– लोकनारायण सुवेदी
पछिल्लो समय अमेरिकाले इजरायलसँग मिलेर सीरिया र इराकमा बमबारी गरेको छ । त्यसबाट गाँजा क्षेत्रमा सीमित रहेको इजरायल–पेलस्टिन बीचको नरसंहारकारी युद्धले क्षेत्रीय युद्धको रुप लिने खतरा टड्कारो बनेको छ ।
अमेरिकाका तीनजाना सैनिकहरुको मृत्युको बदला लिनकालागि अमेरिकाले पूरै त्यस क्षेत्रलाई अशान्ति र अस्थायित्वमा धकेल्न खोजेको देखिन्छ । यतिबेला अमेरिकी प्रशासन के दाबी गरिरहेको छ भने उ इरानसँग युद्ध गर्न चाहँदैन । तर उसको पछिल्लो कारबाही यस कुराको ठीक विपरीत छ । यद्यपि आगामी केही दिनमा यो स्थिति बद्लिन पनि सक्दछ । यदि रिभ्यूलिशनरी गार्डका कुनै शीर्ष कमाण्डर मारिए भने इरानले प्रति हमलाको बारेमा सोच्न सक्दछ । आश्चर्य के देखिएको छ भने अमेरिका र पश्चिमा देशहरु गाजामा हजारौं हजार बालबालिका र महिलाहरुको मृत्युलाई केही पनि होइन जस्तो नजरअन्दाज गरेर हेर्दै आएका हुन् । तर आफ्ना केही सैनिक हताहत हुँदा अहिले बडो क्षुब्ध भएको देखिन्छन् । त्यति मात्र पनि होइन, हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा इजरायललाई खडा गरिएपछिको स्थितिमा पश्चिमा देशहरुले संयुक्त राष्ट्र संघ र त्यसका एजेन्सीहरुका विरुद्धको दुष्प्रचारपूर्ण फत्तुरलाई तीव्र पारेका छन् । आफ्नो ज्यान जोखिममा पारेर गाजाका मानिसहरुलाई मानवीय सेवा–सहायता उपलब्ध गराइरहेका ती एजेन्सीका कार्याकर्ताहरुलाई अपराधी तथा आतंकवादी करार गरिरहेका छन् । संयुक्त राष्ट्रका राहत कार्य गर्ने एजेन्सीहरुको लागि दिइनु पर्ने कोषको रकम पनि उनीहरुले यतिबेला रोकिराखेका छन् ।
गाजा क्षेत्रमा अत्यन्तै ठूलो परिमाणमा वर्वादी र रक्तपातबाट इजरायललाई के हासिल भयो ? सुरक्षा विशेषज्ञहरु त्यसको हिसाव किताव अर्थात् लेखाजोखा गरिरहेका छन् । इजरायल आफ्नो घोषित कथित उद्देश्यहरु जस्तो कि हमासको समाप्ति र त्यस क्षेत्रमा अशैन्यकरण हासिल गर्नमा असफल साबित भएको छ । तर उसको त्यो कथित ‘उपलब्धी’का लागि पश्चिमा देशहरुमा वाहावाही चलिरहको देखिन्छ । यसै बीच हमासको इरादा भने अझ सबल हुन पुगेको ठानिदै छ । हमासका नेताहरु के सोचिरहेका छन् भने यो भन्दा त्रासदीपूर्ण र ठूलो वर्वादी उनीहरुका लागि अरु के हुन सक्छ । यसै कारणले गर्दा नै हमास युद्ध बिरामको प्रस्तावप्रति धेरै उत्साही देखिँदैन । केही समयका पछिल्ला अस्थाई युद्ध बिरामका अनुभवहरु पनि त्यति आशाकारी र उत्साहप्रद देखापरेनन् । बरु इजरायले अझ दोब्बर शक्तिका साथ ती युद्ध विरामपछि जोडदार र सर्वनाशी आक्रमण गरेको कुरा विश्वले देखेको हो । त्यसैले त्यत्रो अपूर्व त्रासदी र सर्वनाश व्यहोरेको हमास फेरि त्यसको पुनरावृत्ति होस् भन्ने शायद चाहँदैन ।
अमेरिका समेत पश्चिमी देशहरु गाजाको घटना क्रमको भावी परिणामको जसरी उपेक्षा र अनदेखा गरिरहेका छन् त्यो उनीहरुका लागि पनि अत्यन्तै घातकसिद्ध हुन सक्ने अनुमान पर्यवेक्षहरुले लगाइराखेका छन् । तिनले संगठित या छिटफुट किसिमका हमलाहरु बेहोर्नुपर्ने स्थिति र भिन्न खतराको सामना गर्नु पर्ने अवस्था आउन सक्ने आँकलन उनीहरु गरिरहेका छन् । जो मासिनहरु पेलिस्टिनहरुको समर्थनमा पश्चिमा देशहरुका विभिन्न नगरहरुमा दिनदिनैजसो प्रदर्शन गरिरहेका छन् ती मध्येका कतिपय संगठनहरुले आक्रमक हमलाको सहारा लिन सक्छन् भन्ने उनीहरुका अनुमान छ । विभिन्न सर्वेक्षणहरुले के कुरा प्रकाशमा ल्याएका छन् भने अमेरिकी विश्वविद्यालयकै विद्यार्थी लगायत यूवा समुदायले इजरायललाई अपराधी मान्दछ । अमेरिकी प्रशासनले हालैमा अमेरिकाको हार्डभर्ड र एमआईटी विश्व विद्यालय लगायतमा विद्यार्थीहरुमाथि मात्रै होइन, प्राध्यापकहरुमाथि पनि कारबाही शुरु गरिसकेको छ । तिनको आर्थिक सहायता पनि रोकिदिन थालेको छ । अमेरिकाको इतिहासमा सम्भवतः यो पहिलो अवसर हो जतिबेला शिक्षण संस्थाहरुलाई यसरी तारो बनाइएको छ । अभिव्यक्तिको स्वतन्त्रतालाई दबाउने प्रयत्न गरिन थालेको छ । विडम्बना त के भने तिनै पश्चिमा देशहरु एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई अभिव्यक्ति स्वतन्त्रताको खुव उपदेश दिने गर्दै आएका छन् र गर्दछन् ।
अर्कोरित यस पूरै त्रासद, अमानवीय र नरसंहारकारी प्रकरणमा ब्रिक्स जस्ता संगठनहरुको भूमिका भने निकै नै निराशाजनक रहेको पनि विश्लेषकहरु औंल्याइरहेका छन् । पछिल्लो समय अर्थात् हालै ब्रिक्समा पाँच नयाँ देशहरुलाई पनि सामेल गरिएको छ । ब्रिक्सले नयाँ विश्व व्यवस्था कायम गर्ने दाबी गर्दै आएको छ । तर पश्चिम एशियाको अहिलेको अत्यन्तै विग्रँदो अमानवीय घटना क्रमका बारेमा ब्रिक्सको तर्फबाट भने त्यस्तो कुनै पहल गरेको पटक्कै देखिएको छैन । मानिसहरुले विश्वभरी नै के अपेक्षा गरेको देखिन्छ भने ब्रिक्सका शक्तिशाली देशहरु रुस, चीन र भारतले समेत यदि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पश्चिम एशियाको गम्भीर समस्याका बारेमा दृढ प्रवृृत्ति मात्रै दर्शाएको भए पनि त्यो इजरायलका लागि र प्रकारान्तरले पश्चिमा शक्तिहरुकै लागि पनि एउटा कडा सन्देश हुने थियो । ब्रिक्समा केवल दक्षिण अफ्रिका मात्रै एउटा अपवाद रहन पुगेको छ । जसले विश्व मानवताको पक्षमा सशक्त आवाज बुलन्द गरेको देखिएको छ । अनि अरब र मुस्लिम देशहरुले देखावटीरुपमै भए पनि दक्षिण अफ्रिकाको त्यो सतप्रयासप्रति आफुलाई जोड्न पुगेका छन् । तर उनीहरुको दब्बूपन जग जाहेर हुन पुगेको छ । के पनि दुर्भाग्यपूर्ण मानिदै छ भने पेलेस्टिनी घटनाक्रमलाई पनि सुन्नी र शियाको धार्मिक विभाजनतिर धकेलेर चर्काउने किसिमको रुप प्रदान गर्ने प्रयत्न गरिएको छ । ईरानको तर्फबाट पाकिस्तानमा आतंकवादी अखडालाई निशाना बनाइएको कुरालाई पनि यससँग जोडेर हेरिदैछ । पाकिस्तानका एकजना प्रसिद्ध पत्रकार नजम सेठीले यस कुरालाई अन्यत्र मोड्न र जनतालाई गुमराह गर्न खोजेको आरोप पनि लागेको छ । यसरी पेलिस्टिनी समस्याको सही समाधान खोज्ने आन्दोलनलाई विभिन्न किसिमले कमजोर पार्ने खेल र चलखेल चल्नुले पश्चिमा शक्तिहरु गोला बारुद वर्षाएर पेलेस्टिनीहरुमाथि अत्याचार मात्र मच्चाइरहेका छैनन् भावी दिनमा प्यालेस्टिनी मुक्ति र स्वाधीनताको आन्दोलनको पक्षमा उठ्न सक्ने विश्वव्यापी सबल एकतालाई भाँजो हाल्न पनि प्रत्यक्ष परोक्ष भूमिका खेलिरहेका छन् भन्ने तथ्यहरु पनि यसरी उद्घाटित भइरहेका छन् ।
यस प्रकार अधिकांश निर्दोष र निहत्था बालबालिका, महिला र आम नागरिकको बर्बर नरहत्याको श्रृंखला चलिरहेको र त्यसमा परेर मृत्यु हुनेको संख्या ३० हजार नाघिसक्दा पनि यसको कुनै निकास निस्कने सुरसार अझै देखिएको छैन । बरु यो संघर्ष क्षेत्रीय संघर्षको रुपमा अझ फैलिने खतनाक स्थिति सिर्जना गरिदै रहको देखिन्छ । यो २१ औं शताब्दीको दोश्रो दशकको मध्य विन्दूमा विश्व पुग्न लाग्दा पनि स्वाधीनता, स्वतन्त्रता र मानवीयताको सम्मान हुने वातावरण फेरि पनि बन्न नसकेको क्रूर यथार्थ विश्व सामु ठिङ्ग उभ्भिएको छ । यसरी प्यालेस्टिनीहरुको संकट आज विश्व मानवकै एउटा अभिन्न संकटकोरुपमा खडा हुन पुगेको छ ।