रुस–युक्रेन युद्धमा नेपाली युवाको संलग्नता फिर्ता गर्न सरकारको विश्वसनीय पहल भएन

काठमाडौं । नेपाली युवाहरु भाडाको सैनिकको रुपमा रुस – युक्रेन युद्धमा सहभागी भइरहेको लामो समय भएको छ । उनीहरुलाई भाडाका सैनिकको रुपमा रुसको तर्फबाट युद्ध मोर्चामा अग्रपंक्तिमा पठाउने गरिएकोछ । रुस – युक्रेन युद्धमा नेपाली युवाहरु पुगेको जानकारी त्यतिबेला आयो जतिबेला आफन्तीहरुलाई तिनीहरूको मृत्युभएको बारे साथीहरुले परिवारलाई जानकारी गराए । नत्र सरकार युवाहरु रुस पुगेको भन्नेमा बेखबर रहेको थियो । सन् २०२२को फेब्रुअरीमा रुसी राष्ट्रपतिले देखाएको आकर्षक तलब र रुसी नागरिकता प्राप्तिको अवसरको लोभमा पारी दलालहरुले नेपाली युवाहरुलाई रुस पु¥याई भाडाका सैनिक बन्न बाध्य पारेका हुन् । भाडाको सैनिकको रुपमा अहिलेसम्म कति नेपाली युवाहरु रहेका छन् भन्ने आधिकारिक तथ्याङक सरकारसँग छैन ।

केही समय पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले करिब दुई सय नेपाली रुसी सेनामा कार्यरत रहेको सार्वजनिक कार्यक्रममा मन्तव्य दिएका थिए । नेपाल र रुसका बीचमा सेनामा सहभागी गराउन सरकारसंँग कुनैपनि सम्झौता भएको छैन ।तर नेपाली रुसी सेनामा पुगेका छन् । लडेका छन् , मर्न बाध्य भएका छन् ।

मारिएका युवाहरुको तथ्याङक प्राप्त हुन सकिरहेको छैन तर पछिल्लो जानकारी अनुसार देशैभरिका १७ जना युवाले रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाइसकेका छन् । सयौं घाईते भएको बताइन्छ । मृतकको संख्या बढिरहेको छ । उद्धार र खोजकालागि २५० भन्दा बढी निवेदन कन्सुलर विभागमा दर्ता भएको छ । रुसी सेनामा कार्यरत पाँच जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेको समाचार आएकोछ । मृतकका परिवारजनले लाश पाउन सकेका छैनन् । परिवारजनले कुशको शव बनाएर मृतकको दाहसंस्कार गरेका छन् । मृतकका परिवारजनले अहिलेसम्म कुनै क्षतिपूर्ति ,राहत पाउन सकेका छैनन् । सेनामा रहेका नेपालीहरुले त्यहाँबाट उम्किने कुनै बाटो पाउन सकिरहेका छैनन् । लड्दा नेपालीहरुको मृत्यु, बेपत्ता ,अंगभंग वा घाईते भइरहेका छन् । विना तालिम युद्ध मोर्चामा अरुको देशको रक्षार्थ लडिरहेका छन् ।

यता परिवारजनले रुसी सेनामा पुगेका आफ्ना युवाहरुको रिहाई गर्न पहल गरिदिन भन्दै सरकारको ढोकामा धाएका छन् । सरकारले उचित कदम चालिदिओस भन्दै आन्दोलन गरिरहेका छन् । पछिल्लो समय रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान भनी अभियान नै गठन गरेर सडकमा प्रदर्शन गरेका छन् । युद्धमा मारिएका नेपालीको शव नेपाल ल्याउन बेपत्ताको अवस्था खोजीगर्न विधि र प्रकृया घोषणाको माग गरेका छन् । युद्धमा गएका आफन्तजनको पीर लिएर यता परिवार जन बस्नु परिरहेको छ । पीडित परिवार जनले भर्ती भएकाहरुको उद्धारको पर्खाइमै दिन कटाउनु परेको छ । तर सरकारले फिर्ता ल्याउनको लागि खासै पहल गर्न सकेको छैन ।नत परिवार जनलाई राहत र क्षतिपूर्तिको कुरा नै प्रभावकारी ढंगबाट उठाउन सकेको छ ।

सरकारले आफ्ना संयन्त्र प्रयोग गरी रुसी सेनामा युवाहरु पुगेको कुरालाई पहिला नै रोक्न सक्नु पर्दथ्यो । तर त्यो गर्न असफल भयो । अहिले फिर्ता ल्याउनलाई प्रभावकारी भूमिका निभाउन सक्नु पर्दथ्यो तर त्यो पनि हुन सकेको छैन । परिवार जन यता र उता भौंतारिँदा ठिक्क रहेको छ ।

सरकारसंग आफना युवाको सकुसल रिहाई , क्षतिपूर्तिको माग घाइतेहरुको उचित उपचार ,नेपाल ल्याउने व्यवस्था रुसी सेनाबाट पाउने तलब भत्ताकालागि सहजीकरणको माग गर्दै चैत्र १९ गते सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका आफन्तीलाई सरकारले गिरफ्तार गरी छोडिदिएको छ ।

रुसी सेनामा अवैध बाटो हुँदै पुगेका नेपाली युवाहरुको यस्तो अवस्था रहेको बेला सरकारले झनै उल्टो निर्णय गरेको छ । गत पौष १९बाट रुस जान श्रमस्वीकृति दिन लगाएको रोकलाई फागुन ९ र १६ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै श्रम स्वीकृति खुलाएको छ ।

युद्धरत मुलुकमा रोजगारीको लागि पठाउन सरकारले खुलाएको श्रम स्वीकृति खुलाएको हेर्दा सरकार नेपाली युवाहरूलाई अनाहकमा मर्न जानका लागि सरकारले बाटो खुला गरेको हो भनेर विश्लेषकहरूले अर्थ लगाउने गरेकाछन। युद्धरत मुलुकमा अहिले नै श्रम स्वीकृतिदिनु उचित नहुने पनि बिश्लेशकहरूको राय छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित