पशुपालन र छाडा पशु चौपाया

– मनु वि.क.
छाडा पशु नियन्त्रणको कुरा अहिले निकै चर्चामा रहेको छ । शहरमा गाई गोरुहरु नै प्रमुख समस्या बनेर रहेको वर्षौ भईसकेको छ । किसानले पशुलाई त्यतिकै छाडिदिँदा छाडा पशु चौपाया बढिरहेको छ । छाडा पशु चौपायाको नियन्त्रणको विषयमा निकै छलफल र हल्लाहरु हुने गरेका छन् । छाडा पशु चौपायाँले खास गरी शहरिया स्थानहरुमा सडक दूरघटनाको कारण बनेको, शहरिया घर,सटरमा राखिएका फलफूल खानाहरु खाईदिएको ,घर गेटमा लगाएको तरकारी वा बोट बिरुवा खाईदिएको, शहरमा फोहोर पारिदिएको ,जतिबेला पनि उनीहरुले खाईदिने हो कि भनेर त्रासमा बस्नु परेको, किसानहरुले खेत बारीमा लगाएको बालीनालीमा जतिबेलासुकै प्रवेश गरी खाईदिएको भन्ने जस्ता गुनासा र समस्याहरु आउने गरेका छन् ।

अहिले छाडा पशु चौपाया व्यवस्थापन निकै पेचिलो विषय बनेको छ । खास गरी शहरिया ठाउँहरुमा छाडा पशु चौपायाको निकै चहलपहल देखिएको हुन्छ । छाडा पशु चौपाया नियन्त्रणको लागि भनेर किसानहरुले स्थानीय निकायसमक्ष ज्ञापन पत्र दिने , समाधान गर्न माग राख्ने, गरेको वर्षौ भईसकेको छ । तर पशुलाई उचित तरिकाले व्यवस्थापन भने हुन सकिरहेको छैन ।

पशुहरु मानव सभ्यताको विकास संगै मानवको अभिन्न अंग बनेर रहेका छन् । मान्छेले बाँच्नको लागि जंगली युगमा जंगली जनावरको शिकार गरेर उनैको मासुको भोजन गरी बाँच्ने गर्दथे । जंगली जनावरको शिकार गर्दा होस या शिकारलाई आफू जहाँ रहेको हो त्यो स्थानमा ल्याउँदा जंगली कुकुरहरु मासुको गन्ध थाहा पाएर मान्छेको वरपर आउने, मान्छेले दिएको रहेबचेको मासु हड्डी खान पाउने कारणले मान्छेको वरिपरि बस्ने गर्न थाले । यसले मान्छेलाई रखवारी गर्ने ,जंगली जनावरहरु आएमा लखेटेर मान्छेलाई सुरक्षित गर्ने साथै मान्छेले शिकार गर्दा जंगली जनावरलाई लखेटेर मार्नमा सहयोग गर्ने भएका कारणले मान्छेको पहिलो पशु कुकुर हुन गएको थियो भनी मानव इतिहासको विकासमा पढ्न पाईन्छ ।

कुकुर पछि मान्छेले शिकारको क्रममा पक्रेर ल्याएका जंगली जनावरहरुको बच्चाहरुलाई आफू जहाँ रहेको हो त्यही स्थानमा हुर्काउने बढाउने काम गर्न थाल्यो । त्यसो गर्दा माान्छेले शिकार गर्न धेरै समय विताउनु पनि परेन, मासुको जोहो सजिलैसंग हुने भयो । मान्छेलाई लगाउने कपडाको पनि व्यवस्था भयो जनावरबाट निकालेको छाला ,रौं वा भूवाको पर्याप्तता भयो । त्यसको साथै मान्छेले पालेका पशुहरुबाट दूध र दूधजन्य पदार्थको उत्पादन गर्न सजिलो भयो ।मान्छेले खाएर फालेको फदफूलको बियाँबाट उम्रेको फलफूलको रुखबाट नयाँ विरुवा उम्रन्छ भन्ने मान्छेले अभ्यास गर्दै जाँदा पत्ता लगायो । मान्छेले यो पनि थाहा पायो कि जंगलबाट पक्रेर ल्याएको जनावरको मल जहाँ जहाँ रहेको छ त्यहाँ त्यहाँको फलफूलको विरुवाराम्रो भएर राम्रो फल पनि दिएको पत्ता लगायो । यसले मान्छेले वषौंदेखि भोगिरहेको खाद्यान्नको संकट समाधान गर्न सजिलो भयो । खेतीपातीको शुरुवात संगै मान्छेले जमिन खन्न हलोको पनि विकास ग¥यो । हलोको विकास भएपछि पहिले काठको हलो मात्रै बनाएर जोत्ने चलन थियो । तर जब तामाको पत्ता लाग्यो किसानले तामाको फाली हलोमा बनाएर त्यसलाई हलोमा हालेर जोत्न थाले । जोत्न मान्छेले गोरु,राँगाहरुको प्रयोग गरी खेती कर्मलाई निरन्तरता दिए । यसरी जोत्दा थोरै समयमा धेरै जोत्न सजिलो हुने भयो । र उत्पादन पनि धेरै हुने भयो ।मान्छेले पशुबाट धेरै फाईदा लिन सकिन्छ भन्ने थाहा पाएपछि मान्छेले पशुपालन गर्न थाल्यो । पशुपालन गर्दा मान्छेका धेरै समस्याहरु टार्न सजिलो भएको थियो ।

त्यसैले मान्छेले पशुपालन थालेको थियो । पशुपालनमा गाई ,गोरु, भैंसी, भेंडा, घाडा ,खच्चर बाख्राकुखुरा हाँस सबै सबै आउने भए । सबैलाई मान्छेले आफ्नो अनुकुलमामा जहाँको जे उपलब्धता थियो त्यही नै पाल्ने गर्दै जाँदा र त्यसबाट फाईदा लिँदै जाँदा आजसम्मको मानवको विकास हुन आएको हो । एक जमाना पनि यस्तो थियो मान्छेले गाई भैंसीसंग जमिनको पनि सटटा पटटा गर्दथे रे भन्ने सुनिन्छ । गाई भैंसी दिने जमिन लिने । मान्छेले यसरी पशु पालन थालेका थिए, निरन्तरता दिँदै र फाईदा लिँदै आएका थिए ।

नेपाली जनता जब कृषिमा पूर्ण रुपमा निर्भर रहेका थिए त्यतिबेला गाई भैंसी नपाली हँुदैनथ्यो । जसरी पनि पाल्नु पर्ने थियो । पालेका थिए । पशुपालनपछि धेरै कुरामा फाईदा लिने भयो । तर पछिल्लो समय खेतीमा रासायनिक मलको प्रयोग,कामहरुमा अरु कामहरुको व्यवस्था ,जस्तै व्यापार ,व्यवसाय ,वैदेशिक रोजगारी, जस्ता कामको उपलब्धताले गर्दा किसानलाई वा मान्छेलाई गाई भैंसी नपालेपनि हुने भयो । पशुहरु बाँध्ने भनेको आफूपनि बाँधिने भएकाले यीनीहरुको पालन गर्न सबैले छाड्दै जान थाले । पशु पालेपछि आफू नै खटिनु पर्ने भएपछि सबैलाई त्यसमा खटिनु भन्दा अरु नै गर्न सजिलो भयो अरु पेशा अपनाएर पनि पैसाको व्यवस्था हुने भयो । जीविकोपार्जन हुने भयो । मान्छेले पशुलाई पाल्न छाडे । अरु पशुको त अहिले समस्याको कुरा छैन । समस्या रहेको छ त केवल गाई र गोेरुको ,बाच्छा र बाच्छीको ।

एकाध घरमा बाहेक गाई ,गोरु ,बाच्छाबाच्छी पालिँदैन । गाईको दूध दिँदासम्म पाल्ने दूध नआएपछि फाल्ने गरिएको छ । सडकमा छोड्ने गरिएको छ । पहले गोरुको काम हुन्थो ।जोत्नमा काम आउँथ्यो अहिले जोत्नमा पनि गोरुको काम छैन । धेरै जसोले जोत्नकोलागि प्रविधिको प्रयोग गर्दछन् । प्रविधिको प्रयोग भएपछि गोरुको केही काम छैन । किसानहरुले होस या जसले पालेको थिए उनीहरुले पाल्न आवश्यक रहेन, पालेका छैनन् ।
सबैले गाईगोरु छोडिदिएका छन् । छोडिदिएपछि उनीहरु कहाँ जाउन र जाने ठाउँ भनेको सडक छेउछाउमा हो शहर मान्छेको घर वरपर हो । यसले जहाँतही समस्या निम्तिएको छ । अझै समस्या त तराइृका जिल्लाहरुका स्थानीय तहहरुमा रहेको छ । तराईका स्थानीय तहहरुले छाडा पशु नियन्त्रण गर्न कोही कसैले पनि प्रभावकारी कदम चालेको भन्ने आउन सकेको छैन ।छाडा पशुको नियन्त्रणकोलागि भन्दै तराईतिरको स्थानीय तहहरुले कार्यविधि पनि बनाएका छन् । छाडा पशु नियन्त्रण गर्नकोलागि भन्दै कपिलवस्तुको जिल्ला अदालतले गत साउन १६ गते स्थानीय तहलाई आदेश दिएको थियो ।र राजमार्गमा निर्बाधरुपमा गाडी चल्न दिन भन्दै आदेश दिएको थयो । स्थानीय तहहरुले छाडा पशु नियन्त्रण गर्न भन्दै रकम विनियोजन गर्दै आईरहेका छन् ।रकम विनियोजन भएपनि खासै प्रभावकारी रुपमा काम हुन सकेको छैन ।

छाडा पशुहरुको संख्या बढ्नुमा एक छाडा अवस्थामै बाच्छा बाच्छीको जन्म, अर्को किसानहरुले छोडिदिएर नै हो । यो नियन्त्रण गर्नको लागि एक किसानहरुलाई पशु छाडा लगाउन नदिने गर्नु पर्दछ । गरेमा कडा कारबाही गर्नु पर्दछ । स्थानीय तहले होस या सम्बन्धित निकायले त्यसको उचित व्यवस्थापन गर्नमा ध्यान दिनु पर्दछ । छाडा पशु चौपायालाई मात्र समस्याको रुपमा लिने चलनले गर्दा उनीहरुको व्यवस्थापनकोलागि मोटो रकम छुट्याउनु परेको छ । उनीहरुको बारेमा संधै चिन्ता लिनु परिरहेको छ । निर्देशिका नै बनाउनु परिरहेको छ । निर्देशिकामा पनि उनीहरुको दीघकालीन व्यवस्थापनको कुनै योजना बन्न सकिरहेको छैन । स्थानीय तहले छाडा रहेका पशु चौपायाँलाई जसरी भएपनि जंगलमा छोडिदिने लखेटने, खोलाको छेउछाउमा छोडिदिने मात्र काम गरेको देखिन्छ । तर खानपानको अभावमा ,चरनको अभावमा उनीहरु फेरी फर्केर मानिस वरपर नै आउँदछन् ।

आखिर किन त ? पशुहरु भनेका हाम्रो मानव समाजको विकासको क्रमदेखि नै मान्छेको साथी हुन । उनीहरु कै भूमिकाको कारण मानव जीवन सहज बन्न उन्नति प्रगति गर्न सकेको हो । तर अहिले मानिसले यो सबै गुन बिर्सेर पशुलाई छाडिदिने गरेका छन् ।

यस्तो हुनु निकै दुःखद रहेको छ । अहिले किसानहरुले गाई ,गोरु भैंसी पाल्न छोड्ने, पशुपालन गर्न छोडने ,भएकोलाई घरबाट लखेटने र दूध र दूधजन्य पदार्थ किनेर खाने । मासु किनेर खाने, छालाजन्य पदार्थलाई विदेशबाट खरिद गर्ने, मललाई सरकार गुहार्ने ,मलमा विदेशीको मुख हेरेर बस्ने ,अनुदानको मल खोज्ने ,महंगो मल खरिदमा लाग्ने माटोको उर्वराशक्तिको ह्रास बनाउनमा हामी सबै पुगेका छौं । राजनीतक दलहरुले मल बिउमा राजनीति गरेका छन् । मल, विउ दिने बहानामा किसानलाई भोटबैंकको रुपमा प्रयोग गरेका छन् । राजनीति गरेको देखाउन मलखादको व्यवस्थाकोलागि भन्दै आन्दोलनमा राजनीतिक दल लागेका हुन्छन् । यसो गर्दा राजनीतिक दललाई ,सरकारलाई धेरै फाईदा हुन्छ । धेरै कमिसन आउँछ ।

सरकारले ,स्थानीय निकायले होस या राजनीतिक दल र राजनैतिक दल निकट किसान संगठनहरुले किसानको मलको समस्या समाधान गर्न यो छाडा पशु बाटै गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सकेका छैनन् । छाडा पशुलाई निश्चित स्थान तोकेर राखी तिनीहरुबाट आउने मलले किसानको मलको समस्या समाधान गर्न सकिन्छ भन्ने कसैले सोच्न सकेका छैनन् । छाडा पशुलाई निश्चित स्थानमा राखी उनीहरुबाट दूध उत्पादनलाई बढाउन सकिन्छ । दूध नदिने गाई अर्थात बुढा भएका गाईबाट पर्याप्त रुपमा मलको उत्पादन गर्न सकिन्छ । छालाको उत्पादन गर्न सकिन्छ । मलको उत्पादनले रासायनिक मललाई विस्थापन गर्न सकिन्छ । प्राङगारिक मलबाट उत्पादन पर्याप्तमात्रामा उत्पादन गर्न सकिन्छ । गोरुबाट पनि मल उत्पादन त हुन्छ नै अरु केही नभएपनि प्राकृतिक रुपमा म¥यो भने छालापनि काम लाग्छ । अहिलेको कानुनी प्रावधानलाई संशोधन भएमा मासु जन्य पदार्थ पनि काम नलाग्ने कुरा भएन । बाच्छा बाच्छीले केही महिना, वर्ष मै उत्पादन दिने कुरा भैहाल्यो ।

स्थानीय निकायले छाडा पशुहरु गाईगोरु बाच्छा बाच्छीलाई निश्चित स्थानमा राखी पालनपोषण गर्नलाई ध्यान दिनु पर्दछ । त्यसकोलागि केही मान्छेहरुलाई रोजगारीको रुपमा काममा खटाउन सकिन्छ । स्थानीय तहले पशुनियन्त्रण गर्न बनाएको कार्यविधि अन्र्तगत नै रहेर काममा खटाउने र तलबको व्यवस्थापन गर्ने गर्न गाह्रो हुँदैन । विदेश पुगेर गाई फारममा काम गर्नु भन्दा स्वदेशमै कामपनि मिल्दछ । स्थानीय निकायले मल, दूध ,उत्पादन गरी पर्याप्त आमदानी गर्न सक्दछ । उत्पादन भएको मल, दूध छाला सबै बिक्रीबाट राम्रो आमदानी गर्न सकिन्छ । काम गर्ने कामदारलाई लाग्ने खर्च आमदानी गरिदिन्छन् । खेर गैरहेको घाँसको पनि सदुपयोग हुन्छ । छाडा पशुबाट धेरै फाइदा लिन सकिन्छ । पहले पहिले गाडा टाँगा चलाउनको लागि गोरुको प्रयोग हुन्थो ।अहिले यातायातको साधनको विकास भैसकेको अवस्था छ । अझै सोच्नेहो भने भित्री गल्लीहरुमा हिँडनकोलागि ,सामानहरु बोकाउनकोलागि टाँगा,गाडा पनि बनाउनेहो भने देशको परनिर्भरता हटन मद्दत गर्ने हुन्छ । गोरुको प्रयोग पनि हुन्छ । हुन त यो पुरानो चलन हो तर पनि छाडा पशुहरुबाट फाईदा लिन यसको पनि प्रयोग गर्नु बेठीक हुँदैन ।

यो विधि अपनाउने हो भने पशुहरु नियन्त्रण गर्न गाह्रो हुँदैन । तर पशु नियन्त्रणको नाममा ठूला ठूला कुरा गरिरहने ,वर्षेनी रकम पनि विनियोजन भईरहने, निर्देशिकाहरु बनिरहने ।आदेश पनि भईरहने तर वास्तविक रुपमा नियन्त्रण हुन नसक्ने हुन्छ । पशुलाई पशुलाई दुःख ,मान्छे मान्छेलाई दुःख जारी रहने छ । त्यसैले छाडा पशु चौपायाको व्यवस्थापनमा दीर्घकालीन सोचाईको आवश्यकता साथै प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित