– जितामित्र सुनार
विकासको गति सधै एकैनासको, सरल र सिधा हुँदैन । यो बक्र रेखामा मात्राबाट गुणात्मक छलाङमा हुने गर्दछ । समय, भुगोल, सामाजिक चेतना र परिस्थिति अनुसार विकास हुनुका साथै त्यो देशले अपनाएको राज्य प्रणालीको आधारमा पनि देश विकासको गतिशीलतालाई मापन गर्न सकिन्छ ।
साधारणतयः मुलुकहरु रातारात विकसित बन्न सक्दैनन् । सुशासन र दिगो विकासको लक्ष्य राखेर स्वदेशको स्रोत र साधनको उच्चतम् सदुपयोग गर्दा विकासले गुणात्मक फड्को मार्न सक्दछ ।
नेपालमा विशेष गरेर ग्रामीण भेगको विकासमा राज्य उदासिन रहँदै आएको छ । लामो समयसम्म देशमा चलेको द्वन्द्व, राज्यको सामन्ती तथा उदार अर्थ नीति, अस्थिर राजनीतिक व्यवथा र दलाल नोकरशाही पुँजीपती वर्गको हालीमुहालीका कारण देशको समग्र विकास हुन सकेको छैन । ग्रामीण क्षेत्रको विकास गर्ने नीति तथा स्थानीय स्रोत र साधनको पहिचान गरेर ग्रामीण विकासका कार्यक्रमहरू परिचालन गर्ने विषयमा राज्य उदासिन देखिन्छ ।
नेपालको विकास कार्यमा ग्रामीण विकासले निकै नै महत्व राख्दछ । ग्रामीण विकास नभैकन कुनै पनि देशमा वास्तविक विकास भएको मानिदैन । झन नेपाल जस्तो जटिल भू–वनावट भएको देशमा ग्रामीण विकासले झनै विशेष महत्व राख्दछ । हिमाल, पहाड र तराई जुन प्रकारको खण्डहरूको निर्माण भएको छ यी क्षेत्रहरूको विकास त्यहाँको भुगोल, जनजीवन, सामाजिक चेतना र वातावरणको हिसाबले एकै प्रकारले समग्र रूपमा विकास गर्न अत्यन्तै जटिल छ । बहुभाषा, बहुधर्म र बहुसंस्कृति रहेको देशमा ग्रामीण भेकको वस्तुगत आवश्यकता अनुरूप ग्रामीण विकासमा जोड दिन आवश्यक छ । त्यो आवश्यकताको परिपूर्ति गर्ने एउटा महत्वपूर्ण सेतु हुन सक्छ ग्रामीण पर्यटन ।
ग्रामीण पर्यटन भनेको यात्राको एक रूप हो । जुन ग्रामीण गन्तव्यमा केन्द्रित हुन्छ, जसले आगन्तुकहरूलाई स्थानीय रीतिरिवाज, कला र शिल्प, साथै परम्परागत जीवनशैलीको अनुभव गर्ने अवसर प्रदान गर्दछ ।
नेपालमा ग्रामीण पर्यटनमा आर्थिक गतिविधि सिर्जना गर्ने सन्दर्भमा मात्र होइन, ग्रामीण समुदाय र तिनीहरूको अनौठो जीवनशैलीलाई पनि देखाउने र संसारभरि यसको प्रचारप्रसार हुने ठूलो सम्भावना पनि हुनसक्छ । साथै ग्रामीण पर्यटनको विकासले समाजमा रहेको गरिब, कुसंस्कार, जातीय तथा लैङ्गिक असमानता, वातावरण संरक्षण, शिक्षा,स्वास्थ्य र ग्रामीण जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने सक्दछ ।
ग्रामीण पर्यटनको लाभ
ग्रामीण पर्यटनको प्रवर्द्धनबाट धेरै फाइदा लिन सकिन्छ । पर्यटनको प्रवर्द्धन उचित किसिमले हुने हो भने नेपालमा गरिवी उत्थानमा यसले ठूलै भूमिका खेल्ने निश्चित छ । कृषि पर्यटन, दिगो पर्यटन प्रवद्र्धधन, पर्यापर्यटन, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, व्यापारका सिलसिलामा हुने पर्यटन, खोज अनुसन्धानसँग सम्बन्धित पर्यटन, पँहुचयोग्य पर्यटन, शिक्षा सम्बन्धी पर्यटन, जल जन्य पर्यटनलगायत विकसित मान्यता र प्रविधि सँग सम्बन्धित अन्य कैयौं पर्यटनका प्रकारहरु हुने गर्दछन र यी पर्यटनहरु आपसमा एक–अर्कासँग अन्तर सम्बन्धित र अन्योन्याश्रीत समेत छन् ।
स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग समन्वय गरेर ग्रामीण स्तरमा रहेका हाम्रा सम्पदाहरूको समुचित उपयोग गरि ग्रामीण क्षेत्रको मुहार फेर्न संभव छ । त्यसको लागि ग्रामीण पर्यटनको अवधारणालाई स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश गरि कार्यसूचिको अग्रभागमा राखिनु पर्दछ ।
युरोपियन मुलुक पोर्चुगल क्षेत्रफलको हिसाबले नेपालभन्दा सानो देश हो । विश्व मानचित्रमा नेपाल ९३ औं स्थानमा पर्दा पोर्चुगल १०९ औं स्थानमा छ ।
यसको क्षेत्रफल ९२ हजार ३ सय ९१ वर्गकिलोमिटर छ भने यहाँको जनसंख्या १ करोड ३४ लाख ७ हजार ८ सय ९२ (जनगणना २०२१ अनुसार) छ । पोर्चुगलको भौगोलिक वनावट र हावा पानी नेपालकै जस्तो छ । फरक यहाँ वाह्रै महिना हिउपर्ने हिमाल छैनन् । नेपालमा समुन्द्र छैन ।
नेपाल र पोर्चुगलबीच कयौं कुरामा समानता पाइन्छ । पर्यटकीय मुलुक पोर्चुगलले आधुनिक कृषिलाई सँगै अगाडि बढाएको छ । हामीकहाँ वर्षेनी २ मिलियन पर्यटक आउन गाह्रो हुन्छ भने यहाँ २७ मिलीयनभन्दा बढी पर्यटक भित्रिन्छन् ।
पोर्चुगलभन्दा नेपाल कयौं गुणा पर्यटकीय क्षेत्रमा अगाडि छ र सुन्दर अनि शान्त छ । त्यहाँ आन्तरिक पर्यटक भित्र्याउन स्थानीय सरकार नै लागि पर्छन् । आवश्यक पूर्वाधार तयार पार्छन् । सेवा र सुविधामा कमि हुन दिन्नन । कतिपय स्थानीय सरकारले त पर्यटनविद् नै राखेका हुन्छन् । आफ्नो क्षेत्रमा कसरी पर्यटकलाई भित्र्याउन सकिन्छ भनेर विभिन्न छलफल, गोष्ठी, सेमिनार, उत्सव, मेला र पर्वको आयोजना गर्दछन् । आफ्नो स्थानमा भएका पर्यटकीय सम्भावना बोकेका नदी, नाला, पहाड पर्वतलाई उनीहरूले प्रयोगमा ल्याईहाल्छन् । हाम्रा स्थानीय सरकारले पनि पोर्चुगलबाट सिक्न जरुरी छ । ग्रामीण पर्यटनको संभावनालाई अध्यन गरेर दिगो आय आर्जनको काममा लाग्नु पर्दछ ।
ग्रामीण पर्यटनका केही चुनौतीहरूः
नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना भएतापनि पूर्ण सफलता प्राप्त गर्न केही चुनौतीहरू पनि छन् ।
क) पुर्वाधार विकासको अभाव ः
प्राकृतिक स्रोत, मानव साधन, पुँजी र प्रविधिको अभ्यासबाट मानव आकांक्षा पूरा गर्नु विकास हो । पूर्वाधार कुनै पनि सङ्गठन, प्रणाली वा मुलुक सञ्चालनका लागि आवश्यक हुने पूर्वशर्तहरू हुन् । उद्यम सञ्चालनका लागि आवश्यक हुने भौतिक तथा साङ्गठनिक आधारशिला र संरचनाहरू नै पूर्वाधार हुन् ।
साधारण बुझाइमा पूर्वाधार अन्तर्गत सडक, खानेपानी आपूर्ति, ढल निकास तथा सरसफाइ सेवा, दूरसञ्चार, विद्युत् लाइनलाई भन्ने गरिन्छ । हाम्रा गाउँ बस्तीमा प्रचुर मात्रामा पुर्वधार विकास हुन सकेको छैन । तराईमा दुई घण्टा देखि पहाडमा चार देखि पाँच घण्टा र हिमालय भेगका बस्तीमा पुग्न पैदल एक दिनमा पनि पुग्न न सक्ने अवस्था छ । खानेपानी, बत्ती, स्वास्थ्य र शिक्षाको अहिले पनि जटिल समस्या छ । कयौं गाउँहरूमा खाद्यान्न अभाव छ । ढुवानीको साधन खच्चड र घोडाको प्रयोग गर्नु पर्ने बाध्यता छ । अझै पनि नेपाली ग्रामीण जनजीवन कष्टकर नै छ । ग्रामीण पर्यटन विकासको लागि यो एउटा जटिल चुनौतीको विषय हो ।
ख) सामाजिक चेतना र प्रचारप्रसारको अभाव ः
शिक्षाको पहुँच सरल हुन सकेन भने सामाजिक चेतनाको विकास हुन सक्दैन । चरम गरिबीले गर्दा अध्ययन गर्दागर्दै कामको खोजीमा घर छोड्नु पर्ने बाध्यता ग्रामीण बस्तीमा अहिले पनि छँदैछ । मुस्किलले गाउँका विद्यालयहरू सञ्चालनमा रहेका छन् । विद्यालयमा विषयगत टिचरहरूको समस्या छ । विषयगत टिचरहरू नहुँदा पठनपाठनमा समस्या छ । शिक्षा क्षेत्रको यो हविगतले साक्षर जनशक्तिको गाउँमा अभाव छ ।
सामाजिक चेतनाको अभावले समाजमा जातीय छुवाछूत, भेदभाव, लैङ्गिक हिंसा र अपराधजन्य क्रियाकलापमा कमी भएको छैन । गाउँमा चोरी डकैती, बलात्कार र छोई छिटोको आधारमा दलित समुदायमाथि अत्याचार अहिले पनि समाजमा व्यापक हुने गरेको छ । सरसफाइ र आनीबानीमा उल्लेख परिवर्तन हुन सकेको छैन् । बोक्सी प्रथा र छाउपडी प्रथा अहिले पनि समाजमा छँदैछ । यसप्रकारका कुप्रथा र कुसंस्कारले ग्रामीण पर्यटनमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।
दक्ष र चेतनशील जनशक्तिको अभावमा हामी संग भएका सामाजिक कला, संस्कृति, नृत्य, सामाजिक रहन सहन, पुरातात्विक सम्पदा, वन वातावरण र मनोरम दृश्य अवलोकनको प्रचारप्रसार हुन सक्दैन । प्रचारप्रसारका साधनहरूको उच्चतम प्रयोग नगरीकन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ग्रामीण पर्यटनको विकासको प्रचारप्रसार हुन सक्दैन ।
ग) प्रशिक्षित जनशक्तिको अभावः
ग्रामीण क्षेत्रमा टुर गाइड, आतिथ्य सत्कार, मौलिक र स्थानीय स्वच्छ खानाका परिकार बनाउने र गुणस्तरीय पर्यटन सेवाहरू प्रदान गर्न सक्ने जनशक्तिको अभावले ग्रामीण क्षेत्रमा पर्यटन अनुभवको गुणस्तरतालाई सीमित गर्न सक्छ । हुनत गाउँ घरमा भारत लगायत विदेशमा होटल, रेस्टुरामा काम गरेका दक्ष जनशक्ति पनि छन् । तर हाम्रो परिवेश र मौलिकता अनुसारको दक्ष जन शक्तिको अभाव नै देखिन्छ ।
घ) मौसमी पर्यटन ः
पर्यटक बाह्रै महिना गाउँ पुग्ने वातावरण बनाउन आवश्यक छ । मौसम, हावापानी, र गुणस्तर सडक सञ्जाल हाम्रा अवरोधक हुन् । वर्षा याममा हिल्यामे सडक हुदा ग्रामीण वस्तीमा पर्यटक पुग्न सक्ने अवस्था हुँदैन । नाङ्गा र पतझड समयमा उजाड भएका वन जङ्गलहरू वर्षायाममा हराभरा र मनोरम भएका हुन्छन् । तर पर्यटक गाउँमा पुग्न सक्ने अवस्था हँुदैन । ग्रामीण पर्यटनलाई दिगो बनाउन एकपटक आएको पर्यटक पुनः गाउँ आउने वातावरण बनाउन सक्नु पर्दछ ।
चाडपर्व र अनुकूल मौसममा मात्रै होइन मन लागेको समयमा गाउँ आउने पर्यटनको मनोविज्ञानलाई बुझेर पर्यटन प्रबद्र्धधन गरिनुपर्दछ ।
ङ) लगानीको समस्या ः
लगानीकर्ताहरुलाई न्यायोचित र सार्थक आर्थिक लाभ प्राप्त गराउन लगानी मैत्री वातावरण र पुँजीको संरक्षण राज्यको दायित्व भित्र पर्दछ ।
मौसम अनुकुल बसाइ व्यवस्थापन गर्न, यातायात सुविधा, स्वच्छ र सफा खानपानको व्यवस्था गर्न लगानीको यथेष्ट व्यवस्था हुनुपर्छ । संरचना निर्माण गर्नुका साथै सोही बमोजिमका क्रियाकलापहरु संचालन गर्न व्यवस्थापनमा यथेष्ट लगानीको आवश्यकता रहन्छ । स्थानीय जातजातिहरुको मान्यता, आस्था, प्रथा–परम्परा, धर्म, विशिष्ठता लगायतका मौलिक सांस्कृतिक पक्षहरुको प्रचारप्रसार, संरक्षण र प्रदर्शनमा प्रयाप्त लगानी गर्न सक्ने वातावरणको निर्माण हुनु पर्दछ ।
नेपालीमा ग्रामीण पर्यटनको संभावना
नेपालमा ग्रामीण पर्यटन प्रबद्र्धनको दृष्टिले केही चुनौती भएतापनि सम्भावना भने प्रशस्त रहेको छ ।
क) प्रकृतिक सौन्दर्यताः
वन मन्त्रालयले सञ्चालन गरेको वन स्रोत सर्वेक्षण अनुसार कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर मध्ये नेपालमा ४४.७४ प्रतिशत वन जंगल छ भने २३.६ प्रतिशत भुभाग संरक्षित वन क्षेत्र छ । १२ राष्ट्रिय निकुञ्जहरु, ६ संरक्षित क्षेत्रहरु, एक शिकार आरक्ष तथा एक वन्यजन्तु आरक्ष छन् ।
यहाँ सर्वोच्चशिखर सगरमाथा लगायतविश्वका ८,००० मीटर भन्दा अग्ला १४ मध्ये ८ हिमालहरु सहित ६००० मीटर भन्दा अग्ला २५० बढि हिमालहरु छन् । ११ किलोमीटर भन्दा लामा १००० नदीहरु र १६० किलोमिटर भन्दा लामा १०० बढि नदी तथा अनेकौ खोलानालाहरु छन् ।
प्रशस्त मात्रामा रहेका तालतलैया, नदीनाला र हरिया डाँडा पाखाहरूको अनुपम संयोजनले बनेको नेपाली भुगोल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो । यहाँका ग्रामीण वस्तीहरू यही सुन्दर प्राकृतिक भूगोलको अनुपम काखमा अवस्थित छन् । हामीले यही प्रकृति सौन्दर्यतालाई उपयोग गर्न सक्यो भने, ग्रामीण जनजीवनमा कायापलट गर्न सक्नेछौँ ।
ख) धार्मिक तथा सांस्कृतिक सम्पदाः
सामाजिक–सांस्कृतिक परिदृश्य सिंहावलोकन गर्दा नेपालमा धार्मिक संख्या १०, जातजातिको संख्या १४२ र भाषाभाषीको संख्या १२४ रहेको तथ्यांक छ । विभिन्न भाषाभाषी, धर्मावलम्बी र जातजातीहरुको आ–आफ्नै मौलिक विशेषता तथा विशिष्टताहरु छन् । यस्तै १० विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु, १० विविधधर्ममा आस्था राख्ने नागरिकहरु तथा यीनिहरुका विविध मठ, मन्दिर, गुम्वा, चैत्य, मस्जित लगायतका अनेकौ प्राचिन, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरु समेत प्रशस्त मात्रामा पाईन्छन् ।
परम्परागत संगीत, नृत्य, खाना, हस्तलिपि र चाडपर्वहरू सहित नेपाली संस्कृतिलाई ग्रामीण क्षेत्रमा आउने पर्यटकहरूले नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछन् ।
नेपालमा होमस्टे (घरबास) को संख्या ६०० को हाराहारीमा छन् र यिनीहरुको संख्या दिन प्रतिदिन बढ्दो समेत छ । होमस्टेबाट राज्यको दुरदराजको पर्यावरणको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारीमा वृद्धि तथा स्थानीय पँुजीको परिचालन र सदुपयोग जस्ता बहुआयामिक दिगो कृयाकलापहरुबाट प्राकृतिक साधन स्रोत तथा स्थानीय सामाजिक तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र सदुपयोग गरी ग्रामीण क्षेत्रको समुचित विकास र सदुपयोग गर्न सकिन्छ ।
ग) दिगो पर्यटन ः
ग्रामीण पर्यटनमा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण र सामुदायिक विकासलाई प्रवर्धन गरी दिगो पर्यटन अभ्यासलाई प्रबद्र्धन गर्न सकिन्छ । यसले नेपालमा थप दिगो र जिम्मेवार पर्यटन अभ्यासहरु सिर्जना गर्न सक्छ ।
घ) उर्जावान जनशक्ति ः
नेपाली श्रम शक्ति ठुलो संख्यामा विदेश पलायन भैरहेको छ । स्वदेशमा काम गर्ने वातावरण बन्न सकेको छैन । नेपाली युवाहरूको पौरखले दुवई, कतार लगाएत विश्वका देशहरू बनेका छन् । नेपालमा अहिले काम गर्न सक्ने जनशक्तिको बाहुल्यता छ । २० वर्ष पछि नेपाल बृद्धहरूको बाहुल्यतामा परिणाम हुने देखिन्छ । यदि नेपालले जनसांख्यिक लाभ लिने हो भने देशको कायपलट हुनसक्छ ।
सरकारले ग्रामीण पर्यटन प्रबद्र्धनमा युवामैत्री नीतिको निर्माण गरेर जानुपर्छ । ग्रामीण क्षेत्रमा कामगर्ने वातावरण तयार पार्ने, कामको लागि प्रोत्साहन प्रदान गर्ने र लगानी गरेको पँुजीको संरक्षण गर्ने गरी राज्यले जिम्मा लिने हो भने ग्रामीण पर्यटन विकासको माध्यमबाट युवा पलायनता रोक्न सकिन्छ । आफ्नै घर आगनमा, आफ्नै जहान परिवारको साथमा बसेर आयआर्जनको काम गर्न कुन युवालाई मन न होला र ? ग्रामीण पर्यटन युवा स्वरोजगारको भरपर्दो माध्यम हुनसक्छ ।
निश्कर्ष
कयौं चुनौतीहरूको बिचमा पनि नेपालमा ग्रामीण पर्यटन फस्टाउने अवसरहरू छन् । पर्यटनको माध्यमबाट स्थानीयस्तरमा न्यायोचित लाभ प्राप्त गरी मुलुकको आर्थिक वृद्धि र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।
तर राज्य व्यवस्था दलाल नोकरशाही पूँजीपति वर्गको कब्जामा छ । राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वस्तुपरक स्वाभिमानी अर्थनीति हुन आवश्यक छ । राज्य संचालकहरूले विभिन्न शक्ति राष्ट्रहरूको चङ्गुलमा परेर उनीहरूको इशारा अनुरूपको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गर्दछन् । सबल र वस्तुपरक नीति तथा कार्यक्रम र बजेट नभैकन स्थानीय समुदायको दिगो लाभ प्राप्त गर्दै दिगो शान्ति, सुशासन र विकासको संभावना छैन । राज्य व्यवस्थामा आमुल परिवर्तन नै यसको ठीक सावधान हो ।
२०८१ चैत ११ गते