प्यूठान । संयुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानले झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेललाई जातीय विभेद गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय प्यूठानमा मुद्दा दर्ता गरेको छ । पोख्रेलले झिम्रुक गाउँपालिकाका गाडी चालक रेशम सुनारलाई पटक पटक जातीय विभेद गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । अभियोग पत्रमा पोख्रेललाई तुरुन्त पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरिएको छ । मुद्दा दर्ता पछि २०८१।०८।०४ गते संयुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानको तर्फबाट जारी सार्वजनिक वक्तव्यमा सो कुरा स्पष्ट गरिएको छ ।
सार्वजनिक वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –झिमरुक गाउँपालिकाका उपाध्यक्ष श्री प्रमोद पोख्रलले गाउँपालिकाका गाडी चालक रेशम सुनारलाई पटक पटक गरेको जातीय भेदभाव प्रति प्यूठान जिल्लाका दलित समुदायको तर्फबाट घोर भत्सना गर्दछौं । पीडित रेशम सुनारले आफु माथि भएको जातीय विभेदको घटनाबाट न्यायका लागि झिमरुक गाउँपालिकाको दलिल संजालमा मिति २०८१ कात्तिक २३ गते निवेदन दिएका थिए । उक्त दलित संजालकोे निर्णय अनुसार जिल्लामा संयुक्त राजनैतिक दलित सर्घष समितिमा निवेदन सहित छलफल गर्ने निर्णय गरेको थियो । संजालको निवेदन अनुसार दलित संगठनको संयुक्त राजनैतिक दलित सर्घष समिति प्यूठानको २०८१ कात्तिक २९ गते बसेको बैठकले निज प्रमोद पोख्रेललाई कानूनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा मुद्दा दर्ता गरी अगाडि बढ्ने निर्णय भएको थियो ।
जातीय विभेद नेपालको संविधान, कानुन र मानव अधिकार विपरीतको कार्य हो । झिमरुक गाउँपालिकाको न्यायिक समितिको संयोजक समेत रहेका निज उपाध्यक्ष पोख्रेलले गरेको व्यवहार निन्दनीय र खेदजनक छ । सिङ्गो दलित समुदायको अपमान हुने गरी गरिएको जातीय विभेद सम्बन्धी घटना निकै निन्दनीय छ । नेपालको संविधानले जातीय विभेदको घटना एक अपराधको रुपमा उल्लेख गरेको छ । गाउँपालिकाको न्याय दिने प्रमुखले यो प्रकारको अपराध गर्नु दुःखद कुरा हो ।
निज उपाध्यक्षले नेपालको संविधान र जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ को बर्खिलाप गर्दै उक्त स्थानीय सरकारको गाडी चालक माथि गरेको अमानवीय व्यवहारले हामी कानूनी न्यायका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा मिति २०८१ मसिंर ४ गते मुद्दा दर्ता गरी अगाडि बढेका छौं । पोख्रेललाई तुरुन्त पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाई हदै सम्मको कार्वाही गरी पीडितलाई न्याय दिलाउन सयुक्त राजनैतिक दलित संघर्ष समिति प्यूठानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै यस्ता खालका घटना जिल्लामा हुन नदिन सम्पुर्ण दलित समुदाय सचेत रहन अनुरोध गर्दछौ । साथै सम्बन्धित निकायहरुले निष्ठापुर्वक दोषीलाई हदै सम्मको कार्वाही गरी पीडित रेशम सुनारलाई न्याय दिलाउन जोडदार अपिल गर्दछौ । यस कार्यमा सहयोग गर्ने सबै प्रति पीडित र संयुक्त राजनीतिक दलित संर्घष समिति प्यूठानको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ । वक्तव्यमा हस्ताक्षर गर्नेहरू
रेकम सुनार(जिल्ला सल्लाहकार जातीय समता समाज प्यूठान) निम बहादुर सुनार(जिल्ला अध्यक्ष, मुक्ति समाज नेपाल प्यूठान),
,सुनिल सापकोटा(नेपाल दलित मुक्ति मोर्चा प्यूठान, इन्चार्ज),जितामित्र सुनार(प्रतिनिधि, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल),
केशव बि.क. नेपाल दलित मुक्ति मोर्चा जिल्ला संयोजक),
बिनोद बि.क.(अध्यक्ष दलित संजाल झिमरुक गा.पा.),
खिम बहादुर बि.क .(जातीय समता समाज प्रतिनिधि),
अइन्द्र बि.क.( झिमरुक गा.पा.दलित संजाल सल्लाहकार संयोजक),
बाबुराम सुनार (दलित अधिकारकर्मी)
गिरजोन बि.क.(दलित अधिकारकर्मी),
दिलिप कुमार बि.क.( दलित अधिकारकर्मी)
र अर्जुन सुनार(लित अधिकारकर्मी)