- दर्पण
कमरेड प्रभाकिरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आगामी राष्ट्रिय एकता महाधिवेशनका लागि ‘जातीय (Nationalities) नीति सम्बन्धी प्रस्ताव’ तयार गर्नु भएको छ र जुन प्रस्ताव क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालयद्वारा २०८१ श्रावणमा प्रकाशित ‘राष्ट्रिय एकता महाधिवेशनका मस्यौदा दस्ताबेजहरू’ मा छापिएको छ । त्यसपछि पार्टी केन्द्रीय कार्यालयद्वारा नै २०८१ भाद्रमा प्रकाशित ‘विचारधारा’ मा कामरेड प्रभाकिरणले ‘नेपालमा जातीय समस्या समाधान सम्बन्धी प्रस्ताव र संघीयता विरोध’ ‘खण्डन’ शीर्षकमा ‘खण्डन’ लेख्नु भएको छ । यहाँ, सुरुमा ती दुवै सामग्री प्रतिको दृष्टिकोणलाई संक्षिप्तमा बुँदागतरुपमा राखिनेछ र त्यस पछि उहाँको ‘खण्डन’ माथि संक्षिप्तरुपमा विचार गरिनेछ ।
–जातीय समस्यालाई वर्गीय समस्याको उपजको रुपमा नहेर्ने र जातीय आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्न अस्वीकार गर्ने पुँजीवादी दृष्टिकोण तथा वर्गीय समस्या भन्दा जातीय समस्या प्रमुख हो भन्ने जातिवादी सोचाईहरू समाजमा छन् । ती दृष्टिकोणहरू भन्दा भिन्न जातीय आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नु पर्दछ भन्ने मत प्रकट गरेकाले, अझ ठोसरुपमा भन्नू पर्दा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने कार्यदिशा सित जातीय आन्दोलनलाई जोड्नु पर्दछ भन्ने मत राखेकाले त्यस हद सम्म कामरेड प्रभाकिरणको विचारलाई सकारात्मकरुपमा लिनु पर्दछ ।
–कमरेड प्रभाकिरणको प्रस्तावले (यस पछि ‘प्रस्तावले’ मात्र भनिनेछ) नेपालको वस्तुगत धरातललाई टेकेको छैन । त्यसले मूलतः तत्कालीन शोभियत संघको अन्धानुकरण मात्र गर्न खोजेको छ ।
–प्रस्तावले जातीय समस्या समाधानका लागि शासक जातिका मानिसहरूको ऐक्यबद्धता, सहयोग, समर्थन, भूमिका आबश्यक छ भन्ने कुराप्रति ध्यान दिएको छैन ।
–प्रस्तावले नेपालका विभिन्न जातीय समुदायहरूको फरकपना, भिन्नतालाई मात्र उजागर गर्न खोजेको छ । फरक फरक जातिहरू बीचको एकता, सौहार्दतालाई महत्वहीन बनाएकोछ । जबकि नेपालका जाति तथा समुदायहरूबीचको एकताको सम्बन्ध नै नेपाली समाजको मूल प्रबृत्ति हो । प्रस्ताबले त्यसलाई बिर्सिएकोछ । समाजको जातीय अन्तर्विरोध देख्दा जातीय एकता र सद्भाव नदेख्ने र जातीय एकता र सद्भावलाई देख्दा जातीय अन्तरविरोध नदेख्ने दुवै दृष्टिकोण एलकाटे र अदिभूतवादी सोचाई हुन् । हामीले द्वन्द्ववादीभएर समाजलाई बुझ्ने कोशिश गर्नु पर्दछ । नेपाली समाजमा दुवै प्रवृति छन् । अगाडि भने झै नेपाली समाजमा एकताको पक्ष नै प्रधान पक्ष हो ।
– प्रस्तावले फरक फरक जाति तथा समुदाय, वर्गहरू बीचमा वर्गीय एकता आवश्यक छ भन्ने कुरालाई न्युनिकरण गरेको छ ।
– हरेक जातीय समुदाय भित्र वर्ग हुन्छन् र जाति भित्र वर्गीय बिभाजन बढ्दै जाँदा जातीय विशेषताहरू कमजोर हुँदै जान्छन् भन्ने कुरालाई प्रस्तावले बुझ्न सकेको छैन । पहिचान परिवर्तनशील पनि हुन्छ भन्ने कुरालाई प्रस्तावले बिर्सिएको छ । ‘खण्डन’ भित्र (प्रभाकिरणले दर्पणलाई ‘राष्ट्रियता’ शब्दमा अलमल भएको भनेर लेख्नु भएकोछ । (विचारधारा,पृष्ठ २१,बुँदा नम्बर२) नेपाली भाषामा जातीयता सम्बन्धी प्रयोग गरिने अङ्ग्रेजी शब्दहरूलाई नेपालीमा भाषानुवाद गर्दा एउटै शब्द प्रयोग भएको छैन । ल्बतष्यल लाई जाति वा राष्ट्र भनेर प्रयोग गरिएकोहुन्छ । त्यसै गरी ल्बतष्यलबष्तिथ लाई पनि जाति वा जनजाति प्रयोग गर्न सकिन्छ भन्ने आधारमा यी दुवै शब्द जाति वा जनजाति प्रयोग गरिएको हो । जस्तो कि ल्बतष्यलबष्तिथ लाई राजेन्द्र मास्केले ‘दर्शन शास्त्रको प्रारम्भिक ज्ञान’ भन्ने पुस्तकमा ‘जनजाति’ भन्ने शब्द भाषानुवाद गरेका छन्, निलम शेखर अधिकारीले आफ्नो पुस्तक ‘नेपालमा जातीय आन्दोलन’ मा ‘जाति’ शब्द प्रयोग गरेका छन् । सिताराम तामाङले जनजाति शब्द प्रयोग गरेका छन् । जुन शब्द प्रयोग गरिए पनि कविला समाजको बिघटन भई बनेको नयाँ मानव समुदाय जनजाति हो । यो समुदाय रक्त सम्बन्ध र कुटुम्ब सम्बन्ध भन्दा पनि भूमि, भाषा र संस्कृतिको एकतामा आधारित हुन्छ । सामान्यतया दास युगको अन्त्य र सामन्ती युगमा मानव समाजको Nationality चरण रहन्छ । तर कतिपय मानव समूह पुँजीवादी र समाजवादी अवस्था सम्म पनि Nationality कै चरणमा रहन सक्दछन् । प्रभाकिरण (यस पछि ‘उहाँ’ भनिनेछ) ले‘विचारधारा’ मा ‘खण्डन’ लेख्दा मुख्यरुपले नेपालका जनजातिहरूलाई आत्मनिर्णयको अधिकार दिनु पर्दछ र नेपालका जनजातिहरूलाई राष्ट्रियता (नेश्नलिटी) भन्नू पर्दछ भन्ने कुरामा जोड दिनु भएको छ । उहाँ लेख्नु हुन्छ, ‘लेनिनले जाति वा राष्ट्रलाई बाहेक आत्मनिर्णयको अधिकार दिन सकिदैन भनेर भन्नू भएकोछ (दर्पणले भन्नू भएकोछ) । यो पूर्णतः गलत छ।’ यसको प्रतिक्रियामा म के भन्छु भने सबै स्तरका जातीय समुदायलाई आत्मनिर्णयको अधिकार दिनु पर्दछ भनेर लेनिन र स्टालिनले कही भनेका छैनन । जस्तो कि स्टालिनले लेखेका छन्, ‘स्वायत्तता वा पृथकता सर्वत्र वा सदासर्वदा जातिको लागि वा त्यसको बहुसंख्याका लागि वा मेहनतकस जनताका लागि फाइदा जनक हुनेछ भन्ने होइन । स्वायत्तता, महासंघ वा पृथकता के ठीक हुन्छ भन्ने कुरा त्यहाँको ठोस ऐतिहासिक अवस्थाहरूमा निर्भर गर्दछ ।’ (स्टालिन, माक्र्सवाद र जातीय सवाल) त्यसरी प्रभाकिरणले लेखे जस्तो आत्मनिर्णयको अधिकार सबै अबस्थामा र सबै अबस्थाका जातीय समुदायलाई दिनु पर्दछ भनेर लेनिन र स्टालिनले भनेका छैनन् । बरू यहाँ नेपालको लागि के आबश्यक हो भन्ने कुरा स्टालिनले भने जस्तै यहाँ नेपालकै ठोस ऐतिहासिक अबस्थाहरूमा निर्भर गर्दछ । ‘समाजवादी क्रान्ति र जातिहरूको आत्मनिर्णयको अधिकार’ शीर्षकको लेखमा लेनिनले जातिहरूको आत्मनिर्णयको सन्दर्भमा तीन किसिमका राष्ट्रहरूको उल्लेख गरेका छन् । प्रथम(पश्चिम युरोपका उन्नत राष्ट्रहरू र संयुक्त राज्य अमेरिका । यस्ता साम्राज्यवादी देशहरूले उपनिवेशहरू र आफ्नै देशका अन्य जातिहरूको दमन गर्दै आएका थिए । ती साम्राज्यवादी देशका सत्तारुढ जातिका सर्वहारा वर्गको कार्यभार उन्नाइसौं शताब्दीमा आयरल्यान्डको प्रश्नमा बेलायतका सर्वहारा वर्गको कार्यभार जे थियो त्यस्तै हुनु पर्दछ । यसको अर्थ हो संयुक्त राज्य अमेरिका वा पश्चिम युरोपका साम्राज्यवादी देशका शासका जातिका मजदुरहरूले उत्पीडित जाति र उपनिवेशको छुट्टिने वा मुक्त हुने आन्दोलनलाई मद्दत गर्नु पर्दछ । दोस्रो खालका राष्ट्रहरू (पूर्वी युरोपेली देशहरू जस्तै अस्ट्रिया, बालकन देशहरू र रुस । यी राष्ट्रहरूमा सर्वहारा वर्गको कार्यभार पुँजीवादी जनवादी परिवर्तनहरूलाई पूरा गर्ने र अन्य राष्ट्रका समाजवादी क्रान्तिलाई सहयोग पु¥याउने हुनु पर्दछ । तर जातिहरूको आत्मनिर्णयको अधिकारलाई समर्थन नगरेसम्म त्यहाँका सर्वहारा वर्गले आफ्नो कार्यभार पूरा गर्न सक्ने छैन । तेस्रो चीन,फारस, टर्की जस्ता अर्ध उपनिवेश र उपनिबेशहरू । यस्ता अर्ध उपनिबेश र उपनिबेशहरूमा राष्ट्रिय मुक्तिका लागि चलाइने पुँजीवादी जनवादी आन्दोलनका अधिकतम क्रान्तिकारी तत्वहरूलाई समाजवादीहरूले दृढरूपले समर्थन गर्नु पर्दछ । (लेनिन, संकलित रचना, भाग १,नेपाली संस्करण, १९८५) उल्लेखित विवरणबाट पहिलो र दोस्रो खालका देशमा त्यहाँका सर्वहारावर्गको कार्यभार उत्पीडित जाति र उपनिवेशलाई साम्राज्यवादबाट मुक्तिको संघर्षमा सहयोग गर्ने बताइएको छ तर तेस्रो खालका देशहरू जो अर्ध उपनिबेश र उपनिबेश छन उनीहरूलाई साम्राज्यवादबाट मुक्त हुन समाजवादीहरूले मद्दत गर्ने भनिएको छ । अर्ध उपनिवेश वा उपनिवेश भित्रका जातिले आत्मनिर्णयको अधिकार माग्ने कुरा त्यहाँ गरिएकोछैन । नेपाल स्वयम् साम्राज्यवादको उत्पीडनमा पर्दै आएको र भारतीय विस्तारवादको अर्ध उपनिबेश रहँदै आएकाले सिङ्गो देश नै उत्पीडनबाट मुक्तिका लागि संघर्ष गर्नु आजको मुख्य काम हो नकि यहाँ भित्रका जातीय समुदायको आत्मनिर्णयको अधिकारको लागि संघर्ष ।
यदि लेनिन र स्टालिनले सबै जातिलाई आत्मनिर्णयको अधिकार हुनु पर्दछ भनेको भए किन सोभियत संघको संबिधानमा त्यहाँका १६ वटा गणराज्यलाई मात्र आत्मनिर्णयको अधिकारको ब्यबस्था गरियो? किन रुस, जर्जिया लगायतका राज्य भित्रका अन्य जाति वा प्रान्तलाई आत्मनिर्णयको अधिकार दिइएन ? नेपालमा एक प्रकारले जनताबाट नै परित्यक्त भएको यस्तो मुद्दा उठाएर कम्युनिस्ट आन्दोलन र जनजाति आन्दोलनलाई अलमलमा पार्ने काममा हामी लाग्नु हुँदैन । संविधान सभाबाट यो अस्वीकार्य भयो । सी.के. राउतले १८१६ को सुगौली सन्धि माथि प्रश्न चिन्ह उठाउँदै आत्मनिर्णयको अधिकारको एजेण्डा अन्तर्गत मधेशलाई जनमत संग्रह मार्फत शान्तिपूर्ण तरिकाले नै छुट्टै देश बनाउन माग गरेका थिए । उनको आन्दोलन असफल भयो । अहिले संसदमा आएका छन् । तराईमा गोइत र ज्वाला सिंहले छुट्टै देशको माग गरेका थिए । उनीहरू अहिले प्रवाशिएका छन् । संविधान सभाका बेला पूर्बी नेपालमा एक समूहले यस्तै बिखण्डनको कुरा उठएर फरार भएका थिए । जनजाति तथा पिछडिएका जातिहरूका उठाउनु पर्ने तमाम मुद्दाहरू छन् । त्यता ध्यान नदिएर नेपाललाई आबश्यक नै नभएको छुट्टिएर जान पाइने आत्मनिर्णयको अधिकारको एजेण्डा उठाउन आबश्यक छैन ।
नेकपा (मशाल) को २०४१ मा सम्पन्न पाचौं महाधिबेशनबाट पारित जनजाति तथा दलित जाति सम्बन्धी प्रस्तावमा नेपालका गुरुङ, मगर, राई, लिम्बू लगायतका जनजातिहरूलाई रुसको जस्तै राष्ट्रहरू (नेशनस)को अर्थमा बुझ्ने गल्ती गर्नु हुँदैन भनिएको छ । त्यो विश्लेषण अहिले पनि सही छ । प्रभाकिरणले अन्य कतिपय साम्प्रदायिक समूहहरूले जस्तो नेपालका जनजातिहरूलाई राष्ट्रहरू भन्न सक्नु भएको छैन तर राष्ट्रियता र राष्ट्रमा ठूलो अन्तर छैन भन्दै नेपाललाई बहुराष्ट्रिय राज्य वताउनुभएको छ । नेपाललाई बहुराष्ट्रिय राज्य होइन बहुजातीय नै भन्न्नु पर्दछ । केहीले नेपाली राष्ट्र नमाने पनि अधिकांशको बुझाई नेपाली राष्ट्र भन्ने नै छ । यो सुदृढीकरणकै प्रकृयामा छ । प्रभाकिरणले नेपाली राष्ट्र निर्माण नभैसकेको भन्नु भएको छ । नेपाली राष्ट्र निर्माणको बारेमा थप छलफल गर्दै जाँदा स्पष्ट हुने छ । अफगानी राष्ट्र, अरब राष्ट्र, इजरायली राष्ट्र लगायत संसारका राष्ट्रहरू कसरी निर्माण भए ? राज्य निर्माणकातत्वहरू भूमि, सार्बभौमसत्ता, सरकार, जनसंख्या भए जस्तै राष्ट्र निर्माणका पनि आवश्यक तत्वहरू छन् । नेपाली राष्ट्र निर्माणमा के चीज कमी छ ? अझ छलफल गरौं । जातीय तथा क्षेत्रीय समस्याको समाधानको सही बाटो हामी कम्युनिस्टहरूले दिनु पर्दछ । पुँजीवादी र साम्प्रदायिकतावादीहरूले दिन सक्दैनन् । कम्युनिस्टहरूको काम जातीय उत्पीडनलाई सर्वहारा वर्गीय आन्दोलनको पक्षमा प्रयोग गर्ने मात्र होइन । फरक फरक जातिहरू बीचको एकतालाई कम्युनिस्ट आन्दोलनको पक्षमा प्रयोग गर्ने पनि हुनु पर्दछ । एउटा कारखानामा काम गर्ने फरक फरक जातीय समुदायका मजदुरहरू कति सुमधुर सम्बन्ध हुन्छ भन्ने दृष्टान्त दिदै लेनिनले वर्गीय एकतामा जोड दिएका छन् । त्यो कुरा यहाँको निम्ति पनि ग्रहणीय कुरा हो ।
Comments