देउखुरी उपत्यकालाई ‘राप्ती उपत्यका’ नामाकरण गर्नु ऐतिहासिक भूल

नारायण योगी ••

तत्कालीन प्रदेश सरकारले ०७७ साल असोज २० गते अर्घाखाँची जिल्लाको सितगंगा न.पा. का ८, ९ नं. वडा, दाङको गढवा गा.पा. को १, २, ३ र राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको माथि तोकिएका क्षेत्रलाई तोकिएको छ । र प्रदेशसभाले यसको नामाकरण पनि राप्ती उपत्यका घोषणा गरेको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु अगाडि पनि र त्यस पश्चात विकासको नाममा देशव्यापीरुपमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, वडाहरु, स्थानीयस्तरका टोल विकास संस्थाहरु, बाटाघाटा, पुल, सार्वजनिक महत्वका भवन, शैक्षिक संस्थान, धार्मिक तथा पर्यटकीय स्थल, पार्क खेलमैदान साथै प्रदेशको नामाकरणमा समेत निकै होड चल्यो र अद्यावधि त्यो होड चलिरहेको छ । सामान्यतया आवश्यकता अनुसार जहाँ र जहिले पनि यस्तो नामाकरणको प्रक्रिया कहिले जोडतोडका साथ त कहिले धिमा गतिमा चल्ने गर्दछन् । यसमा हाम्रो छिमेकी मुलुकको उदाहरण हामीले हेर्न सक्छौं । जस्तै अंग्रेजहरुको शासनकालमा चेन्नाइलाई मद्रास र मुम्बईलाई बम्बई नामाकरण गरिएको थियो पछि पुरानै नामलाई चलनचल्तीमा ल्याइएको छ वा भनौं त्यसैलाई स्थापित गरिएको छ । जहाँसम्म नाम परिवर्तन गर्ने कतिपय सन्दर्भमा राजनीतिक परिवर्तनसँग पनि त्यसलाई जोडेर हेर्न सकिन्छ । जुन कुरा हाम्रो देशमा गणतन्त्रपश्चात प्रकटरुपमा देख्न सकिन्छ । तर यसमा त्यस नामसँग जोडिएको ऐतिहासिक, सांस्कृति सभ्यता, भौगोलिक र पहिचानगत पक्षलाई पनि मध्यनजर गरेर नामाकरणमा जोड दिइन्छ र दिनुपर्दछ । तर देउखुरीको सन्दर्भमा यस प्रकारका चिजहरुलाई कति गम्भीरतापूर्वक लिइयो र त्यसबारे अपनाइएको प्रक्रिया कति जनपक्षीय रह्यो यो निकै महत्वपूर्ण र विचारणीय प्रश्न रहेको छ । यसो गर्दा देउखुरीको समग्र भूगोल, इतिहास, यससँग जोडिएको अपनत्वको भावना, सांस्कृतिक पक्ष आदिका बारेमा व्यापक मन्थन, बहस, छलफल गरी जनतालाई यसबारेमा सू–सूचित गराएर यो प्रक्रियालाई अगाडि बढाइयो वा हठात घोषणा गरियो ? यो निकै महत्वपूर्ण सवाल हो देउखुरी उपत्यकाको स्थानमा राप्ती उपत्यकाको नामाकरणमा । यद्यपि पुराना नामहरुलाई कदापि बदल्नु हुँदैन भन्ने पक्षमा म छैन र सम्भवत कोही पनि हुनुहुँदैन । तर नाम परिवर्तन गर्दा माथि उल्लेख गरेका पक्ष र छुटेका अन्य पक्षहरुलाई पनि ध्यान दिनु अपरिहार्य हुन्छ ।

यस सन्दर्भमा देउखुरीलाई राप्ती नामाकरण गर्नु किन त्रुटिपूर्ण रह्यो यस पक्षको बारेमा चर्चा गरौं । देउखुरी उपत्यका एक सुन्दर र प्राकृतिक रुपले सम्पन्न साथै सांस्कृतिक रुपमा समृद्ध उपत्यका हो । राप्ती नदीको अथाह अमृत जलधाराले यस उपत्यकाको सान बढाएको छ र समृद्ध बनाएको छ । अर्कोतर्फ यहाँ अनादिकालदेखि बस्दै आएका थारु जनजाति, थारु कुम्हाल, बोटे कुमाल, राप्ती पारिपट्टि घना वस्ती रहेको यादवहरुको बसोवासले यसको सांस्कृतिक विविधतामा सुनमा सुगन्ध थपेको छ । देउखुरी उपत्यकामा औलो उन्मूलन सँगसँगै यस भूमिलाई कर्मथलो बनाउन आएका बाहुन, क्षेत्री, गुरुङ, मगर मुस्लिम, योगी, गिरी, दलित, बैस्य आदिको उपस्थितिले यस धरतीको रुप बदल्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि यसका सकारात्मक र नकारात्मक पक्षहरु पनि छन् । त्यसबारे कुलै बेला बेग्लै चर्चा गर्नेछु । अब यस परिच्छेदमा देउखुरी उपत्यकाको ऐतिहासिकताको पक्ष के छ यसबारे संक्षेपमा प्रकाश पार्न चाहन्छु ।

विद्वान तथा प्रसिद्ध इतिहासकार योगी नरहरिनाथले राप्ती अञ्चलको वर्णनमा लेख्नुहुन्छ– यसै अचिरावति, ऐरावती, रारावती, रावती, रापती राप्ती अञ्चलका मूल ढोका कोइलाबासमा कालीकास्थान शिवालय, सीता राम मन्दिर छन् । अघि पाटेश्वरीपीठ पनि यसैमा थियो । कोइलावासमाथि चूडाचल (चुरे) को चूडामणिमै शिवपुरीको शिवगढी गिरी दुर्गको अद्भूत भग्नावेशष छ । निकटमा सिद्ध धुनी छ । शिवगढीदेखि पूर्वपट्टि सुरैया खोलामा रातो र तातो पानी धारो कतकतिर्थ छ । चुडाचल द्रोणाचलका माझमा देवपोखरी देवखुरीबाट देउखुरी र द्यौखुर भएको छ । (हाम्रो देश दर्शन) पृ. ३२ दाङ देउखुरीमा अनादिकालदेखि थारु जनजातिहरुको बसोबास रहेको र थारु राजा सुकौराकोटबाट आखेट गर्न देउखुरीतर्फ आउँदाको प्रसंग उल्लेख गर्दै योगी लेख्नुहुन्छ– यसै सुकौराकोटबाट कटकसहित आखेटमा जाँदा दंगीशरणले सुरेन्द्रद्वारा समायोजित स्वागत सभामा तृणाग्निकोप दुर्वासाका श्रापले अद्भूत अश्विनी भएकी उर्वशीसित सपादलक्ष (सवालाख) झारखण्डमा भेटघाट गरेका थिए । महाभारत समसामयिक ऐतिहासिक अद्भूत रसपूर्ण दंगीशरण कथाको उथानिका बनेको थियो । –ऐ.ऐ. पृ. ३३) योगीले देउखुरीलाई सपादलक्ष सवा लाख झारखण्डको संज्ञा दिएको पनि देखिन्छ । अर्थात धेरै झार पात, खर बुट्यान, साना साना झ्यालीहरु रहेकोले सवालाख झारखण्ड बुझ्न सकिन्छ । यसै प्रसंगलाई जोडेर थारु भाषाका बुद्धिजीवी लेखक कुन्ननारायण चौधरी लेख्नुहुन्छ– एक दिन राजा रत्न पारखु वनमा शिकार खेल्न गएका थिए । त्यसै क्षण एउटा मृगलाई फेला पारेर त्यसलाई वाणले हिर्काए । मृग घायल अवस्थामा रक्तमुच्छेल भएर पनि आफ्नो प्राण जोगाउन त्यो पंचरुखाको नामले प्रसिद्ध जंगलमा दौडिरह्यो । घायल मृग दौडिएपछि राजा पनि आफ्नो घोडामा पछि पछि उसलाई पिछा गर्दै दौडी रहे । दौडिदै जब अनकन्टार जंगलको बीचमा पुगे त्यहाँ एकजना तपस्वीले धुनी जगाएर तपस्या गरिरहेको देखे र घाइते मृग पनि त्यहीं उभिएको देखेपछि राजा रत्नपारखुले ती तपस्वीसँग घाइते मृग माग्न थाले । तर उनले दिन मानेनन् । राजाले क्रोधित भएर भने– म यहाँको राजा हुँ । यो वन पनि मेरो हो त्यसैले शिकार गर्ने मेरो अधिकार छ भने । उनको कुरा सुनेर तपस्वी महात्माले भने– यदि तिमी राजा हौ तिमीमा यति धेरै पराक्रम छ भने रगत न निकालीकन (हरिण) मृगलाई मारेर देखाउ भने राजा आश्चर्यमा परेर भने– बिना रगत कसरी यो मृग जीवित रहन सक्छ ? ती महात्माले भने राजा हुनुभन्दा पहिले काम, क्रोध, लोभ, मोहमाथि विजय प्राप्त गर्नुपर्दछ । उनले आफ्नो गोरखनाथको असली रुप देखाए ततपश्चात राजाले गोरखनाथसँग क्षमा याचना गरे र कालान्तरमा रत्नपारखु रतननाथ योगी बनेर प्रशिद्धि कमाए । भारत, पाकिस्तान, काबुल, कन्दहार, अफगानिस्तान गएर धर्म प्रचार गरे । (थारु सांस्कृतिक दर्पण पृ. ३६०) यसै प्रसंगलाई जोडेर एउटा किम्बदन्ती के छ भने राजा रत्नपारखुले घायल मृगलाई लखेट्ने क्रममा द्यौखुर अर्थात तिम्रो खुरसहित खुट्टा देऊ भन्दा भन्दै देउखुरी रहन गएको भन्ने भनाइ पनि छ ।

यसैगरी दाङबाट रत्ननाथ देवतालाई पाटेश्वरी अर्थात भारत तुल्सीपुर पाटन लिएर जाँदा र फर्कदा एक एक रात बस्ने प्रचलन अहिले छ र पहिले जाने बेला पन्द्र दिनसम्म पुरानो गाउँ डेउपुरीमा बस्दथे ।  पछि देवता बस्ने स्थान भएकोले देवपुरी देउपुर साथै देवपुरीबाट देउखुरी भएको हुन सक्ने विद्वानहरुले बताउने गरेका छन् । यसरी केही ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वका विषयमा संक्षेपमा चर्चापश्चात अब देउखुरीलाई राप्ती नामाकरणले राजधानी क्षेत्रको विकासमा सकारात्मक वा नकारात्मक के प्रभाव पर्न सक्छ त्यसबारे संक्षेपमा केही कुरा राख्नु प्रासंगिक हुनेछ ।

यद्यपि अहिले केवल राजधानी क्षेत्रलाई मात्र राप्ती उपत्यका भनिएकोले देउखुरी उपत्यकालाई ओझेलमा पार्न खोजिएको होइन पनि भन्न सकिन्छ । तर यथार्थ त्यो होइन । किनकि आधा देउखुरीलाई राप्ती उपत्यका नामाकरण गरिसकेपछि बाँकी रहेको भूभागलाई कालान्तरमा राप्ती उपत्यकाको रुपमा विस्तार गर्दै लैजाने मनसाय प्रष्ट देखिन्छ । यसै पनि अहिले राप्ती उपत्यका जुन भूगोललाई मानिएको छ त्यो कसरी उपत्यका हुन सक्छ ? के त्यस्तो भू बनोटमा पश्चिम तर्फ रहेका भूखण्डमा कुनै पर्वत श्रृंखला छत छैन । अनि कसरी उपत्यका रहन गयो ? यसरी सारमा के छ भने ढिलो चाँडो देउखुरीको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, भौगोलिक पहिचान अनादिकाल देखि रहिआएको छ जसलाई विकासको नाममा विलुप्त बनाउन पाइँदैन । जहाँसम्म बाहिरका मानिसहरुको अपनत्वको प्रश्न छ त्यो भन्दा रैथानेबासीको अपनत्व प्रधान हो र यसलाई आधार मानेर विकासलाई अगाडि बढाउन सहज र अनुकूल हुन्छ । जहाँ राप्ती नदीबाट राप्ती उपत्यका राख्ने कुरा सर्वथा अनुपयुक्त छ । किनकि राप्ती नदीको आफ्नै महिमा छ, आफ्नै जलाधार छ जसको महिमा अपरंपार छ । र,  राप्ती नामाकरणले नदीको पहिचानलाई धुमिल बनाउने काम हुन्छ । त्यसकारण यस ऐतिहासिक भूललाई समय छँदै सच्याऔं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित