रामबहादुर बुढा
सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओसान गाउँमा माओ त्से तुङको जन्म भएको थियो । उनी सानै उमेर देखि सामाजिक भावनाका व्यक्ति थिए । निकै दु:ख कष्टका साथ उनले स्नातक तह सम्मको अध्ययन गरेका थिए । उनको युवा उमेरमा युवा विद्यार्थीहरूका माझ चीनमा जापानी साम्राज्यवादका विरुद्धको माहौल थियो । सन् १९१९ को मई चारको युवा विद्यार्थी आन्दोलनले चीनमा राष्ट्रिय भावनाको विस्तार गरेको थियो । माओ मई चार आन्दोलनमा सहभागी भएकाथिए ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुँदा पार्टीको संस्थापक सदस्य मध्ये माओ एक थिए । चीनमा सन् १९११ मा छिङ बंशीय राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भएकोथियो । गणतन्त्र स्थापना पछि कोमिन्ताङ पार्टीका डा. सन यात सेन राष्ट्रपति बनेकाथिए । चीनमा कम्युनिस्ट पार्टीको स्थापना भए पछि १९२३ देखि १९२७ सम्म क्वमिन्ताङ पार्टी सित राष्ट्रियता,जनतन्त्र र जन जीबीकाको प्रश्नमा सहकार्य भएकोथियो । सन् १९२७ मा सन् यात सेनको मृत्यु भए पछि क्वमिन्ताङ पार्टीको नेतृत्वमा च्याÍाइसेक आएका थिए । उनले कम्युनिस्ट पार्टी सितको सम्बन्ध तोडेर जापानी साम्राज्यवाद सित सहकार्य गरी कम्युनिस्ट पार्टी माथि दमन गरेका थिए । १९२७ देखि १९३७ सम्म चीनमा गृह युद्ध भएको थियो । जसलाई चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा प्रथम गृह युद्ध काल भनिन्छ ।
कम्युनिस्ट पार्टीलाई दुश्मनहरूले समाप्त पार्न लागेको बेलामा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीले चीनमा सन् १९३४ देखि १९३५ सम्म पूरै एक वर्ष लम्बे अभियान सन्चालन गरी चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताको बीचमा फैलाउने काम गरेको थियो । १९३७ देखि १९ ४५ सम्म फेरि माओको नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी र च्याÍाइसेकको नेतृत्वको क्वमिन्ताङ मिलेर १९४५ सम्म जापानी साम्राज्यवादका विरुद्ध लड्नु परेको थियो । दोस्रो विश्व युद्धमा जापानी साम्राज्यवाद संलग्न गुटको पराजय भएकोथियो । १९४५ मै जापानी साम्राज्यवादले चीन छाडेर गएकोथियो । अमेरिकी साम्राज्यवाद चीनमा च्याङकाइसेक नेतृत्वको क्वमिन्ताङलाई सत्तामा ल्याउन चाहान्थ्यो । त्यो स्थितिमा १९४५ देखि १९४९ सम्म चीनमा गृह युद्ध भएको थियो । जसलाई दोस्रो गृह युद्ध काल भनिन्छ । अन्त्यमा कम्युनिस्ट पार्टीको विजय भयो । माओ त्से तुङले सन् १९४९ अक्टोबर १ तारिखका दिन चीनमा नयाँ जनवाद स्थापना भएको घोषणा गरेका थिए । क्वोमिन्ताङ नेता चीनबाट भागेर फर्मोसा (अहिलेको ताइबान) गएर बसे । लामो समय सम्म चीनले संयुक्त राष्ट्र सङ्घको सदस्यता पाएको थिएन । पस्चिमा मुलुकहरूले चीनको रुपमा केवल फर्मोसालाई बुझ्दथे । सन् १९७१ मा मात्र चीनले संयुक्त राष्ट्र सङ्घको सदस्यता पाएकोथियो ।
नयाँ जनवादी ब्यबस्था सर्वहारा वर्गले नेतृत्व गरेको पुँजीवादी ब्यबस्था थियो । चिनियाँ कम्युनिस्ट पार्टीको १९५६ मा सम्पन्न आठौ महाधिबेशनले चीन समाजवादमा जाने निर्णय गरेको थियो । तर राष्ट्रपति ल्यु शाओ चि चीनमा अझ लामो समय सम्म नयाँ जनवाद अर्थात पुँजीवाद नै रहनु पर्दछ भन्ने पक्षमा थिए । त्यो अवस्थामा माओले “वर्ग सङ्घर्षलाई नबिर्स “भनेर आहृवानन गर्नु परेकोथियो । १९६० देखि समाजवादी शिक्षा अभियान चलाउनु परेको थियो । पुँजीवादलाई पुनर्स्थापना हुन नदिन, सर्वहारा अधिनायकत्वलाई लागू गर्न र समाजवादको निर्माण गर्न माओको नेतृत्वमा महान सर्वहारा साँस्कृतिक क्रान्ति सन्चालन गरिएकोथियो । सन १९७६ सेप्टेम्बर ९ तारिखमा माओको मृत्यु भएकोथियो । माओको मृत्यु पछि चीनमा पुँजीवाद पुनस्र्थापना भयो । अहिले सम्म चीनमा कम्युनिस्ट पार्टीको नामबाट नै शासन सन्चालन भैरहेको छ । तर त्यहाँ अहिले कम्युनिस्टको नाममा पुँजीवादको अभ्यास भैरहेकोछ ।
माओको योगदान र नेपालको सन्दर्भ
क) दर्शन : व्यबहारबारे,अन्तर्विरोधबारे, जनताकावीचमा अन्तर्विरोधहरूको सही सन्चालन बारे, चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचार कार्य सम्बन्धी प्रवचन,सही विचार कहाँबाट आउँछ ? दर्शन सम्बन्धी यी माओका महत्त्वपूर्ण कृतिहरूहरू हुन् । माओले माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादलाई विकसित गर्ने काम गरे । चिनियाँ सन्दर्भमा द्वन्द्वात्मक भौतिकवादलाई प्रयोग गर्ने काम गरे । अन्तर्विरोध बारे आफ्नो रचनामा माओले द्वन्द्ववादका विभिन्न पाटा पक्षहरूको बारेमा विश्लेषण गरेका छन् । जसमा माओले अन्तर्विरोधको सर्बब्यापकता, प्रधान अन्तरबिरोध र गौण अन्तरबिरोध, दुई फरक दृष्टिकोण, अन्तर्विरोधको बिशिस्टता आदिबारे चर्चा गरेकाछन । ब्यबहारबारे रचनामा माओले चिनियाँ समाजमा कठमूल्लावाद÷जड सूत्रवादले पारेको प्रभाव र ज्ञानको मार्क्सवादी सिद्धान्तलाई व्याख्या गरेका छन । वर्ग सङ्घर्ष, उत्पादनको निम्ति सङ्घर्ष र बैज्ञानिक प्रयोगबाट ज्ञान प्राप्त हुने माओले बताएका छन् । अहिले नेपालमा सर्वहारा र काम गरिखाने वर्गका हित बिपरित विभिन्न दर्शनहरूले भ्रममा पारेका छन । वर्तमानको विश्व पुँजीवादलाई फाइदा हुने गरी उत्तर आधुनिकतावादी दर्शनको विकास भएको छ । त्यसले नेपाली समाजलाई गाँज्दै लगिरहेकोछ । परम्परागत अध्यत्मवादी दर्शनले समाजलाई प्रगतिशील दिशामा समाजलाई अगाडि बढ्न दिएको छैन ।
माओत्सेतुङले आफ्नो जीवनकालमा सर्वहारवर्गको हित बिपरीतका विभिन्न खाले दर्शनका विरुद्ध सङ्घर्ष गर्नु परेकोथियो । सर्वहारा साँस्कृतिक क्रान्तिका बेला माओले कन्फ्युसियसको वर्ग समन्वयवादी दर्शनको आलोचना गरेका थिए । चिनियाँ सन्दर्भमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको व्याख्या गर्ने र त्यसलाई लागू गर्ने काम माओले गरेकाथिए । नेपालमा पनि शोषक वर्गको हित गर्ने तथा विभिन्न । वर्ग समन्वयवादी दर्शनहरू छन् । तिनीहरूको व्याख्या गर्दै र नेपालमै पनि परम्परागतरुपमा रहँदै आएका दर्शन भित्रका शोषित वर्ग पक्षीय दर्शनहरूलाई उत्खनन गरी सतहमा ल्याउन आवश्यक छ ।
ख) राजनीति – पुँजीवादको विकास नभएको देशमा
पुँजीको विकास गरेर मात्र समाजवादमा जानु पर्ने हुन्छ । तर आजको युगमा पुँजीपति वर्गले आफ्नो प्रगतिशील चरित्र गुमाईसकेको हुनाले त्यसले पुँजीवादी क्रान्ति गर्न सक्दैन । सर्वहारा वर्गले नै पुँजीवादी क्रान्तिको नेतृत्व गर्नु पर्दछ । यो कुरा त लेनिनले नै स्पष्ट गरेको कुरा हो । त्यो कुरालाई चीन जस्तो कृषि प्रधान, सामन्ती, अर्धसामन्ती र अर्ध औप निबेशिक देशमा ठोस रुपमा लागू गर्ने काम माओको नेतृत्वमा भएकोथियो । माओले युरोपमा पुँजीपति वर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति सम्पन्न भइ स्थापना भएको जनवादलाई पुरानो पुँजीवादी जनवाद भनेका छन् भने सर्वहारा वर्गको नेतृत्वमा स्थापना हुने जनावादलाई नयाँ पुँजीवादी जनवाद नाम दिएका छन् ।
नयाँ जनवाद भनेको समाजवादकै पूर्व अवस्था हो । नयाँ जनवादमा सर्वहारा वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी प्रगतिशील शक्तिहरूको संयुक्त अधिनायकत्व हुन्छ । यो नै नयाँ जनवादको राजनीति हो । अधिनायकत्व भन्ने शब्द सुन्दा बित्तिकै बुर्जुवा पार्टी र संशोधनवादीहरूले त्यसलाई दुत्कार्ने, कम्युनिस्ट ब्यबस्थामा दल खोल्न नपाइने, एक दलीय तानाशाह आदिको आरोप लगाउने गर्दछन । हामी स्पष्ट हुनु पर्ने र स्पष्ट पार्नु पर्ने कुरा के छ भने जनताको आन्दोलनको अवस्था, बदलिदै गएका परिस्थितिले दलहरूको अवस्था निर्धारण गर्दै जान्छ । हाम्रै नेपालको इतिहासमा २०१५ सालको चुनावमा दोस्रो, तेस्रो नम्बरमा रहेका दलहरू आज समाप्त भएकाछन । आज बहुदलको चिन्ता गर्ने दलहरू के आजकै रुपमा सधै रहिरहलान ? शोषित वर्गको आन्दोलन अगाडि बढ्दै जाँदा दलहरूको उनीहरूको भूमिकाका आधारमा उनीहरूको अस्तित्त्व पनि निर्धारण हुँदै जाने कुरा हो ।
ग) अर्थशास्त्र : चिनियाँ समाजको वर्ग विश्लेषण, हुनान किसान आन्दोलनको प्रतितिवेदन, माओ कालीन साँघाई टेक्स्टबुक अर्थशास्त्रको क्षेत्रका महत्त्वपूर्ण रचनाहरू हुन् । अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशमा कम्युनिस्ट पार्टीले नयाँ जनवादी कालमा कस्तो अर्थ नीति अपनाउनु पर्दछ भन्ने कुरालाई ब्याख्या गर्ने र व्यवहारिक रुपमा लागू गर्ने कार्यको अगुवाई माओले गरेकाथिए । उनले दलाल तथा नोकरशाही पुँजीवादलाई अर्थ्याउने काम गरे । माओले विदेशी पुँजी र माल स्वदेशमा भित्राई देशको प्राकृतिक स्रोत तथा पुँजीलाई शोषण गरी लैजाने वर्गलाई दलाल पुँजीपति वर्ग भनेकाथिए ।
माओले नयाँ जनवादमा सामन्त वर्गको जमीन राज्यले अधिग्रहण गरि भूमिहीन र गरीव किसानलाई बाँड्नु पर्ने, दलाल तथा नोकरशाही पुँजीपति वर्गको सम्पत्ति अधिग्रहण गरी राज्यले सन्चालन गर्ने बताएका थिए । माओले नयाँ जनवादमा राष्ट्रिय पुँजीपतिवर्ग, धनी किसान, मध्यम किसान, गरीव किसान र निम्न पुँजीपती वर्गको निजी सम्पत्तिलाई कायमै राख्ने बताएका छन ।
चिनियाँ समाजको वर्ग विश्लेषण गर्दा माओले समाजमा आर्थिक स्वामित्वको अवस्था र आर्थिक कारोबारलाई आधार बनाएर वर्ग विश्लेषण गरेकाछन । नेपालको कम्युनिस्ट आन्दोलनमा मूलत: माओको विश्लेषणका आधारमा वर्ग विश्लेषण हुँदै आएकोछ । नेपालको अहिलेको समाजमा न त चीनको जस्तो सामन्ती अवस्था कायम छ न त नेपालकै विगतको अवस्थामा आज सामन्त वर्गको अवस्था छ । अवश्य पनि नेपालमा सामन्त वर्ग कायमै छ तर अब सामन्त वर्ग भन्दा दलाल पुँजीपति वर्ग शक्तिशाली भएर आएको छ । वित्तिय सँस्था, उद्योग, कृषि, शिक्षा, स्वाथ्य हरेक क्षेत्रमा दलाल पुँजीपती वर्गको प्रभुत्व बढ्दैछ ।
नेपाल भित्रै उत्पादक र उपभोक्ताका बीचमा, उत्पादक र व्यापारीका बीचमा, व्यापारी र ब्यापारीका बीचमा रहेर लेनदेनमा सामेल हुने व्यक्तिलाई बोलचालीको भाषामा दलाल भन्ने गरिएकोछ । नेपालको सर्बोच्च अदालतले त्यस्ता ब्यक्तिहरूलाई दलाल भन्दा अपमानित ठानिने हुँदा बिचौलिया भन्ने शब्द प्रयोग गरेकोछ । विचौलिया वर्ग नेपालमा हाबी भैरहेकोछ । माओले व्याख्या गरेको दलाल पुँजीपति वर्ग नेपालको यो विचौलिया वर्गको परिभाषा सित मिल्दैन । विदेशी पुँजी, प्रविधि र माल भित्राएर देशलाई खोक्रो पार्ने दलाल पुँजीपति र स्वदेश भित्रका बिचौलियालाई आन्तरिक दलाल पुँजीपति भन्ने वा के भन्ने थप विश्लेषण हुनु पर्दछ । नोकरशाही पुँजीपती वर्गले दलाल पुँजीपतिवर्ग सित मिलेर देशलाई लुटिरहेका हुन्छन् ।
घ) संस्कृति–माओले संस्कृति भनेको सामाजिक–आर्थिक अवस्थाको प्रतिम्ब हो भनेका छन । नेपालमा एकातिर सामन्ती संस्कृति कायमै छ भने अर्कोतिर साम्राज्यवादी उपभोक्तावादी संस्कृतिले समाजलाई गाँजिरहेकोछ ।
ङ) सङ्घर्षको रणनीति र कार्यनीति : रणनीति र कार्यनीतिलाई नेतृत्व सम्बन्धी सिद्धान्तकोरूपमा विकास गर्ने काम लेनिनले नै गरेकाथिए । रणनीतिक उद्देश्यमा पुग्नका लागि कार्यनीतिको शृत्ला तय गर्ने अभ्यास लेनिनकै समयमा भएकोथियो । माओले दार्शनिक रचना “अन्तर्विरोधबारे“ मा प्रमुख अन्तर्विरोध र गौण अन्तर्विरोध, अन्तर्विरोधको बिशिष्टता आदिको व्याख्या गरेर रणनीति र कार्यनीति तय गर्दा ध्यान दिनु पर्ने कार्यलाई दिशावोध गरेका छन् ।
चीनमा नयाँ जनवाद स्थापना हुने बेला त्यहाँको जनसङ्ख्या करिब ६० करोड थियो । नेपालमा अहिले ३ करोड पनि जनसङ्ख्या पुग्न सकेको छैन । चीन नेपाल भन्दा करिब ६५ गुणा ठूलो भूगोल भएको देश हो । नेपाल तीनतिरबाट भारतले र उत्तर तिरबाट चीनले घेरिएको भूपरिबेस्थित देश हो । चीनमा हान जातिकै झण्डै ९२ प्रतिशत जनसङ्ख्या छ । नेपालमा कुनै पनि जातिको बहुमत छैन । २०७८ को जनगणनाले नेपालमा १४२ जात जाति, १२४ मातृभाषी र १० प्रकारको धर्म रहेको प्रतिवेदन सार्वजनिक गरेकोछ । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुने बेला २० प्रतिशत जनता मात्र साक्षर थिए । नेपालमा अहिले ७८ प्रतिशत जनता सक्षर छन् भन्ने सरकारी तथ्याÍ छ । चीनमा नयाँ जनवाद स्थापना हुने बेला धेरै ठाउँमा सडक सन्जाल पुगेको थिएन नेपालमाअहिले करिब सबै ठाउँमा, कच्ची सडकनै किन नहोस, पुगेकोछ । देश भरि सन्चारको सन्जाल विकास भएकोछ । चीनमा सडक र सन्चारको यस रूपमा विकास भएको थिएन । नेपालको यो समग्र स्थितिलाई मूल्याङ्कन गर्दा अब चीनमा जस्तो दीर्घकालीन जनयुद्धको बाटोबाट नभएर जन सङ्घर्षको विकास गर्दै शहरीया सशस्त्र जनबिद्रोहबाट सत्ता प्राप्त गर्ने बाटो उपयुक्त हुन्छ । तर त्यस सन्दर्भमा दीर्घकालीन जनयुद्धका कतिपय तत्त्वहरूलाई उपयोग गर्न सकिन्छ । छापामार युद्धलाई पनि प्रयोगमा ल्याउन सकिन्छ ।
रणनीतिक उद्देश्यमा पुग्न वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनावाद र समाजवाद स्थापनाको उद्देश्य राख्ने शक्तिहरूका वीचमा सम्भब भए सम्म पार्टी एकता गर्ने, पार्टी एकता हुन नसकेमा संयुक्त मोर्चा बनाउने, सहकार्य र कार्यगत एकतालाई तीव्र पार्दै जानू पर्दछ । त्यस क्रममा देश भक्त र जनतान्त्रिक शक्तिहरूलाई पनि सहकार्य, कार्यगत एकतामा ल्याउनु पर्दछ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरूलाई सूत्रबद्ध गर्दै प्रतिक्रियावादी सत्ताका मुख्य शक्तिहरूलाई एकलाउने र मित्र शक्तिहरूलाई गोलबन्द गर्दै, हुँदै जाने नीति बनाउनु पर्दछ । जहाँ जे सम्भब छ भ्रष्टाचार, अनियमितता, वर्गीय मुद्दा उठाउँदै जन सम्बन्धलाई सुदृढ गर्दै जानु पर्दछ ।
ङ) जातीय नीति : बहुजातीय समाजमा जातीय अन्तर्बिरोध हुन्छ । माओले भने जस्तै जातीय अन्तर्विरोधलाई मैत्रीपुर्ण ढङ्गले हल गर्ने कोसिस गर्नु पर्दछ ।
च) सङ्गठन:
कम्युनिस्ट पार्टीको सङ्गठन सन्चालन सम्बन्धी सिद्धान्त लेनिनवादी सङ्गठनात्मक सिद्धान्त हो । जसलाई जनवादी केन्द्रीयता भनिन्छ । जनवादी केन्द्रीयताको सिद्धान्तले अल्पमत बहुमतको मातहत,तल्ला कमिटी माथिल्लो कमिटी मातहत, सबै पार्टी सदस्यहरू केन्द्रीय कमिटीको मातहत लगायतका जनवादी केन्द्रीयताको नियम लेनिनले नै व्याख्या गरेका हुन ।
“छलफलमा स्वतन्त्रता, कार्यमा एकरुपता” लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको सार हो । लेनिनले आलोचना र आत्मालोचनालाई पनि जनवादी केन्द्रियताको महत्त्वपुर्ण अङ्ग मानेका छन् । माओले जनवादी केन्द्रीयताको सिद्धान्तलाई समृद्ध पार्दै आलोचना – सङ्घर्ष – रुपान्तरणको रूपमा सूत्रबद्ध गरे । उनले जनवादी केन्द्रीयतालाई सङ्गठन सन्चालनको द्वन्द्ववादी विधिको रूपमा अर्थ्याउने काम गरे । सयौँ फूलहरूलाई फूल्न देऊ भनेर विभिन्न विचारलाई प्रतिस्पर्धा गर्न दिनु पर्ने बताए ।
माओले भनेका थिए,“मान्छेका शरिरमा थुप्रै नसाहरू हुन्छन्, जस मार्फत मुटुले रक्तसंचार गर्दछ, फोक्सोले सास फेर्दछ, कार्बन डाइअक्साइड बाहिर फाल्छ र ताजा अक्सिजन भित्र तान्छ, अर्थात् बासीलाई बाहिर फाल्छ र ताजालाई भित्र प्रवेश गराउँछ । सर्बहारा वर्गको पार्टीले पनि बासीलाई फाल्नुपर्छ र ताजालाई लिनुपर्छ र, यसरी मात्र यो पूरा तागतदार हुन्छ । बासी बस्तुलाई नफाली र ताजा रगत ग्रहण नगरी पार्टी पनि जाँगरिलो हुँदैन । ”
माओले कम्युनिष्टहरूले आफ्ना कमजोरीलाई सहर्ष स्वीकार गर्न सिकाएका छन् । आफ्ना कमजोरीलाई पार्टी भित्र र सार्बजनिक कमजोरीलाई जनताका बीचमा पनि सार्वजनिक रूपमा आत्मालोचनागर्न सिकाएका छन् । तर यहाँ नजिकका मान्छेका अपराध लुकाउने र फरक मत राख्नेलाई उसको कजोरी नभए पनि फर्जी गल्ती खडा गरेर कार्वाही गर्ने गरिन्छ । कम्युनिस्ट आन्दोलनमा जनवादी केन्द्रियतालाई दुरुपयोग गर्ने काम हुँदै आएकोछ ।
वर्तमान नेपालको कम्युनिस्ट आन्दोलन :
नेपालको कम्युनिस्ट आन्दोलनको ७५ वर्षको ईतिहासले कैयौँ सकारात्मक परिणाम दिएको छ । यदि नेपालमा कम्युनिस्ट पार्टी स्थापना नभएको देशमा गणतन्त्र र धर्मनिपेक्षता स्थापना यति छिटै नहुन सक्दथ्यो ।
अहिले नेपालमा कम्युनिस्ट आन्दोलमा निकै ठूलो बिचलन आएकोछ । माओवादी जनयुद्धलाई नेतृत्वले संसदीय व्यवस्थामा लगेर बिसर्जन गराएको छ । झापा बिद्रोहबाट सुरु भएको माले धारको आन्दोलन सम्पूर्णरुपमा वर्गसमन्वयवादमा पतन भएकोछ । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी भएको छ । दक्षिण पन्थीहरूको त भविश्यको क्रान्तिकारी योजना हुने कुरै भएन । यही असफल हुँदै गएको प्रतिक्रियावादी संसदी व्यवस्थालाई टालटुल पार्ने बाहेक उनीहरूको नयाँ कार्यक्रम छैन । क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न भएकाछन । जनतामा चरम निरासा छाएकोछ । अहिलेको अवस्था भनेको क्रान्तिकारी शक्तिहरू फेरि सम्हालिदै, बटुलिदै नयाँ क्रान्तिकारी धारको विकास गर्ने बेला हो ।
सम्भत: नेपालको कम्युनिस्ट आन्दोलनको ७५ वर्षको इतिहासमा कम्युनिस्ट शब्द यति धेरै बदनाम कहिलै पनि गरिएको थिएन । आफुलाई कम्युनिस्ट बताउने व्यक्तिहरू र विगतमा एक प्रकारको योगदान पनि पुर्याउँदै आएका व्यक्तिहरू भ्रष्टा, अनैतिक, चरित्रहीन बनेर बदनाम हुँदै गएका छन् । पछिल्लो समयमा सतहमा आएका ललिता निवास प्रकरण, एअरपोर्ट पोर्टको सुन प्रकरण, नक्कली भू टानी शरणार्थी प्रकरणत्यसका केही उदाहरण हुन् । सडकमा निस्केर कम्युनिस्ट शब्द उच्चारण गर्दा जनताले ढुËा हान्ने हुन् कि भनेर डराउने स्थिति कम्युनिस्टको नाममा दक्षिणपन्थी संसदवादीहरूले बनाएकाछन । एक थोक भन्ने अर्को थोक गर्ने, अरुलाई अनुशासन र चरित्रको पाठ सिकाउने आफ बुर्जुवा नैतिकतामा सम्म रहन नसक्ने स्थिती देखिएकोछ । यति हुँदा पनि कम्युनिस्ट प्रतिको ठूलो जनमत नेपालमा हुनु नेपाली कम्युनिस्ट आन्दिलनको लागि सकारात्मक पक्ष हो
सार संक्षेप
१) राजनीतिक क्षेत्रमा माओको योगदानको सार भनेको संशोधनवाद विरुद्धको सङ्घर्ष र क्रान्तिकारी धारको रक्षा तथा विकास हो । २) माओको योगदानलाई आत्म साथ नगरी आजको युगको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन ।
३) तेल पानी छुट्टिनु पर्दछ भने झै क्रान्तिकारी र संशोधनवादीको कित्ता छुट्टिनु पर्दछ । वर्ग सङ्घर्ष अगाडि बढ्दै जाँदा समय र परिस्थितिले त्यो स्पष्ट गर्दै जाने छ ।
(१३१ अौँ माओ दिवसका अवसरमा नेकपा (मशाल) कोशी प्रदेश ब्युरोको आयोजनामा पौष १० गते मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा नम्बर ८ स्थित सामुदायिक वन उपभोक्त समितिको कार्यालयको सभा कक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा छलफलका लागि प्रस्तुत आधार पत्र)