– मनु वि.क.
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको समय (मंसिर १३ देखि २३ )सम्मको समय आइसकेको छ । एकता महाधिवेशनको सन्दर्भमा तय भएका जिल्ला जिल्लाका आन्तरिक बहस फोरमहरु सकिएका छन् । जिल्ला जिल्लामा एकता महाधिवेशनको सन्दर्भमा देशभर भेला, सम्मेलनहरु सम्पन्न भइसकेका छन् । एकता महाधिवेशनको प्रचार प्रसार सम्पन्न भइसकेको छ । एकता महाधिवेशनकोलागि प्रतिनिधि छनौट देखि लिएर सबै प्रक्रियाहरु पूरा भैसकेका छन् ।
एकता महाधिवेशन नजिकिँदै गर्दा देश तथा विदेश र जिल्ला जिल्लाबाट महाधिवेशन सफल पार्नकोलागि राजधानी काठमाण्डौमा आउने क्रम शुरुभएको छ । राष्ट्रिय एकता महाधिवेशन एक ऐतिहासिक एकता महाधिवेशन हो । यो महाधिवेशनलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाउने भन्ने निर्णय पार्टीको रहेको छ । महाधिवेशन ,भेला र सम्मेलनहरु भनेका एक प्रकारले पर्व जस्तै हो । जसले नयाँ नीति र नेतृत्वको चयन गर्ने गर्दछ । यो बेला नेता कार्यकर्ताहरु निकै सचेत हुनु जरुरी हुन्छ । भेला, सम्मेलन र महाधिवेशनहरुमा विगतको राजनीति ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, विश्व परिस्थिति समसामयिक परिस्थिति आगामी कार्यक्रम तथा कार्ययोजनाको बारेमा छलफल तथा निर्णय हुने गर्दछन् ।
भेला ,सम्मेलन तथा महाधिवेशनहरुले सही निर्णय लिन सकेमा,देशको परिस्थितिको सही मुल्याङकन गर्न सकेमा सही नीति तय हुन सक्दछ । गलत नीति लिएमा राजनीतिले गलत बाटो लिन पुग्दछ । अहिले देशको भयावह स्थिति रहेको छ । राष्ट्रियता जनतन्त्र जनजीविकाको सवाल झन पछि झन जटिल बन्दै गइरहेको छ ।विगतमा चलेका तमाम आन्दोलनहरुको परिणाम देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि जनताका समस्याहरु समाधान हुन सकेको छैन । यो बेला कतिपयले अब राजनीतिक आन्दोलन सकिएको छ । आर्थिक क्रान्तिको आवश्यकता रहेको छ भनिरहेका छन् । यो लोकतान्त्रिक गणतन्त्र नै सबै कुरा हो भन्दै हिँडिरहेका छन् । यही व्यवस्थामा नै सबै कुरा प्राप्त हुन सक्दछ भनेर जनतालाई भ्रम पारिरहेका छन् । यसो गर्नेहरुमा विगतमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताहरु नै पनि छन् ।
देशमा साँच्चिकै राजनीतिक क्रान्ति सकिएको छ कि छैन भन्ने कुरालाई बुझ्नकोलागि देशको अवस्था हेरे पुग्दछ देश चरम ऋणमा डुबेको छ । आन्तरिक तथा बाह्य ऋण नेपाली जनताको काँधमा थोपरिएको छ । उद्योग धन्दा कलकारखानाहरु खुल्न सकेका छैनन् । युवा शक्ति सबै विदेशिन बाध्य भएका छन् । युवाशक्ति विदेश गएमा नेपाली जनता भोकै बस्नु पर्ने स्थितिमा मुलुकलाई पु¥याइँदैछ । दलाली ,शोषण चरम अवस्थामा रहेको छ । निजीकरण तथा व्यापारीकरणले गर्दा शिक्षा ,स्वास्थ्य तथा जनजीविकाको सवाल निकै कठिन हुँदैछ । राष्ट्रियता दिनानुदिन कमजोर हुँदै गइरहेको छ । दिनानुदिन वैदेशिक चलखेल बढ्दै गइरहेको छ । शोषणमूलक व्यवस्थाले जनतालाई हर तरहले शोषण गरिरहेको छ ।
देशमा कम्युनिष्ट आन्दोलनमा तमाम प्रकारका विकृति विसंगति देखिएका छन् । देशमा आफूलाई कम्युनिष्ट पार्टी बताउने पार्टीहरु ,नेताहरु संसद र संशोधनवादमा पुगेका छन् । कम्युनिष्ट आचरण , आनीबानीमा विकृति आएको छ । देशमा कम्युनिष्ट पार्टीहरु छिन्न भिन्न अवस्थामा पुगेका छन् । सानो भन्दा सानो मतभेद हुँदा बित्तिकै नयाँ पार्टीको घोषणा गरिहाल्ने र आफूमात्रै सच्चा क्रान्तिकारी रहेको भन्दै हिँड्ने प्रवृतिको विकास भएको छ । कम्युनिष्ट पार्टीहरु छिन्न भिन्न अवस्थामा पुगेका छन् । सच्चा क्रान्तिकारी आन्दोलन निकै कमजोर अवस्थामा रहेको छ । देशको भावि आन्दोलन कसरी अगाडि बढाउने भन्ने प्रश्न हाम्रो अगाडि छ ।
अन्तर्राष्ट्रिय राजनीति निकै जटिल बन्दै गइरहेको छ । साम्राज्यवादी युद्धले उत्पीडित देशहरुलाई ध्वस्त बनाउँदै लगिरहेको छ । साम्राज्यवादीहरुले हतियार,आर्थिक सबै सहयोग गरेर उत्पीडित राष्ट्रहरुमाथिको आक्रमणलाई बढावा दिइरहेका छन् । मुक्त हुन चाहेका देशहरुमाथि साम्राज्यवादी तथा विस्तारवादीहरुको आक्रमण जारी छ । विश्वमा युद्ध जारी छ । जस्तै १३ महिनादेखि अमेरिकी सहयोगमा इजरायलले प्यालेष्टाइनी जनता र जमिनमाथि बर्बर आक्रमण जारी राखेको छ । इजरायलले लेवनानलाई पनि निशाना बनाउँदै आक्रमण जारी राखेको छ । उसले यमनका हुथीहरुमाथिको आक्रमण भन्दै आक्रमण गरिरहेको छ । युद्ध विस्तार हुँदै छ । दुइ वर्षदेखि रुस युक्रेन युद्ध जारी छ । अमेरिकी सहयोगमा युक्रेनले रुसमाथिको आक्रमणलाई तीव्र बनाउँदै लगेको छ । विश्वमा कम्युनिष्ट आन्दोलनको उभार रहेको छैन । कम्युनिष्ट सत्ता स्थापना भएका देशहरुमा पनि कम्युनिष्टको जस्तो शासन रहेको छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति यस्तो अवस्थामा रहेको बेला क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन हुँदैछ । यो राष्ट्रिय एकता महाधिवेशन तीन वटा कम्युनिष्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी ) ,नेकपा (मशाल) र नेकपा बहुमतको बीचमा २०८१ साल बैशाख १९ गते एकता भै बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गठन भएको हो । विगतमा फरक फरक धारबाट आएको हुनाले कतिपय अवस्थामा विचार, आनीबानी ,आचरण तथा शैलीगत रुपमा नेता कार्यकर्ताहरुकोबीचमा घुलमिल हुन अझै बाँकी नै छ । विगतको विरासतलाई भुल्न नसक्ने प्रवृतिहरु पनि रहेको छ । पार्टी एकतासंगै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महाधिवेशनको प्रक्रिया अगाडि बढेको थियो । एकता प्रक्रियामा जाँदा संघीयता जातीयता तथा माओवाद र माओविचारधाराको बारेमा एकता भइसकेपछि र महाधिवेशन पछि पनि खुल्ला छलफल गर्न पाउने भन्ने सहमति भएका थिए । त्यही अनुसार महाधिवेशनकालागि दस्तावेजहरु आएका छन् । दस्तावेजहरुमाथि व्यापक छलफल बहस पनि आन्तरिक रुपमा भएका छन् । खुल्लारुपमा छलफल चलाउने सहमति भएका विषयहरुमा खुल्ला रुपमा छलफल पनि चलेको छ । पार्टी पङिक्त भन्दा बाहिर सबैबाट पार्टीको महाधिवेशनकोलागि सुझाव ,सल्लाह पनि पार्टीले माग गरेको छ ।
एकता महाधिवेशनलाई साँच्चिकै एकता महाधिवेशन बनाउने जिम्मा महाधिवेशनमा आएका प्रतिनिधि पर्यवेक्षकहरुको हो । महाधिवेशनलाई साँच्चिकै विचार ,अध्ययन अनुसन्धानको केन्द्र बनाउनु पर्दछ । विचारहरु अभिव्यक्त गर्दा तर्कसहित विचारहरु लैजाँदा महाधिवेशनमा सुनमा सुगन्ध हुन्छ । क्रान्तिकारीहरु सानातिना ,झिना मसिना कुराहरुदेखि अत्तालिनु हुँदैन र विचारलाई स्वतन्त्र तरिकाले अभिव्यक्त गर्न सक्छ । क्रान्तिकारीहरुको एक एक शब्दले भविष्यको क्रान्तिको मार्गदर्शन गर्न सक्नु पर्दछ । कम्युनिष्ट आन्दोलन एक्लैले गर्न सक्ने आन्दोलन होइन । देशका तमाम जनता नेता कार्यकर्ताहरुको उच्च प्रकारको त्याग, बलिदान र समर्पणबाट मात्रै शोषणमूलक व्यवस्थालाई फेर्न सकिन्छ । अहिले देशले सच्चा क्रान्तिकारीहरुको ध्रुवीकरणको माग गरिरहेको छ । विगतमा चलेका तमाम प्रकारका आन्दोलनहरुले शोषणमूलक व्यवस्थालाई फेर्न सकेको छैन । देशको मुहार फेर्न सकेको छैन । सर्वहारा वर्गीय सत्ता स्थापना गर्न सकेको छैन । सर्वहारा आन्दोलनमा लागेका नेता कार्यकर्ताहरु पनि निरास हुन पुगेका छन् । तर पनि आन्दोलन त रोकिँदैन । यो महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने दिशानिर्देश गर्ने छ । विगतका राजनीतिक, सैद्धान्तिक तथा सांगठनिक कमी कमजोरीहरुको गम्भीर तरिकाले समीक्षा गर्नेछ । विगतका कम्युनिष्ट आन्दोलनमा देखिएका र अवलम्वन गरिएका सही कुरालाई अवलम्बन गर्नेछ र गलत कुरालाई छोड्ने छ ।
नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने कार्य क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गर्नु पर्दछ । सबै नीतिको पनि नीति राजनीति हो । राजनीति सही या गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । राजनीति गलत छ भने जति नै ठूलो पार्टी भएपनि उत्तिखेरै भताभुङग बनेर सकिन्छ । जति नै ठूला नाम चलेका नेताहरु संगठनमा रहेपनि गलत बाटोमा पुग्दछन् । राजनीति सही छ भने संगठन ,नेता कार्यकर्ताहरु बन्दै जान्छन् । देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले क्रान्तिकारी आन्दोलनको माग गरिरहेको छ । त्यसकारण एकता महाधिवेशनलाई सही नीति निर्माणको थलो बनाउन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरुको गहन जिम्मेवारी रहेको छ ।