मंसिर ५ ,काठमाण्डौ । देशमा क्रिाशील विभिन्न राजनैतिक दल संघ संगठन र स्वतन्त्र बुद्धिजीवीहरुले नेपाल सरकारलाई प्यालेष्टाइनी जनताको पक्षमा उभिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री ओलीले विगतमा नेपालको इजरायल प्यालेष्टाइन युद्धको सन्दर्भमा अस्पष्ट नीति रहेको भएपनि अब त्यसलाई सच्याइने छ ,प्यालेष्टाइनीहरुको पक्षमा नै उभिइनी छ भन्ने प्रतिबद्धता व्यक्त गरे । ज्ञापन पत्रको पूर्ण पाठ यसप्रकार छ ।–
“सम्माननीय प्रधानमन्त्री ज्यू,
मन्त्री परिषद सचिवालय
सिंहदरवार काठमाडौ ,नेपाल ।
विषय ः प्यालेस्टाइनको पक्षमा सुस्पष्टताका साथ उभिन विशेष ज्ञापन पत्र ।
प्रधानमन्त्री ज्यू,
यहाँलाई अवगत नै छ , पहिले देखि नै चलिरहेको इजरायल प्यालिष्टीनी द्वन्द्व पोहोर अक्टोबर ७ देखि फेरि निकै चर्केको छ । यो द्वन्द्वका कारण इजरायल तर्फ ११ सय भन्दा ज्यादा सर्वसाधारण मानिसको ज्यान गएको छ भने प्यालेस्टाइन तर्फ ४४ हजार भन्दा ज्यादा सर्वसाधारण नागरिकरुको अनाहकमा ज्यान गएको छ। जस मध्ये ७० प्रतिशत त महिला र बालबालिका छन् ।विश्वभरीको गएको दुई दशकको युद्धमा जति महिला र बालबालिका मरेका छन् त्यो भन्दा ज्यादा महिला र बालबालिका एकै वर्षमा इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा मरेका छन् । इजरायली वम वर्षाबाट ८५ प्रतिशत भन्दा ज्यादा विद्यालयहरू,करिब आधा जति अस्पतालहरू र आधा भन्दा ज्यादा बसोबास गरिरहेका घरहरू ध्वस्त पारिएका छन् ।अहिले त्यस क्षेत्रमा इजरायली सैनिकहरूले जुन ढंगबाट खानेकुरा र औषधि माथि समेत निर्मम नाकाबन्दी लगाएका छन् त्यसबाट त्यस क्षेत्रमा अपार भोकमरी र जीवनदायी औषधिको समेत हाहाकारको स्थिति पैदा भएकोछ। यसबाट वृद्ध ,बिरामी र बालबालिकाहरू ठूलो संख्यामा मर्दैछन् ।त्यहाँ अहिले मानवीय सहायता पुर्याउने एजेन्सीहरूको समेत व्यापक मात्रामा हत्या भैरहेकोछ । उनीहरूलाई आफ्नो मानवीय कार्य गर्न कडा रोक लगाइँदै छ ।
यस्तो कार्यलाई सामान्य युद्ध गतिविधि भन्न कदापि मिल्दैन । संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय न्यायलयले समेत यसलाई जनसंहार र युद्ध अपराधको संज्ञा दिएकोछ । यथार्थमा यो नियतपूर्बकको जातीय सफाया हो । भीषण द्वन्द्व अहिले प्यालेस्टाइनमा मात्र सीमित नभएर लेबनानमा समेत फैलिदै छ र पूरै पस्चिम एशियालाई यसले आफ्नो चपेटामा लपेट्दैछ ।
सर्बबिदितै छ ( प्यालेस्टाइन प्यालेस्टाइनी जनताको आफ्नो भूमि हो । परन्तु नेपाली जनता के कुरामा आस्चर्यचकित भएका छन् भने साम्राज्यवादी शक्तिको आडमा इजरायलबाट खुलमखुल्ला यति धेरै निर्दोश प्यालेस्टाइनीहरूको गाजा तथा लेबनानमा नृशंसहत्या भइरहँदा पनि संविधानमै असंलग्नता र पन्चशीलको सिद्धान्त अपनाएको नेपाल जस्तो देशको सरकारले यो मामिलामा संयुक्त राष्ट्र संघमा मतदान हुँदा तटस्थ बस्ने नीति अपनायो । जब
मुद्दा न्याय र अन्यायको आउँछ ,तटस्थ बस्नु पनि घुमाउरो रुपमा अन्याय कै पक्षधरता हुन जान्छ । अतः प्यालेष्टाइनी मामिलामा तटस्थ बस्ने नेपाल सरकारको यो नीति नितान्त आपत्तिजनक छ । र संविधान विपरीत समेत छ । हामी यो र यस्तो नीति अविलम्ब सच्याउन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछौं । स्वतन्त्र र असंलग्न परराष्ट्रनीति अपनाएको देश नेपालले निसंदेह अन्यायको पक्षधरता हुने गरी कुनै साम्राज्यवादी देशको खेमामा उभिँदै न्याय र अन्यायको मुद्दामा दृढतापूर्वक उभिनु पर्दछ । न्याय र अन्यायको मुद्दामा तटस्थ बस्ने होइन ,यो अन्यायको विरुद्ध न्यायको पक्षमा प्यालेष्टाइनी जनताको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ । अहिले घोर अन्यायमा इजरायल छैन । प्यालेष्टाइनी जनता छन् ।
हामीले यो पनि बिर्सेका छैनौं कि नेपाली नागरिक विपिन जोशी यतिखेर हमासको कब्जामा छन् । उनको दोष केही पनि थिएन बस् उनी व्यवहारिक कृषि अध्ययनकोलागि इजरायल गएका थिए । उनको रिहाइको लागि सरकारले प्रभावकारी ढंगले बहुआयामिक कुटनीतिक संवाद चलाइरहेको देखिएको छैन । सरकारले तत्काल बहुआयामिक प्रभावकारी कुटनीतिक कदम चाल्नु पर्दछ भन्ने हामी आग्रह गर्दछौं । इजरायल र प्यालेष्टिनीहरुको बीचमा भीषण द्वन्द्व चलिरहेको अहिलेको समयमा नेपाली नागरिकहरुको जीवन रक्षाको लागि केही खास कालखण्डमा काम अध्ययनको लागि इजरायलमा नेपाली नागरिक पठाउने कार्य रोकियोस भन्ने कुरा पनि हामी नेपाल सरकारलाई स्मरण गराउन चाहन्छौं ।साथ साथै इजरायलमा भएका हज्जारौं नेपाली युवाहरुलाई उनीहरुको जीवन रक्षाको लागि युद्धकालभरि कालागि नेपालमा ल्याउने कार्य होस भन्ने कुरा पनि नेपाल सरकारलाई सम्झाउन चाहन्छौं ।
हस्ताक्षरकर्ताहरुः
श्याम श्रेष्ठ प्रगतिशील रुपान्तरण
शरद वन्त पिपुल्स हेल्थ मुभमेन्ट नेपाल
सीपी गजुरेल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
दूर्गा पौडेल राष्ट्रिय जनमोर्चा
देव गुरुङ नेकपा (माओवादी केन्द्र )
लक्ष्मण उप्रेती अखिल नेपाल कम्युनिष्ट पार्टी
रामप्रकाश पुरी नेकपा (मसाल)
लोक नारायण सुवेदी नेकपा अध्यक्ष
लोकेश विश्वकर्मा श्रमिक कम्युनिष्ट पार्टी
दिवश के.सी. फोटो सर्कल
मधु बहादुर बस्नेत नेकपा संयुक्त
राजेश नेपाली वैज्ञानिक समाजवादी
न्हुइलाल महर्जन जसपा
अर्जुन थापा जसपा नेपाल
शेर बहादुर कुँवर नेकपा (एकीकृत समाजवादी )
जनकराज शाह नेपाल समाजवादी पार्टी नया शक्ति ।”