पण्डित उमानाथको प्रवचनदेखि मे को अभियानसम्म

बालकृष्ण सुवेदी ••
मेरो जन्म स्थान धनकुटाको तेलिया हो । त्यो स्थान अहिले छ थर जोरपाटी गाउँपालिकामा पर्दछ । २०४४÷ ४५ तिर म सानै छँदा गाउँका केही घरमा हसिया हथौडा अङ्कित राता राता झण्डा फाट्टफुट्ट गाडिएका हुन्थे । झण्डा देखेर हामीलाई अचम्म लाग्दथ्यो । किन यस्तो झण्डा गाडिएको होला ? यो के गर्न खोजेको हो ?हामी केटाकेटीहरूलाई कौटुहलता हुन्थ्यो । यस्ता झण्डा देखेर पन्चहरू डराउँछन रे भन्ने सुनिन्थ्यो । केही दिन गाडिन्थ्यो अनि फेरि निकालेर लगिन्थ्यो । हाम्रो गाउँ सदरमुकाम देखि टाढा तेह्रथुमको सिमानामा पर्दछ । सजिलै प्रशासन पुग्न सक्दैनथ्यो ।

मेरो गाउँमा एक पण्डित उमानाथ घिमिरे हुनुहुन्थ्यो । बनारसबाट शास्त्री पास गरेर आएका,पढालेखा हुनुहुन्थ्यो । हाम्रो छिमेकी गाउँ पन्चायत दामोदर निम्न माध्यमिक विद्यालयमा पढाउनु हुन्थ्यो । तिथि, कार्यमा गाउँमा उहाँको अगुवाई हुन्थ्यो । यी झण्डा गाड्ने मान्छे गरीवका लागि लड्ने मान्छे हुन् भन्नू हुन्थ्यो । पन्चायती व्यवस्था धेरै दिन टिक्ने वाला छैन भन्नू हुन्थ्यो । गरीव, दलितको पक्षबाट बोल्नु हुन्थ्यो । उहाँका कुराले मेरो मन असाध्य छुन्थ्यो । पण्डित उमानाथका कुराले सानै उमेरमा ममा वर्गीय चेतनाको बीउ रोपिएको थियो भन्ने मैले अहिले ठान्दछु ।

उहाँको भतिजा टिकाप्रशाद घिमिरे प्रधानपन्च हुनुहुन्थ्यो । काका उमानाथले टिकालाई तिमीहरू जस्ता जनप्रतिनिधिले नयाँ व्यवस्था ल्याउन सहयोग गर्नु पर्दछ भन्नू हुन्थ्यो ।

२०४६ मा बहुदल आउनु भन्दा पहिले नै मेरो घरमा हँसिया हथौडाको झण्डा गाडिएको थियो । कसले किन गाड्यो भन्ने थाहा भएन । बहुदल आउनु भन्दा पहिले उमानाथ घिमिरे सित पदम भण्डारी, हिम प्रसाद सुवेदी, कलाकार शम्भु राई मेरो घरमा आउनु भएकोथियो । उहाँहरू मालेका मान्छे हुनुहुदो रहेछ । त्यतिबेला उहाँहरूले कम्युनिस्टको कुरा गरेको सुनेकोथिएँ । शायद मेरो दाइ केशबले बोलाएको हुनु पर्दछ । फुर्के सल्ला प्रा. वि . तेलियामा बहुदल आए पछि कक्षा ५ मा पढ्दा मलाई अनेरास्ववियु (पाँचौ ) को सदस्यता मिलेको थियो । कले दियो भन्ने मेरो अहिले सम्झनामा छैन ।

पाँच कक्षा उत्तीर्ण गरे पछि मैले धनकुटा तेलियाको तिलेश्वर निमाविमा पढ्न थाले । अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भयो । म प्रा. क . को सचिब भएँ । अध्यक्ष कुलबहादुर विक हुनु भयो । २०४८ को संसदीय निर्वाचनमा धनकुटा क्षेत्र नम्बर दुईबाट सूर्य चिन्ह लिएर उम्मेदवार उठेका एमालेका गोपाल गुरागाईलाइ जिताउन हामी अखिलका विद्यार्थीहरू सकृय भयौँ । हामी साना केटाहरूले गाउँमा चुनावका बेला सूचना आदान प्रदानको काम गर्दथ्यौ । गाउँमा विरोधी पार्टीहरूले कहाँ के गर्दैछन् भन्ने सूचना लिने र पार्टीलाई दिने गर्दथ्यौँ । गुरागाइले चुनाव जित्नु भयो । एमालेको गाउँ पार्टी बैठकमा साना भए पनि आमन्त्रित भनेर राख्थे । सायद राजनीति सिकुन भनेर हो कि !

एमालेको तेलिया गाउँ पार्टी कार्यालय एक जना तामाङ दाइको घरमाथियो । त्यहाँको गाउँ पार्टीको सक्रिय सदस्य नेत्र रुचाल हुनुहुन्थ्यो । पार्टी बैठकमा नेत्र एक दलित भएकाले त्यो बैठक कार्यालय भित्र बस्न सकेन । व्यक्तिको घर भए पनि कार्यालय सार्बजनिक स्थान थियो । तर दलितलाई घर भित्र पस्न दिनु हुन्न भन्ने रुढिगत सोचाइका कारण बैठक कार्यालय बाहिर नै बस्यो । मैले यो तरिका ठीक भएन भनेर विरोध गरेँ । स्वयं नेत्र रुचाल पनि मौन रहनु भयो । मेरो कुरालाई उग्र सोचाइ भनेर विरोध गरियो । मैले पुरानै तरिका,पुरानै सोचाइले कसरी नयाँ र समानताको ब्यबस्था ल्याउन सकिन्छ भनेर विरोध गरें । मेरो गाउँबाट सदरमुकाम आउन पैदल यात्रा ५ घण्टा लाग्दछ ।

सदरमुकामको तल्लो टुडिखेलमा टोली नम्बर १ टोली, टोली नम्बर २ भन्दै एलाउन्स गरेको सुने । म माइकको आवाज तिर आकर्षित भएँ र सभा स्थल तिर गएँ । भाषण सुनिरहेँ । मैले ध्यान पूर्वक अबेर सम्म कुरा सुनेको देखेर एक जना होचो कदको मान्छे आएर मलाई सम्पर्क गरे । उहाँ लाल नेपाली हुनुहुँदो रहेछ । मेरो सम्पर्क ठेगाना लिनु भयो र केही पछि लगत्तै ठाकुर बराल र लाल नेपाली मेरो घर जानू भयो । नेकपा (मसाल) बारे जानकारी प्राप्त भयो । कम्युनिस्ट पार्टी यही नै रहेछ भन्ने लाग्यो । त्यसबेला औपचारिक कमिटी बनेन । साथीहरू सित मसालमै काम गर्ने सहमति बन्यो । केही समय पछि तेह्रथुम जिरीखिम्तीका पुष्प गिरी मेरो गाउँमा आउनु भयो । अखिल नेपाल किसान सङ्घको सदस्यता वितरण गर्नु भयो । किसान सङ्घको गाउँ समिति बन्यो । म पनि त्यो समितिमा आबद्ध भइ काम गर्न थालेँ ।

२०५१ देखि २०५४ सम्म घरेलु तथा साना उद्योग विभागमा करारको कर्मचारी बने । तर काम सालभरि हुँदैन थियो आवधिक हुन्थ्यो । यता कर्मचारी भए पनि मैले मसाल र मसालको जनवर्गीय सङ्गठनको गतिविधिमा सहभागी हुन्थे । एक पटक रातिमा युवक सङ्घको नारा धनकुटा बजारमा वालपेन्टिङ गरियो । घरेलु कार्यालयको कम्पाउण्डको वालमा समेत भित्ते लेखन गरेको थाहा पाए पछि मलाई यो काम तिम्रै हो भन्दै कार्यालयका हाकीम पर्फुल्ल उपाध्यायले अब आइन्दा राजनीतिक काममा लागेको थाहा पाए भने कार्बाही गर्छु भनेर चेतावनी दिए । तर पनि मैले साङ्गठनिक कार्य छाडेन ।

२०५४ मा जागिर नै छाडेर काममा लागियो । नेकपा ( मसाल) को आयोजनामा धनकुटाको बुढिमोरङ लगायत चौबिसे एरियामा मौसमी चन्दा अभियान सन्चालन गरिएको थियो । धान, मकै, कोदो जनताले दिन्थे । फरक फरक अन्नको फरक फरक पोका थिए जोगीका जस्ता । लाल नेपाली, गगन पुरी, गडुल राई, म लगायतका साथीहरू सÍलनमा जुटेका थियौँ । किताब प्रसाद राई पनि भए जस्तो लाग्छ । त्यसलाई सदरमुकाम ल्याएर नगदमा परिणत गरियो । सुरुमा मौसमी चन्दा सङ्कलन गर्दा बोरा थापेर हिंड्दा लाज लाग्यो तर बिस्तारै बानी पर्यो ।

२०५५ मा नेकपा ( मसाल) को मेको अभियान ( मेची– कोशी अभियान ) सन्चालन गरिएको थियो । त्यो अभियानमा धनकुटाका लाल नेपाली र म तथा पाँचथर मौवाका गोबिन्द भट्टराई तीन जना पाँचथर जिल्लामा कृयाशील भयौँ । जनभेटघाट, पर्चा वितरण, समिति निर्माण गर्दै फिदिम, मौवा, आङ्ना, ओलने, स्याब्रुम्बा, हाËुम,दुर्दिम्बा, लिम्बा, यासोक, रानीगाउँ लगायतका स्थानमा पुगेका थियौँ ।

त्यतिबेला सम्म पूर्बी नेपालमा माओवादीको खासै प्रभाव थिएन । माओवादी भनेर हैन यी क्रान्तिकारी कुरा गर्ने उग्र कम्युनिस्टलाई ठेगान लाउन पर्दछ भनेर काङ्गेसी प्रशासनले हामी तीन जनालाई सदरमुकामबाट छोप्यो । हिरासतमा राख्यो । अन्त्यमा हामीलाई अधिवक्ता लैन बहादुर थापाले प्रहरीबाट छुटाउन मद्दत गर्नु भयो । अधिवक्ता थापा संयुक्त जनमोर्चा नेपाल सित सम्बन्धित हुनुहुदोरहेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित