न्याय दर्शन

–अपत्य शर्मा

तर्कशास्त्र, प्रमाणशास्त्र, हेतु विद्या आदि नाम दिइएको न्याय दर्शन यथार्थवादी ज्ञानसिद्धान्त भन्दा अत्युक्ति हुँदैन । न्याय दर्शन आस्तिक दर्शन भएकाले मोक्षलाई आफ्नो पदार्थवादसँग घनिष्ठ सम्बन्ध रहेको बताउँछ । अर्को शब्दमा भन्दा पदार्थको सम्यक ज्ञानबाट मोक्ष पाइन्छ भन्ने यस दर्शनको मूल सिद्धान्त हो ।
प्रारम्भमा न्याय र वैशेषिक एक अर्कोसँग घनिष्ठ रुपले सम्बन्धित थिए र पछि दुइटै मिलेर एक भएका थिए । यसकारण संयुक्त नाम न्याय वैशेषिक भयो । यी दुईवटा मिलेर कसरी यस्तो नाम भयो भन्नेबारे निश्चित जवाफ छैन भन्ने देवीप्रसाद चट्टोपाध्यायको मत छ । उनका अनुसार न्याय दर्शनको प्रतिपादन ई. पू. ३०० देखि २०० को बीचमा भएको हुनुपर्दछ ।
गौतमले रचना गरेको न्याय सुत्र नै न्याय दर्शनको मूल ग्रन्थ हो । त्यस ग्रन्थमा ५२८ सुत्र र पाँच अध्याय छन् । पहिलो अध्यायमा पदार्थको परिभाषा र वर्गीकरण छ भने दोस्रो अध्यायमा कतिपय पदार्थहरुबारे उठाइएका आपत्तिहरुको परीक्षण र खण्डन गरिएको छ । तेस्रो अध्यायमा आत्माको स्वरुप र इन्द्रियहरुको विवेचना गरिएको छ । चौथोमा पुनर्जन्म, हेतुकता (कारणता) अंग अंगीका समस्या र अणुवादी सिद्धान्तको व्याख्या गरिएको छ भने पाँचौं अध्यायमा वादविवाद तथा तिनका नियम र विधिहरुको चर्चा छ ।
न्याय सुत्रको पहिलो सुत्रमा के भनिएको छ भने स्रोह पदार्थको ज्ञानले नै मोक्ष दिन्छ । यी स्रोह पदार्थ हुन् ः (१) प्रमाण (२) प्रमेय (३) संशय (४) प्रयोजन (५) दृष्टान्त (६) सिद्धान्त (७) अवयव (८) तर्क (९) निर्णय (१०) वाद (११) जल्प (१२) वितण्डा (१३) हेप्वाभास (१४) छल (१५) जाति (१६) निग्रहस्थान छन् ।
(१) प्रमाणलाई न्याय दर्शनमा के भनिएको छ भने जेबाट यथार्थ सम्पूर्ण ज्ञान गरिन्छ त्यसलाई प्रमाण भनिन्छ । प्रमाणका आधार चार छन् जस्तै प्रत्यक्ष, अनुमान, उपमान र शब्द हुन् ।
(२) प्रत्यक्ष ज्ञान इन्द्रियद्वारा हुने भएकाले यसलाई प्रत्यक्ष मानिएको छ । उदाहरणका लागि घटपटको प्रत्यक्ष ज्ञान आँखाले गर्छ भने शब्दको प्रत्यक्ष ज्ञान कानले गर्छ ।
(३) अनुमान पनि प्रत्यक्ष ज्ञानको आधार हो । किनभने जब हामी पहाडमा वा भान्सामा धुँवा देख्छौं । हामीलाई त्यहाँ आगो छ भन्ने अनुमान गर्छौंं जुन सत्य सावित हुन्छ ।
(४) उपमान भनेको गाई नचिनेको मानिसलाई गाइ देखाएर यो गाई हो भनेपछि गाई जस्तै अरु जनावर देख्यो भने गाई भनेर जान्दछ, चाहे नीलगाई होस चाहे अन्य गाई ।
(५) शब्द–सत्यवादीको वचनद्वारा हुने ज्ञान नै शब्द ज्ञान हो । सत्यवादी (आप्त) को वचन नै शब्द प्रमाण हो । यसलाई दुई भागमा विभाजन गरिएको छ देखेको र नदेखेको ।
(६) प्रमेय ः प्रमेय भनेको प्रमाण हो । प्रमाणद्वारा जानिने कुरालाई प्रमेय भनिन्छ । न्याय दर्शनमा गौतम वा गोतमले बाह्र किसिमका प्रमेय निर्धारण गरिएको छ । (१) आत्मा (२) शरीर (३) इन्द्रिय (४) अर्थ (५) बुद्धि (६) मन (७) प्रवृत्ति (८) दोष (९) प्रत्यभाव (१०) फल (११) दुःख (१२) अपवर्ग । यी बाह्र प्रमेय हुुन् ।
न्याय दर्शन तर्कशास्त्र पनि हो तापनि न्याय दर्शनलाई चिनाउनका लागि विभिन्न ग्रन्थहरुमा हेतुविद्या, तर्कविद्या, तर्कशास्त्र, वादविद्या र प्रमाणशास्त्र आदि नामले पनि चिनाउन गरिन्छ । न्याय दर्शनका पनि दुई धारा प्रचलित छन् । (क) प्रमेय वा पदार्थ प्रधानधारा न्याय सुत्रकार गौतमदेखि लिएर गङ्गेशोपाध्यायको ‘तत्व चिन्तामणि’ नामक ग्रन्थ लेखिनु भन्दा अगाडिका कृतिहरुमा के देखिन्छ भने प्रमाण प्रधानधारा गङ्गगेशोपाध्यायको तत्व चिन्तामणि ग्रन्थ र त्यसको टीका–उपटीकाका रुपमा लेखिएका ग्रन्थहरुमा देखा पर्दछ । यसरी पदार्थ विवेचना प्रधान भएको धारालाई प्राचीन न्याय र प्रमाण मीमांसा प्रधान भएको धारालाई नव्य न्याय भन्ने गरिएको छ ।’ (दर्शनावली–पाँच ५९ पृ.)
गङ्गेशोपाध्याय नव्य न्यायका प्रवर्तक हुन् । नव्य न्यायमा प्रमाणलाई प्रधानता दिइएको छ । तत्व चिन्तामणि नामका ग्रन्थ नै नव्य न्यायको मूल ग्रन्थ हो र यस ग्रन्थका बारेमा धेरै नै टीका, उपटीका लेखिएका छन् । पहिलो यस ग्रन्थका टीकाकारको रुपमा विद्वान वर्धमान उपाध्याय हुन जो गङ्गेशका छोरा हुन् । उपटीकाकारमा जगदीश भट्टाचार्यको ‘दीधिति’ टीकामाथि लेखिएको उपटीका ‘जागदीशी’ र गदाधर भट्टाचार्यको गादाधारी उपटीका चर्चित मानिन्छन् ।
टीका उपटीका बाहेक पनि यस अवधिमा नव्य न्यायको शैलीमा अन्य मौलिक वा स्वतन्त्र ग्रन्थ समेत लेखिएका छन् । यिनमा जगदीश भट्टाचार्यको ‘शब्दशक्ति प्रकाशिका’ गदाधर भट्टाचार्यको व्युत्पत्तिवाद’ र ‘शक्तिवाद’ आदि प्रसिद्ध छन् । प्राचीन न्याय र नव्यन्यायको यो भेद मूलतः भाषा र शैलीमा आधारित छ । प्राचीन न्यायको भाषा सरल र आडम्वरहीन हुन्छ भने नव्य न्यायको भाषा दुरुह र आडम्वरपूर्ण हुन्छ । नव्य न्यायमा प्रकारता, विशेषणता, विशेष्यता, संसर्गता, अवच्छेदकता, अवच्छेद्यता, अनुयोगिता, प्रतियोगिता, निरुपकता, निरुपयता आदि जस्ता पारिभाषिक शब्दहरुको प्रचुर प्रयोग हुन्छ भने प्राचीन न्यायमा यस्ता शब्दहरुको प्रयोग विरलै पाइन्छ ।” (उही पेज ६०)
आम रुपमा नव्य न्यायमा मात्र दुरुह र आडम्वरपूर्ण भाषा प्रयोग हुने होइन ठूलठूला प्रख्यात विद्वानहरुले पनि दर्शनशास्त्रबारे लेखेका ग्रन्थहरु क्लिष्ट भाषामा लेख्ने गर्छन् । जुन सर्वसाधारण पाठकका लागि पठनीय, मनननीय र चिन्तनीय हुँदैनन् । यदि धेरै सामान्य पाठकका लागि लेख्ने लेखकले सरल भाषामा लेखेमा प्रसंशनीय हुनेछ । हुन त यसै लेखमा पनि सकेसम्म सरल लेख्ने प्रयास गर्दा पनि कतिपय शब्दहरुलाई सरल बनाउन सकिएको छैन ।
जीव तथा आत्माको सम्बन्धमा न्यायदर्शनको धारणा के छ भने चेतना वा ज्ञान भनेको जीवमा संयोगवश उत्पन्न हुने गुण हो । यो विशिष्ट अवस्थामा मात्र उत्पन्न हुनछ । आत्मा अनन्त छ । हरेक जीवमा अलग अलग आत्मा हुन्छ । कसैले दुईवटा आत्मा मान्ने दार्शनिक पनि छन् । एउटा जीवात्मा अर्को परमात्मा अर्थात् द्वैतवादी र एकआत्मा वा ब्रहम मान्ने अद्वैतवादी । अद्वैत तथा द्वैतवादी दर्शनबारे पछि चर्चा गरिन्छ ।
जहाँसम्म ईश्वरको प्रश्न छ उत्तरकालीन वैशेषिकहरु तथा नैयायिकहरुले ईश्वरको सत्ताको मुक्तकण्ठले स्वीकार गरेका छन् । उनीहरु के तर्क दिन्छन् भने ईश्वर नै कर्ता, धर्ता, हर्ता र नियन्ता हुन् भन्दछन् । ईश्वर सर्वज्ञ छ । ईश्वरमा ऐश्वर्यादि गुण छन् । ईश्वरले भक्तहरुमाथ कृपा गरेर तत्व ज्ञान प्राप्त गर्नमा सहायता गर्छ । सृष्टि र प्रलय ईश्वरको इच्छा अनुसार हुन्छ । कतिपय विद्वानहरुले ईश्वरको सम्बन्धमा न्यायदर्शनमा एक ठाउँमा मात्र उल्लेख गरिएकाले ईश्वरवादी दर्शन भन्न मिल्दैन भनेका छन् । तर पछि गएर ईश्वरको कल्पना गर्दै के तर्क दिइएको छ भने यो जगत हाम्रा अगाडि छ भने यसको निम्ति कारण अवश्य हुनुपर्छ । जगतमा सामञ्जस्य एवं समन्वय यसको चेतनकर्ताबाट आउँछ । यसकारण सर्वज्ञ चेतन ईश्वर यस जगतको निम्ति एवं प्रायोजक कर्ता हुन् ।
(२) परमाणुहरुमा पहिले नै स्पन्दन हुन सक्दैन र विनास्पन्दनको परमाणु द्वयण्ुाक आदि बनाउन सक्दैन । जड हुनाले अदृष्य पनि छ र स्वयं परमाणुहरुमा गति संचार गर्न सक्दैन । यसकारण परमाणुहरुमा पहिले नै स्पन्दनको संचार गर्नका लागि तथा तिनीहरुलाई द्वयणुकारी बनाउनका लागि चेतन ईश्वरको सत्ताको आवश्यक छ ।
(३) जसरी यस जगतको सृष्टि गर्न चेतनशील सृष्टिकर्ताको आवश्यक हुन्छ त्यसरी नै यस जगतको धारण गर्न र यसको प्रलय गरेर संहार गर्नको लागि पनि संहार गर्नेको आवश्यकता हुन्छ ।यसकारण कर्ता धर्ता संहार गर्ने पनि ईश्वर छन् ।
(४) वेद ईश्वरद्वारा उच्चरित बचन हो । यसकारण त्यसको प्रमाणपूर्ण र सन्देहरहित छ । यसबाट पनि सर्वज्ञ ईश्वरको सत्ता सिद्ध हुन्छ ।
(५) वेदले ईश्वरको सत्ताको प्रतिपादन गर्छ ।
(६) वेदले विधिनिषेधात्मक वाक्यहरुद्वारा यो गर्न हुने गर्न नहुने कुराको निरुपण गर्छन् । वेद ईश्वरको वाक्य हुन् । यसकारण ईश्वर नैतिक नियमको संस्थापक र संरक्षक हुन् ।
(७) अदृष्य जीवहरुको शुभ अशुभ कर्म संस्कारहरुको भण्डार हो । ईश्वरले यी सञ्चित संस्कारहरुको फलोन्मुख भएर जीवहरुलाई कर्मफल भोग गराउनका लागि सृष्टि गरेका हुन् । तर अदृष्य जड छ, यसकारण उसलाई सर्वज्ञ ईश्वरको निर्देशन तथा संचालनको आवश्यकता छ । यसबाट के सिद्ध हुन्छ भने अदृष्यको संचालकको रुपमा सर्वज्ञ ईश्वरको सत्ता प्रमाणित हुन्छ ।
उपरोक्त ईश्वरको सत्ताबारे जुन तर्कहरु दिइएका छन् ती अध्यात्मवादी काल्पनिक ईश्वरीय सर्वोच्च शक्ति छ भन्नेमा जोड दिइएको छ । अर्को शब्दमा भन्दा ईश्वर नभए यो जगतको निर्माण कसले ग¥यो भन्दै ईश्वर नै कर्ता, धर्ता र संहारकर्ता हो । सृष्टिको समय जीवात्माहरु जड पदार्थको रुपमा रहेको हुन्छ जस्तै नदेखिने परमाणु, काल, मन आदि सबै जड हुन् ।
नदेखिने जीवहरु शुभ अशुभ कर्म संस्कारहरुको भण्डार हुन् । यी सञ्चित फलोन्मुख भएर जीवहरुको कर्मफल भोग गराउनका लागि सृष्टिको कारण बन्छन् । यसरी ईश्वरीय सत्ताको अस्तित्वलाई सिद्ध गर्ने प्रयास छ, त्यो वैज्ञानिक भौतिकवादी दृष्टिकोणबाट गलत देखिन्छ । किनभने जड पदार्थबाट जीवहरुको उत्पत्ति प्राकृतिक रुपले स्वतः हुँदै आएको विज्ञानले प्रमाणित गरिसकेको छ । वैज्ञानिकहरु के भन्छन् भने एमिनो एसिड नै यस पृथ्वीमा जीवको उत्पत्तिको कारण हो । हामीले २२ सय वर्ष पहिलेका नैसगिकहरुले परिकल्पना गरेको र हालको वर्षौंको अनुसन्धानको परिणामलाई दाँज्न मिल्दैन ।
न्याय दर्शनले सञ्चित संस्कार फलोन्मुख भएर जीवहरुलाई भोग गराउनका लागि सृष्टिको कारण बन्छन् भन्नुले जीवले जन्मिदा आफै शुभ अशुभ कर्म के हो जान्दैन । यदि ईश्वर आफै शुभ अशुभ कर्म गराउँछ भने ईश्वर पूर्णरुपले जीवप्रति अन्यायी हो भन्ने सिद्ध हुन्छ । मानिसले सुख दुख कर्मको फल भोग्नुपर्छ भने मानिस दैव वा कर्ममा विश्वास गर्ने भाग्यवादी र निराशावादी हुन्छ । अरु अचेतन अज्ञानी जीवनको प्रश्न बेग्लै हुन्छ ।
न्याय वैशेषिक र द्वन्द्वात्मक भौतिकवादका बीचमा के कति समानता र असमानता छन् भन्नेबारे चर्चा गरौं ः
यी दुवै दर्शनहरुका बीचमा कालक्रम र अन्तर्वस्तुका दृष्टिकोणले केही समानता छन् भने केही असमानताहरु पनि छन् ।
ती हुन् ः
(क) पहिलो प्रश्नमा सत्ता र चेतनामा क्रम निर्धारण गर्नु । किनभने यसप्रश्नमा न्याय वैशेषिक र द्वन्द्वात्मक भौतिकवाद दुवैले भौतिक पदार्थलाई प्राथमिकता दिनु र दोस्रोमा भौतिक जगतलाई जान्न बुझ्न सकिने भनेर दुवै दर्शनले भन्छन् । त्यति मात्र नभएर चेतनामा भौतिक जगत ‘प्रतिविम्वित हुन्छ भन्ने विषयमा एक मत छन् ।
(ख) ज्ञान सत्यको स्रोत, भौतिक जगतलाई दुवै न्याय र द्वन्द्वात्मक भौतिकवादी दर्शन मिल्न आउँछ । यी दुवै दर्शनले प्रत्यक्ष ज्ञानलाई पहिलो स्थानमा राख्नुका साथै इन्द्रियजन्य ज्ञान मार्फत् बौद्धिक ज्ञान प्राप्त हुने मान्यता राख्छन् । न्याय दर्शनमा प्रत्यक्ष, अनुमान, उपमान र शब्द प्रमाणको विवेचना गरिएको छ भने द्वन्द्वात्मक भौतिकवादमा इन्द्रियजन्य ज्ञान र बौद्धिक ज्ञानका धेरै पक्षहरुमा प्रकाश पारिएको छ ।
(ग) यी दुवै दर्शनमा सामान्य र विशेष, कार्य र कारण, दिशा र काल, अवयव र अवयवी जस्ता विषयहरुको अध्ययन गरिन्छ र तिनमा कैयौं विषयमा समानता छ ।
द्वन्द्वात्मक भौतिकवाद र न्याय दर्शनका बीचमा समानता मात्र होइन असमानताहरु पनि छन् । ती हुन्ः
(क) “न्याय दर्शन स्वस्फूर्ततावादमा आधारित छ । न्याय वैशेषिक दर्शनले भौतिक पदार्थ वा परमाणुमा गतिशीलताको प्रश्नबारे सही जवाफ दिन नसक्नु र पछिल्ला कालखण्डमा आदर्शवादको शरणमा जानु । तर यसको उल्टो द्वन्द्वात्मक भौतिकवादी दर्शनमा गतिशील पदार्थका बारेमा विज्ञानसम्मत अध्ययन गर्ने काम भयो । यस दर्शनमा गति र पदार्थ अभिन्न, असर्जनीय तथा अविनाशी छन् र ती परिवर्तनशील रहेका छन् भन्ने विषयमा सही विश्लेषण तथा संश्लेषण गरियो ।
(ख) न्याय वैशेषिक दर्शनमा कतिपय प्रश्नमा द्वन्द्ववादलाई अवलम्वन गरिए पनि कतिपय प्रश्नमा अधिभूतवादको सिकार हुन पुग्यो । त्यसले परमाणुलाई स्थिर अर्थमा ग्रहण ग¥यो र चार्वाक मतको स्वभाववाद तथा बौद्धमतको क्षणिकवादका विरुद्ध कडा संघर्ष चलायो । यसको उल्टो द्वन्द्वात्मक भौतिकवादले अधिभूतवादका विरुद्ध द्वन्द्ववादलाई, द्वन्द्ववादको आधारभूत नियम अर्थात् विपरीतहरुको एकता र संघर्षको नियमलाई विकसित तथा समृद्ध तुल्याउने काम ग¥यो ।
(ग)कालखण्डको प्रश्न । कालखण्डको दृष्टिले न्याय–वैशेषिक दर्शन मूलतः दास युगमा जन्मिए र सामन्तवादी युगमा हुर्किए । तर द्वन्द्वात्मक भौतिकवाद भने पुँजीवादी युगमा जन्मियो र साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा फल्दै फुल्दै आएको छ ।
“(घ) विज्ञान र प्रविधिको सन्दर्भ । न्याय–वैशेषिक दर्शन जुन बेला जन्मिए र विकसित हुँदै गए त्यो बेला विज्ञान र प्रविधि जुनबेला जन्मिए र विकसित हुँदै गए त्यो बेला विज्ञान र प्रविधिको क्षेत्रमा निकै कम प्रगति भएको थियो । जब कि द्वन्द्वात्मक भौतिकवादको विकासको निम्ति प्रकृति विज्ञानका क्षेत्रमा भएको भारी प्रगतिले निकै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
“(ङ) समाज र इतिहासको सम्बन्ध । उत्पादन पद्धति निकै अविकसित अवस्स्थामा हुनुको कारण न्याय वैशेषिक दर्शन समाज र इतिहासित घनिष्ठ रुपमा जोडिन सकेका छैनन् । परन्तु द्वन्द्वात्मक भौतिकवाद भने उत्पादन पद्धतिको प्रचुर मात्रामा विकास हुनका कारण समाज, अर्थशास्त्र तथा इतिहाससित जोडिंदै एवं ऐतिहासिक भौतिकवादको सैद्धान्तिक आधार बन्दै राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद र साम्यवादसित गाँसिन पुगेको छ ।” (दर्शनावली ९–पृ. ५७–५८)
न्याय दर्शन यथार्थवादी दर्शन भनिए पनि न्याय दर्शनले ईश्वरीय सत्तालाई मान्ने हुनाले यसको मुख्य लक्ष्य मोक्ष हो । मोक्ष भन्नासाथ पूर्वजन्म एवं पुनर्जन्मको प्रश्न स्वतm आउने हुनाले यसलाई अध्यात्मवादी दर्शन नै भनिन्छ, भौतिकवादी दर्शनको श्रेणीमा आउँदैन । तर पनि न्याय दर्शनको ज्ञान सिद्धान्तले भौतिकवादी सिद्धान्तलाई विकास गर्न ठूलो योगदान दिएको छ । दर्शनले तार्किक शक्ति बढाउनुका साथै कुनै पनि विषयमा सुक्ष्म अध्ययन र मनन गर्ने शक्ति दिन्छ । विश्वका कुनै पनि दर्शनले विभिन्न कोणबाट जीवन र जगतको व्याख्या विश्लेषण गर्दै आएका छन् । तर मानव दासताको अन्त्य गर्ने, शोषित, पीडित, दमित वर्गको मुक्ति बारेमा, व्याख्या विश्लेषण गरेका छैनन् । माक्र्सले नै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधारमा मानव दासताको अन्त्य गर्ने बाटो देखाउनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित