पार्टी एकता असफल हैन, सफल भएको छ

-सी.पी. गजुरेल
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । महाधिवेशन उद्घाटनलाई कुनै एउटा ऐतिहासिक दिनको अवसर पार्ने सन्दर्भमा उद्घाटनको दिन कम्युनिस्ट पार्टीका घोषणापत्र लेखकहरु मध्येका एक फ्रेडरिक एंगेल्सको जन्म दिन नोभेम्बर २८ लाई पारिएको छ । उक्त महाधिवेशनको मूल नारा तय गरिएको छ–“०८१ मंसिर १३ देखि २३ गतेसम्म हुने राष्ट्रिय एकता महाधिवेशन सफल पारौं !
नयाँ जनवादी क्रान्तिको खुडुकिलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ! ! ” हाम्रो सिंगो पार्टी अहिले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न जुटेको छ ।
नेपालमा कम्युनिस्ट समर्थकहरुको जनमत अत्यधिक छ । क्रान्ति चाहने र यही प्रतिक्रियावादी व्यवस्थाभित्र आफूलाई सीमित गर्न चाहने सबै खालका कम्युनिस्टहरु वरपर रहेका समर्थक शुभचिन्तकहरुको संख्या हेर्ने हो भने निकै ठूलो छ । विश्वमा अन्यत्र नेपालमा जस्तो स्थिति पाउन मुस्किल छ । नेपाली कम्युनिस्ट आन्दोलनका लागि यो अत्यन्त सकारात्मक पक्ष हो । तर यति ठूलो जनमत भइकन पनि नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धार यतिखेर कमजोर छ ।
विशाल कम्युनिस्ट जनमतलाई क्रान्तिकारी धारतर्फ फर्काउने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने आजको ऐतिहासिक आवश्यकता हो । त्यो आवश्यकतालाई पूरा गर्ने अभियानमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकै सुझबुझका साथ लागिरहेको छ ।
कम्युनिस्टहरुको ठूलो जनमत हुनु मात्र सबै कुरा होइन । क्रान्तिकारी कार्यदिशा तथा सिद्धान्त भएन भने कम्युनिस्ट जनमत हुनु र नहुनु बराबर जस्तै हुन्छ । त्यसकारण क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन पहिलो कुरा क्रान्तिकारी सिद्धान्त र राजनीतिको आवश्यकता हुन्छ । दोस्रो कुरा, क्रान्तिकारी सिद्धान्त र राजनीतिलाई लागु गर्ने अनुशासित र मिलिटेन्ट संगठन चाहिन्छ । क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हामी अहिले विभिन्न उपायको खोजीमा छौं । त्यसमध्ये एउटा उपाय हो–क्रान्तिकारी शक्तिहरुको एकता र ध्रुवीकरण । दोस्रो उपाय हो–क्रान्तिकारी सिद्धान्त र राजनीतिका आधारमा जनताका संघर्षहरुलाई उठान गर्दै जनतालाई गोलबन्द गर्दै जाने ।
क्रान्तिकारी शक्तिहरुलाई एकीकृत र ध्रुवीकृत गर्ने अभियान अन्तर्गत हामीले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाएका छौं । सांगठनिक रुपले पार्टीहरुलाई एकता गरेर मात्र हुँदैन । पार्टीको ठोस क्रान्तिकारी विचार र कार्यदिशा आवश्यक हुन्छ । तीन पार्टीका बीचमा कतिपय मतभेदहरु कायमै छन् । ती मतभेदहरुलाई हल गर्ने उपयुक्त संयन्त्र भनेको महाधिवेशन हो । राष्ट्रिय एकता महाधिवेशनबाट हामीले हाम्रा मतभेदहरुलाई हल गर्ने छौं ।
क्रान्तिकारी आन्दोलनका लागि पहिलो कुरा क्रान्तिकारी विचार चाहिन्छ । क्रान्तिकारी विचार भन्नाले क्रान्तिकारी सिद्धान्त र राजनीति चाहिन्छ । त्यो क्रान्तिकारी विचारलाई लागु गर्ने क्रान्तिकारी संगठन चाहिन्छ । क्रान्तिकारी विचार र संगठनको माध्यमबाट जनताका संघर्षलाई अगाडि बढाउनु पर्दछ । जनताका समस्या, आवश्यकता र जनताको मनोविज्ञान बुझेर हामीले संघर्षको योजना बनाउनु पर्दछ । विचारको योजना, संगठनको योजना र संघर्षको योजनाबाट यस पार्टीले नै क्रान्तिकारी आन्दोलन अगाडि बढाउँछ भन्ने जनतामा विश्वास पैदा गराउन आवश्यक हुन्छ ।
नेपालमा जनताले निकै लामो समयदेखि संघर्ष गर्दै आएका छन् । ००७,०३६,०४६ र ०६२÷६३ सालमा जनताले वलिदान दिएका छन् । १० वर्षको जनयुद्धमा जनताले जीवनको आहुति दिएका छन् । तर सहिदको सपना पूरा भएको छैन । देश र जनताको मुक्ति भएकै छैन । अवसरवादीहरुले आन्दोलनलाई धोका दिएका छन् । सहिदहरुको सपना पूरा गर्न अवसरवादीहरुको विश्वासघातलाई जनताको बीचमा छर्लङ्ग पार्नु पर्दछ ।
तीन पार्टीका बीचमा पार्टी एकता भएपछि हामी एकता महाधिवेशनको प्रक्रियामा प्रवेश गरेका थियौं । गत असार १६ देखि २६ सम्म सम्पन्न पार्टीको राष्ट्रिय एकता महाधिवेशनको बैठक बसेको थियो । त्यो बैठकमा विभिन्न दस्तावेजहरु प्रस्तुत भएका थिए ।
कमरेड धर्मेन्द्र बास्तोलाले पनि आफ्नो दस्तावेज पेश गर्नु भएको थियो । तर उहाँ महाधिवेशनकै प्रक्रिया छाडेर पार्टीबाट बहिर्गमन हुनुभयो । उहाँ त्यसो गर्नु हुने थिएन । भ्रमवस जानु भएका साथीहरु स्पष्ट भएपछि फर्कनु हुनेछ । धर्मेन्द्रजीले पार्टी एकता असफल भयो भनेर प्रचार गर्नु भए पनि यथार्थतामा पार्टी एकता सफल भएको छ । एकतालाई भाँड्नका लागि प्रतिक्रियावादी र अवसरवादीहरु जोडतोडका साथ लागिरहेका छन् । त्यसको निम्ति उनीहरुले विभिन्न प्रयत्न गरिरहेका छन् । त्यसको प्रभाव उहाँलाई पनि कतै न कतै परेको देखिन्छ । दोस्रो महाधिवेशनकै तयारीकै शिलशिलामा पार्टी महाधिवेशन आयोजक समितिका बैठक आयोजना गरिएको थियो । उक्त बैठमा विभिन्न समूह विभाजन गरेर प्रस्तुत भएका दस्तावेजमाथि छलफल भएका थिए । उहाँले प्रस्तुत गर्नु भएको कार्यदिशालाई करिब सबैजसो समूहबाट अस्वीकृत गरिएपछि उहाँ आफ्नो कार्यदिशा महाधिवेशनमा पारित नहुने निश्कर्षमा पुग्नुभयो र उहाँ आफ्नो कार्यदिशा पारित नहुने देखेपछि यस पार्टीमा बस्न आवश्यक ठान्नु भएन । उहाँले बहुमतको निर्णय मानेर पार्टीभित्र आफ्नो विचार राख्दै जाने, क्रान्तिको तयारी पनि गर्दै जाने जनवादी केन्द्रीयताको पद्धति हो, त्यसलाई तिलाञ्जली दिनुभयो । एकता प्रक्रियामा असफल भएका गलत सूचना प्रभावित गर्नुभयो । यो वास्तविकतालाई कार्यकर्ता र जनताको बीचमा उहाँले ल्याउनु भएन ।
नेकपा (बहुमत) बाट एकता प्रक्रियामा सामेल साथीहरुले गुटवाद र फुटवादको विरोध गर्दै पार्टी एकतालाई मजबुत पार्न लाग्नु भएको छ । यो एकता हाम्रो चाहनाले मात्र भएको होइन । देशको आवश्यकता, कम्युनिस्ट आन्दोलनको आवश्यकता र आम न्यायप्रेमी जनताको चाहनाले भएको एकता हो । यस एकतालाई हामी आम शोषित पीडित जनतासम्म पु¥याउने छौं ।
गत साउन २१ देखि २५ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बस्यो । बैठकले महाधिवेशन सफल पार्न आवश्यक निर्णयहरु लिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिले निर्णय गर्न बाँकी रहेका विषयलाई केन्द्रीय कार्यालयले टुंगो लगाएको छ । प्रचारप्रसार समिति बनाएको छ । प्रचार कार्यको ठोस योजना बनेको छ । वैचारिक राजनीतिक पक्षलाई स्पष्ट गर्न फोरमको संचालन शुरु भएको छ । कतिपय आन्तरिक छलफलको विषय छन् भने कतिपय खुला छलफलका विषय छन् । व्यवस्थित रुपमा फोरमको कार्यक्रम सुरु भएको छ । पार्टी सदस्यहरुले फोरममा आफ्ना विचार प्रकट गरिरहनु भएको छ ।
महाधिवेशन प्रक्रियाकै सिलसिलामा संगठनहरुलाई चुस्तदुरुस्त बनाउने कार्य पनि भइरहेको छ ।
कम्युनिस्ट पार्टीको संगठन पिरामिड आकारको हुनुपर्ने हो । तर हाम्रा संगठन छाता आकारका हुन पुगेका छन् । माथिल्ला फुकेका तल डण्डी जस्तै सुकेका जस्तो । महाधिवेशनको प्रक्रियाका सिलसिलामा हामीले भेला र सम्मेलनकै सन्दर्भमा स्थानीय तह, जिल्ला तहलाई साना, चुस्त, दुरुस्त कामकाजी संगठन बनाउनेतिर गइरहेका छौं । केन्द्रलाई पनि चुस्त दुरुस्त बनाउने छौं ।
दस्तावेजहरु प्रकाशित भएर साथीहरुले अध्ययन गर्ने, पार्टीमा आफ्ना मत राख्ने, मत दर्ज गर्ने, पार्टीलाई सुझाव दिने क्रम चलिरहेको छ । “विचारधारा” शीर्षकमा फोरम प्रकाशित भइसकेको छ । अब छिट्टै “विचारधारा” दोस्रो अंक प्रकाशित हुँदैछ ।
महाधिवेशन सम्पन्न गर्न खर्चको आवश्यकता हुन्छ । न्यूनतम खर्च त जुटाउनै प¥यो । पार्टीको राजनीति, नीति, कार्यक्रम जनताकै लागि हो । सही नीति कार्यक्रम तय गर्न जनताले पनि हामीलाई सहयोग गर्नुपर्दछ । पार्टीका सदस्यहरु र पार्टी बाहिरका समर्थक, शुभचिन्तक र आम न्यायप्रेमी जनताको सहयोगले महाधिवेशनलाई सफल पार्न मद्दत पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित