सत्यपथका अभियात्रीहरुको जिवन्त गाथा ः जनगीत ‘पिपलु हु म’

– नारायण शर्मा
सत्य, विभेदरहित समतामूलक र न्यायपूर्ण युग हामीबाट अझ धेरै टाढा छ । तर त्यो युगसम्म पुग्ने हाम्रो यात्रा निरन्तर जारी छ । हामीलाई थाहा छ – सत्यपथको यो यात्रा सहज र सरल छैन । जाल झेल, झुठ, बेइमानी र षड्यन्त्रकै राज र बोलाबाल चल्ने राज्य र समाजमा सत्यपथका यात्रीहरुले पाइला पाइलामा कठिनतम चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ । सामाजिक, राजनीतिक वा जुनसुकै पेसा व्यवसायमा कृयासिल मानिसहरुका सन्दर्भमा पनि त्यही कुरा सत्य हो । यस्तै समानताको युग तर्फ अघि बढिरहेका अभियात्रीहरुको जिवन्त गाथा बोकेको एक जनगीत नेपाली साङ्गीतिक बजारमा आइपुगेको छ – “पिपलु हु म ।” वरिष्ठ जनगायिका निलिमा पुन र जनगायक उदय रिजालको स्वरमा आएको यो गीतका शब्दहरु लक्षिराम आचार्यले लेखेका हुन भने सङ्गीत र ऐरेन्ज नारायण दङ्गालको रहेको छ । उदय रिजाल युटुब च्यानलबाट २०८० चैत्र ३ गते गते सार्वजनिक गरिएको यो गीतको भिडियोमा चेत बुढाथोकीको निर्देशन र सम्पादन रहेको छ भने अभिनय गर्ने कलाकारहरुमा नारायण शर्मा, पम्फा बन्जाडे, चेत बुढाथोकी, नारायण दङ्गाल, उदय रिजाल र नितु विश्वकर्मा लगायत रहेका छन ।
गीतको शब्द भाव ः
गीतमा सत्यपथमा हिड्ने यात्रीहरुको जीवनलाई पिपलु र गुलाबको प्रतिकको रुपमा लिदै यसरी वर्णन गरिएको छ ः–

पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु
फोहरमा फाले पनि, काडा भनी पन्छाए पनि
हिलो भरी मिल्काए पनि, रातै फुलि सुगन्ध छरिदिन्छु
गुलाब हु म जति काट्छौ पलाउनेछु
कोमल ती आकुरीले सुगन्ध फिजाउनेछु
पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु
अन्धकारले घेरे पनि, भुमरीले छेके पनि
भेदभाव गरे पनि,साहस बोकि पाइला चालिरहन्छु
पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु

हो, समानताको युग तर्फ अघि बढिरहेका सत्यपथका सच्चा अभियात्रीहरु जतिसुकै कठिनाइहरु आइपरे पनि कहिल्यै बिचल्लित हँुदैनन । आफ्ना अगाडि आइलाग्ने आपत्ति विपत्ति र संकटहरुको दृढतापूर्वक मुकाबिला गर्दै उनीहरु अगाडि बढ्छन् । उनीहरु कहिल्यै निरास हुँदैनन । अजम्बरी आस्थाको चेतना फिजाउँदै हिड्छ्न उनीहरु । उनीहरु भित्र अन्तर्निहित आस्था र विश्वासले उनीहरुलाई निरास हुन दिदैन । सत्य समानता र न्यायका पक्षमा निरन्तर अडिग रहनु त्यो पक्कै पनि सजिलो काम होइन । तर त्यही कठिन मार्गमा नहिडिकन हामिले समानताको न्यायपूर्ण समाज निर्माण गर्न सक्दैनौ । “पिपलु हु म” गीतका शब्दहरुले त्यही सन्देश प्रवाह गरेका छन ।

सत्यपथका यात्रीहरु माथि अनेकन प्रकारका प्रहारहरु आउने गर्छन् । तर ती प्रहारहरुले सत्यपथको यात्री झनै निखारिनु पर्छ । झनै इस्पातिलो बन्नु पर्छ । एउटा पिपलुको बोट त्यसलाई जति काटे पनि त्यही काटिएकै ठाउँ बाट उ फेरि पलाउन छोड्दैन । काटिएकै ठाउँबाट पिपलुले फेरि कोमल आँकुराहरु निकाल्न थाल्छ । ती आकुराहरु क्रमशः बढ्दै जान्छन्, अक्सिजन फिजाउँदै जान्छन् । पिपलु माथि जति प्रहार आए पनि अक्सिजन फिजाउने आफ्नो कर्मलाई उसले छोडेको हुँदैन । एउटा गुलाबको बिज हिलाम्य फोहरको पोखरीमा फाल्दा पनि त्यहीबाट अङ्कुराएर फुल्न छोड्दैन । आफुलाई फोहरको पोखरिमा मिल्काउँदा पनि गुलाबले रातै फुलेर सुगन्ध फैलाउने आफ्नो कर्मलाई जारी राखेको हुन्छ । ठीक त्यस्तै परिवर्तनका पक्षधर, सत्यपथका अभियात्रीहरुले पनि जतिसुकै कठिनाइहरु आइलागे पनि सत्यपथको आफ्नो कर्मलाइ रोक्नु हुँदैन । आत्तिएर आफ्नो यात्रा मोड्नु हुँदैन । जनगीत “पिपलु हु म” का शब्द भित्र त्यही भाव अन्तरनिहित रहेको देखिन्छ ।
हामीले देख्दै र भोग्दै पनि आएका छौ – समाजमा सत्यलाई दबाउन अनेक प्रकारका षड्यन्त्र र प्रयत्नहरु गरिएका हुन्छन् । राजनैतिक, सामाजिक र व्यक्तिगत जीवनमा पनि त्यस प्रकारका प्रयत्नहरु भैरहेको हामी पाउँदछौ । निरङ्कुश र अत्याचारी शासन सत्ताका विरुद्ध आवाज उठाउनेहरुलाई तत्कालीन सत्ताले जेल नेल, असह्य यातना र मृत्यु समेत दिएका घटनाहरु हाम्रा सामु छन् । तर ती दमनहरुबाट परिवर्तन अर्थात् क्रान्ति रोकिएको हँुदैन । सत्यपथका यात्रीहरुले बोकेको सही नीति सिद्धान्त र विचारलाई कहिल्यै पनि मार्न सकिँदैन । सासकहरुले जतिसुकै बर्बर दमन गरे पनि त्यो सही विचार झनै फैलिँदै जान्छ र अन्ततः असत्य र झुठको राजलाई त्यो विचारले परास्त गरी छाड्छ । लखन थापा, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दहरुलाई मारेर आफ्नो सत्ता टिकाउन खोज्ने राणा शासन यो देशमा टिक्न सकेन । रत्न कुमार वान्तवा, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, विरेन सिंह, राजवंशी, सरोज शर्मा, मित्रमणि आचार्य, टङ्क भुसाल, क्या. यज्ञ बहादुर थापा लगायतका दर्जनांै देशभक्त योद्दाहरुलाई सहिद बनाएर पनि पन्चायतले आफ्नो शासन जोगाउन सकेन । ज्ञानेन्द्र शाहको निरङ्कुश तानाशाही शासन यो देशमा टिक्न सकेन । नेपाली जनतालाई रैती बनाएर २३८ वर्षसम्म राज गरिरहेको तानाशाही राजतन्त्रले अन्ततः नेपाली जनता सामु घुँडा टेक्न बाध्य भयो । देशमा गणतन्त्र आयो । यो गणतान्त्रिक व्यवस्था आउन नदिन तत्कालीन शाषकहरुले सक्दो प्रयास गरे । यो गणतन्त्रको आस्थालाई , यो विचारलाइ मार्न, अघि बढ्न र फैलिन नदिन तत्कालीन शासकहरुले जेल नेल, हत्या दमनका सारा हतियार प्रयोग गरे । तर दमनबाट जनआन्दोलन रोकिएन, झनै फैलिँदै गयो र अन्तत मुलुकमा गणतन्त्र आयो । हो दमन र यातनाले आस्था र बिचारलाइ मार्न सकिँदैन बरु त्यो झन झन फैलिदै जान्छ–जनगीत “पिपलु हु म” का शब्दहरुले त्यही यथार्थ भाव बोलेका छन् ।

सही र गलत विचार बीचको द्वन्द्व पार्टी, सङ्गठन, संघ सस्था, समाज, परिवार भित्रै पनि चलेको हुन्छ । ती सबै क्षेत्रमा असत्यको खेती केही मौलाएको जस्तो पनि देखिन्छ । तर त्यो अस्थायी कुरा हो । अन्ततः जीत सत्यकै हुन्छ । त्यही विश्वास मनमा राखिरहन सकियो भने मात्र हामी सत्यपथमा निरन्तर हिंडिरहन सक्छांै । बाहिरी दुश्मन प्रस्ट देखिन्छ, उ सँग लड्न बरु केही सजिलो हुन्छ । तर भित्री दुश्मन झ्याप्प चिनिँदैन । उ पनि आफू जस्तै देखिन्छ । सहि विचारलाई अघि बढ्न नदिन भित्रैबाट उस्ले रच्ने षड्यन्त्रहरुलाई बेलैमा चिन्न नसक्दा पनि परिवर्तनका लागि धेरै समय खर्चिनु पर्ने हुन्छ । कुरा परिवर्तन अर्थात् क्रान्तिकै गर्छ, तर उसको मुल नियत क्रान्तिको गला रेट्नु हुन्छ, सही विचार र परिवर्तनलाई छेक्नु हुन्छ । सही विचारसँग प्रतिस्पर्धा गर्न नसकेपछि त्यो छद्मभेषी क्रान्तिकारीले सही विचार बोक्नेहरुलाई निरुत्साहित पार्न अनेक किसिमका षडयन्त्रहरुको साहारा लिन्छ । कृतिम लाञ्छनाहरु लगाएर सही विचारको पक्षधर व्यक्तिको मनोबल गिराउने, उसलाई बदनाम गराउने कोशिश गर्छन् । तर सच्चा क्रान्तिकारी ती षडयन्त्र र लान्छनाहरुबाट गल्दैन र ढल्दैन पनि । जसरी मार्ने नियतले काट्दा पनि काटिएकै ठाउँबाट फेरि पलाउँदै अक्सिजन फिजाउने आफ्नो कर्मलाई पिपलुले जारी राखेको हुन्छ ठीक त्यसरी नै सच्चा क्रान्तिकारीले पनि ती षडयन्त्र र लाञ्छनाहरुको बेवास्ता गर्दै सही विचार फैलाउने आफ्नो कर्मलाई जारी राख्नु पर्दछ– जनगीत “पिपलु हु म” का शब्दहरुले त्यही सन्देस दिएका छन ।

भिडियोमा समेटिएको कथा सार ः
जनगीत “पिपलु हु म” को भिडियोमा सुसभ्य र समुन्नत समाजको पक्षधर एक शिक्षकले समाजमा गर्नु परेको संघर्षलाई कथा बनाइएको छ । एक शिक्षक जो इमानदार र कर्तव्यनिष्ठ हुन्छ । उ सचेत र परिवर्तनकामी हुन्छ । विद्यालयमा गएर पढाउने मात्र होइन समाजमा रहेका विकृति, विसंगति, जातीय छुवाछूत, रुढीवादी अन्धविश्वास र कुप्रथाहरुका विरुद्धमा सचेतना फैलाउने काम समेत त्यो शिक्षकले गरिरहेको हुन्छ । दलित वस्तीमा पुगेर आरनमा काम गरिरहेका परिवारसँगै बसेर पानी पिउँछ , खाना खान्छ, उनीहरुलाई सम्झाइ बुझाइ गरि त्यो परिवारको छोरीलाई स्कुलमा ल्याई भर्ना समेत गराउँछ । रजस्वला भएर फोहर सहितको छाउगोठमा बसिरहेका चेलीहरुको परिवारलाई सम्झाइ बुझाइ गरी उनीहरुलाई घरमै सफा ओछ्यानमा राख्न लगाउँछ । स्कूल मात्र होइन गाउँ मै पनि साँझ स–साना नानी बाबुहरुलाई पढाइरहेको हुन्छ । विद्यालयमा पनि किताब मात्र पढाउने होइन छुवाछूत जस्तो कुप्रथाका विरुद्ध सचेतना फैलाइरहेको हुन्छ । त्यो सचेत शिक्षकको त्यो अभियानमा त्यही विद्यालयकी एक सहिदकी जहान शीक्षिका र एक दलित विद्यार्थीका अभिभावकले साथ दिइरहेका हुन्छन् भने अर्को एक कथित उच्च जातको अभिभावकलाई त्यो सचेत शिक्षकको भूमिका मन परिरहेको हुँदैन । त्यो फटाहा अभिभावक आफैले चरित्रहीन काम गर्छ तर त्यसको दोष त्यो सचेत शिक्षकमाथि थोपर्न खोज्छ । पहिले त गाउँलेहरु त्यो फटाहा अभिभावकको कुरामा लागेर त्यो शिक्षकलाई धपाउन थाल्छन् तर दलित छात्राको अभिभावकले वास्तविकता बुझाइदिए पछि गाउँलेहरु त्यही फटाहा अभिभावक माथि जाइलाग्न थाल्छन्, उसलाई लखेट्न थाल्छ्न । त्यो सचेत शिक्षकको कुरा क्रमशः सबै गाउलेले बुझ्दै जान्छन् । राम्रो काम गरेको भन्दै विद्यालयले पनि आफ्नो वार्षिक उत्सवमा उक्त सचेत शिक्षकलाई सम्मान गर्छ । शिक्षकले अध्यापन गर्ने आफ्नो कर्मलाई निरन्तर अगाडि बढाउन थाल्छ ।

गीतका शब्दहरुले बोकेको भाव अनुसार नै भिडियोमा कथा बुनिएको छ । उक्त कथा अनुसारको गीतको भिडियोमा सचेत शिक्षकको भूमिका नारायण शर्माले, सहिद ्पत्नी शिक्षिकाको भूमिका पम्फा बन्जाडेले, दलित अभिभावकको भूमिका नारायण दङ्गालले, फटाहा अभिभावकको भूमिका चेत बुढाथोकीले, शिक्षिकाको जीवन साथी सहिदको भूमिका उदय रिजालले र दलित छात्राको भूमिका नितु विश्वकर्माले निभाएका छन् । भिडियोको निर्देशन चेत बुढाथोकीले गरेका छन् भने छायांकन ओम प्रसाईंले गरेका हुन । शङखरापुर–१ चापाबोट काठमाडौं र त्यही गाउँमा अवस्थित चापाबोट माध्यमिक विद्यालयको हाताभित्र यो भिडियोको छायांकन गरिएको छ । भिडियोमा कथाले मागे अनुसारका दृश्यहरुलाई सजिव ढङ्गले उतारिएको छ । निर्देशक चेत बुढाथोकीले आफ्नो निर्देशकीय कलाको भरपुर प्रयोग गरेका छन् । मलाई दिइएको भूमिका प्रति मैले कति न्याय गर्न सके यसको मूल्यांकन गर्ने पूर्ण जिम्मा श्रदेय दर्शक श्रोतामा छोड्दै अहिलेलाई यहाँ यति भन्न चाहे – निर्देशकको निर्देशन बमोजिम मैले आफुलाई सुम्पिएको भूमिका प्रति न्याय गर्ने प्रयास गरेको छु । अन्य सबै कलाकार साथिहरुले आआफ्नो भूमिका कुशलतापूर्वक निभाउनु भएको छ । उनीहरु सबैको अभिनयमा यथार्थता देख्न सकिन्छ । भिडियो भित्रको त्यो आरनको दृश्य, त्यो छाउपडी गोठको दृश्य, त्यो कक्षा कोठामा पढाउँदै गरेको दृश्य, कुनै अभिनय नभइ यथार्थ जस्तै लाग्छ । भिडियोमा देखिने ती कक्षा कोठाका विद्यार्थी त्यही स्कूलमा अध्ययनरत छात्रा छात्रहरु हुन । प्राध्यानाध्यापक र अन्य शिक्षकहरु त्यही विद्यालयमा अध्यापनरत गुरुहरु हुनुहुन्छ । कथा र पात्रहरु काल्पनिक भएपनि भिडियो हेर्दा त्यो कुनै काल्पनिक कथा जस्तो लाग्दैन । भिडियो भित्रका दृश्यहरु यथार्थ धरातलमा टेकेर छायांकन गरिएको छ । सबैले मीठो साथ सहयोग र निर्देशक, कलाकारहरुको एकीकृत प्रयासबाट गीतको भिडियो पनि यथार्थपरक र सुन्दर बनेको छ ।

गीति भिडियोका निर्देशक, कलाकार एवं सम्पादक चेत बहादुर बुढाथोकी मुलतः व्यवसायीक गीत÷सङ्गितको क्षेत्रमा कार्यरत व्यक्तित्व हुन । उनले लेखन, सङ्गीत, निर्देशन, सम्पादन र अभिनय गरेका धेरै व्यवसायीक गीति भिडियोहरु चर्चित पनि छन् । व्यवसायीक गीत÷सङ्गितको क्षेत्रमा मात्र होइन क्रान्तिकारी भावका जनगीतहरुको क्षेत्रमा पनि आफुले राम्रो काम गर्न सक्ने उनले “पिपलु हु म” को यस भिडियो मार्फत् स्पष्ट पारेका छन् । प्रगतिशील सांस्कृतिक आन्दोलन र क्रान्तिकारी वाम आन्दोलनलाई नजिकबाट बुझेको एक सांस्कृतिककर्मीले मात्र जनगीतहरुमा अन्तर्निहित मर्म र लयलाई यसरी बुझ्न सक्दछ । त्यही बुझेरै हुनुपर्दछ “पिपलु हु म” मा आफुले काम गर्न पाउनुलाई उनले एक ऐतिहासिक अवसरको रुपमा लिएका छन् । “जनगीत “पिपलु हु म” मा काम गर्न पाउनु नै मेरा लागि एक ऐतिहासिक अवसर थियो ।” – निर्देशक एवं कलाकार चेत बुढाथोकी भन्छन– “कलाकार र प्राविधिकहरु सबैले यसमा राम्रो मिहिनत गर्नु भएको छ, उहाँहरुको भूमिकाबाट म पूर्ण सन्तुष्ट छु । गीतका सर्जक, सङ्गितकार÷ ऐरेन्जर, गायक÷ गायिका, कलाकारहरु हामी सबैको एकीकृत प्रयासबाट एउटा निकै राम्रो गीति भिडियो तैयार भएको छ । मलाई आशा एवं विश्वास छ – दर्शक श्रोताले पनि यो गीतलाई निकै मनपराउनु हुनेछ ।”

गीत रचनाको पृष्ठभुमि ः
जनगीत “ पिपलु हु म” को शब्द सृजना गर्ने लक्षिराम आचार्य क्रान्तिकारी वाम आन्दोलन र प्रगतिशील सांस्कृतिक अभियानमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका साहित्यकर्मी हुन । साहित्यमा खासगरी आचार्यले कविता विधामा कलम चलाउँदै आउने गरेका छ्न । “पिपलु हु म ” गीत पनि आचार्यले २०७७ भाद्र ८ गते आफ्नो डायरीमा लेखेको “नयाँ युग” बोलको कविताबाट बनाइएको हो । आचार्यको “नयाँ युग” बोलको उक्त कविताले तत्कालीन अवस्थामा उनी क्रियाशील रहेको पार्टी भित्र भिषण रुपमा चलिरहेको अन्तरसङ्घर्षलाई प्रतिबिम्बित गरेको थियो । उनी क्रियाशील पार्टीभित्र तत्कालीन अवस्थामा क्रान्तिकारी विचार र दक्षिणपन्थी विचार बीचको अन्तर्सङ्घर्ष चरमउत्कर्षमा पुगिरहेको थियो । दक्षिणपन्थी लाइनको नेतृत्व तत्कालीन पार्टीको शीर्ष नेतृत्वले नै गरेको थियो । जसलाई “यो जनताको वर्गशत्रु हो यो सङ्ग सधै सम्झौताहिन संघर्ष गर्नु पर्छ” भनेर नेतृत्वले चिनाउँदै आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै आएको थियो त्यही नेतृत्व त्यही वर्ग शत्रुको काखमा लडिबुडी खेलिरहेको थियो । हिजो धिक्कारेका तिनै ज्यानी दुश्मनहरु सँगको नेतृत्वको त्यो वर्ग समन्वयकारी हिमचिम क्रान्तिकारी विचार बोकेका कुनै पनि नेता कार्यकर्ताले स्वीकार्न सकिरहेका थिएनन । बुर्जुवा संसदमा फगत एकदुइ सिट लिनका लागि आफैले वर्ग शत्रु घोषणा गरेको शक्तिसँग पार्टी नेतृत्वले कसिरहेको त्यो लगन गाँठोका विरुद्धमा क्रान्तिकारी विचार बोकेका नेता कार्यकर्ताहरुले चर्को आवाज उठाइरहेका थिए । संसदवाद, परिवारवाद र फरियावादमा चुर्लुम्म डुबेको दक्षिणपन्थी पार्टी नेतृत्व क्रान्तिकारी विचारका पक्षधरहरु प्रति निकै असहिष्णु रुपमा प्रस्तुत भैरहेको थियो । कृत्रिम आरोपहरु लगाउँदै क्रान्तिकारी विचारका पक्षधर नेता कार्यकर्ताहरु माथि अवैधानिक कारवाहीको डण्डा वर्षाइरहेको थियो त्यो नेतृत्वले । आफ्नो दक्षिणपन्थी विचारलाई पार्टीभित्र लागू गर्न बाधा पु¥याउने मोर्चा र नेता कार्यकर्ताहरु एक एक गर्दै कत्लेआम गर्ने अभिष्टका साथ अघि बढिरहेको थियो तत्कालीन पार्टी नेतृत्व । आफू माथि दक्षिणपन्थी नेतृत्वले अवैधानिक कारवाहिको डण्डा वर्षाएपनि जो जहाँ फ्याँकिएका थिए । उसले त्यहीबाट उठेर दक्षिणपन्थी लाइनका विरुद्ध क्रान्तिकारीहरुले पार्टीभित्र भीषण अन्तरसङ्घर्ष चलाइरहेका थिए । अर्थात जति काटे पनि पिपलुहरु पलाउँदै अक्सिजन फैलाइरहेका थिए र गुलाबहरु फुल्दै सुवास छरिरहेका थिए । आचार्य पनि तत्कालीन अवस्थामा सो पार्टीभित्रका क्रान्तिकारी विचारका पक्षधर थिए र आफू माथि दक्षिणपन्थी पार्टी नेतृत्वले अवैधानिक कारवाही चलाएपछिको अवस्थामा उक्त कविता सृजना गरेका थिए । पछि हाँक साप्ताहिक, फेसबुक र विभिन्न अनलाइनहरुबाट आचार्यको सो कविता प्रकाशित भयो र त्यसले धेरै चर्चा पनि पायो । आचार्यको त्यही चर्चित कवितालाई काटछाँट गरेर रक्तिम सांस्कृतिक अभियानका महासचिव जनगायक उदय रिजालले “पिपलु हु म” बोलको गीत तयार पारेका थिए । यसरी त्यस्तो पृष्ठभूमिमा लक्षिराम आचार्यले लेखेको उक्त कविता तीन वर्ष पश्चात् अब “पिपलु हु म” बोलको गीत बनेर भिडियो सहित दर्शक श्रोता माझ आइपुगेको छ ।

जनगीत “पिपलु हु म” भिडियो सहित जुन रुपमा दर्शक श्रोता माझ आइपुगेको छ त्यस प्रति पूर्ण सन्तुष्ट देखिन्छन् सर्जक आचार्य । “कुनै खास विशेष परिस्थितिमा सृजना गरिएको भए तापनि मेरो उक्त कविताले हर क्षेत्रका सत्यपथका यात्रीहरुको मनको भावना बोलेको थियो । त्यसलाई गीतमा रुपान्तरण गरेर, जुन कथावस्तुमा उनेर भिडियो सहित अहिले जुन रुपमा सार्वजनिक भएको छ, त्यस प्रति म पूर्ण सन्तुष्ट छु ।” – हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका सर्जक आचार्य भन्छ्न – “यो गीत निर्माणमा अमूल्य योगदान पु¥याउनु हुने संगतिकार, गायक, गायिका, निर्देशक, कलाकारहरु र प्राविधिकहरु सम्पूर्ण प्रति कृतज्ञताका साथ म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।”
सुन्दर संगीत र स्वर, उर्जाशील सन्देश ः
कुनै पनि गीत राम्रो बन्नका लागि शब्द, सङ्गीत र स्वरको तारतम्यता मिलेको हुनु पर्दछ । सर्जकले जुन भावमा डुबेर गीतका शब्दहरुको सृजना गरेको हुन्छ, त्यसलाई बुझेर सङ्गितकारले न्यायपूर्ण सङ्गीत दिन सक्यो र गायक गायिकाहरुले त्यो भावलाई आत्मसात गरेर स्वर दिन सके भने मात्र गीत सुन्दर बन्न सक्छ । जनगीत “पिपलु हु म” मा शब्द, सङ्गीत र स्वर तिनै पक्षको तारतम्यता राम्रोसँग मिलेको छ । जुन गहिराइमा डुबेर सर्जक आचार्यले गीतका शब्दहरु लेखेका छन् त्यसलाई बुझेर गीतका शब्द भाव प्रति पूर्ण न्याय हुनेगरी नारायण दङ्गालले निकै सुन्दर सङ्गीत भरेका छन् । वरिष्ठ जनगायिका निलिमा पुन र जनगायक उदय रिजालको स्वरले गीतको सुन्दरतामा “सुनमा सुगन्ध” थपेको छ । गीतको शब्द भावलाई पूर्ण रुपमा आत्मसाथ गर्दै स्वर दिएका छन् गायक गायिकाले । यसरी शब्द, सङ्गीत र स्वर तिनै पक्षको सुन्दर संयोजनबाट एउटा निकै मीठो र कर्णप्रिय गीत निर्माण भएको छ – “पिपलु हु म ।”

“पिपलु हु म” मुलतः एक सन्देशमूलक र चेतनामूलक गीत हो । यो गीतले मानिसलाई अप्ठ्याराहरु सँग जुध्न सिकाएको छ । सत्यपथमा अविचल्लित किसिमले हिंड्न सिकाएको छ । यो एक उर्जाशील गीत हो । मानिसको जीवनमा अनेकन प्रकारका दुख कष्ट, समस्या र चुनौतीहरु आउन सक्छन् । जनगीत “पिपलु हु म” ले मानिसहरुलाई समस्या र चुनौतीहरु सँग सम्झौता गर्न र झुक्न होइन डटेर सामना गर्न, निरास नहुन अभिप्रेरित गरेको छ । यो एक आशावादी गीत हो । निराशता र वैराग्यतालाई परास्त गर्दै मनभित्र साहास र उर्जा भर्न यो गीतले मद्दत गर्नेछ । यो सत्य, समानता र न्यायका पक्षधर हरेक अभियात्रीहरुको साझा गीत हो । जनगीतहरुमा मुख्य कुरा भनेको त्यसले दिने सन्देश नै हो । व्यवसायिक गीतहरु मुनाफा र धनआर्जनको अभिलाषालाई प्राथमिकतामा राखेर ल्याइएको हुन्छ भने जनगीतहरु निश्चित सन्देश र चेतना प्रवाह गर्ने उद्देश्यले आएका हुन्छन् । नेपाली सांगीतिक बजार यतिबेला मनोरञ्जन र व्यवसायिकताका नाममा आएका छाडा, अश्लील र काल्पनिक गीतहरुबाट आक्रान्त छ । त्यसप्रकारका अश्लील गीतहरुलाई विस्थापित नगर्दासम्म हामीले सुसभ्य र सम्मुन्नत समाज निर्माण गर्न सक्दैनौं । यसर्थ “पिपलु हु म” जस्ता जनगीतहरु अरु धेरै निर्माण हुनु जरुरी छ यहाँ ।
अन्त्यमा, सत्यपथका अभियात्रीहरुको जिवन्त गाथा बोकेको यस्तो चेतनामूलक र सन्देसमूलक गीत ल्याएकोमा सर्जक, संगीतकार, गायिका, गायक, निर्देशक, छायाकार र कलाकारहरु लगायत “पिपलु हु म” गीत निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवादका साथ यो गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना पनि ।

(आखिर कस्तो छ त जनगीत “पिपलु हु म” ?– अब उदय रिजाल युटुब च्यानलमा गएर हेरौ र सुनौ )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित