क. बसन्त
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल राष्ट्रिय एकता महाधिवेशनको प्रक्रियामा प्रवेश गरेको छ । महाधिवेशन विचारधारात्मक, राजनैतिक, संगठनात्मक, सामरिक लगायतका विषयहरुमा गहन छलफल तथा बहसको प्रक्रियाबाट क्रान्तिको समग्र कार्यदिशा निर्धारण गर्ने पार्टीकोे सर्वाेच्च निकाय हो । यो प्रक्रियामा बहस जति सौहार्द्रपूर्ण, तथ्यपरक, गहिरो र तीखो हुन्छ, त्यसबाट आउने निष्कर्ष सत्यको त्यतिकै नजिक हुन्छ । अहिले हाम्रो पार्टीमा माओका योगदानलाई माओवाद वा माओ विचारधारा मध्ये कुन पदावलीले संबोधन गर्ने भन्ने विषयमा बहस छ । कमरेड असीमले माओ विचारधारा सम्बन्धी प्रस्ताव लेखेर माओ विचारधाराको पक्षमा आफ्नो मत जाहेर गर्नु भएको छ । मैले यहाँ माओका योगदानहरुलाई सम्बोधन गर्ने उपयुक्त पदावली माओवाद हो, माओ विचारधाराले माओका योगदानलाई समेट्न सक्दैन भन्ने पक्षमा आफ्ना भनाइहरु राख्न गइरहेको छु ।
माओका योगदानहरुलाई कुन पदावलीले संबोधन गर्ने भन्ने प्रश्न ती योगदानहरुको अन्तर्वस्तुुलाई कुन शब्दले अभिव्यक्त गर्दछ भन्ने विषयसँग सम्बन्धित छ । कुनै पनि वस्तुको अन्तर्वस्तु र त्यसलाई अभिव्यक्त गर्ने रुपका बीचमा कुनै अन्तर्विरोध रहनु हुँदैन । अर्थात् वस्तुको रुपमा त्यसको अन्तर्वस्तु अभिव्यक्त भएको हुनु पर्दछ । त्यसकारण, कुनै पनि वस्तुको अन्तर्वस्तुलाई व्यक्त गर्न कुन पदावली उपयुक्त हुन्छ भन्ने प्रश्न सैद्धान्तिक महत्वको विषय हो । माओले माक्र्सवादका तीनओटै संघटक अंगहरुमा जुन विकास गर्नुभएको छ ती सबै चीनको विशिष्ट सन्दर्भमा मात्र लागुहुने योगदान होइनन् । ती योगदान सार्वभौम महत्वका छन् । तिनको अन्तर्वस्तुलाई माओ विचारधारा पदावलीले समेट्न सक्दैन । त्यसकारण ती योगदानको अन्तर्वस्तुलाई अभिव्यक्त गर्ने उपयुक्त पदावली माओवाद हो । यसरी विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुगेको छ ।
माओवाद भनेको केबल माओका योगदानहरुको मात्र योगफल होइन । माओवाद माक्र्सवाद–लेनिनवादको जगमा उभिएको र माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको सम्पूर्ण थप विकास समेत समेटिएको एउटा समग्र सिद्धान्त हो । अर्थात्, माक्र्सवाद–लेनिनवाद–माओवाद भनेको माक्र्सवाद, लेनिनवाद र माओवादको अंकगणितीय योगफल होइन, यो त एउटा अक्षुण्ण एवम् समग्र सिद्धान्त हो । माक्र्सवादका तीनओटै संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको विकासमा माओले गर्नुभएको सार्वभौम योगदानलाई संक्षेपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
दर्शन
माओले माक्र्सवादी दर्शन अर्थात् भौतिकवादी द्वन्द्ववादको विकासमा गुणात्मक योगदान गर्नु भएको छ । माक्र्सको समयमा द्वन्द्ववादका तीनओटा नियम छन् भन्ने मानिन्थ्यो । ती हुन्ः विपरीतहरुको एकत्व र संघर्षको नियम, मात्राको गुणमा र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियम । पछि लेनिनले औल्याउनु भयो, “सङ्क्षिप्तमा भन्नु पर्दा द्वन्द्ववादलाई विपरीतहरुको एकत्वको सिद्धान्त भन्न सकिन्छ । द्वन्द्ववादको सारलाई यसैले समेट्छ, तर यसको व्याख्या र विकास गर्नुपर्दछ ।”१ तर लेनिनका लागि त्यो काम पुरा गर्ने पर्याप्त समय भएन । लेनिनले छाडेको ठाउँबाट द्वन्दवादका नियमहरुको गहिरो अध्ययन गरी माओले भन्नुभयो “सबैभन्दा आधारभूत कुरा भनेको विपरीतहरूको एकत्व हो । गुण र मात्राको एकअर्कोमा रूपान्तरण भनेको विपरीतहरु गुण र मात्राको एकता हो । नकारको नकार भन्ने कुरै छैन । वस्तुको विकास सकार, नकार, सकार, नकारको श्रृंखला भएर अगाडि बढ्छ ।”२ यसले द्वन्द्ववादको नियम र त्यसको सारलाई बुझ्ने प्रश्नमा गुणात्मकता प्रदान गरेको छ । त्यसमाथि, दुईको एकमा संयोजन भन्ने संशोधनवादी मान्यताका विरुद्ध एकको दुईमा विभाजन भन्ने सिद्धान्त अगाडि सारेर माओले विपरीतहरुका बीचको एकत्व र संघर्षको नियमलाई थप समृद्ध गर्नु भएको छ ।
माओले अन्तर्विरोधको नियमलाई भौतिकवादी द्वन्द्ववादको सार बताउँदै यसलाई प्रकृति, मानव समाज र ज्ञानका सबै क्षेत्रमा लागुहुने द्वन्द्ववादको आधारभूत नियमको रुपमा स्थापित गर्नु भएको छ । अन्तर्विरोधबारे भन्ने माओको रचनामा मुख्यतः अन्तर्विरोधको विशिष्टता, प्रधान अन्तर्विरोध, अन्तर्विरोधमा शत्रुताको स्थान जस्ता उपशीर्षकहरु कम्युनिस्ट पार्टीका लागि रणनीति तथा कार्यनीतिकोे विकास गर्न र संयुक्त मोर्चाको निर्माण गरी दुश्मनलाई एक्ल्याउनका लागि महत्वपूर्ण मार्गदर्शक रहेका छन् । यी बाहेक माओद्वारा रचित व्यवहारबारे, सही विचारहरु कहाँबाट आउँछन्, जनताका बीचका अन्तर्विरोधहरुको सही संचालन जस्ता उत्कृष्ट दार्शनिक कृतिहरु र ज्ञान सिद्धान्तको क्षेत्रमा दुई छलाङ्को मान्यताले माक्र्सवादी सिद्धान्त तथा क्रान्तिकारी व्यवहारको द्वन्द्वात्मक एकत्वलाई बुझ्न र उक्त सिद्धान्तलाई व्यवहारमा लागुगर्न महत्वपूर्ण दिशानिर्देश गरेका छन् । दर्शनको क्षेत्रमा माओका यी योगदानको महत्व सार्वभौम रहेको छ ।
राजनीतिक अर्थशास्त्र
साम्राज्यवादद्वारा उत्पीडित अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक देशहरुमा विकास हुने दलाल तथा नोकरशाही पुँजीवादको विश्लेषण र त्यसको चरित्र प्रतिक्रियावादी हुने निष्कर्ष राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओको निकै महत्वपूर्ण योगदान हो । उत्पीडित देशहरुमा साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न दलाल तथा नोकरशाही पुँजीवादलाई ध्वस्त पार्नु पर्दछ र त्यसपछि मात्र वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो खुल्छ भन्ने माओको निष्कर्षले त्यस प्रकारका देशमा सर्वहारा क्रान्तिको समस्यालाई समाधान गरेको छ । यो माओको महत्वपूर्ण सार्वभौम योगदान हो ।
संशोधनवादीहरुले अगाडि सारेको उत्पादक शक्तिको सिद्धान्त अथात् अर्थवादको निर्मम भण्डाफोर गर्दै माओले समाजवादी क्रान्तिको चरणमा आइपरेका आर्थिक समस्याहरु हल गर्ने विधिको पनि विकास गर्नु भयो । माओका “क्रान्तिलाई पक्र, उत्पादन बढाऊ” तथा “लाल र निपुण” जस्ता उद्घोष समाजवादी अर्थतन्त्रको निर्माणका लागि वैचारिक आधार हुन् । सोभियत सङ्घको अर्थनीतिको अनुभवबाट शिक्षा लिंदै चिनिया समाजका दश प्रमुख सम्बन्धहरुको पहिचान र त्यसका आधारमा चीनमा समाजवादी अर्थतन्त्रको निर्माण शिक्षाप्रद छ । नोकरशाही आदेशबाट होइन, श्रमजीवी जनताको सचेत पहलकदमी सहित आर्थिक आधारमा उत्पादक शक्तिको विकास गरेर समाजवादी अर्थतन्त्रको निर्माण तथा विकास गर्नु पर्दछ भन्ने माओको शिक्षाको सार सार्वभौम महत्वको रहेको छ ।
वैज्ञानिक समाजवाद
साम्राज्यवादद्वारा उत्पीडित देशहरुमा वैज्ञानिक समाजवाद निर्माणको आधार तयार पार्नका लागि सर्वहारा वर्गको नेतृत्व र जनताको जनवादी अधिनाकत्वको रुपमा व्यक्त हुने नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा तथा त्यसलाई प्राप्त गर्ने दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशाले विशेष महत्व राख्दछन् । समाजवादी समाजमा वर्ग संघर्ष रहने र पुँजीपति तथा सर्वहारा मध्ये कुन वर्गले जित्छ भन्ने कुरा निक्र्यौल भइनसकेको हुनाले समाजवादी कालभरि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अनिवार्य रुपमा आवश्यक हुन्छ भन्ने सिद्धान्त वैज्ञानिक समाजवादको क्षेत्रमा माओको अद्वितीय योगदान रहेको छ ।
कम्युनिस्ट पार्टी तथा जनसरकारका उच्च ओहोदामा पुगेका पुँजीपन्थीहरुको मुख्यालयमा बम वर्षाउन माओले जनतालाई गर्नु भएको आह्वान र वर्षैदेखिको गैरसर्वहारा संस्कृति तथा बानी–बेहोराको प्रभावबाट पार्टीका नेता, कार्यकर्ता सहित जनतालाई मुक्त गरी सर्वहारा संस्कृतिको विकासका लागि चीनमा संचालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले वैज्ञानिक समाजवादको क्षेत्रमा नयाँ आयाम थपेको मात्र छैन यसले साम्यवाद तर्फको यात्रा निर्देश समेत गरेको छ । सर्वहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा चिनिया सर्वहारा वर्ग एक दशकसम्म चीनमा पुँजीवादको पुनस्र्थापना रोक्न सफल हुनुका साथै चीनको संस्कृति, शिक्षा, कला, साहित्य लगायत उपरिसंरचनाका यावत क्षेत्रहरुमा समाजवादी रुपान्तरण ल्याउन सफल रह्यो । समाजवादबाट साम्यवादमा संक्रमण गर्नका लागि माओले सयौं सांस्कृतिक क्रान्तिहरु संचालन गर्न आवश्यक हुन सक्ने बताउनु भयो । यसरी सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी समाजमा पुँजीवादको पुनस्र्थापना रोक्न र साम्यवादको मार्ग प्रसस्त गर्न विश्व सर्वहारा वर्गलाई माओले हस्तगत गर्नुभएको एउटा अचुक सैद्धान्तिक हतियार बन्न गएको छ । यो माओको सार्वभौम महत्वको योगदान हो ।
माओको नेतृत्वमा कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादलाई आफ्नो देशको विशिष्ट सन्दर्भमा सिर्जनात्मक ढंगले प्रयोग गरी नयाँ जनवादी क्रान्ति सम्पन्न ग¥यो र त्यसको लगत्तै समाजवाद निर्माणको प्रक्रियामा प्रवेश ग¥यो । चीनमा नयाँ जनवादी क्रान्तिको प्रक्रिया, दुई–लाइन संघर्ष, समाजवादको निर्माण तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महान् बहस, मुख्यतः ख्रुश्चेभी संशोधनवादका विरुद्धको संघर्ष र स्तालिनकालीन सोभियत अर्थतन्त्रको समीक्षा समेतको समग्र प्रक्रियामा माओले द्वन्द्वात्मक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा उपरोक्त विकास गर्नु भएको हो । माओका यी योगदानहरु गुणात्मक महत्वका छन्, तिनको चरित्र सार्वभौम रहेको छ र यो सार समेट्ने उपयुक्त पदावली माओवाद हो । यसरी विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त माक्र्सवादले तेस्रो छलाङ् हानेको छ । त्यो माक्र्सवाद–लेनिनवाद–माओवाद हो ।
तर, हाम्रो पार्टीमा माओका योगदानहरुलाई माओवाद होइन माओविचारधाराले संवोधन गर्न उपयुक्त हुन्छ भन्ने विचार पनि रहेको छ र यसबारे पार्टीभित्र आन्तरिक छलफलका लागि कमरेड असीमले माओ विचारधारा सम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । उक्त प्रस्तावमा कमरेड असीमले माओवाद भन्नु किन गलत छ र माओ विचारधारा किन सही छ भन्ने तर्कहरु प्रस्तुत गर्नु भएको छ । यहाँ संक्षिप्तमा उहाँका तर्कहरुले यथार्थसँग किन मेल खाँदैनन् र माओवाद पदावली किन सही छ भन्ने आधारहरु प्रस्तुत गरिएको छ ।
एक, माओ विचारधारा पदावली माओका योगदानहरु चिनीया सन्दर्भमा त सही छन् तर यसको सार्वभौम महत्व छैन भन्ने मतको नजिक छ । सार्वभौम महत्वको सिद्धान्तलाई सम्बोधन गर्ने उपयुक्त पदावली वाद हो । कमरेड असीमले आफ्नो प्रस्तावमा माओका योगदानहरु सार्वभौम हुन् या विशिष्ट यसबारे केही बोल्नुभएको छैन तर त्यसको रुपलाई व्यक्त गर्ने पदावलीलाई भने विचारधारा भन्नुहुन्छ । उहाँले यसबारे बोल्नु पथ्र्यो । माओका सार्वभौम योगदानहरुको सार अनुसारको रुप माओवाद पदावली नै उपयुक्त हुन्छ, माओ विचारधारा होइन । कमरेड असीमको “जसको योगदान जति छ, उसलाई त्यही रुपमा मूल्यांकन गर्नुपर्छ”३ भन्ने भनाइ त गलत छैन । तर उहाँले जुन प्रसंग र सन्दर्भमा यो भन्नु भएको छ, त्यसले माओका योगदानहरु सार्वभौम महत्वका होइनन्, त्यसकारण विशिष्ट योगदानलाई सुहाउने पदावली माओ विचारधारा हो भन्नेतर्फ संकेत गर्छ । सिधा नभनेर यस्तो घुमाउरो विश्लेषण किन ? प्रस्ट कुरा के हो भने माओका योगदान सार्वभौम छन्, तिनको सारलाई विचारधारा पदावलीले समेट्न सक्दैन ।
दुई, कमरेड असीमका अनुसार एउटा युगमा दुईओटा वाद हुँदैनन् । उहाँको यो तर्कले उदार पुँजीवादी युुगको लागि माक्र्सवाद र एकाधिकारी पुँजीवाद अर्थात् साम्राज्यवादी युगका लागि लेनिनवाद भन्ने अर्थ बुझिन्छ । साम्राज्यवाद पछि अर्को युग नआएको हुनाले क. असीमले माओवादका लागि कुनै युुग देख्नुहुन्न । यो बुझाइ नितान्त यान्त्रिक छ । यसले वस्तुगत यथार्थसँग मेल खाँदैन, किनभने एउटा युुगमा धेरै वैज्ञानिक सिद्धान्तहरु विकास हुन सक्छन् । एउटा युगमा एउटा मात्र वाद हुन्छ भन्ने कमरेड असीमको विचारले साम्राज्यवाद रहुन्जेल कुनै अर्को सिद्धान्तको विकास हुनै सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ, अर्थात् विचारको विकास लेनिनवादबाट अगाडि बढ्न सक्दैन । यो बुझाइ पदार्थको गति र चेतनाको विकास अनन्त छ भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यताको विरुद्ध छ ।
तर्कमा मात्र रमाउने हो भने साम्राज्यवाद भनेको पनि त पुँजीवाद नै हो, त्यसकारण साम्राज्यवादी युगमा पनि माक्र्सवाद नै पर्याप्त हुन्छ भन्न सकिन्छ । तर यो सही होइन । लेनिनले माक्र्सवादका तीनओटै संघटक अंगहरुमा गुणात्मक विकास गर्नु भएको हुनाले माक्र्सवादले माक्र्सवाद–लेनिनवादमा छलाङ हानेको हो । र त्यसरी नै माक्र्सवाद–लेनिनवादमा माओले गुणात्मक विकास गर्नु भएको हुनाले त्यसले पनि माक्र्सवाद–लेनिनवाद–माओवादमा अर्को छलाङ् हान्यो, कुरा यत्ति हो । वर्तमान युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अर्थात् लेनिनवादी युग भन्ने गरिन्छ । यो विश्लेषण आज पनि सही छ । मेरो तर्क सिद्धान्तको प्रश्नलाई युगमा कैद गर्नु माक्र्सवाद सम्मत हुँदैन भन्ने मात्र हो ।
तीन, कमरेड असीमले कम्युनिस्ट आन्दोलनमा माओवाद पदावलीको प्रयोगले लेनिनवादको महत्वलाई न्यूनीकरण गर्छ अर्थात् लेनिनवादलाई विस्थापित गर्छ भन्ने तर्क अगाडि सार्नु भएको छ । पहिलो कुरा, माओवाद भनेको माक्र्सवाद–लेनिनवादको विकास हो । त्यसकारण माओवादले लेनिनवादलाई विस्थापित गर्ने प्रश्नै आउँदैन । दोस्रो कुरा माक्र्सवाद, लेनिनवाद तथा माओवाद एकले अर्कोलाई विस्थापित गर्नसक्ने अलग अलग सिद्धान्त होइनन् र माक्र्सवाद–लेनिनवाद–माओवाद यी तीन सिद्धान्तहरुको अंक गणितीय योगफल पनि होइन । माक्र्सवादको जगमा माक्र्सवाद–लेनिनवाद र माक्र्सवाद–लेनिनवादको आधारमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास भएको हो अर्थात् यो माक्र्सवादको अक्षुुण्ण निरन्तरता हो । यसकारण माओवादलाई अस्वीकार गर्नु भनेको आजको माक्र्सवादलाई अस्वीकार गर्नु हुन पुग्छ । कमरेड असीमको तर्कलाई सही मान्ने हो भने लेनिनवाद पदावलीले माक्र्सवादको महत्वलाई न्यूनीकरण गर्ने हुनाले लेनिनवाद पनि भन्न हुँदैन भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ । कमरेड असीम तपाई यसलाई स्वीकार्न तयार हुनुहुन्छ ? सायद हुनुहुन्न ।
चार, कमरेड असीमले ख्रूश्चेभको स्तालिनवाद भन्नुपर्छ भन्ने प्रस्ताव, लिन पियाओको माओवाद भन्नुपर्छ भन्ने प्रस्ताव, चारु मजुमदारलाई क्रान्तिकारी प्राधिकार मान्नु पर्छ भन्ने सुनिति कुमार घोषको प्रस्ताव, पेरुभियन कम्युनिस्ट पार्टीको गोञ्जालो विचार, ने.क.पा. (माओवादी)को प्रचण्डपथ र आर.सी.पी. अमेरिकाको न्यु सिन्थेसिसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेतृत्वको देवत्वकरण गर्ने प्रवृत्ति बढाएको र त्यसले कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत पारेको कुरा उठाउनु भएको छ । तर ख्रुश्चेभले स्तालिनवाद र लिन पियाओले माओवाद कहिले र कहाँ प्रस्तावित गरेका थिए भन्ने सन्दर्भ नदिई विषयको उठान गर्नु सही तरिका होइन । जहाँसम्म यो प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ भन्ने उहाँको चिन्ता हो त्यो अत्यन्त जायज छ । अर्कोकुरा, माओका योगदानको संश्लेषण गर्ने सन्दर्भमा ख्रुश्चेभ, लिन पियाओ र प्रचण्ड जस्ता प्रतिक्रान्तिकारी गद्दारहरुको उदाहरण दिएर माओवादको विरोध गर्नु माओलाई नै न्यूनीकरण गर्नु हो । तर आश्चर्य, माओ विचारधारा पदावली प्रयोग गर्ने हो भने यो प्रवृत्ति स्वतः रोकिन जान्छ भन्ने आशयको कमरेड असीमको तर्क नितान्त व्यवहारवादी, असैद्धान्तिक र अवैज्ञानिक छ । उहाँको राजनीतिक हैसियतलाई यो तर्क सुहाउँदैन ।
पाँच, माओवाद पदावलीे प्रयोग गर्न किन बेठिक हुन्छ भन्ने प्रसंगमा कमरेड असीम भन्नुहुन्छ, “नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको नाम पछाडि विचारधारा थप्दै जानका लागि बाटो खोल्ने काम गर्नेछ । कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारको सिलसिलालाई रोक्नको लागि पनि माओको योगदानको सही मूल्यांकनका आधारमा माओ विचारधारा भनेर सम्मानित गर्नु इतिहास प्रतिको न्याय हुनेछ ।”४ रिमभित्रबाट पैदा भएको आफूलाई प्राधिकार बनाउने नेताहरुको प्रवृत्ति गलत थियो भन्नेकुरा सैद्धान्तिक हिसाबले मात्र होइन, व्यवहारतः पनि पुष्टि भइसकेको छ । यसमा कुनै विवाद रहेन । तर, कमरेड असीमले विश्व कम्युनिस्ट आन्दोलन भित्रको गलत प्रवृत्तिलाई रोक्न खोज्दा पछिल्ला उपलब्धिहरुको पनि सही संश्लेषण नहुने र भोलि पनि विचारको विकास अवरुद्ध हुन जाने कुरा भुतुक्कै बिर्सनु भएछ । उहाँको तर्कलाई जायज मान्ने हो भने आज माओवाद भन्न नहुने मात्र होइन भोली कहिल्यै र कसैले पनि सिद्धान्तको विकास गर्नै नपाउँने ठाउँमा पु¥याउँछ अर्थात् सिद्धान्तको विकासको बन्ध्याकरण हुन जान्छ । यो विचारले खेतमा प्राङ्गारिक मल राख्दा विषालु झारपात पनि फैलिएर पुरै खेती नै सखाप पार्न सक्ने हुनाले बरु प्राङ्गारिक मलको कारखाना नै बन्द गरिदिउँ भन्ने निष्कर्ष तिर डो¥याउँछ । आशा गरौं कमरेडले यसमा पुनर्विचार गर्नु हुनेछ । गलत प्रवृत्ति रोक्ने कुरा सही छ, तर नयाँ–नयाँ गलत प्रवृत्तिलाई रोक्नका लागि विचारको विकास गर्नु अनिवार्य छ । कुनै तर्कले पनि विचारको विकास अवरुद्ध हुने कुरालाई स्वीकार्न सकिन्न ।
छ, चिनियाँ कम्युनिस्ट पार्टीले १९४५ मा नै माओका योगदानहरुलाई माओविचारधारा पदावलीमा संश्लेषण गरेको थियो । यसकारण माओ विचारधाराले माओका त्यही अवधि भित्रका योगदानलाई मात्र समेट्छ । १९४९मा नयाँ जनवादी क्रान्तिको सफलता, चिनिया कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी संशोधनवाका विरुद्धको भीषण संघर्ष, समाजवादको निर्माण, ख्रुश्चेभी संशोधनवादका विरुद्धको संघर्ष, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र साम्यवादसम्मको यात्राका निम्ति सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तसम्म आइपुग्दा माओले गरेका यी सबै योगदानलाई ३१ वर्ष पहिलेको माओ विचारधारा पदावलीले समेट्न सक्दैन । क. असीमले ३१ वर्षका यी सबै योगदानमाथि किन नजरअन्दाज गर्नु भयो आश्चर्यको विषय भएको छ । मुख्यतः १९३५मा माओ पार्टीको नेतृत्वमा आएदेखि १९७६ सम्मका समग्र योगदानलाई समेटने गरी माओवाद पदावली प्रयोग गर्नु नै माओका योगदानको उचित मूल्यांकन र सही संश्लेषण हुन्छ ।
सात, माओवादको सान्दर्भिकता समाप्त भइसकेको भन्ने एउटा प्रसंगमा कमरेड असीम भन्नुहुन्छ, “नेकपा (माओवादी)ले प्रचण्डपथका लागि माओवाद पदावली प्रयोग गर्ने निर्णय गरेको थियो । प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाएपछि स्वतः माओवादको सन्दर्भ अनावश्यक भएको छ । अर्कोतिर देशमा रहेका अन्य कम्युनिस्ट घटक, समूह र व्यक्तिहरु समेत माओवाद पदावलीका कारण एकता प्रक्रियामा आउन चाहेर पनि आउन सकिरहेका छैनन् । त्यसकारण माओवाद पदावलीलाई हटाउने र माओ विचारधारा पदावली प्रयोग गर्ने निर्णय गर्न ऐतिहासिक आवश्यकता भएको छ ।”५ कमरेड असीमका यी भनाइले केही प्रश्न उठाएको छ । प्रचण्डका कारण माओवादको सान्दर्भिकता सकिएको र माओ विचारधारा एकमात्र सही विचार पुष्टि हुन गएको हो भने तपाइँहरुले माओ विचारधारा मान्ने नेकपा (मसाल) सँगको विद्रोह र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सँगको एकताको औचित्य कसरी सिद्ध गर्न सक्नुु हुन्छ ? फेरि, माओवाद पदावलीका कारण विगतमा क्रान्तिकारीहरुका बीचमा एकता हुन नसकेको हो भने दशकौंसम्म माओ विचारधारा भनेर अलग्गै बसेका तपाइँहरुले अन्य माओ विचारधारा मान्ने कतिओटा पार्टीहरुसँग एकता गर्नुु भयो त भनेर कसैले सोध्दा यसमा तपाइँको जवाफ के हुन्छ ?
कमरेड ! यी प्रश्नहरु मेरा होइनन् । मेरो भनाइ के मात्र हो भने प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाते भन्ंदैमा माओवादको औचित्य समाप्त हुँदैन । माओवाद सार्वभौम सिद्धान्त हो, प्रचण्डको विसर्जनवादसँग यसको कुनै सम्बन्ध छैन । बरु उल्टो, माओवादबाट विचलन प्रचण्डको विसर्जनवादको कारण हो । अहिले पार्टीमा भएको वाद र विचारका बीचको विवाद पदावलीको मात्र झगडा होइन यो सारतः माओका योगदानहरुलाई सार्वभौम मान्ने कि विशिष्ट मान्ने भन्ने हो । कमरेड असीमले आफ्नो प्रस्तावमा माओका योगदानलाई सार्वभौम भनेर कही कतै उल्लेख गर्नु भएको छैन । उहाँका तर्कहरुले माओका योगदान सार्वभौम होइनन् विशिष्ट हुन् भन्नेतिर लैजान्छ । समस्याको चुरो कुरो यही हो ।
आठ, कम्युनिस्ट आन्दोलनमा विचारधारालाई ट्रेडमार्क बनाउने प्रवृत्ति निकै बढिरहेको छ । नवउदारवादको सिरानी हालेर साम्राज्यवादको सेवागर्ने दक्षिणपन्थी संशोधनवादीहरु मध्ये कसैले माक्र्सवाद–लेनिनवाद–माओवाद त कसैले माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा पदावली प्रयोग गरेर विश्वभरि क्रान्तिको नाममा जनतालाई धोका दिंदै आएका छन् । यो स्थितिमा माओवाद भन्नेहरुले क्रान्तिप्रति गद्दारी गरेको हुनाले विचारधारा भन्नु सही हुन्छ, अथवा माओ विचारधारा भन्नेहरुले क्रान्तिप्रति धोका दिएको हुनाले माओवाद पदावली प्रयोग गर्नु पर्छ भन्ने दुवै तर्कहरु व्यवहारवादी तर्क हुन् सैद्धान्तिक होइनन् । मूलकुरा माओका योगदानलाई माओवाद वा माओ विचारधारा जे भनेपनि त्यसलाई सार्वभौम अर्थमा आत्मसात गर्ने कि नगर्ने र त्यो सिद्धान्तलाई दैनिक जीवन व्यवहारमा लागु गर्ने कि नगर्ने भन्ने हो । यहाँ मैले माओका योगदानलाई वाद वा विचार जे भने पनि हुन्छ भन्न खोजेको होइन । मेरो बुझाइमा माओका योगदानलाई सार्वभौम मान्ने र त्यसलाई दैनिक जीवन व्यवहारमा लागुगर्नेहरु क्रान्तिकारी हुन् र वाद वा विचार जुनसुकै पदावली प्रयोग गरे पनि त्यसलाई ट्रेडमार्कको रुपमा लिनेहरु प्रतिक्रान्तिकारी हुन् । आफ्नो “माओविचारधारा सम्बन्धी प्रस्ताव”मा कमरेड असीमले हिजो माओविचारधारा मान्नेहरुलाई माओवादीहरुले क्रान्तिकारी मान्दैनथे, आज त्यसमा पुनर्विचार गरेर सच्चिएका छन् भन्ने आशय व्यक्त गर्नु भएको छ । कुरा उहाँले भने जस्तो होइन । हाम्रो बुझाइ हिजो पनि त्यही थियो र आज पनि यही हो ।
अन्त्यमा, माओविचारधारा पदावलीले माओका सार्वभौम योगदानहरुको गुरुत्वलाई पक्रिन सक्दैन । यो पदावलीको प्रयोगले जान वा अन्जानमा माओका योगदानलाई चिनिया सीमाभित्र कैद गर्ने र अन्ततः क्रान्तिमा माओबाट शिक्षा लिने कामबाट पार्टीलाई विमुख गर्नेतिर लैजान्छ । माओका सार्वभौम योगदानहरुको गुरुत्वलाई पक्रिने वैज्ञानिक पदावली माओवाद हो । त्यसकारण, हाम्रो पार्टीको राष्ट्रिय एकता महाधिवेशनले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्नुपर्दछ ।
फुटनोट ः
१. लेनिन संकलित रचनाहरु, खण्ड ३८, पृष्ठ २२२
२. माओ, छानिएका रचनाहरु, खण्ड ९, पृष्ठ १२२
३. कमरेड असीम, माओविचारधारा सम्बन्धी प्रस्ताव
४. उही
५. उही