बाबुराम आचार्य ••
पुस १० गते (डिसेम्बर २६ तारिख) मङ्गलवार नयाँ चीनका संस्थापक नेता माओको १२९ औँ जयन्ती हो । चीनमा माओ जयन्ती मनाइँदैन बरु बेइजिङको केन्द्रमा रहेको माओ स्मारक भवनमा सन् १९७६ सेप्टेम्बर ९ मा दिवङ्गत भएका माओलाई संरक्षण गरेर राखिएको छ । यो भवन सोमबार बाहेक प्रत्येक दिन विहान सर्वसाधारणका लागि खोल्ने गरिन्छ । माओप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि हातमा पहेँलो फूल लिएका चिनियाँ तथा विदेशी नागरिक लामबद्ध भएर उभिएका हुन्छन् र क्रमश माओ स्मारक भवनमा प्रवेश गर्छन् । माओको जन्म र देहान्त भएको दिनमा भने बिहान र अपराहृन गरी दुईपटक स्मारक भवन खुलाउने गरिन्छ । भने यो दिन हजारौँको सङ्ख्या जनमानसको ओइरो लाग्छ त्यो जनमानसले श्रदय नेता प्रति सम्मान प्रकट गर्ने गर्दछन् ।
हामी र विश्वव्यापी रूपमा माओ विचारकहरूले जन्म दिवस मनाउने गर्दछौँ । जन्म जयन्तीको सन्दर्भमा कमरेड माओ प्रति भावपूर्ण सम्मान । उनले चीनियाँ कम्युनिस्ट पार्टीको प्रत्यक्ष नेतृत्व १९२१ देखि १९७५ सम्म गरे । उनकै नेतृत्वमा त्यहाँको घरेलु सामन्तवाद अनि जापान तथा अमेरिकी साम्राज्यवाद र त्यसको दलाल च्याङकाइसेकको दलदलमा फसेको र “एसियाको बिरामी राष्ट्र” को उपमा पाएको देशलाई मुक्त पार्ने महान कार्य सम्पन्न भयो । संसारमा एउटा नयाँ मुल्य मान्यता बोकेको पहिलो राज्य व्यवस्था नयाँ जनवादी राज्य सत्ताको स्थापना चीनमा भयो । सन् १९४९ मा प्राप्त गरेको जनवादी गणतन्त्रात्मक चिनियाँ व्यवस्था को चिरकालसम्म रक्षाकाको लागि माओले कहिले सुगा रटाइ रटेनन् बरु प्रतिक्रियावादी सत्ता ध्वस्त भए लगत्तै चीनमा स्थापना गरिएको जनगणतन्त्र चीनमा समाजवादी व्यवस्थाको स्थापना कमरेड माओकै नेतृत्वमा भएको थियो ।
(जबकि हामी कहाँ माओ विचारका स्वघोशित केही थान अनुवाइहरू भने वुर्जुवा गणतन्त्रको चिरकालसम्म रक्षा गर्ने भन्दै बाह्र हात उफ्रेर सत्ताको दलाली गर्न पुगेका छन् । )
जब समाजवाद लागु गर्ने र त्यसको विकासको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीभित्र नव पुँजीवादीहरूका प्रतिनिधि पुँजीवादका दलाल संशोधनवादी तत्त्वहरूको जन्म हुन पुग्यो । नव संशोधनवादी जत्थाको नेतृत्व ल्यू –सा –ओची गुटले गरेको थियो । उसले त्यसो गर्नुमा रूसी खु्रश्चोभी नव संशोधनवादको प्रभाव थियो । माओलाई त्यसका विरुद्ध पनि कठोर सङ्घर्षको बाटो रोज्नु परेको थियो । जब समाजवादको घाँटीमा तरबार झुन्डाइयो तब कमरेड माओले बडो गम्भीरतापूर्वक निर्णय लिनुपर्ने थियो नै । समाजवादको घाँटीमा झुन्डिएको तरबार न फाल्नु समाजवादको घाँटी रेटिन्थ्यो भने तरबार फाल्दा त्यसको धारले आफ्नै घाटी पनि रेटिन सक्दथ्यो । त्यस प्रकारको परिस्थितिमा बडो कुशलता साथ एउटा महान् आन्दोलनको थालनी गर्नु भयो । जसलाई हामी गर्विलो इतिहासको रूपमा अध्ययन गर्न पाएका छौँ । “महान सर्वहारा साँस्कृतिक क्रान्ति । ” उनले आफ्नो देशको क्रान्तिको रक्षा संसङ्गै विश्व कम्युनिस्ट आन्दोलनको रक्षाका लागी पनि ठूलो सङ्घर्ष चलाए । दोस्रो कोमिन्टर्न पछिको संशोधनवादका विरुद्धमा र सोभियत एत संशोधनवादका विरुद्धमा चलाइएको “महान बहस” ले उनलाई विश्व क्रान्तिका नायकको रूपमा चित्रण गरेको छ । तर उनको मृत्यु पछि चीनमा क्रान्तिले पराजित हुनु पर्यो ।
रूसमा जसरी नै चीनमा पनि नव संशोधनवादीको उदय भयो । क्रान्तिको घाँटी निमोठेर अगाडि आएको संशोधनवादको नेतृत्व गद्दार देङ–स्याओफेङले गर्यो । उसैको नेतृत्वमा पार्टीको केन्द्रीय तहका वैचारिक कमान्डरहरू भावी नेतृत्वका उत्तराधिकारीका रुपमा स्थापित च्याङचीङ लगायतका थुप्रै योद्धाहरूलाई गिरफ्तार गरी जेल नेल र हत्यासम्मको कारवाही गर्यो । त्यसैको प्रतिक्रान्तिको निरन्तरतामा नै अहिले चीन अघि बढिरहेको छ । बिरालो कालो वा सेतो जे भएपनि त्यसले मुसा मारे हुन्छ भन्ने देङको दलाल पुँजीवादी सिद्धान्त अनुसार अहिले चिनियाँ समाजवादमा पुँजीवादको अन्तरघुलन गरिएको छ । जसको परिणमा आज चीन बाहिरबाट हेर्दा धेरै विकासित भएको देखिन्छ । तर सारमा यसको विकास विभाजित छ, असमानताको रेखाङ्कन फराकिलो बन्दै छ र बेरोजगारी सतहमा देखिन थालेको छ, भ्रष्टाचारले दुर्गन्धित हुँदैछ । समाजवादी प्रणाली ध्वस्त पारिएको छ पूँजीवादी प्रणाली हुँदै साम्राज्यवाद उन्मुख नीतिशास्त्रको सहारा लिने संभावना देखा पर्दै छन् । समाजवादको जामा पहिरेर नोकरशाही दलाल पुँजीवादको अभ्यास गर्दै अघि बढिरहेको छ वर्तमान चीन । उक्त गतिविधिका आधारमा हेर्दा चिनियाँ नेतृत्वले माओको राजनीतिक विचारधारा माथि विष बमन गरेको छ ।
पुँजीवादको उच्चतम विकास नै साम्राज्यवाद हो आजको चीन त्यतै सोझिँदै छ र साम्राज्यवाद पुँजीवादको अन्तिम मरनासन्न रुप पनि हो । लेनिनका पालाको रूस लेनिन स्तालिन पछि ख्रुश्चेभ हँुदै गोर्भाचोभ नेतृत्वले अमेरिकन साम्राज्यवादका लागि काम गरे र आज प्रथम समाजवादी मुलुक एक बलिस्ठ र हिंस्रक साम्राज्यवादी रुप बोकेर उभिएको छ । माओद्वारा स्थापित चिनियाँ समाजवादलाई पनि देङद्वारा उल्टाउने काम भयो । यति बेला सिजिङफि संविधान नै संशोधन गरेर तेस्रो कार्यकालमा छन् । तर खास अर्थको चीन, हिजको चीन वा समाजवादी चीन आज अस्तित्त्वमा छैन । पुन: हिजोको चीन वा समाजवादी चीन स्थापना र त्यसको प्रेरणाबाट अगाडि बढिरहेका संसारभरिका मुलुकहरू र त्यहाँका जनता सचेत भई यस्ता सबै खाले साम्राज्यवादी जालझेल षड्यन्त्रका विरुद्धमा एकताबद्ध हुँदै आ–आफ्नो राष्ट्रको स्वतन्त्र सार्वभौमिक अस्तित्त्व र स्वाभिमानका लागि पुन: राष्ट्रिय मुक्ति सङ्ग्राम आजको मुख्य आवश्यकता हो ।
आजको चीन जुन अवस्थामा उभिएको छ, त्यसको मुख्य देन कमरेड माओको नै हो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले चिनियाँ जनताको सहयोगमा चिनियाँ लाल सेनाको निर्माण र सशस्त्र युद्धको नेतृत्व गरे । त्यसैको परिणम चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो । उक्त जनवादी गणतन्त्र घोषणाको सन्दर्भमा उनले भनेका थिए–“सबै वस्तुमा जनता सबैभन्दा मूल्यवान छन् । जवसम्म जनताको साथ हुन्छ तव कम्युनिष्ट पार्टीको नेतृत्वमा जुनसुकै प्रकारको आश्चर्य गरेर देखाउन सकिन्छ । हामीलाई विश्वास छ क्रान्तिले हरेक वस्तुलाई बदल्न सक्छ र चाँडै नै नयाँ चीन ठूलो जनसङ्ख्या र उत्पादनको ठूलो सम्पत्ति सहित उदय हुनेछ । त्यहाँ जीवन पर्याप्त हुने र संस्कृति नयाँ मौलाउने छ । ” जनतामाथि यसरी प्रगाढ विश्वास गर्ने माओका नेपाली अनुवाइहरूको वर्तमान हालत कन्तबिजोग छ । हिजोका माओका अनुवाइहरू अहिले दलाल राज्य व्यवस्थाका अनुवाइमा रुपान्तरित हँुदैछन् । हिजो अस्ति क्रान्ति, परिवर्तन, समर्पण, त्याग र मुक्तिको पाठ पढाउनेहरू अहिले शान्ति समाज, मानव अधिकार आयोगहरूमा कोटा माग्दै छन् ।
माओ विचारको आलोकमा उभिएर राष्ट्रिय मुक्ति सङ्ग्रामको योजना बनाउनुपर्ने समयमा बालुवाटार, बुद्धनगर र बुढानिलकण्ठको दैनिक फेरो लगाउँदै साँझ कपनको कोठा च्याप्नेहरूले पनि आज रातो व्यानरमा माओको जन्म दिवस मनाउँदै छन् । तथापि त्यसो गर्नु माओ विचारको बदनाम गर्नु हो । अहिले विश्वव्यापी रूपमा माओको नाम लिँदै उनैको दर्शन, विचार र माओका सार्वभौम नियमहरूका विरुद्ध विषबमन गर्नेहरूको जमात ठूलै छ । क्रान्तिकारीहरूले माओको आदर्श उनको दर्शन र विचार पक्रेर सधै अघि बढ्नु पर्छ । क्रान्ति, परिवर्तन र निरन्तर क्रान्तिको पक्षमा उभिनु नै माओ प्रतिको सच्चा स्मरण हुनेछ । वर्तमान चीनको आधारभूत जग नै कमरेड माओ हुन । तर अहिले वर्तमान चिनियाँ शासकहरूले माक्र्सवाद, लेनिनवाद र स्वम माओलाई ओझेलमा पार्ने काम गर्दै आएको छ । तैपनि त्यहाँका जनता पुन: समाजवाद स्थापनाको सपना सजाएर अगाडि बढेका छन् । माओ जयन्तीको अवसरमा माओ प्रेमी जनताप्रति एकबद्धता प्रकट एवं माओप्रति सम्मान ।