विचार निर्माण र परिवर्तनको प्रश्न

– गंगा पौडेल
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीपछि नाम परिवर्तन भई ने.क.पा.(मसाल)को विद्यमान रहेको प्रतिक्रियावादी राज्य व्यवस्थाको अन्त्य गरी सशस्त्र संघर्षद्वारा नयाँ जनवादी क्रान्ति सम्पपन्न गरेर समाजवाद, साम्यवाद सम्म पुग्ने लक्ष्य रहेको छ । म पार्टीको सम्पर्कमा पुगेपछि धेरै नेताहरुसंग भेट भयो ।नेताहरुबाट धेरै पटक प्रशिक्षण दिने काम भए । प्रशिक्षणबाट पार्टीमा द्वन्दात्मक भौतिकवाद ऐतिहासिक भौतिकवाद, ज्ञानको सिद्धान्त, राजनीति अर्थशास्त्र, लेनिनवादी संगठनात्मक सिद्धान्त, नयाँ जनवाद समाजवाद र साम्यवाद न्यूनतम र अधिकतम कार्यक्रम, महान अक्टोबर समाजवादी क्रान्ति, माक्र्सवाद लेनिनवाद, संशोधनवाद,व्यवहारबारे, विश्व दृष्टिकोण पार्टी र जनताको बीचमा सम्बन्ध आदि कैयन विषयहरुमा प्रशिक्षण दिने गरिन्थ्यो । भारतस्थित पार्टी कार्यकर्ताहरु क.मोहनविक्रम सिंह, चित्रबहादुर के.सी. दिनानाथ शर्मा, रामसिङ श्रीस, डिलाराम आचार्य मेघराज ज्ञवाली ,दूर्गानाथ खरेल ,भा.क.पा. रेडफ्लाग का. के.एन. रामचन्द्रन लगायतका नेताहरुबाट विभिन्न विषयमा प्रशिक्षण लिने गरिन्थ्यो । त्यसपछि मैले प्रवासको जिम्मालाई विट मारेर देशभित्र आएपछि ने.क.पा.(मसाल) द्वारा २०६५ बाट स्थापना गरिएको केन्द्रीय प्रशिक्षण केन्द्र (पार्टी स्कूल) मा दर्जनौं पार्टीका नेता र पार्टी बाहिरका विभिन्न विषय विज्ञ, राजनीति ज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण लिने काम भयो । संचालन गरियो । भक्तपुरको सानो ठिमीमा पार्टीद्वारा संचालित केन्द्रीय प्रशिक्षण केन्द्र (पार्टीस्कूल) मा जिल्ला केन्द्र, मोर्चाबाट प्रशिक्षण लिन आएका प्रशिक्षार्थीहरुलाई म आफैले पनि अनुशासन, व्यवस्थापन, जनवादी केन्द्रीयता, पार्टीको लेखा राख्ने, वैदेशिक रोजगार आदि विषयगत प्रशिक्षण दिने काम निरन्तर भए । पार्टी स्कूलमा त्रैमासिक रुपमा १ महिने प्रशिक्षण कार्यक्रमहरु चल्ने गर्दथे । प्रवासमा हुने प्रशिक्षण कार्यक्रम १२ दिन देखि १५ दिनसम्मका हुने गर्थे । कम्युनिष्ट पार्टीका सदस्यहरुले यिनी विषयहरुमा अध्ययन गर्न जरुरी छ । माथि उल्लेखित विषयहरु मध्ये विश्व दृष्टिकोण निर्माण सम्बन्धी विषय झनै महत्वपूर्ण छ । एउटा कम्युनिष्ट पार्टीका सदस्यले विश्व दृष्टिकोण बारे नबुझिकन उसले आमूल परिवर्तनको बाटो पहिल्याउन सक्दैन र उसको क्षमता त्याग बलिदानको भावनाको विकास हुन सक्दैन । लेनिनले भनेका छन् “जसले सर्वहारा विश्व दृष्टिकोण निर्माण गर्दछ उसलाई संसारका कुनै पनि तागतले जित्न सक्दैन । ”समाजमाअनेक प्रकारका व्यक्तिहरु छन् । कोही वैज्ञानिक कोही उद्योगी, कोही व्यापारी, कोही राजनीतज्ञ, अर्थशास्त्री, मन्त्री सांसद ,नेता कार्यकर्ता किसान मजदुर, भिखारी, जोगी, जुवाडे ,चोर ,फटाहा, आदि यिनी सबै खाले मान्छेहरुले जीवन र जगतलाई बुझ्ने आ –आफ्नै दृष्टिकोणहरु छन्।यिनीसबैले आफूहरु सही भएको दावी गर्दछन् । चोरी, डकैत गर्ने, दूव्र्यशनी गर्नेले पनि आफूलाई सही ठान्दछन् । इतिहास समाज व्यवहार ,संस्कार, र व्यक्ति परिवर्तन हुनका लागि भौतिक परिस्थिति र उसको चेतनामाथि नै निर्भर हुन्छ । आदिम समाजमा मान्छेहरु जंगली जन्तुहरुसंग लड्ने, भिड्ने गर्दथे । काँचो मासु खान्थे,सामुहिक रुपमा बस्थे । किनकि त्यहाँ व्यक्तिगत सम्पत्ति जम्मा गर्ने स्थिति थिएन । आफ्नो आहार विहारको लागि एक जंगलबाट अर्को जंगलमा जान पर्दथ्यो । एक ठाउँमा बसेरउनीहरुलाई आहार पुग्दैनथ्यो । एक ठाउँको समुह अर्को ठाउँको समूह को आक्रमणबाट सुरक्षित रहन प्राकृतिक प्रकोपबाट बच्न जंगली जनावरहरुको आक्रमणबाट बच्नकोलागि पनि उनीहरुसमूहमा बस्न बाध्य थिए ।त्यतिबेला व्यक्तिगत सम्पत्तिकोबारे चेतनाको विकास भएको थिएन।आज संसार मै आदिम कालको अन्त्य भइसकेको छ । शामन्ती चिन्तन बोकेको पूँजीवादी व्यवस्था विद्यमान छ । व्यक्तिगत पूँजी प्रतिस्पर्धामा छ । यो दृष्टिकोण निर्माण हुनमा यहाँको सामाजिक परिवेश वा भौतिक परिस्थितिनै प्रमुख कारण हो । कम्युनिष्टहरुले आफ्नो सोचाई साम्यवादी बनाउनु पर्दछ । तर त्यो निकै अप्ठ्यारो छ । पूँजीवादीसमाजको मूख्य उद्देश्य व्यक्तिगत नाम र दाम हो । समाजवादको उद्देश्य शोषणवीहिन तथा समतामूलक समाज स्थापना गर्ने हामी (कम्युनिष्टहरुको) उद्देश्य हो ।एङगेल्सले जीवनभर समाज परिवर्तनकोलागि लडे । उनले आफ्नो सारा सम्पत्ति समाजवादी व्यवस्था ल्याउनको निम्ति खर्चिए । यो उनको विश्व दृष्टिकोण थियो । जब हाम्रो पनिसही दृष्टिकोण बँदछ तबमात्र पूँजीवादलाई बदल्न सक्तछौं । हामीले समाजप्रतिको लगाव ,प्रेम र सदभावको विकास गर्दै गएर नै समाजवादी विचार निर्माण गर्न सक्तछौं (कम्युनिष्ट विचार निर्माण गर्न सक्तछौं ।
विचार कसरी निर्माण र परिवर्तन हुन्छ ?
हामीले आफ्नो विचार निर्माण गर्नका लागि देश काल परिस्थितिको सही मूल्याङकन गरेर चीजहरुलाई जस्ताको त्यस्तै बुझ्न सक्नु पर्दछ । जसले आफ्ना अगाडिका चीजहरुलाई हेर्न र बुझन सक्तदैन उ यथास्थिति मै रहन्छ । त्यतिमात्र होईन उसले चिजहरुलाई जस्ताको त्यस्तै बुझ्न सकेन भने निराशावादी हुन्छ । हामीले सपना देख्नु पर्दछ । कतिपय मान्छेहरुले सिद्धान्ततः माक्र्सवादी लेनिनवादी दर्शन र राजनीति लाई अपनाए पनि उनीहरुका प्रायसः त्यसप्रकारको सपना देख्ने क्षमता हुन्न । त्यसको परिणाम उनीहरु वर्तमान सामाजिक चिन्तन र दृष्टिकोणबाट बाहिर निस्कन सक्दैनन । माक्र्सवादी लेनिनवादीहरुले सपना देख्नु पर्दछ । जसले सपना देख्छ त्यो नै परिवर्तनशील क्रान्तिकारी हुन्छ । मानिसहरुले केवल आफ्नो अगाडिको यथार्थलाई मात्र बुझ्ने प्रयत्न गर्दछन् । आज हाम्रो अगाडिको जुन यथार्थ हो त्यो । हामीले खोजे जस्तो र आशा गरेजस्तो छैन ।आज पनि समाजमा प्रतिक्रियावादी शक्तिहरुबलिया छन् । सर्वहारा वर्ग कमजोर अवस्थामा रहेको छ । कुनै पनि मानिसको सोचाई के छ ? उसको दृष्टिकोण के छ ? त्यही कुराले उसको जीवन व्यवहारमा घर गरेको हुन्छ । सम्पूर्ण जीवनलाई उसको दृष्टिकोणले निर्देशित गरेको हुन्छ । मानिसहरुकैयौं भागमा बाँडिएका हुन्छन् । कोही जोगी बनेका छन् ।कोही विदेश गएका छन् । कोही पार्टीमा काम गरेका छन् । कोही डाक्टर इञ्जिनियर कोही वकिल, कर्मचारी, केही घुसखोर, माफिया, दलाल, विचौलिया आदि छन् । मानिसहरुमा जुन प्रकारको दृष्टिकोण बनेको हुन्छ उसै प्रकारकोे व्यवहार र चिन्तन विकास भएको हुन्छ । मुस्लिम समाजमा हुर्केका व्यक्तिहरुको दृष्टिकोण अन्यको भन्दा फरक हुन्छ । हिन्दु, वैश्णव, क्रिश्चियन, शिख, समुदायका मानिसहरुको दृष्टिकोण पनि फरक फरक हुन्छ । एउटा विकसित शहरमा जन्मे हुर्केका मान्छे र दुर्गम तथा पिछडिएको गाउँमा हुर्केको मान्छेको सोचाई जीवन शैलीमा काफि अन्तर हुन्छ । उदाहरणकोलागि डोल्पा, हुम्ला, जुम्ला, कालिकोटको मान्छे काठमाण्डौ गयो भने उसको व्यवहार परिवर्तन हुन्छ । उसको गाउँले जीवन शहरीया जीवनमा परिणत हुन्छ । त्यसैगरी नेपालको मान्छे युरोप,अष्ट्रेलिया,अमेरिकातिर गयो भने । उसको चाल चलन लवाई खवाई बानी व्याहोरामा कैयौं परिवर्तन हुन्छ । आजपनि पिछडिएका गाउँमा उच्च जातिका मान्छेहरुले दलितले छोएको पानी पनि खाँदैनन् ।तर त्यहीउच्च जातिकोमान्छे विकसित मुलुक ,शहरमा गयो भने उसको सोचाईमा परिवर्तन भएको हुन्छ ।उसलाईजात भात प्रतिकुनै घृणा हुँदैन । मानिसको सोचाईमा सँधैभर एकै प्रकारको स्थिरता हुन्छ भन्ने हैन । भौतिक परिस्थितिमा परिवर्तन अनुसार मान्छेहरुमा पनि सोचमा परिवर्तन हुन्छ । कसैले पुस्तौंदेखि मान्दै आएको धर्म सस्कृतिलाई पनि परिवर्तन गर्न सक्तछ ।कैयौं मानिसहरुले इश्वर ,देवी, देवता ,धामी, झाँक्रीलाई विश्वास गर्दथे । त्यो सोचाईमा धेरैपरिवर्तन हुँदै गइरहेको छ । खास गरेर समाज, काल र भौतिक परिवर्तन अनुसार मान्छेहरुका विचारमा पनि परिवर्तन हुँदै जान्छन् । अहिलेका मानिसहरु कोट पाईन्ट सर्ट, टाइर्, सुट, कुर्ता,सल्वार लगाएर हिँड्दछन् । पहिले ब्राहमणवादी समाजमा बाहुनहरुले भान्सामा धोती फेरेर, चौकामा गए मात्र खाना खान्थे ,तर अहिले गाउँघरमा अपवाद बाहेक कसैले पनि धोती फेरेर खाना खाने चलन छैन । अहिले त विवाह भोज, भतेरमा के बाहुन, के क्षेत्री, के जनजाती, के दलित सबै साम्य भएर सुटबुट मै एउटै टेबलमा बसेर खाना खाने चलन छ । ब्राहमण समाजमा त ब्रतबन्ध गरेकाहरुले बिहान उठेर मन्त्र पढ्ने, जप गर्ने, खाना खाने बेलाआफूले खाने खानालाई देवताको नाममा चढाएपछि मात्र खाने चलन थियो । ब्राहमण क्षत्रीका छोराले टाउकोमा टुपी अनिवार्य राख्नु पर्दथ्यो । अहिलेका युवा वर्गहरुमा कतिपय संस्कृत विद्यापीठमा तथा गूरुकुलहरुमा अध्ययनरत विद्यार्थीहरु बाहेक यो परम्परा करिब समाप्त जस्तै छ । वृद्ध वृद्धाहरुमा आजपनि पुरानो परम्परा अपवादको रुपमा कायम छ । सती प्रथाकै कुरा गरौं आफ्नो पतिको मृत्यु भएपछि पत्नी पनि पुरुष संगै एउटै चितामा जलेर मनुपर्ने स्थिति लामो समयसम्म कायम थियो ।दास तथा शामन्ती प्रथा विश्वव्यापी थियो ।अहिले सामन्ती प्रथाको अवशेष रहेतापनि दुवै प्रथा समाप्त भएको छन् । पहिला बाहुन क्षेत्रीका छोराले पानी नचल्ने दलितसंग विवाह गरे १४ वर्ष जेल सजाय भोग्नु पर्दथ्यो । जेलबाट मुक्त भएपछि पनि समाजले उसको हातको पानी समेत बहिस्कार गर्दथ्यो । त्यो कानुनलाई राजा महेन्द्रले खारेज गरिदिए ।यसरी हाम्रो समाजमा व्यक्तिका जुन दृष्टिकोण, मूल्य र मान्यताहरु छन् । त्यो समाजविकासको क्रममा चेतनाको विकास हुन्छ र परिवर्तन हुँदै जान्छ ।हरेक मान्छे परिस्थिति अनुसार क्रमशः बदलिन्छन् । मान्छेमा अग्रगामी परिवर्तन हुनका लागि समय लाग्दछ । युगौं सम्मजकडिएको रुढीवादी तथा शामन्ती संस्कार एकै चोटी क्षणभरमा परिवर्तन गर्छु भनेर हुँदैन । समाजको भौतिक गतिमा जति चाँडो परिवर्तन आउँछ वा विकसित हुँदै जान्छ त्यसपछि मान्छेका कृयाकलापहरु पनि बदलिँदै जान्छन् ।
दास समाजको चेतना नितान्त शामन्तवादी, व्यक्तिवादी र संकीर्णवादी थियो । मान्छेलाई मान्छेले गाईभैंसी झैं किनबेच गर्ने प्रचलन थियो । जसलाई कमरा कमारी प्रथा पनि भनिन्थ्यो । मान्छेले मान्छेलाई कज्याउने कुनै मान्छे कमजोर वा बुढो भयो भने त्यसलार्ई पैसा थपेर अरुलाई दिने र अर्कोसंग भएको बलियो मान्छे आफूले ल्याउने र कज्याउने जस्तो महा शामन्ती व्यवस्था कति कहालीलाग्दो थियो । त्यो व्यवस्था अन्त्य गर्नकालागि संसारभर सैयौं वर्ष संघर्ष गर्नु प¥यो र जनमत तयार भयो । क्रमशःदास व्यवस्था अन्त्य भयो ।दास व्यवस्थाको अन्त्य सजिलै भएको छैन । वषौंदेखि मालिकका विरुद्ध दासहरु बीचको एकताको परिणामबाट नै संभव भएको हो । त्यसैगरी मान्छेको दृष्टिकोणका पनि कैंयौं घटनाक्रम, व्यवहार सरसंगतले परिवर्तन ल्याउँदछ । कसैको घरमा कुनै अप्रिय घटना घट्यो अथवा एकै घरका परिवारमा एकै वर्षमा तीन चार जनाको मृत्यु भयो एउटा पण्डितले तिम्रो घरमा काल पस्यो, त्यसबाट मोक्ष प्राप्त गर्न विधिविधान गर्नु पर्दछ भन्दछन् । एक सय आठ गाई दान वा सो बराबरको द्रव्य दान ,सुनदान ,भूमिदान ,आदि गर्नु पर्दछ भन्दछन् । पण्डितको भनाईबाट घरका परिवार प्रभावित हुन्छन् र त्यो मृतकका परिवारले नसकेपनि गर्नै पर्ने बाध्यतामा पुग्दछ । ऋण सापटी गरेर भएपनि उक्त कार्य गर्नै पर्दछ । त्यस्तै एउटा जोगीले पीडित परिवारसंग भन्छ यो संसार झूठो माया हो।यसलार्ई छोड्नु पर्दछ । मोक्ष प्राप्त गर्न धर्म गर्नु पर्दछ ,तपस्या गर्नु पर्दछ । र सन्यासी बन्नु पर्दछ भन्छ । जोगीको कुरा पत्याएर गृहस्थी चलाएर बसेको मान्छे घर परिवार त्यागेर जोगीको पछाडि लाग्दछ ।एउटा चोर वा ठगले समाजको अन्य मान्छेहरुलाई चोर्ने, ठग्ने कुरा गरी उसलाई प्रभावित गर्दछ । एउटा राष्ट्रसेवक कर्मचारी देश चलाउने नेताले देश विकासको नाउबाट भ्रष्टाचार गर्दछ । एउटा बिचौलियाले एक अर्कालाई घर जग्गा बिक्री गरिदिए वापत कमिसन खान्छ । यसरी समाजका आ–आफ्नो स्वार्थ पूरा गर्ने सबैको कोशिस हुन्छ । कुलतमा फसेको मान्छेले अरुलाई पनि त्यसै पथमा हिडन प्रोत्साहन गर्दछ । जुवा तास खेल्नेले अरुलाई पनि खेलाउँन प्रभावित बनाउँछ । राजनीतिमा पनि त्यही कुरा लागू हुन्छ । एउटा सच्चा कम्युनिष्ट पार्टीको सदस्यले कम्युनिष्ट शिक्षा नीति, सिद्धान्त, पद्धतिकोबारे राम्रो अध्ययन गर्दछ । भने उ त्यहाँबाट प्रभावित हुन्छ । पछि उसले आफ्नो घरपरिवार, व्यक्तिगत लाभलाई भन्दा समाज परिवर्तन गर्ने दिशातिर आफ्ना विचार बनाउँदछ । क्रान्ति आमूल परिवर्तनका लागि जीवन अर्पण गर्दछ । एकथरी मान्छेबाट यस्ता उदाहरण पाउँछौं भने अर्कोथरी मान्छेले कम्युनिष्ट पार्टीमा लागेर जीवन बर्बाद हुन्छ भन्ने विचार प्रकट गर्दछन् । व्यक्ति स्वभाव ,चिन्तन कार्यशैली व्यवहार मूलतः उसको धरातल कस्तो छ ।त्यसका आधारमा नै धारणा बनाउन सकिन्छ ।व्यक्तिलाईमापन गर्ने छुट्टाछुट्टै धारणाहरु हुन्छन् । कसैको उसको धन दौलत अथवा सम्पतिको आधारमा मापदण्ड बनाएर मूल्याङकन हुन्छ भने कसैको उसको सही विचार सही दृष्टिकोण सही व्यवहार समाजप्रतिको सद्भाव र लगावको आधारमा मापदण्ड बनाएर मूल्याङकन हुन्छ । विकसित देश ,अविकसित देशका मान्छेहरुको दृष्टिकोण भिन्न भिन्न हुन्छ ।हाम्रो देश नेपालजस्तो अविकसित मुलुकमा महिलाहरुले शिरदेखि पाउसम्म गहना लगाएर हिँडदा उसको बढी इज्जयत हुने समाजको बुझाई छ । यही कुरालाई युरोप अमेरिकामा रहने महिलाहरुको हकमा अनावश्यक र असभ्य ठानिन्छ । यसको मतलव कुनै व्यक्तिको विषयमा जुन धारणा बन्छ ती सबैठाउँमा समान धारणा हुन सक्दैनन।मान्छेकाधारणहरु त्यहाँको भौतिक चेतना र परिस्थितिका आधारमा नै बन्ने र बनाईने गरिन्छ ।को मान्छे सफल र को असफल भन्ने मापन सम्पतिको आधारमा भन्दापनि उसको विचार र सामाजिक धरातल कति राम्रो छ राष्ट्रियताप्रति उसको दृष्टिकोण कति राम्रो छ । समाज र राष्ट्रप्रति उसले कति योगदान दिएको छ ।आफ्नो उर्जाशील जीवनमा कति राम्रो काममा खर्च गरेको छ भन्ने आधारमा नै मापन गर्नु पर्दछ । कुनै व्यक्ति कुनै समय जस्तै भूगोल, विज्ञान कृषि,पर्यावरण पशुपन्छी, पर्यटन जुनसुकै विषयमा अध्ययनगरी विज्ञ भएको छ भने उसलाई आफ्नो मनमा यति सन्तोष मिलेको हुन्छकि उसकोलागि अन्य जतिसुकै सम्पत्ति भएपनि त्यो गौण हुन्छ । त्यसैगरी सच्चा क्रान्तिकारीहरुजसले आमूल परिवर्तनको लागि आफ्नो जीवन अर्पण गरेका हुन्छन् । उनीहरुत्यसैमा सन्तुष्टि लिन्छन् ।त्यसबाट पछाडि हट्न प¥यो भने आत्मग्लानीको विषय हुन्छ । कम्युनिष्ट पार्टीमा प्रवेश गर्दा कुनै पनि मानिस क्रान्तिकारी बनेको हुँदैन । पछि मात्रसकृय र अनुशासित हुँदै जाने हो । सांगठनिक कृयाकलापमा सकृय सहभागी भएपछि चेतनाको स्तर उठदै जान्छ, त्यसपछि नै क्रान्तिकारी दृष्टिकोणको विकास हुँदै जान्छ ।
निम्नपूँजीवादी चिन्तन विश्वदृष्टिकोणको बाधक हुन्छ । हाम्रो देशमा अधिकतर किसानहरुको सानै पैमानाको उत्पादन प्रणालीछ । किसानका जमिनहरु सानोसानो पैमाामा टुक्रिएका छन् । त्यही पैमानामा उत्पादनका साधन हुन्छन् ।खेतीगर्ने पद्दति व्यक्तिगत प्रकारको र स्वेच्छाचारी प्रकारको हुन्छ । उत्पादन प्रणालीको अरु बानी र संस्कारमा पर्दछ । निम्न पूँजीपति वर्गको सोचाई बढी व्यक्तिवादी प्रकारको हुन्छ ।उसले कुनै काम गर्दा खेरी आफ्नो लाभको आशा गरेको हुन्छ । पूँजीवादी समाज र शामन्तवादी समाजको केन्द्रीय प्रश्न नै व्यक्तिगत लाभ हो। निम्न पूँजीवादी चिन्तन भएकाहरुको अर्को विशेषता शिघ्र विजय तथा लाभ प्राप्त गर्ने हो । यो सोचाई माक्र्सवादी र समाजवादी हैन । समाजमा आमूल परिवर्तनबाट मात्र व्यक्तिका समस्याहरु समाधान गर्न सकिन्छ । परिवर्तनको लागि समामुहिकता र सामुहिक विचारतथा चिन्तनको आवश्यकता हुन्छ । नितान्त व्यक्तिविशेषको लाभ क्षणिक मात्र हो । सामुहिक चिन्तनको विकास नहुँदा सम्म आम शोषित पीडित वर्गको हित हुन सक्दैन । उत्पीडित वर्गको पक्षमा काम गर्ने भावना पैदा गर्नकालागि विश्व दृष्टिकोण सम्बन्धी ज्ञान हासिल गर्न जरुरी हुन्छ । समाजको शिक्षा संचार र संगतबाट पनि दृष्टिकोणमा प्रभाव परेको हुन्छ । वैज्ञानिक तथा व्यवहारिक शिक्षा, निष्पक्ष संचार र राम्रो सर संगतबाट मान्छेको दृष्टिकोणमा राम्रो प्रभाव पर्दछ । यिनीकुराहरुको अभावमा दृष्टिकोणमा गलत असर पर्दछ । विद्यमान शामन्ती तथा दलाल पूँजीवादी व्यवस्थाले सबैतिर आफ्नो अनुकूल बनाउनकालागि हरप्रयत्न गरेको हुन्छ । पूँजीपति वर्गले मजदूर, किसान सुकुम्वासीवर्गलाई क्रान्तिको दिशाबाट विमुख बनाउनकालागि हर प्रयत्न गरेको हुन्छ । पूँजीपति वर्गले मजदुर, किसान, सुकुम्बासी, वर्गलाई दमन गर्न चाहन्छन् । पूँजीपतिहरुले विश्वव्यापी गरेको शोषणबाट आर्जेको केही अंश मजदुरलाई दिएर उनीहरुको जीवनस्तरलाई आँशिक माथि उठाएर आफ्नो विरासत बचाउन प्रयत्न गरिरहन्छन् । त्यसको परिणाम मजदुरहरुमा गैर क्रान्तिकारी दृष्टिकोणको विकास भएर जान्छ । क्रान्तिकारी कम्युनिष्ट सिद्धान्तबाट उनीहरु विस्तारै पलायन भएर जान्छन् । यसरी निम्न पूँजीवादी सोचलाई समयमै नियन्त्रण गर्न सकिएन भने त्यसले क्रान्ति र परिवर्तनलाई वा क्रान्तिकारी चरित्रलाई समाप्त पारी दिन्छ । पूँजीपति र साम्राज्यवादीहरुको सोचाईको सार“मलाई कति फाइदा हुन्छ ” भन्ने नै हो । कम्युनिष्टहरुको सोचाई मैले उत्पीडित वर्ग, समाज, देश, र क्रान्तिलाई कति योगदान दिन सक्तछु भन्ने हुन्छ । रातो लालटिन अपेरा पुस्तकका नायकले आफूलाई फाईदा हुने सोचका विरुद्ध समाजलाई देशलाई योगदान दिन पर्ने विचार अगाडि सारेका छन् । यसको अर्थ चीनमा त्यहाँ निम्न पूँजीवादीसोचाई वा चिन्तनका विरुद्ध व्यापक सर्वहारा सांस्कृतिक संघर्षहरु भएको थिए । त्यसैले एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा सांस्कृतिक र वैचारिक आन्दोलनहरु निरन्तर रुपमा चलाई रहनु पर्दछ ।
मलाई कम्युनिष्ट आन्दोलनमा सकृय रुपमा भाग लिने प्रेरणा “पेमालामा प्रश्नोत्तरमाला ”बाट मिलेको हो ।कुनै पनि व्यक्ति कुनै चिज वा विचारमा प्रभावित हुुनका पछाडि कुनै न कुनै कारण हुन्छ । कोही मान्छे हिन्दु धर्मबाट कोही कुरानबाट, कोही बाईबलबाट, कोही रामायणबाट कोही महाभारतबाट कोही गीताबाट, कोही श्रीमदभागवतबाट, कोही उपन्यास साहित्यबाट त कोही भौतिवादी दर्शनबाट ,कोही गीत संगीतबाट कोही उच्च शिक्षाबाट प्रभावित भएको हुन्छ । त्यहाँबाट नै उसले आफ्नो जीवनको गोेरेटो कोर्न थाल्दछ, गोरेटो बनाउँदै जाने क्रममा बीचबाट गन्तव्यलाई परिवर्तन गरी अर्को गोरेटो पनि समाउन पुग्दछ । मान्छे हिन्दु धर्म परिवर्तन गरी कृश्चियन धर्ममा प्रवेश गरेका छन् । क्रिश्चियन बाट हिन्दुमा प्रवेश गरेका छन् । कम्युनिष्टबाट कांग्रेस र कांग्रेसबाट कम्युनिष्ट पनि भएका छन् । कसैले आफू जुन बाटोरोजेको थियो त्यसैमा जीवन उत्सर्ग मान्न पनि सक्तदछ । कसैले व्यक्तिगत रुपमा अथाह सम्पत्ति आर्जन गर्ने उद्देश्य राख्दछ । कसैले दान धर्म गर्ने लक्ष्य राख्दछ । यो सबै कुरा व्यक्तिको दृष्टिकोणमाथि भर पर्दछ । विश्वदृष्टिकोणको विकास गर्नका लागि माक्र्सवादी दर्शन जो द्वन्दात्मक भौतिक र ऐतिहासिक भौतिकवाद दुईओटा बेग्ला बेग्लै दर्शनलाई मिलाएर कार्लमाक्र्स र फ्रेडरिक ऐगेल्सले प्रतिपादन गरे त्यसलाई बुझ्न जरुरी छ । दर्शनको अर्थ दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने र बुझ्ने तरीका नै दर्शन हो । प्राचिनकालदेखि नै द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद अस्तित्वमा आएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित