बागलुङ जिल्लाको एकता अधिवेशन सम्पन्न

बागलुङ । नेकपा(मशाल)र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बीच बागलुङ जिल्लाको एकता अधिवेशन २०८१ असार २ गते सम्पन्न भएको छ । अधिवेशनले कामरेड रेशम गिरिको संयोजकत्वमा र कामरेडद्वय पुर्ण गुरुङ र मन बहादुर श्रीस सहसंयोजक रहेको ५१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ ।

एकता अधिवेशनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कंडेलले पार्टीको झण्डा उठाएर गर्नुभएको थियो । उद्घाटन मन्तव्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघटना र ऐतिहासिक आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । आज क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएको अवस्थामा भएको यो एकताले क्रान्तिकारीहरुलाई उत्साह पैदा गरेको र प्रतिक्रियावादी र संसदवादी शक्तिहरुको निद हराम भएको बताउनु भयो । यो एकता विगतको टुटेको कडिलाई जोड्ने एकता समेत भएकोले भावनात्मक रुपले नै उद्धेलित बनाएको बताउनु भयो ।


त्यस्तै कार्यक्रमका विशेष अतिथि केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेशका संयोजक कामरेड चिन्तामणि पौडेलले – यो हाम्रो एकता वस्तुगत आवस्यकताले सृजना गरेको एकता भएको बताउनु भयो । आजको यो व्यवस्था श्रमजिवी वर्ग, किसान, मजदुरको पक्षमा नभएकोले नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै समाजवाद र साम्यवादमा जाने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । हामी दुई पार्टीको बीचमा सैद्धान्तिक विषयमा एकरुपता कायम रहेकोले यो एकता सम्भव भएको बताउनु भयो तर हामीहरु बीचमा कतिपय मुद्दाहरुमा मतभेद रहेको बताउँदै ती मतभेदलाई सही रुपमा व्यवस्थापन गरिएको र सैद्धान्तिक र बैचारिक तहमा कुनै प्रभाव नपार्नेमा जोड दिनु भयो । अन्य पार्टीहरुमा पनि क्रान्तिकारी तप्काको संख्या रहेकोले कुनै न कुनै तरिकाले ढिलो वा चाँडो जोडिने विश्वास व्यक्त गर्नु भयो । मसाल पार्टीमा भएका क्रान्तिकारी तप्कालाई बिना कुनै हिचकिचाहट जडता र संकीर्णताको घेरा तोड्नु पर्नेमा जोड दिनु भयो । क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरण र एकता आजको राष्ट्रिय आवश्यकता भएकोले आलोचनात्मक चेतका साथ मनन गर्दै एकता प्रक्रियामा जोडिन समेत अपिल गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसंयोजक तथा प्रदेश कार्यालय सचिव कामरेड आकाश गौतमले संख्या र नामावली प्रस्तुत गर्दै जनताको बीचमा गएर जनताको हरेक अप्ठ्यारोमा साथ दिन अपिलका साथ शुभकामना पनि दिनुभयो । कार्यक्रममा अर्का वक्ता केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक संगठनका ४ नम्बर प्रदेश इन्चार्ज कामरेड अनन्त केसीले यो प्रतिक्रियावादी सत्ताका विरुद्ध धावा बोल्नु पर्ने र पार्टीको जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोहको लाइन वस्तुपरक रहेको बताउँदै युवा साथीहरुलाई अनुशासित साथ लाग्न प्रेरित गर्नु भयो । पार्टीका केन्द्रीय सल्लाहकार कामरेड आभास, केन्द्रीय सदस्य कामरेड तिलक बुढा र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष मान बहादुर थापाले एकता अधिवेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहिदहरु प्रति १ मिनेट मौनधारण गरि शुरु भएको जिल्ला एकता अधिवेशनको नेकपा ( मशाल) का जिल्ला प्रवक्ता कामरेड रेशम गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक कामरेड पूर्ण गुरुङ र स्वागत नेकपा (मशाल) का जिल्ला कार्यवाहक सेक्रेटरी कामरेड मन बहादुर श्रीसले गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित