अनुभूतिभित्र देशको स्थिति

मनु वि.क.

वनैमा राम्रो हुने वनका चराचरी ले
घरैमा राम्रो हुने छोराछोरीले
गोठैमा राम्रो हुने माली भन्ने गाईले
माइतैमा राम्रो हुने दाजुभाईले ।
भन्ने गीत तीजको गीत हो । मैले सानोमा आमा र हजुरआमाले गाउने गरेको सुनेकी थिएँ । मेरो आमाले खासै गीत नाँचमा ध्यान दिन पाउनु हुन्थेन । घरको काम छोराछोरीको व्यवस्थापन सबै कुरामा ध्यान दिन पर्ने कारणले होला आमाले खासै गीत ,नाँचमा ध्यान दिन पाउनु हुन्थेन । चाडबाडको समयमा पनि आमाले जहिले पनि घरमा काम मात्रै गर्ने भएकाले अरु कुरामा ध्यान दिन नपाएको रहेछ भन्ने मलाई अचेल मात्रै थाहा हुन्छ । तर आमाले मेलापातमा धान, कोदो रोप्दै होस या गोड्दै होस तीज आएको बेलामा भने यो गीत राम्रो भाकामा गाउने गर्नुहुन्थ्यो । हाम्री आमाको आमा हजुरआमा पनि जीवनको पछिल्लोे समय हामीसंगै बस्नु हुन्थ्यो । वहाँले पनि उही समयमा नै यो गीत गाउने गर्नुहुन्थ्यो । यो गीत कसरी हाम्री आमा ,हजुरआमाले गाउन जान्नु भयो ? कसरी वहाँहरुको दिमागमा रह्यो भन्ने कुरा त मलार्ई थाहा हुने कुरा भएन तर जब जव तीजको मौसम आउँथ्यो यो गीत गाउनु हून्थ्यो । अहिले यो गीत मलाई निकै मनमा आईरहन्छ ।

मन भरी भरी भैरहन्छ । अहिले गाउँमा घरहरु खाली भएका छन् । गाउँमा बस्ने दाजुभाईहरु सबै विदेशिनु परेको छ । कति रहरले वदेशिएका होलान् ,धेरै बाध्यतामा परेर घर छोडेर जान परेको छ । घरमा बुढाबुढी आमा, बाहरु एक्लै सहारा नपाएर बस्नु परेको छ । बच्चाबच्चीहरु एक्लै हुनु परेको छ । श्रीमान श्रीमती भएका बुढाबुढी त संगै रहेको छन् । तर श्रीमान नभएका वा श्रीमती नभएका बुढाबुढी एक्लै जीन्दगी कटाउन परिरहेको छ । घरमा आँट, साथ दिने छोराछोरी यात त विदेश पुगेका छन् यात शहरमा अवसर या कामको खोजीमा जानुु परेको छ । गाउँघर शून्य शून्य भएको छ । बाउ आमाले ऋण धन गरेर बनाएको घर त्यसै खाली हुन पुगेको छ । अहिले घरमा जाउँ, गाउँमा जाउँ ,जता गएपनि राम्रो लाग्ने फूलहरु आँगनीमा फूल्न सकेका छैनन् । घर छोडेर हिँडेको युवाहरुको फिर्ती कहिले हुने हो ?भन्ने भईरहेको छ । घर आँगन रित्तो भएपछि वन झाडी झँगिएको छ । जंगली जनावरहरु बाँदर , मृग, दुम्सीको विगविगी रहेको छ ।

वनमा राम्रो गराउने चराचरीले कस्तो गीत गाए, कहाँ चिरविराए चरीले कहाँ गुड बनाए भनेर हेरिदिने सुनिदिने मानिसहरु कोही छैनन् । वनका चराचरीले गाउने गीत , सुरिलो भाकाहरु सुनिदिने कोही छैन । घरमा छोराछोरी छैनन् । घर राम्रो बनाउने छोराछोरी नहुँदा आमा बाउको दिल छिया छिया हुन पुगेको छ । आज आउँछन् कि भोलि आउँछन् कि , अहिले आउँछन् कि कहिले आउँछन् ? यताबाट आउँछन् कि उताबाट आउँछन् भनेर दिन गनेर कुरेर बस्नु बाहेक केही छैन् । छोराछारी नभएको घरमा सुनसान दिनहरु काट्नु पर्दा कति गाह्रो भईरहेको होला ? सोचिदिने सम्म पनि कोही छैनन् ।

अहिले गोठमा केही कराउँदैनन् । बाच्छा ,बाच्छी ,पाडा पाडी गोठमा छैनन् । धेरैले सबैकुरा पाल्न छोडेका छन् । बुढा बुढीले सकेको गरेका छन् पालेका छन् । तर उनीहरु पनि छोराछोरीले यो पेशा अपनाउँदैनन् भन्दै चिन्तित नै छन् । हाम्रो देशमा विदेशबाट किनेर बरु खाने तर उत्पादनमा नलाग्ने प्रवृतिको विकास हुँदैछ । सबैलाई पुगे मलाई पनि पुगेको छ भन्ने केही उत्पादनमा नलाग्ने गर्दै पुरानो बुवा आमाले गरेको खेतीपाती, पशुपालन नगर्ने बानी परिरहेको छ ।

विदेशमा जाने उतैबाट पैसा ल्याउने ,पठाउने त्यसैले किनेर खाने र सुख अनुभूति गर्ने परिपाटीको विकास हुँदैछ । घिउ बेचेर बस्ने नेपालीहरु अहिले विदेशी भूमिमा अमूल्य जिउ सस्तोमा बेचेर बस्नु परेको छ । बा आमाले हुर्काएका छोराछोरी पराईलाई मज्जाले काम लागेको छ । गोठहरु सबै खाली खाली भएका छन् । कैयौंका गोठहरु भत्किएका छन् । त्यो बनाउने कसले ? त्यसको मर्मत गर्ने कसले ? कोही छैन । गोठमा रहने माली गाई पनि छैन । पाल्ने मान्छे पनि छैनन् । छोरी बेटीलाई माईतमा जाँदा राम्रो लाग्ने दाई भाई भएको , वरपर सबैले काम गरेको माईतीको आँगन भरिभराउ भएको नै भएर होला माइतमा राम्रो हुने दाजु भाईले भनेर गीत बनाएको उहिलेका दिदीबहिनीहरुले तर अहिले सबै गाउँ नै शून्य भएको छ । गाउँ, घर सभ्यता संस्कृति भनेका मानव निर्मित कुराहरु हुन् । मानवीय आवश्यकताले निर्माण हुन पुगेका कुराहरु हुन । तर आज गाउँहरु रित्तिँदै गईरहेका छन् घरमा बाले गाडेको काबो उठाउने , खाँबोलाई जोगाउने मान्छे कोही छैन् । घरहरु ढलेका छन् उठ्नै नसक्ने गरी । यता लक्का जवान छोरा छोरी विदेशी भूमिमा सक्दो रगत र पसिना पोखिरहेको छ उता बाउ आमाले गाडेको खाँबोले आफ्नो खोजिरहेको छ । स्याहार, सम्भार गर्नु पर्ने जसले हो उ नहुँदा लथालिङग भईरहेको छ । आमा, बाको आशा भरोसा गर्ने जवान छोराछोरी नहुँदा आमा बा अहिले पक्का एकल हुन पुगेका छन् । परम्परागत रुपमा बनेका घरहरु अहिले त्यसै रहेका छन् । हेर्ने र प्रयोग गर्ने मान्छेहरु छैनन् । केही वर्ष त रहलान् ।

यस्तो अवस्था भईरहेको बेलामा सरकारले आफना नागरिकलाई स्वदेशमै राख्नको लागि कुनै योजना ल्याउन सकेको छैन । कुनै प्रभावकारी कदम चालेको छैन । पहिले गोरखा भर्ती खारेजको माग गर्दै आन्दोलन गरेको राजनीतिक दलहरुले अहिले नागरिक ह्वार ह्वार्ती विदेश जान बाध्य हुँदा केही बोल्न सकेका छैनन् । सरकारले उताबाट आउने विप्रेषण कुरेर बसेको छ । आफ्ना नागरिकलाई यही बसेर केही गर्न सकिन्छ । आफनो देशमा नै बस्नु पर्छ भन्ने आत्म विश्वास जगाउन सकेको छैन । आफ्ना नागरिक जहाँ जाउन जे सुकै होउन वास्ता छैन । बरु उल्टै जसरी भएपनि विदेश नै पठाउने माध्यमहरु खोजिरहेको छ । अझै विभिन्न देशहरु खोजिरहेको छ । आफ्ना नागरिकलाई विदेश पठाएर देश विकास गर्ने सपना बाँडिरहेको छ । १ वर्षमा ७० हजार नेपाली नागरिक त संधैको लागि देश छोडेर विदेश नै सरेका छन् । यो हुँदै जाने हो भने देश रित्तो हुन केही बेर लाग्दैन । विगतमा गोरखा भर्ती केन्द्रबाट विदेश गएकाहरु त काम गर्ने उमेर पुगेपछि स्वदेशमै फर्केर आउने र यही पसिना बगाउने गर्दथे । तर अहिले त देशलाई गाली गर्दै सकेसम्म उतै नै स्थापित हुने होड छ ।

यता आफनो देशमा भने विदेशीहरु आईरहेका छन् । सत्ता परिवर्तन संगै प्रधानमन्त्री ,मन्त्रीहरुले नेपालमा लगानी गर्न आउ भन्दै देश विदेश हिँडिरहेका छन् । यहाँको स्रोत साधनमा उनीहरुकै कब्जामा गईरहेको छ । देश भनेको जनता पनि हो आफ्नो देशको जनता नभएपछि देश के हुन्छ ? कस्तो हुन्छ ? भन्ने कुरा सत्तामा रहनेहरुले सोच्न सकिरहेको छैनन् । साना उद्योगहरु लगानी नपाएर ,संरक्षण नपाएर छटपटिएका छन् । किसानहरुको विचिल्ली हुन पुगेको छ । उद्योग कल कारखानाहरु खुलेको छैन ।विदेशी लगानीकर्ताहरुले लगानी गरेपनि कर नतिरेर नागरिकको रकममा लुटिरहेका छन् । यस्तो अवस्था भईरहेको बेला देशका छोरा छोरीलाई देशमा राख्न केही योजना छैन । सत्तामा बसेर निकै गरेका छौं भनेर कुर्लिनेहरुले आफ्ना नागरिकलाई देशमा राख्न केही योजना ल्याउन सकेका छैनन् । अहिले विदेश देखाएर देशका नागरिकलाई भूल्याई रहेका छन् । नागरिक दाजुभाई ,दिदी ,बहिनीहरु विदेश पुगिरहेका छन् । गाउँ ,घर ,गोठ रित्तो भईरहने क्रम जारी छ । चेलीलाई माईती छैन । आमा बाउका घरमा छोरा छोरी छैनन् ।वनका चराचरीले एक्लै विरह पोखिरहेका छन् । एक्लै कराईरहेका छन् । सुनिदिने कोही छैन । गोठमा माली गाई हैन ,केही छैन ।

यस्तो अवस्था देश हुनुमा कसको दोष हो त ? गम्भीरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । नेपालीहरुले गर्न पाउने हो भने जस्तो सुकै काम पनि हाँसी हाँसी गर्न सक्छन् भन्ने कुरा नेपालीहरुको संसार भरी भएको मागले देखाउँछ । आफ्नो घरमा आफ्नो देशमा कृषि कर्ममा ध्यान दिन नसक्ने युवाले किन विदेशी भूमिमा उही काम हाँसी हाँसी गर्न मञ्जुर छ ? त्यसको उत्प्रेरक शक्तिहरु के के हुन् ? आफ्नो देशमा सानो सानो काम गर्न नसकेर हिँडेको युवाले किन विदेशमा सबै गर्न तयार छन् ? किन अर्काको देशकोलागि लडेर मर्न तयार छन् ? यी सबै कुराको अध्ययन गर्नु पर्दछ । देश बनाउने आफ्नै देशको नागरिकले हो । अरु देशको त आएर लुट्नेमात्र हो । संसारभरीका जो विकसित देशहरु छन् । उनीहरु अरुले विकास गरिदिएर नभई आफ्नै रगत पसिना पोखेर सयौं वर्ष अथक मेहनत गरेर मात्रै विकसित हुन सकेका हुन् । कुनै पनि कुराको उत्पादनको लागि जे गर्न पनि मानव श्रमको आवश्यकता पर्दछ । देशको मानव श्रम विदेश पठाएर कुनै पनि देश बन्न सक्दैन ।देश बनाउने हो भने मानव श्रम युवा श्रमलाई देशमै राख्नु आवश्यक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित