माओ विचारधारा सम्बन्धी प्रस्ताव

–असीम
हाम्रो पार्टी आरसीपी, नेपालभित्र माओवाद र माओविचारधारा पदावलीबारे बहस चलेको छ । खास गरेर पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत) ले माओवाद पदावली प्रयोग गर्दै आएको र पूर्व नेकपा (मशाल)ले माओविचारधारा पदावली प्रयोग गर्दै आएको सन्दर्भमा पार्टी एकीकरणको बेला यो बहसलाई निरन्तरता दिने र आवश्यकतानुसार महाधिवेशनपछि सम्म पनि खुला बहस गरेर टुंग्याउने सहमति भए अनुसार महाधिवेशनको दौरानमा बहस गरी सकेसम्म आरसीपी, नेपालको एकता महाधिवेशन मै समान विचारमा पुग्न प्रयास गर्नु सान्दर्भिक हुनेछ ।
अहिले विश्वका कैयौं देशहरुमा माओवाद र विचारधारा पदावलीको सन्दर्भमा छलफल र बहस भइरहेको छ । हाम्रो देशमा पनि त्यो छलफल र बहस हुनु स्वभाविक छ । यी दुई पदावलीको सन्दर्भमा बहस हुनुको खास कारण माओको योगदानलाई कुन रुपमा अभिव्यक्त गर्ने ? भन्ने हो । चिनियाँ कम्युनिस्ट पार्टीले स्वयं माओकै पालामा यो विषयमा छलफल गरेको पाइन्छ । लिन प्याओले माओको योगदानलाई माओवाद भन्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए । त्यसलाई चिनियाँ कम्युनिस्ट पार्टीले अस्वीकार गरेको थियो । माओविचारधारा उपयुक्त पदावली हो, त्यसबाट नै माओको योगदानको उचित मूल्यांकन हुने कुरा बताएको थियो । सन् १९८८ ताक पेरु कम्युनिस्ट पार्टीका नेता अविभायल गुजमान गोञ्जालोले अल डाइरियो नामक एउटा पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, “आजको युग माक्र्सवाद, लेनिनवाद–माओवाद र मुख्यतः माओवादको युग हो ।” उनले यो पनि भनेका थिए कि माक्र्सवादी वा कम्युनिस्ट हुन माक्र्सवादी लेनिनवादी माओवादी र मुख्यतः माओवादी हुनुपर्छ । रिम (च्भखयगितष्यलबचथर ष्लतभचलबतष्यलबष्कित ःयखझभलत) को सन् १९९३ को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा कतिपय कम्युनिस्ट पार्टीहरुले माओवाद मान्ने निर्णय गरे । उसले पनि माओवादविना कोही पनि माक्र्सवादी लेनिनवादी बन्न सक्दैन भन्यो । वास्तवमा माओवादलाई नकार्नु भनेको स्वयंमा माक्र्सवाद लेनिनवादलाई नकार्नु हो भनेको थियो । अहिले पनि कतिपय कम्युनिस्ट पार्टीहरुले “मुख्यतः माओवाद” मान्ने गरेका छन् ।
माओवाद मान्नेहरु मध्ये अन्य कतिपय कम्युनिस्ट पार्टीहरुले माओको योगदानलाई माओवादको रुपमा माने पनि “मुख्यत माओवाद” मान्ने गरेका छैनन् । पूर्व क्रान्तिकारी माओवादी र पूर्व बहुमतले माओवाद भने पनि “मुख्यतः माओवाद” मान्ने गरेको छैनन् ।
माओवाद र माओविचारधाराको बहसको सन्दर्भमा उठेको प्रश्न यो हो कि अहिलेको युग लेनिनवादी युग हो कि होइन ? यो विषयमा गोञ्जालोले १९८८ को त्यही अन्तर्वार्तामा सबभन्दा पहिले मुख खोलेका थिए । उनले “माओवादी युग” भनेका थिए । लेनिनवाद हाम्रो चिन्तनलाई अगुवाई गर्न सैद्धान्तिक आधार दिन सक्ने अवस्थामा छैन पनि भनेका थिए । त्यसरी युगको बारेमा बहस शुरु भएको थियो । वास्तवमा अहिले पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको निरन्तरता हो । महान लेनिनले विश्व साम्राज्यवादको बारेमा गहन विश्लेषण गर्नु भएको थियो । उहाँले देखाएको बाटोबाट नै विश्वका उत्पीडित राष्ट्र तथा सर्वहारावर्गलाई साम्राज्यवादका विरुद्ध लड्ने हतियार प्राप्त भयो । त्यो युगमा अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा कुनै परिवर्तन आएको छैन । त्यसकारण आज पनि लेनिनवादी युगकै निरन्तरता छ भन्ने कुरामा कुनै शंका छैन । माओवाद मान्नेहरुले पनि अहिलेको युगलाई साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग होइन, अर्थात् लेनिनवादी युग होइन भन्न सकेका छैनन् । एउटा युगभित्र कति चरण हुन सक्छन् ? विभिन्न चरण हुन सक्छन् । तर यहाँ बहसको विषय यो बनेको छ कि माओका योगदानहरुलाई लेनिनवाद भन्दा बाहिर र बेग्लै चरणको, अर्थात् तेस्रो चरणको रुपमा लिनुपर्छ भन्ने छ । यो स्पष्ट छ कि माओका योगदानलाई, जसलाई हामी माओ–त्सेतुङ विचारधारा भन्ने गर्छौं, माक्र्सवाद लेनिनवादको विकासमा एउटा नयाँ चरण, माथिल्लो वा विकसित चरण हो । तर तेस्रो चरण हुन सक्दैन । किनभने माओले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद, माक्र्सवादका ३ वटै संगठक अंगमा जुन सिर्जनात्मक विकास गर्नुभयो र चिनियाँ परिस्थितिको ठोस विश्लेषण गरेर अनुशासित पार्टी निर्माण, संयुक्त मोर्चा, दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष, सर्वहारा सांस्कृतिक क्रान्ति, नयाँ जनवाद लगायत ऐतिहासिक महत्वका नयाँ नयाँ विचारहरु ल्याउनु भयो र ती सबै व्यवहारमा लागु पनि गर्नुभयो । तर यी सबै योगदानहरु साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अन्तर्गतका कुरा हुन् । माओले माक्र्सवाद लेनिनवादलाई विकसित गर्नु भयो, त्यो सत्य हो । तर तेस्रो चरणको रुपमा व्याख्या गर्नुले तथ्यसित मेल खाँदैन । त्यसले हामीलाई लेनिनवादलाई दोस्रो चरण मान्नु पर्ने भन्ने बुझाउँछ । त्यो गलत हुन जान्छ किनकि आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो र लेनिनको युग हो । एउटा युगमा नयाँ, उच्च वा विकसित चरणहरु हुन सक्छन् तर एकै युगमा दोस्रो र तेस्रो चरण हुन सक्दैन ।
“युग” र“चरण” को कुरा अगाडि सारेर माओवाद मान्नेहरुले लेनिनलाई पछाडि धकेल्न खोजेको देखिन्छ । किनकि विगतमा रिमले एंगेल्स र स्टालिनको फोटोलाई हटाएर माक्र्स, लेनिन र माओको गरी तीनवटा फोटा राख्ने काम गरेको थियो । त्यसको विरोध भएको थियो । विश्व कम्युनिस्ट आन्दोलनका सबै नेताहरुको आ–आफ्नो ठाउँमा ठूलो योगदान रहँदै आएको छ । हामीले एउटाको विरुद्ध अर्कोलाई उभ्याउने काम गर्नु हुँदैन । अर्को कुरा उहाँहरुका महत्वपूर्ण योगदान भएका कारणले सबैलाई नामको पछाडि “वाद” राखेर मात्र उच्च मूल्यांकन हुन्छ भन्ने भ्रम पनि पाल्नु हुँदैन । जसको योगदान जति छ, उसलाई त्यही रुपमा मूल्यांकन गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा नेताहरुलाई देवत्वकरण गर्ने अर्थात् व्यक्तिपुजा गर्ने प्रवृत्ति देखा पर्दै आयो । रुसमा १९३६ ताक खु्रश्चेभ स्टालिनका भक्त थिए । उनी त्यति बेला स्टालिनका योगदानका आधारमा स्टालिनवाद भनेर निर्णय गर्नुपर्छ र स्टालिनवादी केन्द्रीय समिति भन्नु पर्छ भनेर प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावलाई स्टालिन र पार्टीले अस्वीकार गरेको थियो । आफ्नो छोरोलाई मृत्युदण्डको सजाय माफीका लागि स्टालिनसित माग गर्दा स्टालिनले अस्वीकार गरेपछि खु्रश्चेभ स्टालिनका विरोधी भए । पेरुमा गोञ्जालो विचारधारा ल्याउनका लागि “माओवाद” ल्याइयो । आरसीपी (युसए) ले क. बव अवाकिनलाई “प्राधिकार” घोषित ग¥यो । प्रचण्डलाई प्राधिकार बनाउन उनको विचार संस्थागत गर्न प्रचण्डपथ राख्नका लागि “माओवाद” ल्याइयो । भाकपा (माले) भित्र चारु मजुमदारलाई “क्रान्तिकारी प्राधिकार” मान्ने केन्द्रीय सदस्य सुनिति घोषले प्रस्ताव ल्याएका थिए । तर सत्यनारायण सिंहले विरोध गरेपछि त्यो रोकिएको थियो । उनले विहार राज्य कमिटीको अधिवेशनमा चारु गुटले चारुवाद ल्याउन र नोकरशाह केन्द्रवाद लागु गर्न खोजेको आरोप लगाएका थिए ।, त्यसैका लागि चारुले माओलाई “चीनको अध्यक्ष हाम्रा पनि अध्यक्ष” भन्ने सिद्धान्त ल्याएका थिए । चीनलाई जानकारी भएपछि उसले विरोध ग¥यो । नक्सलवाडी आन्दोलनको त्यो विवाद झापा विद्रोहमा पनि देखा प¥यो । झापा विद्रोहपछि तात्कालिन को. के. (माले) भित्र पनि पार्टी नेतृत्वलाई प्राधिकार बनाउनेबारे छलफल भएको थियो । तर त्यो प्रस्ताव अस्वीकृत भयो । भारतको एस.यु.सी. आईले सो पार्टीका नेता शिवदास घोषलाई प्राधिकार बनायो । त्यो पार्टीले माक्र्सवाद, लेनिनवाद, माओ तथा शिवदास घोष विचारधारालाई पथप्रदर्शक सिद्धान्त बनायो । यी सबै प्राधिकार र व्यक्ति पुजाका अवधारणा हुन् । ऐतिहासिक भौतिकवादलाई मान्नेहरुले इतिहासको निर्माता व्यक्ति होइन, जनता हुन भन्ने सिद्धान्त मान्दछ । तर त्यो थाहा हुँदाहुँदै पनि नेताहरुलाई देवत्वकरण गर्ने जुन प्रचलन आएको छ, त्यसले कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको छ ।
रिमले माओवाद नमान्नेहरु कम्युनिस्ट हुन सक्दैनन् भनेर गलत प्रस्थापना ल्यायो । त्यसबाट कम्युनिस्ट आन्दोलनमा माओविचारधारा मान्ने कम्युनिस्टहरुलाई कम्युनिस्ट पार्टी होइनन् भन्ने मान्यता स्थापित गरियो र एक अर्को प्रति शत्रुतापूर्ण व्यवहार अपनाउन प्रेरित गरियो । रिमको नेतृत्व गरेको आरसीपी युएसएले ट्राटस्कीवादी नीति अघि सा¥यो र त्यसलाई नमान्ने र विरोध राख्ने कम्युनिस्ट पार्टीहरुप्रति संकीर्णवादी र स्वेच्छाचारी नीति अपनाउने काम ग¥यो । त्यसले विश्वको कम्युनिस्ट आन्दोलनमा क्षति पु¥यायो । इतिहासलाई निर्मम तरिकाले विश्लेषण गर्ने र शिक्षा नलिने हो भने इतिहासका गलत पाटाहरुको पुनरावृत्ति हुने सम्भावना सधै रहिरहन्छ ।
पूर्व क्रान्तिकारी माओवादी र पूर्व बहुमतको माओवादसम्बन्धी धारणा माओवादी जनयुद्धपछि परिवर्तन भएको छ ।
पूर्व क्रान्तिकारी माओवादीले रिमले अंगालेको नीतिमा परिवर्तन गरी माओविचारधारा मान्नेहरुलाई पनि माक्र्सवादी लेनिनवादी क्रान्तिकारी मान्न थालेपछि विभिन्न कम्युनिस्ट घटकहरुसित क्रान्तिकारी नीति र सिद्धान्तका आधारमा पार्टी एकीकरणको पहल गर्नु इतिहासमाथि गरेको पुनर्विचार हो । पहिले दुई पार्टी र अहिले एक वर्षपछि मशाल सहित पार्टी एकीकरण भएपछि माओवाद र माओविचारधाराबारे छलफल हुनु एउटा सकारात्मक कार्य हो । नेकपा (माओवादी)ले प्रचण्डपथका लागि माओवाद पदावली प्रयोग गर्ने निर्णय गरेको थियो । प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाएपछि स्वतm माओवादको सन्दर्भ अनावश्यक भएको छ । अर्कोतिर देशमा रहेका अन्य कम्युनिष्ट घटक, समूह र व्यक्तिहरु समेत माओवाद पदावलीका कारण एकता प्रक्रियामा आउन चाहेर पनि आउन सकिरहेका छैनन् । त्यसकाण माओवाद पदावलीलाई हटाउने र माअ‍ो विचार धारा पदावली प्रयोग गर्ने निर्णय गर्न ऐतिहासिक आवश्यकता भएको छ ।
हामी यतिबेला गम्भीरतापूर्वक ध्यान दिनुपर्ने कुरा के हो भने माओवाद र माओविचारधारा पदावलीको मात्र फरक होइन, माओवादले लेनिनवादलाई नै अवमूल्यन गर्न र लेनिन युगलाई बदलेर माओवादी युग स्थापना गर्ने उद्देश्य निहित छ । माओविचारधारालाई गुणात्मक रुपले नयाँ, उच्च र तेस्रो चारण भनेर लेनिनको समकक्षमा पु¥याउने नाममा माक्र्सवाद र लेनिनवादको क्रान्तिकारी योगदानहरुको सारतत्वलाई ओझेल पार्ने काम गर्नेछ । त्यसका साथै हरेक देशका कम्युनिस्ट पार्टीहरुले गोन्जालो र प्रचण्डको नाम पछाडि विचारधारा वा पथ जोडे जस्तै नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको नाम पछाडि विचारधारा थप्दै जानका लागि बाटो खोल्ने काम गर्नेछ । कम्युनिस्ट आन्दोलनमा त्यसप्रकारको सिलसिलालाई रोक्नको लागि पनि माअ‍ोको योगदानको सही मूल्यांकनका आधारमा माओ विचारधारा भनेर सम्मानित गर्नु इतिहासप्रतिको न्याय हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित