाथिए ।
यस भन्दा पहिले काठमाडौं जिल्ला भेलाले रामदेव पाण्डेको संयोजकत्वमा भौतिकवादी समाज गठन भएको थियो ।समाजका केन्द्रीय सदस्य रोसन जनकपुरीले हाँक टुडेसित कुरा गर्दै भने, भौतिकवादी दर्शन बोकेका कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भौतिकवादी चिन्तन त्याग्दै गैरहेको बेला यस समाजको आवश्यकता छ ।