ने.क.पा.(मशाल) ले सबै प्रकारका कम्युनिस्ट शक्तिहरु माझ सही विचारको प्रतिनिधित्व गरिरहेको छ

–क. गुलाब
सचिव, नेकपा (मशाल), जिल्ला समिति, रुपन्देही

० ने.क.पा. (मशाल) रुपन्देही जिल्ला समितिले आफ्ना राजनैतिक गतिविधि कसरी अगाडि बढाइरहेको छ ?
– खास गरेर हाम्रो पार्टी नेकपा (मशाल) माक्र्सवाद–लेनिनवाद र माओ–त्सेतुङ विचारधाराबाट लेस भएको हुनाले हामीले अन्य पार्टी समूह भन्दा भिन्दै प्रकारले जनताका समस्याहरुलाई समाधान गर्ने तर्फ बढी ध्यान दिइरहेको छ । देशमा अत्यन्तै जटिल प्रकारले विदेशी साम्राज्यवाद र विस्तारवादको दलाली गरेर सत्ता र सरकारमा बसेका राजनैतिक दलको कार्यप्रति जनता रुष्ट भइरहेको वर्तमान परिस्थितिमा हाम्रो पार्टी नेकपा (मशाल)ले हरसम्भव जनताको घर आँगनमा जाने जनताका के के समस्याहरु छन् जनताबाट नै बुझ्ने र वर्तमान परिस्थितिमा कम्युनिस्ट पार्टीको नाम लिंदै विभिन्न कोणबाट माक्र्सवाद लेनिनवाद र माओत्सेतुङ विचारधारा प्रतिको हमलाका विरुद्ध हामीले जनतालाई सचेत र संगठित गर्ने प्रयत्नमा लागिरहेका छौं । किसान, महिला, विद्यार्थी, शिक्षक, व्यापारी,बुद्धिजीवी र नागरिक समाजका विभिन्न संघसंस्था, व्यक्ति समूहसँग भेटघाट अन्तक्र्रिया छलफल गरी पार्टीको कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाइरहेका छौं । साथै हाम्रो पार्टीका विरुद्ध गलत प्रकारको प्रचार गरेर बदनाम गर्न खोज्ने तत्वहरुलाई वैचारिक रुपमा छलफल गरी अगाडि बढन र जनतालाई सचेत र जागृत गर्न तर्फ नै अहिले हाम्रो पार्टीले ध्यान दिइरहेको छ ।
० तपाई लगायतले रुपन्देहीमा नेकपा (मसाल)मा रहेर काम गरिरहनु भएको थियो । किन नेकपा (मशाल) पार्टी गठन गर्नुप¥यो ?
–खास गरेर यो समस्या रुपन्देहीको मात्रै हैन । हामी नेकपा (मसाल) मा करिव ३५÷३६ वर्षदेखि पार्टीमा क्रियाशील हुँदै आइरहेका थियौं । पार्टीमा काम गर्दा पाटटाइमरको रुपमा पार्टीबाट निर्देशन गरिएको विभिन्न कार्यक्रम कहिले देशमा त कहिले प्रवासमा विभिन्न मोर्चाहरुमा संघर्षका कार्यक्रम गर्दै अगाडि बढिरहेका थियौं । पार्टी भित्र काम गर्दै जाँदा पार्टी नेतृत्वले क्रमिक रुपमा पार्टी कार्यकर्तालाई मन्द विषको औषधि सुगाएर कम्युनिस्ट पार्टीको मूलभूत सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओ–त्सेतुङ विचारधाराको सिद्धान्तमाथि हमला भइरहेको महशुस ग¥यौं । नेतृत्वप्रति कार्यकर्ताले जुनप्रकारको स्थिति देखियो । त्यसलाई क्रमिक रुपमा नेतृत्वको गलत क्रियाकलापका विरुद्ध अन्तरसंघर्षको शुरुवात भयो । त्यसपछि अनुशासनको बहाना बनाएर पार्टी नेतृत्वले एक छाक साग खाएर हप्तौंसम्म पार्टीको काममा खटिने कार्यकर्तालाई पार्टीबाट कारवाही गर्ने निस्काशन गर्ने कामको शुरुवात ग¥यो । कार्वाही पूरा भएकालाई बहाली नगर्ने जिम्मेवारी दिन नखोज्ने पार्टीको मुख्य नेतृत्वले भनेको कुरा अनिवार्य मान्नु पर्ने आफू बराबरको अवस्थामा पुगेका नेता कार्यकर्तालाई अनुशासनको विल्ला भिराएर देशभरी र प्रवासका अधिकांश जिल्लाहरुलाई विघटन गरी आठौं महाधिवेशनमा आफूले झिनो बहुमत कसरी प्राप्त गर्न सकिन्छ भनेर जालझेल र तिगडम गरेपछि मोहनविक्रम सिंह र चित्रबहादुर केसीको नेतृत्वले क्रमिक रुपमा पार्टीलाई दक्षिणपन्थी दिशातर्फ उन्मुख गराईसकेपछि क्रान्ति र परिवर्तन चाहने आम पार्टी कार्यकर्तालाई कुनै पनि ठाउँ नदिएपछि नेकपा (मशाल) गठन गर्न बाध्य भयौं । प्रवासको कुनै एउटा जिल्ला सम्मेलनमा पूरै केन्द्रियता लागु गरी उपनियम तयार गरेर सम्मेलन सम्पन्न गरियो ।
आठौं महाधिवेशनका प्रतिनिधि कि त जिल्ला सम्मेलनमा सहभागी प्रतिनिधिले नियुक्ति गर्नुपर्ने हो । कि त नवनिर्वाचित जिल्ला समितिले नियुक्ति गर्नुपर्ने हो । तर ती दुवै नियम विपरीत सिंगै जिल्लाबाट महामन्त्रीले मनोनित महाधिवेशन प्रतिनिधि बोलाएपछि पार्टी नेतृत्वमा पूर्ण तथा तानाशाही भएको र जनवाद खतम भएको महशुुस गरी देशभरी र प्रवास लगायत रुपन्देहीमा हामी नेकपा (मशाल) गठन गर्न बाध्य भयौं ।
० रुपन्देही जिल्लामा अन्य वापमन्थी शक्तिहरुसित पनि सहकार्य गर्नु भएको छ कि ?
–हाम्रो पार्टीले आमूल परिवर्तनका लागि किसान, मजुदर, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, कर्मचारी लगायत स्वतन्त्र वामपन्थीहरुका बीचमा छलफल र अन्तक्र्रिया कार्यक्रम गर्दै आइरहेका छौं । साथै विभिन्न संघसंस्था र पार्टीका बीचमा संयुक्त रुपमा जनताका विभिन्न समस्या समाधानमा लागि संयुक्त मोर्चा निर्माण गर्ने उद्देश्यका साथ क्रान्तिकारी मोर्चा निर्माण गरी संघर्षका योजना बनाइरहेका छौं ।
० रुपन्देही जिल्लामा नेकपा(मशाल)ले किसानका के कस्ता समस्या उठाएको छ ?
–मुख्य गरेर हाम्रो देश कृषि प्रधान देश भएकोले अधिकांश जनसंख्या कृषिमा नै आत्मनिर्भर छन् तर राज्यले किसानहरुप्रतिको मेहनत र परिश्रमलाई बेवास्ता गरेर राज्य निरीह बनिरहेको छ । जुन परिस्थितिमा हामीले किसानका विभिन्न समस्याहरुलाई उठाइरहेकाछौं जस्तै किसानको मलविउबाट लिएर किसानले उत्पादन गरेको वस्तुको सही मूल्य निर्धारण गर्नका लागि सरकारले ध्यान दिनुपर्ने कुराहरु साथै रुपन्देही जिल्लामा अधिकांश किसानहरु अव्यवस्थित र सुकुम्बासी समस्याबाट पीडित छन् । जसलाई सत्ता र सरकारमा बसेकाहरुले किसानको पीडामाथि खेलवाड गरिरहेका छन् ।
जनताको सम्पत्तिको तथ्यांक विवरण लालपुर्जा दिने नाममा लिइयो । तर किसानको ऋण कति छ भनेर सम्पत्ति विवरण लिंदा उल्लेख गरिएन र किसानको मर्म विपरीत कार्ययोजना राज्यले तयार गरेर अव्यवस्थित र सुकुम्बासी जनतामाथि खेलवाड गरिरहेको छ । यसका विरुद्धको संघर्षमा मुख्य ध्यान केन्द्रित गर्ने योजना बनाएका छौं । र, अव्यवस्थित र सुकुम्बासी जनतालाई विना शर्त जोत भोग गर्दै आएको जमिन राज्यको वैधानिक नियम मुताविक स्थायी बसोबास गराउनुपर्छ र किसानहरुलाई मानसिक रुपमा दिइएको पीडा कम गर्न ठीक विकल्प छैन सरकारले ध्यान दिएन भने सशक्त आन्दोलनमा जानु, साथै किसानले उत्पादन गरेको दूधको मूूल्य बजारमा ११० मा बिक्री गरिन्छ तर किसानबाट दुध लिंदा ७० देखि ८५ रुपियाँमा लिने गरिन्छ । जसको मूल्य निर्धारण कम्प्यूटरबाट गराइन्छ र आफूहरुले बेच्दा कम्प्यूटर मूल्य हटाएर विचौलिया र दलालीको आधारमा किसानहरुमाथि लुट मच्चाइएको छ । यसका विरुद्धको संघर्षमा राज्य र सम्बन्धित निकायहरुका विरुद्ध संघर्षको कार्यक्रमको योजना बनाउने तयारीमा जुटिरहेको कुरा हामी यहाँहरुलाई जानकारी गराउदछौं ।
० किसानका समस्या बाहेक रुपन्देही जिल्लामा अन्य के कस्ता समस्याहरु छन् ?
– खास गरेर रुपन्देही जिल्लाको दक्षिणी भेगमा अधिकांश सिमाना भारतसँग जोडिएकाले यहाँ धेरै प्रकारका समस्याहरु छन् । अवैध प्रकारका राजस्व नतिरीकन भित्र्याइने सामग्रीहरुको विगविगी रहेको छ । छाडा चौपायाहरुको व्यवस्थापन नगरिएकोले किसानहरु साह्रै ठूलो मर्कामा परिरहेका छन् । जिल्लाका विभिन्न ठाउँहरुमा चोरी, डकैती र जुवा, तास नशा लिप्त घटनाहरु घटिरहेका छन् । जसको नियन्त्रणका लागि हाम्रो पार्टीले जिल्ला प्रमुख सिडिओलाई भेटि ज्ञापनपत्र बुझाउने काम गरेका छौं । तर कुनै पनि गलत काम प्रति जिल्ला प्रमुखबाट ध्यान पुराउन सकिरहेको अवस्था छैन । र हामीले थप जिल्लाभरी नै विभिन्न वामपन्थी शक्तिहरुसँग भेटघाट गरी एउटा क्रान्तिकारी मोर्चाको माध्यमबाट आन्दोलन गर्न पर्ने स्थिति देखि त्यसको तयारीमा लागिरहेका छौं ।
० रुपन्देही जिल्लामा कम्युनिस्ट आन्दोलनको संक्षिप्तमा सिंहावलोकन गर्न पर्दा के भन्नुहुन्छ ?
– समग्र इतिहास हेर्दा रुपन्देही जिल्लामा वामपन्थी कम्युनिष्टहरुको बाहुल्यता भएको जिल्ला हो । बुटवलको जितगढी किल्ला लगायत विभिन्न परिस्थितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले खेलेको महत्वपूर्ण भूमिकाहरुलाई लिन सकिन्छ । तर त्यसमा पनि रुपन्देहीभरि छरिएर रहेका कम्युनिस्ट घटकहरुलाई समेटेर आन्दोलनको तयारीमा अझ शसक्त हुने कुरामा हामी विश्वस्त छौं र नेकपा (मशाल)ले त्यसको नेतृत्व गर्छ भन्नेमा विश्वस्त छौं ।
० आगामी दिनमा नेपाली कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
– –आमूल परिवर्तनका लागि सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्ने लाग्छ । तर नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट रहेनन् जसले परिवर्तनको नाममा जनतालाई बारम्बार झुकाउने गरिरहेका छन् । २०२८ को तत्कालीन मालेको सामन्तलाई ४ इन्च छोटा करो भन्नेबाट लिएर ०५२ सालमा कथित माओवादी जनयुद्धसम्मको योजनाले नेपाली जनतालाई झुक्काईरहेको छ । जो पार्टी नेता, कार्यकर्ता आमूल परिवर्तनका लागि हतियार उठाएर निरंकुशताका विरुद्धको संघर्षमा होमिए । उनीहरुका छोराछोरी आज एक छाक खान नपाएर रोडमा तडपिरहेका छन् भने मुठीभर नेता, कार्यकर्ता अकुत सम्पत्तिको मालिक बनिरहेका छन् । यस अवस्थामा हामी देशभरी छरिएर रहेका सबै क्रान्तिकारी बुद्धिजीवी वामपन्थी कम्युनिस्टहरुलाई समेटेर अगाडि बढ्नु पर्दछ । साथै कम्युनिस्ट पार्टीको नाम लिएर प्रतिक्रियावादी उन्मुख अस्थिर अविश्वसनीय दक्षिणपन्थी अवसरवादका विरुद्धको संघर्षमा बढी सही विचारको नेतृत्व गरेर अगाडि बढ्नु पर्दछ भन्ने लाग्दछ ।
० राजावादी र पहिचानवादीका ठूला ठूला जुलुस निस्कन थाले । किन यस्तो हुँदैछ भन्ने ठान्नुहुन्छ ?
–यो अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो । आज देशभरी नै राजा आउ देश बचाउको एउटा अभियान नै चलिरहेको छ । यसको मुख्य दोषी को हो ? किन नेपाली जनताको सोच पछाडि फर्किरहेको छ ।यसबारे यदि गम्भीर भइएन भने देशमा एउटा ठूलो राजनैतिक दुर्घटना हुने सम्भावना देखिन्छ । यसको दोषी को हो ?सत्ता र सरकारमा बसेका ठूला दलका मुख्य नेताहरु हुन् । यसमा आम जनताहरुले गम्भीर भएर सोच्ने बेला आएको छ ।
गणतन्त्रको नाममा आफ्ना भाइ, नेता, कार्यकर्ताको मात्रै स्वार्थपूर्ति गर्ने काम भएको कारणले आज यो अवस्था सिर्जना भएको हो । गणतन्त्र प्राप्ति जुन मिठा नारा जनतालाई बाँडेर व्यवहारमा आफ्नो स्वार्थ पूरा गर्ने काम नेताहरुले व्यवहारमा देखाएको कारणले पहिचानवादी र साम्प्रदायिकवादीहरुका जुलुस निकालिएका हुन् । यदि गणतन्त्रवादी हुँ भन्ने शक्तिहरुको यही अवस्था रह्यो भने यो व्यवस्था भन्दा माथि उठेर जनतालाई सशक्त बनाउँदै नयाँ जनवादी क्रान्तिका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्दछ । र पहिचानवादी र जातीयवादीहरुका विरुद्ध अगाडि बढ्नु पर्दछ ।
० पार्टीका आगामी कार्यक्रमहरु के के छन् ?
–नेपालको कम्युनिस्ट आन्दोलन खासगरेर आजसम्म हेर्दा टुटफुट र विभाजनको अवस्थाबाट गुज्रिरहेको छ । अस्थिर ढुलमुल अविश्वसनीय दक्षिणपन्थी अवसरवादले जकडिएको वर्तमान अवस्थामा हाम्रो पार्टी नेकपा (मशाल) सबै प्रकारका कम्युनिस्ट शक्तिहरु माझ सही विचारको प्रतिनिधित्व गर्ने गरिरहेको छ । साथै पार्टीको नीति, सिद्धान्तलाई अगाडि बढाएर देशभरीका क्रान्तिकारीहरुलाई ध्रुवीकरण गर्दै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं । हाम्रो पार्टी संगठनलाई मजबुत गराउँदै जनताका समस्याहरु समाधान गर्ने योजना साथ अगाडि बढिरहेको छ ।
० हा“क साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
–हाँक साप्ताहिक देशको मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, क्रान्तिकारी वामपन्थीहरुका लागि अत्यन्तै लोकप्रिय पत्रिका बन्दै आइरहेको छ । हाँक साप्ताहिक पत्रिकालाई अझ बढी प्रभावशाली र स्तरीय बनाउन यस पत्रिका माथिको हमलालाई विभिन्न कालखण्डमा यस पत्रिकाले टार्दै आउन सफल देखिएका जुनसुकै समयमा उतारचढावको सामना गर्दै राष्ट्रियस्तरमा क वर्गमा परिरहेको छ । हाँक साप्ताहिक नयाँ जनवादी क्रान्ति, समाजवाद र साम्यवादको लक्ष्य पूरा नहुन्जेल निरन्तर अगाडि बढिरहोस् र शोषित, उत्पीडित जनताको आँखाको नानी बनिरहोस् भन्ने कुराको शुुभकामना दिन चाहन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित