मानव समाजको विकासक्रम

गंगा पौडेल
१.आदिम साम्यवादी व्यवस्था
यो व्यवस्थालाई जंगलीयुग पनि भनिन्थ्यो । मानिसहरु जंगलमा बस्थे । कन्दमूल र काँचो मासु खान्थे । सामुहिक रुपमा शिकार खेल्थे, सामुहिक रुपमा बसोबास गर्दथे । तेरो मेरो भन्ने केही थिएन । मान्छे मान्छेबीच समानता थियो । उचनीच भन्ने थिएन । सामाजिक स्वरुप सामुदायिक थियो । समुदायमा फलफुल कन्दमूल र शिकारको खोजी गर्नु उनीहरुको मुख्य काम थियो । सामाजिक सम्बन्ध मातृ सत्तात्मक थियो । यौन स्वतन्त्रता समाज थियो । यो व्यवस्था दशौं हजार वर्षसम्म अस्तित्वमा रह्यो । लामो समयसम्म समुदायमा, ढुंगा, काठ, जनावरका सिंङ र हाडबाट बन्चरो, छुरी, भाला, बल्छी आदि बनाउँथे । पछि औजारहरुमा राम्रो रुप दिएर धनुष वाण, ठेला जस्ता नयाँ औजारहरु र श्रमसँग सम्बन्धित साधनहरुको पनि आविष्कार गरे । उनीहरुले आगोको आविष्कार गरेर काँचोलाई पकाएर खान थाले । क्रमशः कृषि कार्यको पनि आविष्कार गरे । पहिला जंगली जनावरहरुलाई मारेर खान्थे । पछि गएर जनावरहरुलाई पोलेर राख्न थाले । उनीहरु समूहमा मिलिजुली काम गर्थे । उपलब्ध बस्तुहरु बाँडेर खान्थे । तसर्थ व्यक्तिगत स्वामित्व वर्ग र शोषण जस्ता कुराको अस्तित्व रहेन । आदिम समाजमा मन्दगतिले भएपनि उत्पादक शक्तिहरुको निरन्तरता रहँदै गयो । मानिसहरुमा चेतनाको विकास र उत्पादनसम्बन्धी अनुभव बढ्दै गयो । ढुंगाको औजारहरुले धातुको औजारहरुको स्थान लिनु उत्पादनको विकासमा ठूलो फड्को थियो । धातुको फालीबाट बनाएको हलो, फलामको बन्चरो, हँसिया, कुटो, कोदालो जस्ता नयाँ औजारहरुले उत्पादनमा वृद्धि हुँदै गयो । व्यापकरुपमा खेतीपाती र पशुपालनका कामहरुको विकास हुँदै गए । त्यसपछि सामाजिक श्रममा विभाजन भयो । लत्ताकपडा जुत्ता जस्ता उपभोग्य वस्तुहरुको उत्पादन हँुदै गयो । श्रमको उत्पादकत्वमा वृद्धिका साथ साथै समाज पनि विभिन्न परिवारमा विभाजन हँुदै गए । व्यक्तिगत स्वामित्वको शुरुवात भयो । समाजका अलि टाँठाबाठा मान्छेहरु उत्पादनका साधनहरुको मालिक बने । कामदारहरुले आफ्नो अस्तित्वका लागि आवश्यकता भन्दा बढी वस्तु उत्पादन गर्न थाले । जगेडा वस्तु मालिकले कब्जा गर्न थाले । आखिरमा समाजका केही मुठीभर टाठाबाठा सदस्यहरु अन्य सदस्यहरुको श्रमबाट धनी बने । यस प्रकारको उत्पादक शक्तिहरुको विकासको फलस्वरुप आदिम साम्यवादी व्यवस्थाको स्थानमा दास प्रथात्मक व्यवस्थाको स्थापना भयो ।
२. दास प्रथात्मक व्यवस्था ः
यो व्यवस्थामा उत्पादक शक्तिहरुको विकास अनुरुप उत्पादन सम्बन्धहरु पनि स्थापित भए । दास प्रथात्मक समाजमा मालिक र नोकरको सम्बन्धमा मालिकहरुले बहुसंख्यक दासहरुको निर्मम शोषण गर्न थाले । इतिहासमा सबैभन्दा पहिला यही व्यवस्थाबाट नै वर्ग संघर्ष शुरु भएको थियो । एकथरी मान्छे दास हुन पर्ने, पशुसरह किनबेच हुने, कुनै मान्छे मालिक भएर उसले अरु माथि पशु सरहको व्यवहार गर्ने दुई बेग्ला बेग्लै वर्गको सुरुवात भएको थियो । यद्यपि यो व्यवस्था आदिम साम्यवादी व्यवस्थाको तुलनामा प्रगतिशील थियो । यो युगमा पशुपालन र खेतीको व्यापक रुपमा विकास भएको थियो । एक समूहका मान्छे अर्काे समूहसँग लडाई गर्दा हारेका युद्धबन्दीहरुलाई मार्नुको बदला दास बनाइन्थ्यो । हार्नेले जितेकाको चाकरी गर्नु पर्दथ्यो । दास युगमा कृषिमा फलफूल लगायत तरकारी सागपात उत्पादनमा पनि विकास हुँदै गयो । जमिन सिंचाइको लागी कूलो, बाँध, पोखरी ताल तलैया बनाएर कृषिमा बढोन्तरी गर्न थाले । कुटनी, पिसनीका लागि पनि घट्ट बनाउन थाले । झाँतो, ओखल धातुलाई गालेर औजार बनाउने भट्टीहरुको स्थापना गरियो । माटाका भाडाहरु बनाउने, धागो कात्ने, सिल्प तथा हस्तकलाको विकास भयो । दासहरुले उत्पादन गर्ने सम्पूर्ण वस्तुहरु माथि दास स्वामीहरुको पूर्ण स्वामित्व नै दास प्रथात्मक समाजका उत्पादन सम्बन्धहरुको आधार थियो । दास मालिक अर्थात् स्वामीले आफ्ना दासलाई जीवन धान्नका लागि नभैनहुने वस्तुमात्र दिन्थे । दण्डका विभिन्न अंगहरु जस्तै सेना अदालत, कर्मचारी सहित दास प्रथात्मक राज्यहरु खडा भए । ती व्यक्तिगत स्वामित्व मालिकले गर्ने शोषणको रक्षा गर्ने संयन्त्रहरु थिए । यसरी हामी के देख्छौ भने दास युगमा मालिक र नोकर बीच मालिकहरुद्वारा बहुसंख्यक दासहरुको निर्मम शोषणको सम्बन्ध स्थापित भयो । समय बित्दै गयो । दास प्रथा समाजका उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धहरुको बीचको द्वन्द्व तीव्र भयो । निर्मम शोषणमा परेका दासहरुले शोषणका विरुद्ध विद्रोह गरे ।
आदिम साम्यवादी व्यवस्थामा यौन स्वच्छन्दता थियो । त्यसलाई कम गर्नका लागि दास युगमा समूह मैथुनबाट एकनिष्ट विवाह प्रथाको शुरुवात भयो । तर यो एकनिष्ट विवाहको नियम खाली स्त्रीहरुको हकमा मात्रै लागु हुन्थ्यो । तर पुरुषहरुलाई बहुविवाह गर्न, रख्यौली राख्न छुट थियो । एसीयामा इतिहासको प्रारम्भबाट नै बहुपत्नी प्रथा देखिन्छ । हिन्दु, मुस्लिम, यहुदीहरुका ग्रन्थहरुमा एक भन्दा बढी स्त्रीसँग सम्बन्ध वा विवाह दुराचार हुन्छ भन्ने दृष्टिकोण पाईदैन । यसरी पुरुष प्रधान व्यवस्थाका कारण समाजमा छोराको महत्व बढ्यो । छोरीलाई अनादर गर्न थालियो । यो अवशेष अहिलेको पूँजीवादी समाजमा पनि रहेको छ । यद्यपि अहिले धेरै परिवर्तन भएको छ । दासहरुको चेतनाको स्तर बढ्दै गएपछि उनीहरु संगठित भई मालिकहरुले उनीहरुमाथि गर्ने शोषण, दमन, अमानवीय व्यवहारका विरुद्ध लड्न थाले । पहिलो शताब्दीमा स्पार्टाकसको नेतृत्वमा एकलाख युरोपीयन दासहरुले विद्रोहमा भाग लिए । मालिकहरुले विद्रोहलाई दमन गरेतापनि झनपछि झन् आन्दोलन चर्किदै गयो । अन्ततः दास व्यवस्थाको जग हल्लियो । दास व्यवस्था भित्रैबाट सामन्ती व्यवस्थाको शुरुवात भयो । तेस्रो शताब्दीदेखि सामान्ती व्यवस्था अस्तित्वमा आयो ।
(३) सामन्ती व्यवस्थाः
यो व्यवस्थामा पनि उत्पादक शक्तिको बढोत्तरी हुँदै गयो । कागज, बारुद, पुस्तक, मुद्रण लगायत अन्य धेरै वस्तुहरुको आविष्कार भयो । कपडा उद्योगहरुले औद्योगिक क्रान्ति नै गरे । त्यसले गर्दा श्रमशक्ति र उत्पादन निकै बढेर गयो । ठूला ठूला व्यापारिक केन्द्रहरु स्थापित भए । कृषिले फड्को मा¥यो । कृषि उत्पादनको लागि मल खाद्यको प्रबन्ध गरियो । पशुपालनमा तीव्रता आयो । उत्पादक शक्तिहरुको विकासको अनुरुप सामन्तवादी उत्पादन सम्बन्धहरु कायम भए । उत्पादनका साधनहरु र जग्गा जमिनमा सामन्तहरुको पूर्ण स्वामित्वमा रहेको थियो । किसानहरुसँग सानो टुक्रा जमिन, घरेलु जनावर, कृषि औजारहरु हुन्थे । किसानहरु सामान्तको कामलाई अनिवार्य रुपले गर्नुपर्ने हुन्थ्यो । सामान्तको काम सके पछि मात्र उनीहरु आफ्नो नीजि काममा लाग्ने गर्दथे । सामान्तवादी व्यवस्थाको शोषणमूलक सारतत्व पनि दास प्रथाकै जस्तो थियो । किसानले सामन्तको आर्थिक आधारको संरक्षण र सुदृढतामा जोड दिन्थे । यो उनीहरुको बाध्यता थियो । किनभने सामन्तको खेतीपाती नगरेसम्म किसानहरुको चुल्हो जल्दैनथ्यो ।
सामन्तवादी युगमा राज्यन्त्र र सेनाको विकास हुँदै गयो । धर्मको जग बलियो बनाउँदै लगे । धर्मलाई सामन्त वर्गले श्रमिक वर्गलाई शोषण गर्ने माध्यमको रुपमा स्थापित गर्दै लगे । समय बित्दै गयो, उत्पादक शक्तिहरु विकसित हँुदै गए । पन्ध्रौ शताब्दीको अन्त्य र सोह्रौ सताब्दीको शुरुतिरका भौगोलिक आविष्कारकहरुले अमेरिका पत्ता लगाउन युरोपबाट भारत जाने समूद्री बाटो खोज गरे । विश्वमा ठूला ठूला कलकारखानाहरुको विकास हँुदै गयो । हजारौं मजदुरहरुले एउटै कारखानामा काम गर्न थाले । श्रम उत्पादन निकै बढ्दै गयो । कारखानाको स्थापना र विकासका साथ साथै सामन्तवादको गर्भमा नयाँ पूँजीवादी उत्पादन र त्यसबाट उत्पन्न परस्पर विरोधी वर्ग र सर्वहारा वर्गको कित्ता छुट्टिदै गयो । यता कारखानाका लागि मजदूरहरुको आवश्यकता बढ्दै गयो । उता सामान्तहरुले किसानलाई जग्गा जमिनमा आश्रित तुल्याई राखेका थिए । सामान्त र पूँजीपति बीच चर्काे अन्तरविरोधको शुरुवात भयो । कारखानाको निम्ति विस्तृत अन्तर्राष्ट्रिय बजारको आवश्यकता थियो । तर सामान्तहरुले तगारो हाल्ने काम गर्दथे । सामन्तहरुले आफ्नो सामन्तवादी उत्पादन सम्बन्धलाई कायम गर्न आवश्यक ठान्दथे । सामन्ती बन्धनहरुबाट किसानहरुको मुक्ति, सामन्ती विशेषाधिकार उन्मूलन, स्वतन्त्र व्यापार तथा समान अधिकार मागको आधारमा सामन्त विरोधी संघर्ष चल्यो । उक्त संघर्षको युगको थालनी सोह्रांै शताब्दीको शुरुवातमा भयो । सामन्तवादको प्रारम्भिक काललाई मध्य युगिन भनिन्छ । यो काल युरोपमा पाँचौ शताब्दी, चीनमा तेस्रो, भारतमा तेस्रो र चौथो । अरबमा छैठौ शताब्दीमा शुरु भएको थियो । सत्रौं शताब्दीको मध्यलाई सामान्यतः पूँजीवादी युगको प्रारम्भ मानिन्छ । अन्ततः सामन्तवादी युगको खाडल पूँजीपति वर्गले खने अन्ततः सामान्तवादको अन्त्य र पूँजीवादको आगमन शुरु भयो ।
(४) पू“जीवादी व्यवस्था ः
यो व्यवस्थामा उत्पादनका साधनमाथि नीजि स्वामित्व रहन्छ । उत्पादनको वितरण नीजि हुन्छ । उत्पादनको लक्ष्य आवश्यकता पूर्ति गर्न भन्दा पूँजीपतिहरुले आफ्नो समृद्धिको लागि अतिरिक्त पूँजी थुपार्नेमा जोड दिन्छन् । उत्पादनमा सामुहिकीकरण र वितरणमा नीजिकरण पूँजीवादको मुख्य अन्तरविरोध हो । पूँजीवादमा मूलत पूँजीपति वर्ग र सर्वहारा वर्ग हुन्छन् । जतिबेलासम्म पूँजीवादको पूर्ण रुपमा अन्त्य हुन्न त्यतिबेलासम्म उनीहरु बीचको वर्ग संघर्ष निरन्तर रुपमा चलिरहन्छ । मुनाफाको लागि उत्पादन गर्नु नै पूँजीवादको विशेषता हो । त्यसका लागि उत्पादनका साधनहरु भएको पूँजीपति र जीवन निर्वाहका लागि उसैको मेसिनमा गएर काम गर्न पर्ने मजदूर यी दुवैको आवश्यकता हो । मजदूरको जीवन निर्वाहका लागि उसलाई दैनिक कति ज्याला मिल्छ त्यो भन्दा कैयौ गुना बढी पूँजीपतिले मजदुरको श्रम लुटेर मुनाफा कमाउँदछ । पूँजीपतिले मजदूरलाई शोषण गरेर जति माल उत्पादन गर्दछ त्यति नै बढी मुनाफा कमाउँछ । त्यसका लागि बढीभन्दा बढी माल तयार गरेर बेच्ने कोसिस गर्दछ ।
कम्युनिष्ट पार्टीको घोषणापत्रमा पूँजीवादी शक्तिहरुको व्याख्या गर्दै कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले लेखेका छन् “प्रकृतिमाथि विजय हासिल, उत्पादन यन्त्रहरुको प्रयोग, कृषि क्षेत्रमा रसायन विज्ञानको प्रयोग, परीवहन, रेलमार्ग, विद्युत, टेलीग्राफ आदिमा पूँजीवादले दुई शताब्दी भित्रै द्रुतगतिमा विकास ग¥यो । जसले विस्तारै सामान्तवादी स्वामित्वलाई हटाउँदै लग्यो । पूँजीवादी व्यवस्थामा उत्पादनमा लागेका मजदूरहरु केही स्वतन्त्र हुन्छन् । उनीहरु आफूखुसी कुनै पूँजीपति कहाँ काम गर्न सक्तछन् । तर पूर्ण रुपले पूँजीपतिबाट स्वतन्त्र चाहिं हँुदैनन् । उत्पादनका साधनहरुबाट वञ्चित भएको हुनाले उनीहरु आफ्नो श्रम शक्ति बेच्न बाध्य हुन्छन् ।
यसरी उनीहरु शोषणको जुवामुनि नारिन परेको हुन्छ । पूँजीवादी समाजमा उत्पादनको स्वरुप सामुहिक हुन्छ । लाखौ मजदूरहरुले ठूला–ठूला उद्योगहरुमा उत्पादनमा भाग लिन्छन् । तर उनीहरुको श्रमलाई उत्पादनका साधनहरुमा स्वामित्व राख्ने मुठिभर मालिकहरुले चरम शोषण गर्दछन् । मालिक मजदुर बीचको अन्तरद्वन्द्व नै पूँजीवाद भित्रको अन्तरविरोध हो । पूँजीपति बन्नका लागि मजदूरलाई ज्यालामा कजाउन पर्ने र पूँजीको वृद्धि गरी रहन पर्ने यिनी दुई शर्त अनिवार्य हुन्छन् । मजदूरहरुको व्यक्तिगत सम्पत्ति केही हँुदैन । उनीहरुको चेतनाको विकास भएपछि विद्रोह गर्नका लागि संगठन निर्माण गर्दछन् । १८४८ फेब्रुअरीमा कम्युनिष्ट घोषणापत्र प्रकाशन भएपछि संसारका मजदूरहरु एक हौं, भन्ने नाराका आधारमा मजदूरहरुको मुक्ति मजदूरहरु बाहेक अरु कसैले गर्दैनन् । राज्य सत्तामा सर्वहारा वर्गको अधिनायकत्व हुनु पर्दछ भन्ने सिद्धान्तका आधारमा पूँजीपतिसँगको सम्बन्ध बिगँ्रदै जान्छ । अन्त्यमा मजदूरहरुको जित पूँजीपतिहरुको हार हुन्छ । १८७१ पछि पूँजीवादी व्यवस्थाले साम्राज्यवादी व्यवस्था ग्रहण ग¥यो । तर मजदूरहरुले कम्युनिष्ट पार्टीको गठनगरी समाजवादी व्यवस्थाको लागि पूँजीपति वर्गसँग लड्ने रणनीति अपनाए । अमेरिका, बेलायत, जर्मन, फ्रान्स जस्ता शक्तिशाली पँजीवादी देशहरुका पूँजीपतिहरुले मजदूरहरुमाथि गर्ने भेदभाव, ज्यादति र शोषणका विरुद्ध मजदूरहरु एकजुट भएर ठूला ठूला आन्दोलन, आमहड्ताल गरे । आन्दोलनमा लाखौँ मजदुरहरुको हत्या भयो । तर पनि मजदूर आन्दोलन निरन्तर अगाडि बढिरह्यो अन्ततः पूँजीपतिहरुको हार भयो । दिनको १८।२०घण्टा काम गर्ने मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा मनोरञ्जनको एजेण्डामाथि विजय हासिल गरे । मजदूरहरुका आन्दोलनबाट रुस, चीन, भियतनाम लगायत पूर्वी युरोपेली देशहरुमा समाजवादको स्थापना भएको थियो । त्यसैले संसारमा पूँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद तथा साम्यवादी व्यवस्था आवश्यम्भावी छ । विगतका सामाजवादी देश जर्मन, रुस, उत्तर कोरिया, चीन भियतनाम, कम्बोडिया जस्ता मुलुकहरु अहिले समाजवादी रहेका छैनन् । अहिले त्यहाँ सामाजिक साम्राज्यवादले कब्जा जमाएको छ । तर ती देश लगायत संसारका अन्य देशहरुमा स्थापित सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले अटल रुपमा समाजवाद र साम्यवादमा विश्वास राख्दछन् । उनीहरु लगातार त्यही दिशामा अगाडि बढिरहेका छन् र समाजवादको लडाई निरन्तर छ । विश्वका मजदूर किसानहरु फेरि पनि समाजवाद प्राप्तिका लागि संगठित हँुदैछन् । समाजवाद तथा साम्यवाद संसारका सर्वहारावर्गको लागि सुनिश्चित छ । समाजवादले अहिलेको विश्व साम्राज्यवाद तथा पूँजीवादको विस्थापन गर्नेछ ।
(५) समाजवाद तथा वैज्ञानिक साम्यवादी व्यवस्थाः
यो व्यवस्था सर्वहारावर्गको अधिनायकत्वमा संचालित हुन्छ । माक्र्सवाद, लेनिनाद, माओत्सेतुङ विचारधारा अर्थात् द्वन्द्वात्मक भौतिकवादलाई ठोस परिस्थितिको ठोस विश्लेषण गरेर राज्य सत्ता सञ्चालन हुन्छ । शोषणको उन्मूलन हुन्छ । किसान मजदूरहरु बीचमा बलियो एकता हुन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारको स्थापना र संचालन हुन्छ । समाजवादी व्यवस्थामा सरकारी र सहकारी २ किसिमको स्वामित्व रहन्छ । योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था हुन्छ । समाजवादी व्यवस्था अन्तरगत पनि पूँजीवादी अवशेषहरु रहने भएको हुँदा वर्ग संघर्षलाई तीव्र बनाइन्छ । समाजमा धनी र गरिबको खाडल मेटिन्छ । महिला पुरुषहरुको हक बराबरी हुन्छ । जात, भात, छुवाछूत, उँचोनिचो केही हुँदैन । स्वास्थ्य, शिक्षा र रोजगारको राज्यले ग्यारेन्टी गर्दछ । भूमि राज्यको मातहत हुन्छ । कोही पनि खाने लाउने र शिक्षा स्वास्थ्यबाट बञ्चित हुन पर्दैन । योग्यता र क्षमताका आधारमा सबैले काम गर्नुपर्दछ । वृद्ध वृद्धाहरुलाई सरकारले जिम्मा लिन्छ । वौद्धिक र शारीरिक दुवै काम गर्ने सबैलाई समान इज्जत गरिन्छ र प्रोत्साहित गरिन्छ । परिपक्व विकसित समाजवाद पछिको व्यवस्था वैज्ञानिक साम्यवाद हो । वैज्ञानिक साम्यवादमा संसार नै एउटा देश हुन्छ । तेरो मेरो भन्ने नै हँुदैन । सबैले वैज्ञानिक साम्यवादको नियमलाई मान्दछन् । यो व्यवस्थामा अड्डा, अदालत, कानुन, सेना, पूलिस, हुँदैनन् । सबै नागरिक राष्ट्रसेवक हुन्छन् । सबैले वैज्ञानिक साम्यवादी व्यवस्थाको पालना गर्दछन् । यो व्यवस्थामा संसारभरका नागरिकहरुको चेतना उच्च प्रकारको भैसकेको हुन्छ । अहिले पनि हामी कतिपय वुर्जुवा पूँजीवादी मुलुकहरु सामान्यतः सिस्टममा चलेको पाउँछौं । कतिपय विकसित पूँजीवादी देशहरुले जनताका मौलिक अधिकारसँग सम्बन्धित शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरेको पाइन्छ । पूँजीवादको विकास चरम उत्कर्षमा पुगेपछि पूँजीपति र मजदूरबीच अन्तर विरोध चर्कदै जान्छ । पूँजीपतिहरुले आफु फस्ने खाडल आफूैले खन्दै जान्छन् । मजदूरहरुको संघर्ष उत्कर्षमा पुग्दै जान्छ । अन्तमा पूँजीपतिको हार र संसारका मजदूरहरुको जीत हुन्छ र समाजवादको स्थापना हुन्छ । समाजवादको विकासपछि वैज्ञानिक साम्यवादको उदय हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित