उत्साहजनकढंगले राष्ट्रिय एकता महाधिवेशनको तयारी भइरहेको छ

– रामसिंह श्रीस
केन्द्रीय कार्यालय सदस्य तथा राष्ट्रिय एकता महाधिवेशन प्रचारप्रसार समितिका संयोजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

० आगामी मंसिर १३ देखि २३ गते सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन गर्दै हुनुहुन्छ । महाधिवेशनको समग्र तयारी कसरी अगाडि बढिरहेको छ ?
– हाम्रो पार्टीको राष्ट्रिय एकता महाधिवेशनको तयारी उत्साहजनकरूपमा अगाडि बढिरहेको छ । हामीले गत असारको अन्त्यमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकबाट दस्तावेजहरुको टुंगो लगाइसकेका थियौं । पहिलो चरणमा दस्तावेजहरु छपाएर सबै पार्टी कमिटीमा छलफलका लागि पठाइसकेका छौं । सबै पार्टी कमिटीमा कामरेडहरुले दस्तावेजको अध्ययन गरिरहनु भएको छ । साथीहरुले दस्तावेजको अध्ययन गरी सकेपछि दस्तावेज माथिका आफ्ना मत, आलोचना, खण्डन लेखेर केन्द्रीय कार्यालयमा पठाउनु भएको थियो । तिनीहरुलाई समेटेर फोरम १ अर्थात् “विचारधारा”–१ प्रकाशित ग¥यौं । साथीहरुले त्यसलाई पनि अध्ययन गरेर फेरि आफ्ना मतहरु केन्द्रीय कार्यालयमा पठाउनु भएको थियो । तीलाई पनि समेटेर विचारधारा अंक २ प्रकाशित भएको छ । विचारधारा–२ सबै प्रदेश र जिल्लामा पठाइसकिएको छ ।
पार्टीमा आन्तरिक बहस (फोरम ) पनि हामीले संचालन गरिरहेका छौं । फरक फरक मतका कामरेडहरु जिल्ला जिल्लामा गएर आफ्ना मत राखिरहनु भएको छ । बहस कार्यक्रममा उपस्थित कामरेडहरुले उत्साहका साथ भाग लिइरहनु भएको छ । पार्टीलाई कसरी व्यवस्थित, सशक्त, जनआधारित र क्रान्तिकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेकोछ । अधिकांश जिल्लामा फोरम सम्पन्न भइसकेको छ । केही जिल्लामा मात्र फोरम (आन्तरिक बहस) को कार्यक्रम सम्पन्न गर्न बाँकी छ । धेरै स्थानमा जिल्ला अधिवेशनहरु सम्पन्न भएका छन् । अधिवेशन वा भेला केही जिल्लामा बाँकी छ । महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने कार्य पनि केही जिल्लाहरुले टुंगो गरि सकेका छन् । एकता महाधिवेशनलाई हामीले क्रान्तिकारी आन्दोलनको हित हुने गरी बहसको केन्द्र बनाउने लक्ष्य राखेका थियौं । हामीले सोचे अनुरुप नै एकता महाधिवेशनको तयारी भइरहेको छ भन्ने लाग्छ ।
० तपाई राष्ट्रिय एकता महाधिवेशन प्रचारप्रसार समितिको संयोजक हुनुहुन्छ । प्रचारप्रसार कसरी अगाडि बढिरहेको छ ?
– प्रचारप्रसारका लागि हामीले सम्भव भए सम्मका सबै उपायहरूलाई प्रयोग गर्ने कोसिस गरेका छौं । डिजिटलको प्रयोग, सामाजिक सन्जालको प्रयोग, भित्ते लेखन, रेडियो, टेलिभिजनबाट समाचार र अन्तर्वार्ता,पत्रपत्रिकामा समाचार ,लेख आदिको प्रकाशन, होर्डिङ बोर्डको निर्माण लगायतका कार्यहरू भइरहेका छन् । अन्तर्राष्ट्रिय नाकाहरु जस्तै महेन्द्रनगरको गड्डाचौकी नाका, धनगढीको गौरीफण्टा नाका, रुपन्देहीको सुनौली नाका,बुटवल बस पार्क ,पर्साको रक्सौल नाकामा महाधिवेशन प्रचारको होर्डिङबोर्ड राखिएकोा छ । त्यसबाहेक बाराको सिमरा , पथलैया, काठमाडौंको नागढुंगा,सितापाइला, टोखा, काभ्रेको बनेपा साँगा चोक,भकुण्डे बेसी, उदयपुरको गाइघाट लगायतका स्थानहरुमा होर्डिङ बोर्ड÷ फ्लेक्स प्रिन्ट राखिएको छ । बर्दिया, बाँके,सुर्खेत, कन्चनपुर, रुपन्देही, नवलपरासी, सुनसरी , मोरङ,पाल्पा लगायतका जिल्लाहरूमा वालपेन्टिङ गर्ने कार्यक्रम चलिरहेको छ। । राष्ट्रिय एकता महाधिवेशनको प्रचारका लागि कलाकार साथीहरुलाई जिंगल बनाउने जिम्मा दिइएको छ । पार्टीका नेता कामरेडहरुले विभिन्न संचार माध्यमबाट अन्तर्वार्ता दिने कार्य पनि गर्नु भएको छ । पार्टीका वैधानिक पत्रिकामार्फत र पार्टी बाहिरका सन्चार माध्यम मार्फत महाधिवेशनमा उठेका विचारहरू प्रकाशन प्रशारण भइरहेका छन् ।महाधिवेशन प्रचारका लागि साँस्कृतिक कार्यक्रम सहित कोणसभा गर्ने पनि हामीले सोंचेका छौ ।
० राष्ट्रिय एकता महाधिवेशनको मुख्य महत्व के हो ?
– महाधिवेशनको मुख्य दुई वटा महत्व हुन्छ– एक ,नीति निर्माण गर्ने र अर्को, नेतृत्व चयन गर्ने । निश्चय नै यस महाधिवेशनले पनि यी दुई काम गर्ने छ। यस महाधिवेशनले नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिक र व्यबहारिकरुपले दिशाबोध गर्नेछ । नेपालको कम्युनिस्ट आन्दोलनमा आएका अनेकौं भड्कावहरुलाई चिर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन मार्ग प्रशस्त गर्नेछ । अहिले महाधिवेशनकै प्रक्रियाका सन्दर्भमा हामीले नेपाली क्रान्तिको कार्यदिशाका बारेमा व्यापक छलफल गरिरहेका छौं । प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट पनि सर्वहारा वर्गले राज्य सत्ता प्राप्त गर्न सक्दछ भनेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित पारिएको छ । हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई त्यो भ्रमबाट मुक्त गरी सही दिशामा हिडाउने छौँ ।
० तपाईहरुले लामो समयदेखि भन्दै आएको दीर्घकालीन जनयुद्धको कार्यदिशालाई किन त्याग्नु भयो ? सहरीय सशस्त्र विद्रोहलाई निर्णायक संघर्ष किन ठान्नु भयो ?
– पहिलो कुरा त संघर्षको कुनै निस्चित रूप हुँदैन । समय परिस्थिति अनुसार संघर्षको विभिन्न रूप अपनाउनु पर्दछ । आगामी दिनमा अहिले सम्म देखा नपरेको संघर्षको नयाँ रूपहरू पनि सक्दछन् । तपाईले उठाउनु भएको दीर्घकालीन जनयुद्ध र सहरीय सशस्त्र विद्रोह दुवै सशस्त्र संघर्षका रूपहरू हुन् । सहरबाट मात्र जनविद्रोह हुन्छ भन्ने हुँदैन ।समय परिस्थिति अनुसार जनताले जुनसुकै ठाउँबाट पनि विद्रोहको शुरुआत गर्न सक्दछ ।नेपाल जस्तो देशमा दीर्घकालीन जनयुद्धको कार्यनीति अहिलेको स्थितिमा सही हुन्न भन्ने हाम्रो निश्कर्ष हो । तर अर्को कुरा तिर पनि हाम्रो ध्यान जानू पर्दछ कि संघर्ष गर्दै जाँदा दीर्घकालीन जनयुद्धको स्थिति पनि आउन सक्दछ।मानौँ सशस्त्र विद्रोह असफल भयो र युद्ध लम्बिदै गयो भने त्यसले दीर्घकालीन जनयुद्धको रूप लिन पनिसक्दछ ।मैले भन्न खोजेको कुरा के हो भने अहिले हामीले सत्ता प्राप्तिको मुख्य बाटो सशस्त्र विद्रोह भने तापनि बेग्लै परिस्थिति सृजना भएर दीर्घकालीन जनयुद्धमा जानू पर्ने हुन सक्दछ।त्यो कुरा परिस्थितिमा भर पर्दछ ।
० नेपालमा जनवादी क्रान्तिको कार्यदिशा पश्चगामी भइसक्यो । समाजवादी क्रान्तिको कार्यदिशा आवश्यक छ भनेर तपाईकै पार्टीका धर्मेन्द्रजीको समूहले पार्टी परित्याग गरिसक्नु भयो ?
– त्यो धर्मेन्द्रजीहरूको मनोगतवादी दृष्टिकोण हो । समाजवाद लागू गर्नका लागि पुँजीवादको विकास भैसकेको हुनु पर्दछ । त्यसैले समाजवाद लागू गर्ने पूर्वाधार तयार भैसकेको छैन । त्यसैले हामीले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै समाजवादी क्रान्तिको लागि अगाडि बढ्नु नै वस्तुगत यथार्थ सित मेल खाने पार्टी कार्य दिशा हो ।
० तपाईको पार्टीले बलप्रयोगको सिद्धान्तमा विश्वास गर्दछ । तर पछिल्लो अवधिमा बलप्रयोगको सिद्धान्त पनि व्यवहारमा असफलसिद्ध हुँदै आएका छन् । जस्तै पेरुको जनयुद्ध, नेपालको जनयुद्ध, वर्षौंदेखि भारतमा चलिरहेको माओवादी हिंसात्मक कार्य, कुर्दिसहरुको सशस्त्र विद्रोह, इण्डोनेशियामा कम्युनिस्टहरु माथिको दमन आदिलाई देखाएर बल प्रयोगको सिद्धान्तको औचित्यता छैन भनेको सुनिन्छ । यसबारे के भन्नुहुन्छ ?
– तपाईले उठाएको कुरा गलत छ ।जब सम्म समाजमा वर्ग रहन्छ तब सम्म वर्ग संघर्ष चलिरहन्छ । वर्ग संघर्षमा जीत हार भइरहन्छ। तपाईले भने जस्तै केही देशमा जनताको हार भएको छ । ती हारहरू अस्थायी हुन् ।वर्ग संघर्ष सकिएको छैन । अन्तिम जीत जनताकै हुनेछ ।
० एकता महाधिवेशन पछि पार्टी कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
– महाधिवेशन पछि पार्टीले गति पक्रिने छ। तमाम शोषित पीडित जनताको बीचमा संगठन, संघर्ष अगाडि बढाउँदै जानेछ । संसदीय प्रतिक्रियावादी राज्य सत्ताका विकल्पमा क्रान्तिकारी शक्तिको निर्माण कार्यलाई सशक्त ढङ्गले अगाडि बढाइने छ ।
० तीन पार्टी नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (बहुमत) र नेकपा(मशाल) का बीचमा पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाउनु भएको छ । विवादहरु छर्लङै देखिएका छन् । यी मतभेदहरुलाई कसरी हल गर्नु हुन्छ ?
– २०८१ बैशाख १९ गते मई दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल) का बीचमा पार्टी एकता भएको थियो। दर्शनमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई ग्रहण गर्ने र पार्टी जीवनमा लागु गर्ने , सिद्धान्तमा माक्र्सवाद, लेनिनवादलाई स्वीकार गर्ने,माओका योगदानहरूलाई आत्मसात गर्ने मुख्यतः सर्वहारा अधिनायत्व र महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई आत्म सात गर्ने ,सशस्त्र संघर्ष अर्थात वल प्रयोगको सिद्धान्तलाई मान्ने , सर्वहारा अन्तर्राष्ट्रवादलाई अपनाउने, राजनीतिक कार्यदिशामा मूलतः सशस्त्र जन विद्रोहबाट सट्टा लिने, नेपाली समाजको चरित्रको विश्लेषणमा अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक विशेषता सहितको मूलतः नव औपनिवेशिक चरित्र रहेको विश्लेषण, रणनीतिमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवाद लागू गर्ने ,कार्यनीतिमा विद्यमान व्यवस्थाका विरुद्धमा कार्यनीतिहरू तय गर्दै जाने, जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोहकोरूपमा कार्यनीतिक शृङ्खलाको विकास गर्ने, जनवादी केन्द्रीयताबाट पार्टी र संगठन सन्चालन गर्ने । पार्टीका यी मूलभूत विषयमा हाम्रो सहमति छ । सहमत हुन नसकेका तीन वटा विषयलाई अन्तरिम कालका लागि एउटा साझा सहमति बनाएर अगाडि बढ्ने काम भएकोछ । अन्तरिमकालका लागि सहमतिका विषयहरू– १. पथप्रर्दशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद÷माओविचारधारा ,२. जनयुद्धको मूल्यांकन “ ऐतिहासिक माओवादी जनयुद्ध“ भन्ने र ३) राज्यपुनःसंरचनाको प्रश्नमा जातीय क्षेत्रीय स्वशासनलाई अफिसियल लाइन बनाएर जाने । महाधिवेशनको प्रक्रियामा जाँदा यी तीनवटै विषयमा खुला छलफल भइरहेको छ । माओवाद वा माओविचारधारा, जनयुद्धको मूल्याङ्कन गर्दा उग्रवामपन्थी कमजोरी भएको मान्ने कि नमान्ने, राज्यपुनर्संरचना गर्दा पहिचान र सामर्थ्य सहितको संघीयता हुनु पर्दछ कि एकात्मक प्रणाली अन्तर्गत विकेन्द्रीयता र स्थानीय स्वायत्त शासन हुनु पर्दछ जस्ता विषयमा पार्टी भित्र र बाहिर व्यापक छलफल भइरहेकोछ । यस्ता छलफलले विषय वस्तु माथि स्पष्टताका लागि साथीहरूलाई सहयोग नै पुगेकोछ ।
महाधिवेशनमा गएर यी विषय माथि हामीले टुङ्गो लगाउछौं । कतिपय विषयमा सहमति कायम गर्नु पर्ने हुन्छ । कतिपय विषयमा जनवादी केन्द्रीयताको विधि अपनाउनु पर्ने हुन सक्छ ।
० बजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वबारे पनि चर्चा चलिरहेको छ । पार्टी नेतृत्वबारे के निर्णय होला ?
– कम्युनिस्ट पार्टी सामुहिक नेतृत्वबाट सन्चालन हुने पार्टीभएकाले जो जो कामरेडहरू नेतृत्वमा आए पनि नेतृत्वको विषयलाई लिएर ठूलो समस्या हुँदैन । कम्युनिस्ट पार्टीका लागि नेतृत्वको विषय अबश्य पनि महत्वपूर्ण विषय हो । त्यसकारण हाम्रो पार्टी पंक्ति भित्र रहेका क्रान्तिकारी दृष्टिकोण ,आचरण,दृढता, निरन्तरा ,रचनात्मक क्षमता भएका नेतृत्वको केन्द्रीकरण हुन्छ ।
० देशको राजनीतिमा मुख्य राजनीतिक दलहरु संविधान संशोधनतिर लागेका छन् । त्यसबारेमा के भन्नु हुनछ ?
– संविधान संशोधन गर्ने मुख्य उद्देश्य राखेर वर्तमान नेका– एमाले गठबन्धन सरकार बनेको हो भनिन्छ । संविधानमा के कति संशोधन गर्ने बारेमा ठोस प्रस्ताव लिएर आउन सकेका छैनन् । संविधान संशोधन गर्दा मात्रात्मक रूपले भए पनि देश र जनताको हितमा हुने भए त्यसलाई हामीले सकारात्मकरूपमा नै लिने छौँ । छँदा छँदैको जन अधिकार खोस्ने गरी संविधान संशोधन गर्न खोजेमा हामी त्यसको सशक्त विरोध उत्रिने छौँ ।तर एउटा कुरा के पक्का छ भने यो संविधान जतिसुकै संशोधन गरे पनि देश र जनताको मुक्ति हुने वाला छैन । यो संविधान खारेज गरेर जनवादी गणतन्त्रात्मक संविधान लेख्ने दिशामा आन्दोलनको विकास गर्न जरुरी छ ।
० तपाईहरुका यी कुरालाई कतिपयले वाम संकीर्णवादी भनेको सुन्नुभएको छ ? तपाईको पार्टीले कार्यनीति र रणनीतिमा भिन्नता छुट्टाउन नसकेको, रणनीतिलाई नै कार्यनीति बनाएको भनेर टिप्पणी गरेको सुन्नु भएको छ ?
– यो व्यवस्थालाई स्वीकार नगरे पछि हामीलाई वाम संकीर्णवादी वा रणनीतिलाई कार्यनीति बनाएको वा कार्यनीति र रणनीतिमा भिन्नताछुट्टाउन नसकेको भनी आलोचना गरेको सुनिन्छ । हामीले यथास्थितिलाई पक्षपोषण गर्ने कार्यनीति नलिएकाले हामीलाई वाम संकीर्णवादी भन्नू वा रणनीतिलाई कार्यनीति बनायो भन्नूको कुनै तुक छैन । क्रान्तिको कुरा गर्ने तर यथास्थितिवादबाट माथि उठ्न नसक्नेहरूले हामीलाई यो आरोप लगाएका हुन् ।
० तपाई आन्तरिक बहस (फोरममा) पनि जानुभयो । कस्तो महशुस गर्नुभयो ?
– फोरम अर्थात आन्तरिक बहस उत्साहजनक छ । साथीहरूले कम्युनिस्ट आन्दोलन ,पार्टी ,संगठनका बारेमा खुलेर छलफल गर्नु भएको छ । यसले पक्कै पनि आगामी कम्युनिस्ट आन्दोलनको दिशा निर्धारण गर्नमा महत्वपूर्ण टेवा पुर्याउने छ भन्ने मैले ठानेकोछु ।
० अन्त्यमा हाँक मार्फत् भन्नु केही छ कि ?
– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विचारलाई जनताको वीचमा लाने अवसर प्रदान गर्नु भएकोमा हाँक साप्ताहिकलाई धन्यवाद छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित