हाँकलाई शुभकामना

-प्रेमसागर पौडेल
हाँक साप्ताहिक पत्रिका ४२ औँ वर्ष प्रवेशको सन्दर्भमा पत्रिका र प्रकाशनमा प्रत्यक्ष संलग्न लगायत समस्त हाँक परिवारका साथीहरुलाई शुभकामना व्यक्त गर्दछु । पंञ्चायतकालीन कठिन परिस्थितिमा हाँक पत्रिकाको प्रारम्भ गर्नुभएका सहिद “शोभाखर धनन्जय“ प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । यससन्दर्भमा मेरो अभिमतका लागि सम्झिनु भएकोमा हाँकका साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।
मान्छेहरुका सोचाइ, उद्देश्य र दृष्टिकोणहरु फरक–फरक हुन्छन् र आफ्नो अनुकूलतामा नै कुनै विषय वा बस्तु उनीहरुको लागि महत्वको हुन्छ । मेरो जीवन र कर्मका सन्दर्भमा हाँक एउटा अभिन्न पाटो हो । चाहे हाँकको औपचारिक जिम्मेवारी पाउँदाको समय होस्, वा त्यो भन्दा पहिलेको अवस्था होस् । समाचार संकलकका रुपमा, स्तम्भकारका रुपमा, सहयोगीका रुपमा, व्यवस्थापकका रुपमा वा अनौपचारिक नै सही सम्पादककै भूमिकामा मैले नौ वर्ष हाँकसँग बिताएको छु । सिताराम तामाङको म्हैपि, गोपाल बानियाँको भिमसेनस्थान हुँदै शान्तरामको डिल्लीबजारसम्म…। काठमाडौंमा रहँदा धेरै मंगलबारका दिन–रात र बुधवारको दिन पनि हाँकका लागि समर्पित गरेको थिएँ । कार्यकारी सम्पादकहरु केशव नेपाल, शिव तिवारी, सन्तबहादुर नेपाली र युवराज पन्थीसँगको सहकार्य अविस्मरणीय नै छ ।
आर्थिक समस्या त्यो बेला पनि हाँक प्रकाशनको सबैभन्दा ठूलो समस्या थियो । पार्टीकै पत्रिका भएर पनि पार्टीको एउटा तप्का हाँकलाई सहयोग गर्दैनथ्यो । पार्टीमा सही समझदारी थिएन । पत्रिकाको निरन्तरताका लागि मोहनबिक्रम सिंहको भूमिका र योगदान अग्रस्थानमै रह्यो । ईमेल त्यति प्रचलनमा थिएन, फ्याक्स गरेरै भएपनि देश विदेश जहाँ रहँदा होस् ठिक समयमा आफ्ना लेखहरु पठाईरहनु भयो । पत्रिकालाई पार्टी बैठकमा एजेण्डा बनाईरहनु भयो होला भन्ने लाग्छ । कतिपय केन्द्रीय समितिका बैठकमा बोलाइएकोले मैले अवस्था र योजनाहरु पनि प्रस्तुत गरेको थिएँ । अपेक्षित परिणाम नआए पनि “हाँक अभियान”हरु पनि सञ्चालन भएका थिए । तर पार्टीको एउटा पंक्ति र पत्रिका बीच राम्रो समझदारी थिएन । अवस्था कतिसम्म तिक्ततापूर्ण थियो भने स्कूले जीवनदेखिको मेरो राजनैतिक अग्रज, गुरु कृष्ण पौडेलसँग सन्तबहादुरजीको कोठा (डिल्लीबजार बाटुलेघरनेर) को संवाद र दृश्य पनि मेरो दिमाखमा अझ ताजै छन् । केशव नेपाल पनि हुनुहुन्थ्यो त्यो बसाईमा ।
अहिले पनि हाँकसँग सम्बन्धित र जिम्मेवार व्यक्तिहरु भएकाले मैले उहाँहरुको नाम लिएँ । हाँकको रकम उठाउने सन्दर्भमा पार्टीको बाग्लुङ जिल्ला समितिको एउटा बैठकमा म उपस्थित थिएँ, साथी भरत पौडेल र कृष्ण थापा लगायतको अभिव्यक्ति र भूमिका मैले सधै सम्झिरहनेछु ! पैसाको अंक ठूलो नभए पनि सानो चित्तका साथीहरुबाट हाँकमा सानै तर गम्भीर अनियमितता थियो । पहिले म आफै व्यवस्थापक भएर सञ्चालन गरेको डिल्लीबजारको “विविध सेवा” मा हाँक टाईप गर्न पनि दिईएन ! मलाई यो थाहा छ कि त्यस्तो भूमिका खेल्ने साथी पनि अहिलेको हाँकसँग खास सम्बन्धित हुनुहुन्छ । जनतन केही निजी रकम जुटाएर ललितपुरको कुम्भेश्वरमा रहेको आफ्नो सानो डेरामा नै एकसेट कम्प्युटर राखेर पनि हाँकलाई निरन्तरता दिईयो । एउटा खाट, एउटा कम्प्युर टेवल र सानो किचन ¥याक मात्र अट्ने त्यो साँघुरो कोठाबाट पनि युवराज पन्थी, सन्तवहादुर नेपाली र शशिधर भण्डारी लगायतका साथीहरुले हाँक सम्पादनको काम गर्नुभयो ।
अहिलेका साथीहरुलाई कथा जस्तै लाग्ला, चाहे भिमसेनस्थानमा छापिदा होस् चाहे डिल्लीबजारमा छापिदा । भित्रको ४ पेज “म्याटर” बोकेर सहयोगी साथी भुवन मास्के वा कविराज अधिकारी (मेरो व्यवस्थापकीय कालमा मुख्यतः उहाँहरु मध्ये एक) सहयोगी रहनु भयो । दिउँसो २ बजेतिर प्रेस जानुहुन्थ्यो । “म्याटर” लिएर गएपछि उहाँ प्रेस तिरै बस्नुहुन्थ्यो । बाहिरी ४ पेज तयार गरेर प्रायःजसो म नै कुम्भेश्वर, शंखमुल, विजुलीबजार, अनामनगर भएर राति १÷२ बजे पैदलै डिल्लीबजार प्रेसमा पुग्दथेँ । पत्रिका छापिदा, छुट्टाएर पोका पार्दा ४ बज्दथ्यो । कलंकी, पुल्चोक र एयरपोर्टबाट विहान, हुलाकबाट दिउँसो र गोगंवु बसपार्कबाट बेलुका पत्रिका पठाउनु पर्दथ्यो । अरुको पत्रिका बोक्ने ट्याक्सीसँग भाडा सेयर गरेर कलंकी एक जना जानुहुन्थ्यो । हाम्रो स्टाफ नभए पनि हरि रेग्मीको समेत ठूलो योगदान छ हाँक वितरणमा । कलंकी गएको साथी आएर हुलाकको पत्रिका तयार पार्नुपर्दथ्यो । म जहाजबाट धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, सिमरा, विराटनगर, भद्रपुर पठाउने ५० केजी भन्दा बढी तौलका मुठाहरु डिल्लीबजार, मैतिदेवी, भिमसेनगोला हुँदै काँधमै बोकेर एयरपोर्ट जान्थेँ । एयरपोर्टको पत्रिका पठाएपछि भिमसेनगोलाबाट शुरु गरेर ललितपुरको धोवीघाटसम्म रहेका २५६ ग्राहकको घरमा पत्रिका पु¥याउँदा बुधवार दिउँसोको ३÷४ बजेको हुन्थ्यो । हुलाकको पत्रिका पु¥याए पछि एकजना साथी नाईटबसमा पत्रिका पठाउन गोंगबु जानुहुन्थ्यो भने, बुधवारको रात्री बसमा हाँकको ग्राहक, बिक्री शुल्क वा विज्ञापन आदिका लागि म कुनै जिल्ला तर्फ लाग्दथेँ । जसरी भएपनि सोमवारसम्म अर्काे अंक निकाल्न कागज मात्र किन्ने भएपनि पैसा जुटाएर काठमाडौं फर्किनु पर्दथ्यो । पैसा नहुँदा उधारो छापिदिएर प्रेसका सञ्चालकहरुले पनि ठूलो गुन लगाएका छन् ।
हाँकमा प्रकाशन सामग्रीको समस्या पनि आईरहन्थ्यो । एक, दुई र आठ पेजका स्तम्भ सहित तीन, चार, पाँच र छ पेजका सबै सामग्री विभिन्न नाममा आफै लेख्नुपर्ने दिनहरु पनि आए । हाँक साप्ताहिकका पुराना अंक समेत खोजेर प्रत्येक वर्षको छुट्टाछुट्टै हार्डव्यान्डिङमा (५ वर्यका) कम्पाईल तयार पार्ने र सम्भव भएसम्म लाईव्रेरिमा पु¥याउने काम मैले गरेको थिएँ । त्यसपछि त्यसप्रकारको व्यवस्थित अभिलेखिकरणले निरन्तरत पायो पाएन मलाई जानकारी छैन । विचारको तहमा पार्टीको तत्कालिन संस्थापन पक्षको नजरमा म अराजकै हुँ । पार्टीले गरेका कतिपय गलत निर्णय र पार्टीका साथीहरुले संसदमा खेलेको गलत भूमिकाका बारेमा हाँकबाटै मैले प्रशस्त बिरोध र आलोचना गरेको छु । पार्टीका बैठकहरुमा म धेरै पटक छलफलको एजेण्डा बनेको केही सिसिएमबाट थाहा पाउथे; तर मसँग प्रयत्क्षरुपमा त्यसबारेमा पार्टी नेतृत्वले कहिल्यै छलफल गरेन । हाँक साप्ताहिकबाट विदा भएपछि प्रधानसम्पादक र व्यवस्थापकलाई बरबुझारथको कागज गराएर सबै हस्तान्तर गरेँ । तर, त्यो बेला मेरो जिम्मेवारीमा लिएको ऋण–सापटीको रकम पनि चुक्ता गर्ने काम कहिल्यै भएन !
हाँक प्रकाशन प्रारम्भदेखि अहिलेसम्म बाह्य राजनैतिक परिस्थिति धेरै फेरिएको छ । समाज र सुचनाका स्रोतहरु बदलिएका छन् । तर, समाजको आधारभुत वर्ग, उसका समस्या र वर्गीय अन्तरविरोधहरु सारमा उस्तै र अझ जर्जर बनेर गएका छन् । कुरामा “रेभुलेसन” ओकल्ने कम्युनिस्ट साथीहरु सारमा “ईभोलुसन”का पुजक बनेर दिन काटिरहेका छन् । जनै, कन्दधि, टीका, प्रसाद, भोज, जात्रा, विहे, उत्सव, चाड पर्वको निसारताको तुवाँलोमा “क्रान्तकारी” ले दिन कटाउनु मेरो विचारमा पाखण्ड हो । हाँक साप्ताहिकले अन्तर्मन र अन्तर्वस्तुबाटै यसलाई पक्रिन र बदल्न सशक्त भूमिका खेल्न सकोस भन्ने अपेक्षा राख्दछु । म आफै कृषि कर्ममा लागेको छु, कृषकका पीडा वास्तवमा भोगेको छु र नजिकबाट बुझेको छु । नेपालको सन्दर्भमा किसान नै क्रान्तिको आधारभूत वर्ग हो र रहिरहनेछ । औद्योगिक मजदुर वर्ग नेपालमा क्रान्तिको आधारभूत वर्ग हुने सम्भावना मैले अरु धेरै दशकसम्म पनि देख्दिन । त्यसैले हाँक अन्तर्मनदेखि किसानका बीचमा पुगोस्, किसान वर्गको आवाज र आन्दोलन बनोस भन्ने मेरो चाहना छ । क्रान्तिमा “क्याटलिस्ट“ को भूमिका हुन्छ । सही समझदारीका साथ आँट ग¥योे भने “क्याटलिस्ट” बनेर पनि क्रान्तिको ज्वाला दन्काउन सकिन्छ भन्ने मलाई लाग्दछ । यो अंकदेखि अर्काे अंकसम्मको यात्रा मात्र होईन, नेपाली क्रान्तिका लागि पत्रिकाले खेल्नसक्ने सार्थक भूमिकाको अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित