रामबहादुर बुढा ••
कमरेड माओ–त्सेतुङ बुबा सुनशाङ्ग र आमा बेनछि मेईको कोखबाट सन् १८९३, डिसेम्बर २६ तारिखका दिन हुनान प्रान्तको श्याङ्थान काउन्टीको शाओशान गाउँमा जन्मुनभएको थियो । माओ जन्मने बेला उहाँको परिवारको आर्थिक अवस्था गरिबको किसानको स्तरमा थियो । बुवाले सेनामा भर्ती भएपछि केही पैसा जम्मा गरेर आफ्नो खोसिएको जग्गा फिर्ता गरे । पैसा फारितिनो गरेर सानातिना व्यापार गर्दै जाँदा माओको परिवार मध्यम किसान हुँदै धनी किसानसम्म बन्न पुग्यो । माओ स्थानीय प्राथमिक पाठशालामा आठवर्षको उमेरमा भर्ना हुनुभयो र तेह्र वर्षसम्म त्यहाँ पढ्नुभयो । १९१० मा उहाँ श्याङ्गश्याङ्ग काउन्टीको तुङ्गन उच्च प्रँथमिक पाठशालामा भर्ना हुनुभयो । सन् १९११ मा राजतन्त्रलाई अन्त्य गरेपछिको स्थितिमा ६ महिनासम्म विद्रोही नौलो सेनामा सेवा पनि गर्नुभयो । १९१३ मा उहाँ हुनानको प्रान्तीय नर्मल स्कूलमा प्रवेश गर्नुभयो, जहाँबाट उहाँले १९१८ मा स्नातक उपाधि प्राप्त गर्नुभयो ।
उहाँ सानै उमेरदेखि सिर्जनात्मक चिन्तन भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा सानैदेखि समाज परिवर्तनको भावना थियो । १९१८ मा छाङसामा रहँदा उहाँले नौलो जनसमाज नामक संस्था खोल्नुभएको थियो । जसको उद्देश्य चीनलाई फेर्ने सम्बन्धमा उपाय खोज्नु थियो । त्यो संस्थाको स्थापना लगत्तै वहाँ फ्रान्स गई त्यहाँ पुगेका चिनियाँ युवाहरूलाई सङ्गठित गर्नुभयो । १९१९ को ४ मई आन्दोलन, जुन जापानी साम्राज्यवाद विरुद्धमा विद्यार्थीहरूको आन्दोलन थियो, बाट उहाँले माक्र्सवादी विचार अङ्गाल्न थाल्नुभएको मानिन्छ । १९१९ मा उहाँले प्रगतिशील तथा क्रान्तिकारी विचारहरू फैलाउने उद्देश्यले प्रकाशनमा हात हाल्नुभयो । १९२० मा छाङ्गमा कम्युनिष्ट समूह गठन गर्नुभयो । र, १९२१ जुलाईमा शङ्घाइमा भएको चिनियाँ कम्युनिष्टपार्टीको प्रथम महाधिवेशन वा पार्टी सथापना कार्यमा संलग्न भई माओ चिनीया कम्युनिष्ट पार्टीको संस्थापकहरू मध्ये एक हुनुभयो । उहाँले हुनान प्रान्तको सचिवको जिम्मेवारी पाउनुभयो । उहाँले त्यहाँ खानी मजदुर, रेल मजदुर, नगरपालिकाका कर्मचारी, विद्यार्थी लगायतलाई सङ्गठित गर्ने र ठूलाठूला आन्दोलनहरू सञ्चालन गर्ने काम गर्नु भयो ।
१९२२ जुलाईमा सङ्घाईमा आयोजित पार्टीको दोस्रो महाधिवेशनमा भाग लिन जान महाधिवेशन स्थलको नाम बिर्सेका कारण पाउनु भएन सङ्घाई पुगेर पनि उहाँले महाधिवेशन स्थल पत्ता लगाउन सक्नुभएन । त्यहाँबाट फेरि हुनान फर्केर उहाँले मजदुर सङ्गठन र आन्दोलनलाई अगाडि बढाउनुभयो । १९२३ को जुन महिनामा क्यान्टनमा भएको पार्टीको तेस्रो महाधिवेशनमा भने उहाँले भाग लिन पाउनुभयो । त्यो महाधिवेशनले जनवादी शक्तिहरूको बीचमा साम्राज्यवाद तथा सामन्तवाद विरोधी राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर्ने ठेगान गर्यो । त्यस अनुसार सन यात सेनले नेतृत्व गरेको क्वमिन्ताङ्ग पार्टीसित आपसी सहयोग गर्ने कार्य अगाडि बढ्यो । तेस्रो महाधिवेशनले व्यक्तिगत हैसियतबाट क्वमिन्ताङ्गमा सामेल हुनेसम्मको निर्णय गरेको थियो । त्यसअनुसार माओ क्वमिन्ताङ्गको १९२४ जनवरी र १९२६ जनवरीमा आयोजित प्रथम र दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिको वैकल्पिक सदस्यमा निर्वाचित पनि हुनु भएको थियो ।
१९२५ जनवरीमा चिनियाँ कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सङ्घाईमा सम्पन्न भएको थियो । त्यतिबेला माओलाई मुख्यरूपले किसान आन्दोलनको जिम्मेवारी दिइएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा निर्याण गरेको क्वामिन्तानङ्ग पार्टीका नेता सनयात सेनको १९२५ मार्च २५ मा मृत्यु भएपछि च्याङ्गकाइसेक नेतृत्वमा आयो । उसले कम्युनिष्ट क्वमिन्ताङ्ग संयुक्त मोर्चाप्रति विश्वासघात गर्यो र कम्युनिष्ट खत्तम पार्ने अभियानमा लाग्यो । उसले जापानी साम्राज्यवादको दलाली गर्ने र कम्युनिष्टहरूलाई खतम गर्ने दुस्प्रयास गर्यो । यस्तो परिस्थितिमा १९२७ अप्रिलमा चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौँ महाधिवेशन तुस्यु महासचिव रहेको केन्द्रीय समिति निर्माण गर्यो । एकातिर क्वमिन्ताङ्ग पार्टी दुश्मन शक्ति जापानी साम्राज्यवादसँग गएर मिल्न र अर्कोतिर पाँचौँ महाधिवेशनबाट निर्वाचित महासचिव छन तु श्यू दक्षिणपन्थी आत्मसमर्पणवादी नीति अङ्गाल्नुले चिनियाँ कम्युनिष्ट पार्टी निकै अप्ठ्यारो परिस्थितिमा परेको थियो । त्यो स्थितिमा १९२७ अगस्ट ७ गते हनखाओमा पार्टी केन्द्रीय कमिटीको विशेष बैठक बस्यो उक्त बैठकले छन तु श्यूको दक्षिणपन्थी आत्मसमर्पणवादलाई अन्त गरी क्वमिन्ताङ्गको सङ्गठित काटमारको अभियान विरुद्ध कृषि क्रान्ति गर्ने र सशस्त्र प्रतिरोध गर्ने सर्वाङ्गीण नीति अख्तियार गर्यो ।
क्रान्तिकारी सशस्त्र शक्तिद्वारा नै राजनैतिक सत्ता हत्याउनुपर्ने विचार माओले सोही बेठकमा अगाडि सार्नुभएको थियो । त्यस बैठकबाट माओ पोलिटव्युरोको वैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो । माओले हुनान र चिङ्गकाङ्ग सीमानामा शरदेवाली विद्रोहको नेतृत्व गर्नुभयो । केही समयपछि विद्रोही फौजलाई लिएर उहाँ चिङ्गकाङ्ग पहाडतर्फ जानुभयो । त्यहाँ उहाँले पहिलो ग्रामिण क्रान्तिकारी आधार इलाका निर्माण गर्नुभयो । माओले १९२८ को अप्रिलमा चु तेका फौजहरूसित मिलेर मजदुर किसान क्रान्तिकारी चौथो सेना निर्माण गर्नुभयो । चिङ्गकाङ्गशान पहाडलाई आधार क्ष्ँेत्र मान्दै क्रान्तिकारी आधार इलाका विस्तार गर्दै जाने क्रम जारी रह्यो । जुलाई १९२८ मा चिनियाँ कम्युनिष्ट पार्टीको छैठौँ महाधिवेशन सम्पन्न भयो । छैठौँ महाधिवेशनमा भाग नलिएको भए पनि माओ केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । महाधिवेशनले चीनको तत्कालीन क्रान्तिको चरण पूँजीवादी जनवादी क्रान्ति हो भन्ने निष्कर्ष निकाल्यो च्याङ्गकाइशेकले क्रान्तिकारी आधार इलाकालाई ध्वस्त पार्न “घेर्ने र मास्ने” अभियान सञ्चालन गर्यो ।
अर्कोतिर लालसेनालाई जापानी आक्रमणकारीहरूको विरुद्धमा सङ्घर्ष गर्नुपरेको थियो । त्यो सबै स्थितिबाट कम्युनिष्ट पार्टीलाई जोगाउन र अगाडि बढाउन माओको नेतृत्वमा लम्बे अभियान सञ्चालन गरिएको थियो । सन् १९३४ अक्टोवर १६देखि शुरु भई १९३५ अक्टोवर २०सम्म ३ सय ६८ दिनको उक्त यात्रा कियाङ्ग सि प्रान्तको मुख्यालयबाट शुरु भई ठाउँठाउँमा च्याङ्गकाईसेकको सेना तथा युद्ध सर्दारहरूको सेनासित लड्दै ११ वटा प्रान्त, १८ वटा पहाड र २४ वटा नदीहरू पार गर्दै येनानसम्म पुगेर सम्पन्न भएको थियो । यो अभियानबाट कम्युनिष्ट पार्टीलाई जनतामा बलियो जरा गाड्न ठूलो मद्दत पुगेको थियो । लम्बे अभियानकै क्रममा १९३५ को जनवरी महिनामा चिनियाँ कम्युिनष्ट पार्टीको कुइचओ प्रान्तको चुनइ भन्ने ठाउँमा पोलिटव्यूरोको विस्तारित बैठक बस्यो । बाङ्गमिङ्गको वामपन्थी दुस्साहसवादी नेतृत्वलाई समाप्त पारी माओको नेतृत्वमा पार्टीको पुनर्गठन गर्यो । जापानले चीनमाथिको अतिक्रमणलाई बढाउँदै लगेपछि चाङ्गकाइसेकले युद्धविराम गर्नुको सट्टा गृहयुद्ध बढाउँदै लग्यो । र, त्यो स्थितिमा माओले राष्ट्रिय मुक्ति लागि चिनियाँ जनतालाई जापानी साम्राज्यवाद विरुद्ध विद्रोह गर्न आव्हान गर्नुभयो ।
च्याङ्गकाइसेक स्वयङ्को सैनिक जनरल झाङ्ग फुलियाङ्गले सियाङ्गबाट उनलाई गिरफ्तार गरी येनानस्थित माओकहाँ पुर्याएका थिए । र च्याङ्गकाइसेक जापानी साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्न कम्युिनष्टहरूसित संयुक्त मोर्चा बनाउन बाध्य भएको थियो । त्यो घटनालाई सियान घटना भनेर भनिन्छ ।
१९३७ देखि १९४५ सम्म च्याङ्गकाईसेकको सेना र कम्युनिष्ट सेनाहरूले जापानविरुद्ध राष्ट्रिय मुक्ति युद्ध लडेका थिए । यो अवधिलाई प्रतिरोध युद्ध काल भनिन्छ । १५ अगष्ट १९४५ मा जापानले हार स्वीकार गर्यो ।
१९४५ अप्रीलमा येनानमा चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन भयो । महाधिवेशनले जापानलाई परास्त गर्ने र नयाँ जनवादी चीन निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू लिएको थियो । जापानको हारपछि फेरि च्याङ्गकाइसेकको सेनासँग कम्युनिष्टहरूको सङ्घर्ष शुरु भयो । १९४५ देखि १९४९सम्म त्यो सङ्घर्ष चल्यो । यस अवधिलाई मुक्तियुद्ध अवधि भनिन्छ । अन्तमा कम्युनिष्टहरूले च्याङ्गकाइसेकको सेनालाई परास्त गर्न सफल भए । च्याङ्गकाइसेकलाई अमेरिकालगायत विश्वभरिका साम्राज्यवादीहरूले मद्दत गर्दा पनि जनताको अगाडि अन्ततः हार्नैपर्यो । १९४९ अक्टोवर १ गतेका दिन टियानमेनचोकमा माओ–त्सेतुङ्गले लाखौँ जनसमूहको बीचमा चीनलाई नयाँ जनवादी गणतन्त्र घोषणा गर्नुभयो ।
१९५६ सेप्टेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो । त्यतिबेला ल्यू शाओ ची लगायतका पार्टीभित्र घुसेका पूँजीवादका प्रतिनिधिहरूले समाजवादमा जान अस्वीकार गरे । निजी सम्पत्ति राख्नु नोकर राख्न, ऋण लगाउन र व्याज लिन पाउनुपर्छ, मुख्य कुरा उत्पादन हो, उत्पादनमा बृद्धि पूँजीवाद वा समाजवाद जसले गरे पनि हुन्छ भन्ने धारणा ल्यू शाओ चीहरूको थियो । उनीहरू पूँजीवाद पुनस्र्थापना गर्न चाहन्थे । समाजवादको सुनिश्चितताको लागि माओत्सेतुङको नेतृत्वमा सन् १९६६देखि १९७५सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो । सर्वहारा सांस्कृतिक क्रान्तिको महत्वमाथि जोड दिंदै माओले भन्नुभएको थियो–“अहिले चालिरहेको महान सर्वहारा सांस्कृतिक क्रान्ति पूँजीवादी पुनस्र्थापनालाई रोक्नु सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्न र समाजवाद निर्माण गर्न निकै महत्वपूर्ण र ज्यादै समय सान्दर्भिक छ ।”
सन् १९६९ अप्रीलमा पार्टीको नवौँ महाधिवेशन सम्पन्न भयो । त्यसले सर्वहारा सांस्कृतिक क्रान्तिको उच्च मूल्याङ्कन गर्दै अझ अगाडि बढाउने ठेगान गर्यो । ल्यू शाओ ची लगायतका गद्दारहरूलाई पार्टी र सत्ताका विभिन्न ओहदाहरूबाट फ्याँक्ने निर्णय गर्यो ।
१९७३ अगस्तमा चिनियाँ कम्युनिष्ट पार्टीको दशौँ महाधिवेशन सम्पन्न भयो । यो माओको जीवनको अन्तिम महाधिवेशन थियो । १९७६ सेप्टेम्बर ९ गते विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता माओको निधन भयो । माओको मृत्यु भएको एक महिना पनि बित्न नपाउँदै चीनमा प्रतिक्रान्ति भयो । पार्टीभित्र लुकेर बसेका पूँजीवादका प्रतिनिधिहरू ल्यू शोओ ची, तेङ्गशाओ पिङ्ग लगायतले सच्चा कम्युनिष्टहरूमाथि मृत्युदण्ड, आजीवन काराबासको सजाय दिन थाले ।
माओको मृत्युपछि विश्व राजनीतिमा ठूला ठूला परिवर्तन भएका छन् । कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । अहिले पनि माओ–त्सेतुङ्ग विचारधाराको महत्व उत्तिकै छ । लेनिनले पूँजीवादी क्रान्ति नभएका सामन्ती वा अर्धसामन्ती मुलुकमा पूँजीवादी क्रान्तिको नेतृत्व पनि अव युगमा सर्वहारावर्गको पार्टी कम्युनिष्ट पार्टीले गर्नुपर्छ भन्नुभएको थियो । तर त्यसको स्पष्ट स्वरूप उहाँले प्रस्तुत गर्नुभएन, केवल सैद्धान्तिक आधार मात्र दिनुभयो । माओले १९४० मा “नयाँ जनवादबारे” पुस्तक लेखेर सर्वहारावर्गको नेतृत्वमा हुने क्रान्ति र व्यवस्थाको खाका नै प्रस्तुत गर्नु भयो, जो १९४९ को क्रान्तिपछि चिनमा लागु भयो । “अन्तर्विरोध बारे” “व्यवहारवाद” “जनताको बीचमा सही किसिमले अन्तर्विरोध सञ्चालन गर्ने बारे” “ज्ञान कहाँबाट आउँछ ।” लगायतका दार्शनिक कृतिहरू उहाँका माक्र्सवादी दर्शनमाथिका थप योगदानहरू हुन् । युद्ध विज्ञान, अर्थशास्त्र, शिक्षा, संस्कृतिलगायत विभिन्न क्ष्ँेत्रमा महत्वपूर्ण धारणाहरू तथा प्रयोगहरू छाडेर माओ विदा हुनुभएको छ । त्यसरी उहाँले माक्र्सवादी, लेनिनवादी सिद्धान्तमा महत्वपूर्ण योगदान दिएर जानुभएको छ । त्यसैले आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई पथप्रदर्शन सिद्धान्त नबनाइकन कुनै पनि पार्टी कम्युनिष्ट पार्टी रहन सक्दैन ।
नेपालमा अहिलेका एमालेहरूले आफूलाई माओविचारधाराका सच्चा अनुयायी बताउँदथे, सर्वहारा सांस्कृतिक क्रान्तिको तारिफ गरेर थाक्दैन थिए । आज उनीहरूले माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तबाट हटाइसकेका छन् । सर्वहारा सांस्कृतिक क्रान्तिलाई आपराधिक क्रियाकलाप भनेर प्रतिक्रियावादीहरूको स्वरमा स्वर मिलाउन सम्मपछि पर्दैनन् । माओवादीहरूले आफ्नो कथित “जनयुद्ध”को सर्वहारा सांस्कृतिक क्रान्ति प्रस्थान विन्दु हो भन्दथे । तर उनीहरूले पहिले माओका विचारहरूलाई अतिरञ्जित गरेर उग्रवामपन्थी अवसरवादमा फसे, अहिले दक्षिणपन्थी अवसरवादतर्फ ओरालिएका छन् । माओ विचारधाराको रक्षा गर्नु सच्चा कम्युनिष्टहरूको युगिन दायित्व हो ।