काठमाडौँ, पौष १३ । सरकारले आज ललितपुरको बालकुमारीमा गरेको दमन तथा दुई युवाहरुको ज्यान गएको प्रति नेकपा (मशाल)ले सरकारको घोर भ्रत्सना गरेको छ ।
नेकपा (मशाल)का महासिचव सन्तबहादुर नेपालीले २०८०/९/१३ गते एक वक्तव्य जारी गर्दै घटनाको विरोध एवम् भत्सर्ना गरेका हुन् । उनले मृतक युवाहरु प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ र पीडितलाई उचित क्षतिपूर्ति र राहतको माग समेत गरेका छन् । वक्तव्यमा नेपालीले गिरफ्तारहरुलाई तत्काल बिनाशर्त रिहाइको पनि माग गर्दै दोषीलाई तत्कालै कारबाहीको माग गरेका छन् ।
महासचिव नेपालीद्वारा आज जारी वक्तव्यको पूर्ण पाठ यसप्रकार छ “आज २०८० पौष १३ गतेका दिन ललितपुरको बालकुमारीमा इपिएस कार्यालय नजिकै सरकारसँग इपिएस कोटाको भाषा परिक्षामा असफल भएका भनिएका युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले गरेको दमन र हत्याको नेकपा (मशाल) गम्भीर ध्यान आकर्षण भएको छ । सरकारले युवाहरुमाथि गरेको उक्त दमनको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।
प्रहरीको दमनबाट दुई युवाहरु, २३ वर्षीय सुजन राउत र डोटीका विरेन्द्र शाहको ज्यान गएको छ । प्रहरीले उनीहरुमाथि गोली तथा अश्रु ग्याँस प्रहार गरेको छ । कैयौं घाइतेहरुलाई अस्पतालमा पुर्याइएको छ । प्रहरीले कैयौं युवाहरुलाई गिरफ्तार पनि गरेको छ । उनीहरु विदेशमा पसिना बेच्न जान पाउने व्यवस्था गर्न मात्र सरकारसँग माग गरेका थिए । तर उनीहरुको सामान्य माग पनि सरकारले पुरा नगरी उल्टै युवाहरुको ज्यान लिएको छ ।
सरकार कुन अवस्थामा रहेको छ र नेपाली युवाहरुले रोजगारीको लागि कति दुःख भोग्नु परेको छ भन्ने यो घटनाले देखाएको छ । यो दुःखद घटनामा मृत्युवरण गर्ने ती दुई होनहार युवाहरुप्रति हाम्रो पार्टी श्रद्धान्जली प्रकट गर्दछ । साथै शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । त्यसका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना, पीडितलाई राहत र क्षतिपूर्तिको माग गर्दै गिरफ्तार युवाहरुलाई तत्काल बिनाशर्त रिहाईको जोडदार माग गर्दछ । यस घटनाका दोषीहरुलाई तत्कालै कारबाहीको पनि माग गर्दछ ।”