–लोकनारायण सुवेदी
हुन त प्रकृति नै यो विश्व चराचर जगतको जीवनको मूल आधार र श्रोत हो । त्यसबाटै आजको विश्वको ५० प्रतिशत सकल घरेलु उत्पादन अर्थात आम्दानी अर्थात जीडीपी प्राप्त हुने गरेको विश्वको तथ्यांक छ । तर अव विगँ्रदो पर्यावरणको असन्तुलनका कारणले मानव सहयोगी कीट पतङ्गहरुको तीब्र विनाश भएर गइरहेको छ । त्यसले गर्दा महुरी जस्ता सहयोगी किराहरु जो विश्वको झण्डै एक तिहाई खानाका लागि जिम्मेवार छन् त्यस प्रकारका उपयोगी कीटपतंगहरुको ठूलो संखयामा गिरावट आइरहेको छ । यसप्रति मानिसहरुले दिनुपर्ने जति ध्यान दिन सकिरहेका छैनन् । यस सम्बन्धी विज्ञ विशेषज्ञहरु भनिरहेका छन् कि यस विगँ्रदो स्थितिप्रति ध्यान दिन निक्कै ढिलो भइरसकेको र भइरहेको छ ।
तापक्रम बद्लिएर आज गर्मी यत्तिका बढेको छ कि बाँदरहरु जस्ता प्रकृतिमै रमाउने जनावहरु पनि गर्मीले गर्दा रुखबाट खसेर मर्न थालेका छन् । उदाहरणका लागि मेक्सिकोको तटीय राज्य तबास्कोमा गएको साता अर्थात मई महिनाको दोश्रो साता मात्रै १३८ हाउलर जातका बाँदर मृत पाइएका थिए । यतिबेला मेक्सिकोमा तीव्र गर्मी बढेको छ । त्यहाँ गएको मार्चदेखि अहिलेसम्म अत्याधिक गर्मीले गर्दा २७ जना मानिसको मृत्यु भइसकेको छ । यो बढ्दो तापक्रममा अब अलिकति मात्रै वृद्धि हुँदा पनि त्यो जीव जन्तुहरुको ज्यानै जाने स्थिति उत्पन्न हुने गर्दछ भन्ने जानकार विज्ञहरु बताइरहेका छन् ।
अमेरिकाको नासा बिज्ञान प्रतिष्ठानका अनुसार २१ औ शताब्दीको औद्योगिक कालखण्डभन्दा पहिलाको सरदर तापक्रमको तुलनामा गएको बर्ष २०२३मा पृथ्वीको सरदर तापक्रम २.५ डिग्री बढेको थियो । वितेको दश वर्ष वास्तवमा लगातार बढ्दो गर्मीका बर्ष रहे । बढ्दो गर्मीको यो घातक स्थितिले गर्दा वास्तवमा जैविकविविधतामा ठूलो र अपुरणीय क्षति पुगिसकेको र पुगिरहेको छ ।
विश्वमा जैविक विविधताका अनेक शत्रु छन्
हुन पनि विश्व गर्मी(ग्लोबल वार्मिङ्ग) का अतिरिक्त जैविकबिबिधतामाथि यस्ता अनेक खतराहरु छन् । बढ्दो प्रकृति–अमैत्री औद्योगिकरण र प्रदुषणले पनि जैविक विविधतालाई निरन्तर खतरामा धकेलिरहेका छन् । झण्डै तीन दशक जति पहिला डिसेम्बर १९९३ मा नै संयुक्त राष्ट्र संघले जैविकविविधताको बिषयलाई लिएर विश्वभरीका लागि केही महत्वपूर्ण नियमहरु निर्धारण गरिरहेको थियो । अहिलेसम्म त्यस सम्झौतामा १९६ सदस्य सामेल छन् । यसै परिप्रेक्षमा संयुक्त राष्ट्र संघ महासभाले २२ मईका दिनलाई अन्तर्राष्ट्रिय जैविकबिबिधता संरक्षण दिवस घोषित गरिसकेको पनि हो । किनकि सम्झौताको आरम्भिक मस्यौदा सहमतिमा त्यही दिन हस्ताक्षर भएको थियो । अहिले त्यो सम्झौता विश्वका १९६ देशले मान्दछन् । पूरै विश्वका देशहरुले यो नियमलाई मान्दछन् । अनि गएको २००० सालमा नै त्यो सहमति बनेको दिनलाई संयुक्त राष्ट्र संघको माहासभाले जैव–विविधता संरक्षण दिवस घोषणा गरेको थियो ।
आजको दिनानुदिन बिगँ्रदो स्थितिलाई हेर्दा जैविकविविधतालाई लिएर नियम र कानुनहरुलाई अझ कडा र ठोस तुल्याइनु पर्ने विज्ञहरुले बताइरहेका छन् । अहिले विश्वको केवल १७ प्रतिशत जमिन र ८ प्रतिशत मात्र सामुद्रिक हिस्सा मात्र संरक्षित रहेका छन् । जहाँ जैविक विविधता कथितरुपमा वन विनाश, संसाधाहरुको शोषण र प्रदुषणबाट सुरक्षित रहेका छन् । तर ती संरिक्षत ठानिएका र मानिएका क्षेत्रहरुमा पनि जलवायु परिवर्तन, बाढी, खडेरी र जंगली आगलागी जस्ता खतराले नोक्सान पुर्याइरहेको स्थिति छ ।
समाप्त हुँदैछन् बंगलादेश जत्रा सुन्दरबनका जंगली क्षेत्र
जैविक विविधता संरक्षण दिवसमा लुप्त प्राय बनेका प्रजातिहरुको सूचि जारी गर्ने गरेको संस्था इण्टरनेशनल यूनियन फर कञ्जरभेशन अफ नेचर (आईयूसीएन)ले सुन्दर बन अर्थात –(मेग्रोब बन)लाई लिएर एउटा अध्ययन जारी राखेको छ । त्यसले भनेको के छ भने जलवायु परिवर्तन, बन फडाँनी र प्रदुषणका कारण विश्वका आधाभन्दा बढी यस्ता सुन्दर वन अर्थात मेग्रोब वनहरु समाप्त हुने गम्भीर खतराको सँघारमा पुगेका छन् । त्यो अध्ययन गर्ने संस्थाले पहिलो पटक विश्वका ३७ बेग्ला बेग्लै इलाकाहरुमा त्यस्ता सुन्दर बनहरुको अध्ययन गरिसकेपछि यो तथ्यको उजागर गरेको हो । आजको विश्वमा १५ प्रतिशत बनहरु यस्तै तटीय मेग्रिब(सुन्दर) बनहरु बिनाशको घेरमा परेका छन् । यस्ता वनहरु पृथ्वीको १.५ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएका छन् । त्यो मिलाउने हो भने अहिलेको बंगलादेश जत्रै क्षेत्र बन्छ । त्यसमा पनि विज्ञहरु भनिरहेका छन् कि ६० प्रतिशत यस्तो वन नराम्रो किसिमले समाप्त हुने संघारमा पुगेको छ । अध्ययन गर्ने संस्थाका प्रमुख ग्रेथल आगिलारले भनेका छन् –‘यी सबै कुरालाई हेरेर र मिलाएर यस्ता मेग्रोब वनहरुको संरक्षणका बारेमा तुरुन्त कदम चाल्नुपर्ने तीव्र आवश्यकता बनेको छ । यो क्षेत्र विश्वका लाखाँैलाख महत्वपूर्ण जीव जन्तुहरुको बासस्थान रहेको छ’ ।
विश्वमा प्रकृतिबाटै आउँछ ५० प्रतिशत जीडीपी
मानिसका कारणले जैविकविविधतामा हुने गरेको नोक्सानी विश्वमा जीवजन्तुहरुको छैटौं सबैभन्दा ठूलो नोक्सानीको कारण बनिरहेको अनुसन्धानमा उल्लेख छ । त्यसले गर्दा जीव जन्तु र बोट विरुवाहरुको एक तिहाई प्रजातिहरु आउँदा केही शताब्दी भित्र विल्कुलै समाप्त हुन पुग्ने गम्भीर स्थिति छ । यो केवल प्रकृतिको नोक्सानी मात्र हुने छैन त्योभन्दा अझ बढी त्यस प्रकृतिको नोक्सानीको डरलाग्दो दुष्परिणाम मानिसहरुले पनि उठाउन पर्ने छ । सबैलाई थाहा भएकै कुरा हो कि यो जैविक विविधताले विश्व अर्थ व्यवस्थाका लागि पनि अत्यन्तै महत्वपूर्ण र प्रत्यक्ष अर्थ राख्दछ ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमकी उप प्रमुख एलिजाबेथ मारुम मेर्माले एउटा अन्तरवार्तामा बताएकी छन् कि – विश्वको कूल जीडीपी उत्पादनको ५० प्रशित हिस्सा प्रकृतिबाटै आउँदछ । त्यसैले जैविक विविधताको संरक्षण गर्नाले धरतीमा जीवनको रक्षा मात्र हुने होइन आगामी २०३० सम्ममा ४० करोड अतिरिक्त रोजगारी पनि यसबाट पैदा हुनेछ’ । आजको विश्वमा यो पनि कम महत्वको कुरा होइन ।
कीट पतंग नभए खाद्यान्न पनि हुँदैन
विश्वमा कीट पतंगहरुको घट्दो संख्या र खतराको संघारमा पुगेका तिनका प्रजातिहरुलाई लिएर यतिबेला जानकारहरु गम्भीर चिन्ता ब्यक्त गरिरहेका छन् । किनभने बोट बिरुवाका लागि अपरिहार्य पराग सेचन अर्थात् ‘पोलिनेशसन’का लागि ती कीट पतंगको जुन महत्वपूर्ण भूमिका हुन्थ्यो त्यो कम भएर गयो र त्यसले ठूलो प्रभाव पार्न थाल्यो र अझ स्थिति तीब्ररुपमा बिग्रने अवस्था बनेको छ । यही क्रम जारी रहेमा स्थिति निश्चयनै अझ नाजुक हुनेछ । सन् २०१९मा गरिएको एउटा अध्ययनले पनि के भनेको छ भने केवल आउँदा एक दुइ दशक भित्र नै यस्ता कीट पतंगको संख्यामा ४० प्रतिशतले कमी आउने छ र त्यसको नराम्रो र गम्भीर पर्ने असर छ । विश्वमा यतिबेला विद्यमान खाद्य संकटका बीच थप यस्तो स्थिति उत्पन्न हुनुपुग्नु भयावह परिणाम हुनजाने छ । त्यसले यस विषयमा अहिलेदेखि नै गम्भीर भएर विश्व लाग्नु पर्ने र कीट पतंगको रक्षा गर्न जाग्नु पर्ने स्थिति छ ।
अहिले विश्वमा पोर्चुगल देश जत्रो क्षेत्रको जंगल हरेक वर्ष काटिदै फाँडिदै गएको स्थिति छ । अनि यसरी वनका बोट बिरुवा काटिएको क्षेत्रको जैविकविविधतामा पनि ठूलो असर पर्ने कुरा निश्चित छ । यसरी काटिएको जंगलको आधाजसोमा बृक्षारोपण पनि गरिदो होला । तर नयाँ लगाइएको जंगलमा पुरानै सरहको जैविकस्थिति बन्न लामो समय लाग्ने हुन्छ र पूर्बबत जैविक विविधतको स्थितिमा आउन सक्ने सम्भावना कम हुन्छ । त्यसैले त्यस्ता बन क्षेत्रमा रहँदै बस्तै आएका समुदायहरु जंगली जमिनमाथिको आफ्नो हकलाई लिएर सम्झौता गर्न विश्वभरी नै आवाज पनि उठाइरहेका छन् र सम्झौता गर्न चाहन्छन् । त्यसमा उनीहरुले बन सम्पदा जोगाउने, वन्य सँस्कृति कायम राख्ने र वन जंगलको रक्षा र बिकास गर्ने कुरा पनि सन्निहीत । यस कुरामा दृष्टि पुर्याउनु पर्ने आवश्यकता आज अझ बढ्न गएको छ । यसो गरेर बन बिनाश रोक्नका लागि २०३० सम्म हरेक वर्ष ८२४ बिलियन डलरको लगानी गर्नु पर्ने आवश्यकता रहेको बताइन्छ । यो खर्च यो २०२४ को अमेरिकी सेनाको बजेटभन्दा ४० प्रतिशत कम हो । तर यत्रो ठूलो खर्च विकासोन्मुख र विकासशील गरीव देशहरु स्वर्यले गर्न सक्ने देखिँदैन । त्यसैले अहिले पनि गरीब देशहरुले यस सम्बन्धमा धनी सम्पन्न देशहरुसँग फण्डको याचना गर्नु पर्ने स्थिति छ । अनि यस्तो फण्डमा डलर आवश्यकताभन्दा निकै कम छ र अहिलेसम्म केवल ३०० विलियन डलरसम्ममै यो सीमित रहेको देखिन्छ । त्यसैले बिगारिएको जैविकविविधता, कीट पतंगको बिलोपन र मानव जीवनकै भविष्य अभूतपूर्ब खतरामा पर्न सक्ने यो विषयलाई धरतीबासी सबैले अत्यन्तै गम्भीर भएर सामना गर्न र जोगाउन मन फुकाएर लाग्नुको कुनै विकल्प छैन । पृथ्बी र पर्यावरण जोगिए मात्र आफु पनि जोगिने हो । अरु कुनै उपाय नरहेको आजको वस्तुगत यथार्थ हो ।