अहिले नेपालीहरुको घर आँगनमा दशैं,तिहार,छठ जस्ता चाडपर्वहरु आउँदैछन । यी चाडपर्वहरु मान्न देश विदेशबाट घरमा आउने क्रम चलिरहेको छ । देशको राजधानीमा अध्ययन, पेशा र रोजगारीको शिलशिलामा आएकाहरु पनि यो समयमा घर फर्कन्छन् । नागरिकहरु राजधानीबाट लाखौंको संख्यामा चाडवाडको समयमा बाहिरिने गर्दछन् । दशैंको समयमा घर जान भनेर अग्रिम टिकट काट्ने चलन छ । तर असोज १० देखि चार दिनसम्म लगातार भारी वर्षातका कारण सडक, बाटाघाटा क्षतविक्षत भएकाले र अझ थप वर्षात हुने खतरालाई ख्याल गरी अहिले काठमाडौमा तत्काललाई अग्रिम टिकट बुकिङ स्थगित गरिएकोछ ।
असोज दश देखिको बर्षातले देशभर २ सय भन्दा बढीको ज्यान गएकोछ, ३५ भन्दा धेरै बेपत्ता भएका छन् । अर्बौं सम्पत्ति नोक्सान भएकोछ । अहिले राजमार्गहरु कही खुल्ने र कहीँ बन्द हुने क्रम जारी छ । देशभरी सडक भासिने, खस्ने, नदीले बगाउने, पहिरोले पुर्ने समस्याले गर्दा सडकहरू अवरुद्ध भएका छन् । अहिले बाटाघाटा बिग्रेको कारण यात्रा सन्त्रासमय र जोखिमयुक्त छ ।
चाडपर्वका बेला गाडीमा यात्रा गर्दा यस पटक यात्रुहरूले ख्याल गरेर मात्र कोठा वा घरबाट निस्कन जरुरी छ । मौसम पुर्वानुमान विभागले बर्षात फेरि हुन सक्ने बताएको हुँदा पुनः प्राकृतिक बिपत्ति दोहोरिन सक्ने खतरा छ । मौसमको स्थिति विचार गरेर मात्र यात्रा तय गर्न जरुरी छ । त्यस निम्ति सरकारले जारी गर्ने सूचना ,मौसम विभागको पूर्वानुमान संचार माध्यमबाट सुन्ने गर्नु पर्दछ । नेपाल प्रहरीको फेस बुक पेजमा देश भरी सडक अबरुद्धबारे सूचना राखिएको हुन्छ । त्यसबाट जानकारी लिने र थप प्रहरी कार्यालयमा सोधपुछ गरी प्रष्ट हुन जरुरी छ । कतिपय वस ब्यबसायीहरूले बाटो अबरूद्ध भए पनि बाटो खुला छ भनेर झुक्याएर यात्रु चढाउने गर्दछन । प्रहरी प्रशासनले यातायात ब्यबसायीहरूको लापरबाहीलाई नियन्त्रण गर्नु पर्दछ ।
यदि सडक खराब छ र गन्तव्यमा पुग्न गाह्रो छ भने जबर्जस्ति यात्रामा निस्कनु हुँदैन । दशै जस्ता पर्व फेरि पनि आउँछ तर आफ्नै लापरबाहीले ज्यान गयो भने जीवन फर्केर कहिलै आउँदैन । कहिलेकाहीँ यात्रुको लापरबाहीले दुर्घटना हुन्छ । केही समय पर्खौ, हेरौं, स्थिति बुझेर मात्र अगाडि बढौ भनेर चालकले भन्दा भन्दै गाडी मालिक वा यात्रुले चालकलाई अनाबश्यक दबाब दिदा पनि दुर्घटना हुने गरेकाछन । यात्रामा चालकलाई अनाबश्यक दबाब दिनु हुँदैन । सरकारले जारी गरेको सूचनालाई बेवास्ता गर्दा पनि दुर्घटनामा पर्नु परेको छ । असोज दश गते पछि सरकारले भारी बर्षातको सम्भावना देखाउँदै गाडी नचलाउन सूचना जारी गरेको थियो ।
सरकारको सूचना बेवास्ता गर्दा केहीले ज्यान गुमाउनु पर्यो । आगामी दिनमा यस्ता सार्वजनिक सूचनालाई सबैले गम्भीरतापूर्वक ध्यान देऔं । दशैमा आवतजावत गर्न मुस्किल छ भने सडक यातायात सहज भए पछि मात्र यात्राको योजना बनाऔं । यात्रा तय गर्नै परे सडक ,मौसम सबैको जानकारी राखेर मात्र यात्राको योजना बनाऔं ।
चाडपर्वमा सुरक्षित यात्रा

Comments