–रामबहादुर बुढा
१) नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल बैशाख १० गते (सन् १९४९ अपृल २२) मा भएको थियो । आगामी २०८१ बैशाख १० गते नेकपाको स्थापना भएको ७५ वर्ष पूरा हुँदै छ । यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी ( मशाल) ले यस वर्षको चैत्र महिनामा अन्तरक्रिया ,प्रचार प्रसार , प्रशिक्षण लगायतका कार्यक्रम गर्दै नेकपा स्थापनाको हिरक वर्ष मनाउँदैछ ।
२) ७५ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको साङ्गोपाङ्गोमा सिंहालोकन गरी अवको नेपाली कम्युनिस्ट आन्दोलनको ठीक दिशा तय गर्न आवश्यक छ । यो छोटो आधार पत्रमा विस्तृतरूपमा नेपाली कम्युनिस्ट आन्दोलनको सकारात्मक र नकारात्मक पक्षहरू केलाउन सम्भव छैन । तथापि संक्षिप्तमा निम्न कुरा राख्न सकिन्छ ।
सकारात्मक पक्ष
क) राष्ट्रिय स्वाधीनताको रक्षा ः यदि नेपालमा नेपाल कम्युनिस्ट पार्टी र कालन्तरमा त्यसबाट बिभाजित विभिन्न समूहहरूले राष्ट्रिय स्वाधीनताको पक्षमा लगातार संघर्ष नगरेको भए आज जे जति नेपालको राष्ट्रिय स्वाधीनता बचेको छ यही रूपमा वच्न सक्ने थिएन ।
ख ) गणतन्त्रको स्थापनाः नेपालमा कम्युनिस्ट आन्दोलनको विकास नभएको भए यति छिटै गणतन्त्र स्थापना सम्भव थिएन ।
ग) धर्म निरपेक्षता ः कम्युनिस्ट पार्टीले सुरु देखि नै धार्मिक स्वतन्त्रताको पैरवी गर्दै आएको हो । अहिले संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएकोछ ,यद्यपि “स्पष्टीकरण“ खण्डमा धर्मनिरपेक्षता भनेको सनातन देखि चलिआएको धर्म ,संस्कृतिको संरक्षण बताएर धर्मनिरपेक्षताको मर्मलाई विकृत गरिएको छ ।
घ) वर्गीय चेतनाको विकास र वर्ग संघर्ष ः
नेपाली कम्युनिस्ट आन्दोलनले जनता र कार्यकर्तामा वर्गीय चेतनाको विकास गरेकोछ । सामन्ती शोषणका विरुद्ध लामो वर्ग संघर्ष चलाएको छ । कम्युनिस्ट पार्टीले चलाएको संघर्षका परिणामस्वरूप नेपालमा विद्यमान सामन्ती शोषणका विभिन्न रुपहरूको अन्त्य भएको छ, यद्यपि सामन्ती शोषण अझै समूल नष्ट हुन सकेको छैन ।
ङ ) समावेशी अधिकार – पिछडिएका जातजाति र समुदायको अधिकार आज जे जति प्राप्त भएकोछ । यसमा नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण योगदान छ ।
च ) अन्धविश्वास र रुढिवाद विरुद्ध संघर्ष केही हद सम्म भए पनि प्रगतिशील संस्कृति निर्माणमा योगदान ।
छ ) कम्युनिस्ट समर्थक विशाल जनमतको निर्माण ।
कमजोरी पक्ष वा नकारात्मक पक्ष
क) मुख्य लक्षमा पुग्न नसक्नु – नयां जनवाद र समाजवादमा पुग्ने लक्षलाई भेट्न नसक्नु ।
ख ) राष्ट्रघातमा सङ्लग्न हुँदै जानु – जब आफूलाई कम्युनिस्ट बताउने दलहरू सरकारमा जान थाले राष्ट्रिय स्वाधीनताको मुद्दा कमजोर बन्दै गयो । सत्ता स्वार्थका लागि विदेशी शक्ति केन्द्रहरू सित उनीहरूले आत्मसमर्पण गर्दै गएका छन् ।
ग) दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी अवसरवादी कमजोरी रह्यो ।
ङ) जनवादी केन्द्रीयताको दुरुपयोग भयो । त्यसले अनावश्यक टुटफुट र बिभाजन निम्त्यायो ।
नकारात्मक पक्षहरूलाई त्याग्ने र सकारात्मक पक्षलाई समाउँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजाने प्रयत्न गर्नु पर्दछ ।
३) पुँजीवादी गणतन्त्र सहितको संसदीय व्यवस्था अहिले देशमा विद्यमान छ । विश्वमा संसदीय व्यबस्थाको लामो इतिहासको निरन्तरतास्वरुप नेपालमा आफ्नै खालको संसदीय ब्यबस्था प्रयोगमा आएकोछ । नेपालमा राजाहरूलाई सल्लाह दिने भारदारी सभा भए जस्तै बेलायतमा लर्डहरुको सभा ÷ सल्लाहकार सभा थियो । त्यो सभा कालान्तरमा संसदीय प्रणालीमा विकास भएको हो । संसदीय प्रणालीले आफ्नै खालको शासकीय स्वरुप विकास गरेकोछ । जसलाई वेस्ट मिनिस्टर मोडेल भनिन्छ । वेस्ट मिनिस्टर मोडेलमा राष्ट्र प्रमुख ( राजा वा राष्ट्रपति) संवैधानिक हुन्छ भने प्रधानमन्त्री कार्यकारी हुन्छ । बेलायतमा पहिले राजाले नै मन्त्री मण्डलको बैठकको अध्यक्षता गर्ने प्रचलन थियो । तर राजा जर्ज प्रथमले अंग्रेजी नबुझ्ने हुँदा मन्त्रीहरू मध्येका पाको ब्यक्ति रोबर्ट वालपोललाई मन्त्रीमण्डलको अध्यक्षता गरी बैठक बसाल्ने जिम्मा लगाए । रोबर्ट वालपोलले सन् १७२१ देखि १७४२ सम्म मन्त्रीमण्डलको बैठकको अध्यक्षता गर्ने अवसर पाएकाथिए । बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई प्राइममिनिस्टर ( प्रधानमन्त्री ) भन्न थालियो । प्रधानमन्त्रीले मन्त्रीमण्डलको बैठकको निर्णय राजाकहाँ सिफारिस गर्ने गर्थे । राजा जर्ज प्रथम र प्रधानमन्त्री रोबर्ट वालपोल पछि पनि त्यो प्रचलन एउटा परम्पराकै रूपमा विकसित भयो र वेस्टमिरिन्स्टर मोडलको विकास भयो । अहिले विश्वमा बेलायत,भारत, जापान,नेपाल लगायतका ५० भन्दा बढी देशहरूमा संसदीय प्रणाली कायम गरिएकोछ । जहाँ शासकीय स्वरुपमा वेस्ट मिनिस्टर मोडेल प्रचलनमा छ । अमेरिकाले आफ्नै प्रकारको राष्ट्रपतीय प्रणाली विकास गरेकोछ। फ्रान्सले मिश्रित प्रणाली अपनाएकोछ । स्वीजरल्याण्डले सहमतीय प्रणाली अपनाएको छ । कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिबाट आएका चीन, क्युबा , भियतनाम लगायतका देशहरूले आफ्नै प्रकारका राष्ट्रपतीय प्रणाली विकास गरेका छन् ।
संसदीय ,राष्ट्रपतीय जुनसुकै प्रणाली भए पनि ती राज्य सत्ताका रुप पक्ष मात्र हुन् । सत्ताको वर्गीय पक्ष नै त्यो सत्ताको सार पक्ष हो ।
४) सामन्ती प्रणालीको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्रका विरुद्ध संघर्ष गर्न इतिहासमा संसदीय प्रणालीको प्रगतिशील भूमिका थियो । तर अहिले त्यसको चरित्र प्रतिक्रियावादी बनेकोछ । बेलायत जस्ता साम्राज्यवादी देशमा संसदीय ब्यबस्थाले राज्य सत्ताको साम्राज्यवादी चरित्रलाई सेवा गर्ने हो भने नेपाल जस्तो उत्पीडित राष्ट्रमा यहाँको संसदीय व्यबस्थाले साम्राज्यवादको दलाली गर्ने र आफ्ना देशका शोषित जनतालाई शोषण गर्ने माध्य्म बनेकोछ ।
५) नेपालको ईतिहासमा २०१५ देखि २०१७ सम्म, २०४८ देखि २०५८ सम्म र २०७४ देखि हाल सम्म विधायकि संस्थाको रूपमा संसदले काम गरेको थियो र छ । २०६४ देखि २०६८ सम्म र २०७० देखि २०७२ सम्म जननिर्वाचित संविधान सभाले व्यवस्थापिका संसदको रूपमा काम गरेको थियो । अहिले सम्मको अभ्यासबाट नेपालको सन्दर्भमा संसदीय ब्यबस्था देश र जनताको हित गर्ने ब्यबस्था हैन भन्ने व्यबहारतः पुष्टि भएकोछ ।
रूसमा लेनिनको समयमा संसदको क्रान्तिकारी उपयोग गरियो तर विश्वमा धेरै ठाउँमा संसदको उपयोगबाट कम्युनिस्टहरूको क्षयीकरण भएकोछ । नेपाल र भारतको मात्र उदाहरण हेरे पनि त्यो कुरा स्पष्ट हुन्छ । २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दा संसदीय ब्यबस्थाको विरोध र भण्डाफोरको नीति अपनाएको पाइन्थ्यो । २०५१ र २०५६ मा नेकपा ( मसाल) ले संसदीय चुनावको उपयोग गर्दा केही हद सम्म संसदीय व्यबस्थाको विरोध गरेको थियो । तर अहिले आफूलाई कम्युनिस्ट बताउने शक्तिहरू प्रतिक्रियावादी संसदीय व्यबस्थाको रक्षामा लागेका छन् ।
६) संसदीय ब्यबस्थालाई पूँजीवादीहरूले अत्यन्त लोकतान्त्रिक र व्यबस्थित प्रणाली भनेर प्रचार गर्दछन् ।तर ब्यबहारमा हेर्यौ भने यसको चरित्र निरङ्कुश र अराजक हुन्छ ।
संसदमा बिपक्षीले जतिसुकै राम्रा र न्यायोचित कुरा राखे पनि सत्ता पक्ष नीति,कार्यक्रम, बजेट संशोधन गर्न मान्दैन । संसदीय व्यवस्थामा प्रायः आल्पमतकै सरकार बनेको हुन्छ । मानौँ सरकारमा बहुमत जनताको प्रतिनिधित्व नै भयो रे भने पनि यहाँको जुन आर्थिक आधारमा अडेको उपरिसंरचना छ , त्यो अबस्थामा देशी विदेशी शक्तिहरूले सरकारलाई स्थिर हुन दिदैनन । सधै राजनीतिक अस्थिरता रहिरहन्छ ।
संसदीय ब्यबस्थामा त्यहाँको सरकारले पुँजीपतिहरूको कारिन्दाको काम गरेको हुन्छ । संसदको पहिलो र मुख्य काम भनेको कानुन बनाउने हो । संसदले मजदुर र किसानको पक्षमा
भन्दा पनि पुँजीपतिकै हितमा कानुन बनाउँछ । जनताको संघर्षको चर्को दबाब पर्यो भने केही सुधार गरे जस्तो गर्छन तर मजदुर,किसानका समस्याको स्थायी समाधान गर्न सक्दैनन् । नेपालमा कमैया मुक्तिको घोषणा गरेको २३ वर्ष पूरा भयो । मुक्त कमैयाका समस्या अझै समाधान भएको छैन । हलिया, हरवा चरवाका समस्या समाधान भएका छैनन् । अहिले सरकारले मिटरब्याज पीडितबारे कानुन बनायो तर आफैले कार्यान्वयन गर्न सकेकोछैन ।
संसदीय ब्यबस्था ठगहरूको ब्यबस्था हो । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँका मुठ्ठिभर दलाल तथा नोकरशाही पुँजीपतिहरूले देशको सम्पत्ति लुटेकाछन । निर्वाचनका बेला र त्यस अघि पछि पनि उनीहरूले राजनीतिक दलहरूलाई आर्थिक सहयोग गरेका हुन्छन् । निर्वाचन जिती सके पछि दलाल तथा नोकरशाही पुँजीपतिलाई कर छुट दिएर,जनता माथि शोषण लाद्ने छुट दिएर राजनीतिक दलका प्रतिनिधिहरूले उनीहरूको सेवा गरिरहेका हुन्छन् । एन सेल प्रकरण त्यसको एउटा उदाहरण हो ।
७) नेपालमा आफूलाई कम्युनिस्ट बताउने दलहरूका बीचमा दुई प्रकारका धारणा छन् एक , यही संसदीय ब्यबस्था र विद्यमान संविधानबाट समाजवाद उन्मुख कार्यक्रम लागू गर्दै समाजवादमा जान सकिन्छ । दुई, यो संविधान र संसदीय व्यवस्थाभन्दा बाहिरबाट नयाँ जनवाद र समाजवादमा जानू पर्दछ । नवउदारवादको भरिया बनेर समाजवाद उन्मुख कार्यक्रम लागू हुन सक्दैन ।
८) कम्युनिस्ट पार्टीको लागि कार्यदिशा निर्माणको प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ । देशको सामाजिक तथा आर्थिक परिस्थितिको ठोस मूल्याङ्कन गरेर कार्यदिशा तय गर्नु पर्दछ । झापा बिद्रोह हुँदै कोअर्डिनेशन केन्द , माले पार्टीको रूपमा विकास भएको त्यस धारले नेपालमा सुरुमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गरेको थियो । २०४७ मा एमाले बने पछि सम्पन्न २०४९ को पाँचौ महाधिवेशनबाट बहुदलीय जनवादको कार्यक्रम अपनायो र अहिले त्यसले सम्पूर्णरूपले सैद्धान्तिक र ब्यबहारिकरूपमा वर्ग समन्व्यको राजनीति अपनाउन पुगेकोछ । न्युलियस ,चौथो महाधिवेशन हुँदै विकास भएको अर्को धारले पनि नयाँ जनवादी क्रान्तिकै बाटोलाई दस्ताबेजमा उल्लेख गरेको थियो । चौथो महाधिवेशन कालमा त्यो धार भित्र सहरिया सशस्त्र विद्रोहबाट नयाँ जनवादमा जाने वा दीर्घकालीन जनयुद्धबाट नयाँ जनवादमा जाने भन्ने बारेमा विवाद थियो । हाम्रो पार्टी नेकपा (मशाल) अहिले यो निष्कर्षमा पुगेकोछ कि नेपालमा नयाँ जनवादी क्रान्तिको लागि निर्णायक संघर्ष सहरीया सशस्त्र बिद्रोहबाट सम्भव छ । त्यसमा ग्रामीण वर्ग संघर्षलाई पनि जोडेर लैजानु पर्दछ । नेपालको भूराजनीतिक परिस्थिति , नेपालको सामाजिक चरित्र सबैलाई विचार गर्दा वर्ग संघर्षलाई विकास गर्दै सशस्त्र विद्रोहमा परिणत गराउनु पर्दछ । उद्देश्यमा पुग्न कार्यनीतिक शृङ्खलाको तय गरिनु पर्दछ ।
९) नेपालको कम्युनिस्ट आन्दोलनमा संघर्षशील चरित्र एकदमै भुत्ते भएर गएकोछ । जनता माथिको शोषण दमनलाई उठान गर्ने तिर ध्यान छैन । संसदवाद यति गहिरो सँग हावी भएकोछ कि नेता तथा कार्यकर्तामा संसदवादी चिन्तन हाबी भएकै छ जनतामा समेत त्यसले घर गरेकोछ । आफूलाई कम्युनिस्ट पार्टीका नेता , कार्यकर्ता बताउने अधिकाँशको चरित्र र नैतिकता स्खलित भएर गएकोछ । नाम कम्युनिस्ट काम ठगी धन्दा चलिरहेकोछ । ललिता निवास प्रकरण, सुन काण्डहरू, नक्कली भुटानी शरणार्थी प्रकरण आदिमा कम्युनिस्ट नामका पार्टीका व्यक्तिहरू मुछिनु पछिल्ला बदनामित उदाहरण हुन् ।
१० ) नेपालको कम्युनिस्ट आन्दोलनमा अँध्यारै अँध्यारो पक्ष,नकारात्मक पक्ष मात्र छैन । यहाँ केही उज्याला पक्षहरू छन् । सकारात्मक पक्षहरू छन् । आफूलाई कम्युनिस्ट बताउनेहरू दृष्टिकोणका हिसाबले पथभ्रष्ट भइ अध्यात्मवादको पथ समाइरहेका बेला भौतिकवादी समाज गठन गरी त्यसको पक्षमा बोल्ने,लेख्ने र प्रचार प्रसार गर्ने काम पनि भइरहेकोछ । नेपालमा राजनीतिक संघर्ष आवश्यक छैन आर्थिक उन्नति गरे मात्र पुग्छ भनेर संशोधनवादी विचार फैलाइरहेका बेला विभिन्न शोषित पीडित वर्गहरूले आफ्ना वर्गीय मुद्दा बोकेर सडकमा आइरहेकाछन । क्रान्तिकारी कम्युनिस्ट घटकहरू मिटरब्याज पीडित , लघु बित्त पीडित , सहकारी पीडितलागयताका संघर्षमा जोडिदै छन् । क्रान्तिकारी शक्तिहरूका बीचमा एकता,ध्रुबीकरण, संयुक्त मोर्चा,कार्यगता र सहकार्यको काम पनि अगाडि बढिरहेकोछ । क्रान्तिकारी पार्टीहरू भित्र उत्पादन संस्कृति ,श्रम संस्कृति विकास बारे छलफल र त्यस तर्फ पहलकदमी हुँदैछ । उता विश्व पुँजीवाद झन पछि झन संकटमा फस्दै गैरहेकोछ । त्यसले कम्युनिस्ट आन्दोलनका पक्षमा वातावरण बनाउँदै जानेछ ।
११) आफूलाई कम्युनिस्ट बताउने पार्टीहरूमा फुट– बिभाजन हुँदा विभिन्न खालको प्रभाब नेता, कार्यकर्ता र जनतामा परेको हुन्छ । केही व्यक्ति उत्साहित भएर पार्टी र आन्दोलनमा लाग्दछन् । केही व्यक्ति विभाजनको मौका छोपी अन्य पार्टी तिर भाग्दछन् । केही ब्यक्ति निरास भएर पार्टी र आन्दोलनबाट निस्कृय हुन्छन् । ईतिहासमा पटक पटक यस्ता घटना दोहोरिइरहनछन् । इतिहासमा निरासा कालमा पनि सीमित आसावादी व्यक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने प्रयास गरिरहेकै हुन्छन । विभिन्न व्यक्ति,समूहको एकताबाट चौ. म. र मा. ले . धारको निर्माण भए जस्तै नेपालमा क्रान्तिकारी धारको निर्माणका लागि प्रयास गर्न जरुरी छ ।
१२ ) दोस्रो विश्व युद्ध पछि विश्व पुँजीवादलाई सन्चालन गर्न निर्माण गरिएका विश्व ब्यबस्थाका अंगप्रत्यङ्गहरू कमजोर हुँदै गएकाछन् । नेपालमा संसदीय ब्यबस्था सुरु भएको छोटो समयमै यो नाङ्गिदै गएकोछ । संसदीय ब्यबस्थाको बिकल्प यही ब्यबस्थालाई टालटुल पार्नु वा राजतन्त्र तर्फ फर्कनु हुन सक्दैन । यसको विकल्प अग्रगामी र प्रगतिशील ब्यबस्था नयाँ जनवाद र समाजवाद हो । कम्युनिस्ट आन्दोलनको भबिष्य उज्ज्वल छ ।
( नोटः नेकपा (मशाल) जिल्ला संगठन समिति प्यूठानको आयोजनामा नेकपा स्थापनाको हिरक वर्षको अबसरमा २०८०÷१२ ÷१९ गते प्यूठानको जुम्रीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मशालका प्रबक्ता रामबहादुर बुढा द्वारा प्रस्तुत आधार – पत्र यहाँ दिइएको छ )
वर्तमान संसदीय व्यवस्था र कम्युनिस्ट आन्दोलनको भविष्य

Comments