काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको प्रचारकै क्रममा स्थानीय तह उपनिर्वाचनको बहिष्कार कार्यक्रम पनि संचालन गरेको छ । क्रान्तिकारीको आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा राष्ट्रिए एकता महाधिवेशन सम्पन्न हुँदैछ । आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ स्थानमा उपनिर्वाचन हुँदैछ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा,
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय प्रवक्ता सुदर्शनले बुर्जुवा निर्वाचन कम्युनिस्ट पार्टीका लागि कार्यनीतिक विषय हो भन्दै आगामी मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचन बहिष्कार गर्ने पार्टीको नीति सार्वजनिक गर्नु भएको छ । २०८१ कार्तिक २८ गते प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः“विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं. २०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।’ हाल यहाँ तथाकथित कम्युनिस्टहरुको चुनावमा रहेको सहभागिता र उनीहरुको शासनमुनि जनताको भोगाइले यही भनाइलाई सावित गरेको छ ।
सर्वविदितै छ, कम्युनिस्टहरुले चुनावलाई आफ्नो रणनीति पुरा गर्ने कार्यनीति बनाउनुपर्छ । उनीहरुले तात्कालिक परिस्थितिको ठोस विश्लेषण गरी बहिष्कार वा उपयोग गर्दछन् । रणनीतिलाई फाइदा हुने शर्तमा उपयोग र बहिष्कार दुवै गर्नुपर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यनीतिका नाममा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावमा भाग लिने र चास्नीको झिंगा बनी त्यसैलाई रणनीति बनाउने समस्या रहेको कुरा जगजाहेर छ । नेकपा (एमाले) र नेकपा (माके) यही कार्यनीतिको चास्नीमा डुबिरहेको दृश्य सबैले हेरिरहेकै छन् । त्यसकारण चुनाव रणनीतिक महत्वको कार्यनीति भएकोले हामी आम जनसमुदायलाई होसियार रहन विशेष अनुरोध गर्दछौं ।
नेपालमा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावबाट नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । यो पुँजीवादी अर्थव्यवस्थामा आधारित पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत हुने चुनाव होइन, बरु दलाल पुँजीवादी अर्थव्यवस्थामा आधारित दलाल संसदीय व्यवस्था अन्तर्गत हुने रिक्त स्थानको स्थानीय चुनाव हो । आज नेपालमा संघीय, प्रादेशिक र स्थानीय चुनावमा जित्नेहरु जनप्रतिनिधिहरु होइनन्, बरु नवधनाढ्य र दलाल पुँजीवादका पुच्छर बन्दै गएका छन् । स्थानीय निकाय स्वयं भ्रष्टाचारका शिकार बन्दै गएका छन् । पालिका प्रमुखहरुको भ्रष्टाचारको साझेदारी नातावादसँग घनिष्ट रुपले जोडिएको छ ताकि भ्रष्टाचारको अलिकति पनि आम्दानी परिवारबाहिर नजाओस् । स्थानीय निकायका कर्मचारीहरु योग्यताका आधारमा होइन, नाता वा आफ्नै पार्टीको सदस्य भएको आधारमा नियुक्ति गरिन्छ । शोषित– उत्पीडित वर्गका मानिसहरु चुनिएर जनपक्षीय कार्य गर्ने स्थिति नै छैन ।
स्थानीय चुनाव पनि नव धनाढ्यहरुको कब्जामा परिरहेको छ । एमाले र माकेको चुनावमा भाग लिने कार्यनीति वास्तवमा रणनीतिमा बदलिएको छ र त्यसले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई बलियो बनाउन, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी चेतनालाई धमिल्याउन, क्रान्तिकारी पार्टी र संगठन निर्माणमा असमर्थ बनाउन र सामाजिक जीवनको विकासमा व्यवधान खडा गर्न मद्दत गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस चुनावमा भाग लिनुको परिणाम पनि अर्को परिस्थिति तयार नभएसम्म यही हुनेछ । यसको साथै हाम्रो पार्टीका सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान गर्दछौं । त्यसकारण हाम्रो पार्टी यो रिक्त स्थानीय चुनावको निम्न कार्यक्रमका साथ बहिस्कार गर्दछ ः
१) संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने ।
२) व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने ।
३) भण्डाफोर सभाहरु गर्ने ।
४) सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने ।”
राष्ट्रिय एकता महाधिवेशनको प्रचार स“गै स्थानीय तह उपनिर्वाचनको बहिष्कार

Comments