-सीपी गजुरेल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । १३ गते रत्नपार्क शान्तिबाटिकाबाट जुलुस शुरु हुनेछ र भूगोलपार्कमा गएर महाधिवेशनको उद्घाटन गरिनेछ । कीर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यालयको एक हलमा बन्द शत्रको कार्यक्रम सम्पन्न गरिनेछ ।
राष्ट्रिय एकता महाधिवेशनको ऐतिहासिक महत्व छ । एकातर्फ त्यस महाधिवेशनले सांगठनिक कार्यभार पूरा गर्नुपर्ने छभने अर्को तर्फ वैचारिक कार्यभार पनि पूरा गर्नुछ ।
महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । पार्टी–संगठन संचालनको विधि तय गर्नेछ । अर्को कुरा यस महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेछ ।
क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन वस्तुगत परिस्थिति तयार हुँदै गएको छ । संसदीय गणतन्त्रका पक्षपातीहरुले दश वर्ष यस व्यवस्थाको अभ्यास गरिसकेका छन् । आम जनताले पनि बुझिसके कि अब यिनीहरुबाट देश र जनताको समस्या समाधान हुनेवाला छैन । यस स्थितिमा क्रान्तिकारी शक्तिहरु टुक्रिएर, छरिएर हैन, एक ढिक्का भएर संसदीय व्यवस्थाकै विकल्प दिने गरी अगाडि आउन जरुरी छ । यो एकता महाधिवेशनले आम क्रान्तिकारी शक्तिहरुलाई ध्रुवीकृत गर्ने गरी योजना बनाउने छ, निर्णय लिने छ । घोषित संशोधनवादी शक्तिहरुसित पार्टी एकता हुन सक्दैन तर मूलतः क्रान्तिकारी विचार बोक्ने शक्तिहरुलाई हामीले सँगै लिएर अगाडि जानुपर्दछ । मूलतः क्रान्तिकारी शक्तिहरुसित हाम्रो मिलेका नमिलेका विषयहरुमा छलफल गर्दै जान्छौं । सकभर पार्टी एकतालाई अगाडि बढाउँछौं, पार्टी एकता हुन नसके पनि संयुक्त मोर्चा, कार्यगत एकता र सहकार्यलाई अगाडि बढाउँछौं ।
नेपालको राष्ट्रिय राजनीतिको दृष्टिकोणबाट यो महाधिवेशनको महत्व छ । संसदीय व्यवस्था झन पछि झन बदनामित हुँदै गइरहेको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, महंगीले देश आक्रान्त छ । गत असारमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने बेलामा संविधान संशोधन गर्ने उद्देश्यले यो सरकार गठन भएको भनियो । तर अहिलेसम्म संविधान संशोधनको लागि सुझाव संकलन गर्ने कार्यदलसम्म गठन हुन सकेको छैन । कांग्रेसले संविधान संशोधन गर्ने विषय एक प्रकारको छ भने एमालेको अर्को प्रकारको छ । सत्ता संचालन गर्ने पार्टीहरुकै बीचमा संविधान संशोधनवारे सहमति छैन । यसरी हेर्दा संविधान संशोधन केवल सत्ता स्वार्थको लागि बहाना मात्र थियो भन्ने देखिन्छ । राजनीतिक दलहरु आम जनताका बीचमा बदनामित भएका छन् । अहिलेसम्म राजनीतिक दल र नेताहरुलाई जनताले विरोध गरेका थिए तर अब जनताले विस्तारै संसदीय व्यवस्थाकै विरोधमा आवाज उठाउन थालेका छन् ।
देशको राष्ट्रिय स्वाधीनताको प्रश्न पनि गम्भीर हुँदै गएको छ । संसदबाट एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरिएको छ । विगतमा अमेरिकाले नेपाल नीति बनाउँदा भारतीय आँखाबाट हेर्ने गर्दथ्यो । अहिले ऊ आफै प्रत्यक्ष अगाडि सरेको देखिन्छ । अमेरिकाको चीन घेर्ने नीति अन्तर्गत इण्डोप्यासिफिक स्ट्राटिजीको अंश एमसीसीलाई नेपालमा भित्र्याइएको हो । भारतीय विस्तारवादले लिपुलेक क्षेत्रमा नेपालको भूमिमा अनाधिकृतरुपमा सडक निर्माण गरेको छ । जनजीवनको अवस्थाको कुरा गर्दा लाखौंलाख युवा जनशक्ति विदेश पलायत भइरहेको छन् । रेमिटेन्सको भरमा देशको अर्थतन्त्र चलेको छ । लघुवित्त, सहकारी, मिटरव्याजीहरुले गरिब निमुखा जनतालाई सडकमै पु¥याउने गरी लुटेका छन् । अव्यवस्थित बसोबासी, सुकुम्बासीका समस्याहरुलाई राज्यले सम्बोधन गर्न सकेको छैन । तमाम मजदुर किसान आन्दोलित छन् । यो अवस्थामा ती निम्न वर्गबाट उठेका आन्दोलनहरुलाई समग्रमै नेतृत्व गर्न सक्ने सच्चा क्रान्तिकारी शक्ति आज आवश्यक परेको छ ।
देशको यस अवस्थामा जनताले वैकल्पिक शक्तिको खोजी गरेका छन् । संसदीय व्यवस्था भित्रैबाट देश र जनताका यी विकराल समस्या ससमाधान गर्न खोजेर समस्याको वास्तविक समाधान हुने वाला छैन । संसदवादी शक्तिहरु भन्दा बाहिरका क्रान्तिकारी शक्तिहरुको एकता र ध्रुवीकरणबाट बैकल्पिक शक्तिहरुको निर्माण गर्न जरुरी छ । हामी तीन पार्टी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण गरेका छौं । महाधिवेशन पछि हामीले देश र जनताका समस्यालाई उठाएर सशक्त आन्दोलनको उठानमा लाग्नेछौं ।
आजको विश्व राजनीतिमा रुस–युक्रेन युद्ध र इजरायलको उसका छिमेकीहरुसितको युद्धले संसारको ध्यान तानेको छ । संयुक्त राष्ट्रसंघले रुस–युक्रेन युद्धमा प्रयोग नगर्न भनेका हतियारहरु प्रयोग गरिएका छन् । संयुक्त राष्ट्रसंघले युद्ध विरामका लागि गरेको अपीललाई इजरायलले सिधै अस्वीकार गरेको छ । इजरायल र प्यालेष्टाइनबीचको युद्धबाट ४३ हजार भन्दा बढी मानिसहरुको हत्या भइसकेको छ । त्यसमा ७० प्रतिशत महिला र बालबालिकाहरु छन् ।
रुस–युक्रेन युद्ध लम्बिँदै गएको छ । त्यो तत्काल रोकिने स्थिति छैन । प्यालेस्टाइन र इजरायल बीचको धार्मिक र जातीय युद्ध त पुरानै हो । यसपटक अमेरिकी साम्राज्यवादी सहयोगमा इजरायली विस्तारवादले छिमेकीहरुलाई सखापै पार्ने घृणित युद्धमा लागेको छ । इजरायली विस्तारवादको युद्ध अपराधलाई जति निन्दा गरे पनि कमी हुन्छ । एकातिर चार देश रुस, चीन, इरान र उत्तर कोरियाको समूह बनेको छ र अर्कोतिर अमेरिका र यूरोपेली साम्राज्यवादी देशहरुको मोर्चा बन्दी हुँदै गएको देख्दा तेस्रो विश्व युद्ध सन्निकट रहेको आशंका गर्न ससकिन्छ । तर विश्वव्यापी रुपमा युद्धको विरोधमा न्यायप्रेमी जनताको आवाज उठ्दै गएकाले युद्ध रोकिने आशा गर्न सकिन्छ । हाम्रो पार्टी साम्राज्यवादी युद्धको निन्दा गर्दछ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचन प्रचारका बेला २४ घण्टामा युद्ध रोकिदिन्छु समेत भनेर चुनावी प्रचार गरेका थिए । उनले २ जनवरीमा पदभार ग्रहण गर्दैछन् । उनले पदभार ग्रहण गर्न नसके पनि युद्ध रोक्नका लागि पहलकदमी गर्न सक्थे । उनले त्यसो गर्न सकेका छैनन् । डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” भन्ने विदेश नीति रहेकाले पनि यति सजिलै युद्ध रोकिएला जस्तो देखिंदैन ।
साम्राज्यवादी युद्धको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कार्यक्रम गर्दै आएको छ । युद्धलाई रोक्ने कम्युनिस्ट सरकार विश्वमा छैन । तैपनि विश्वभरी छरिएका कम्युनिस्ट पार्टी र संगठनहरु छन् । न्यायप्रेमी जनता र संगठनहरु छन् । उनीहरुसित एकता कायम गर्दै युद्धको विरोधमा जानुपर्दछ ।
हामीले पार्टीको तर्फबाट इजरायली दुतावासमा गएर युद्ध रोक्न जुलुश सहित ज्ञापनपत्र बुझायौं । अन्य प्रगतिशील शक्तिहरुसित मिलेर मंसिर ८ गते काठमाडौंमा प्रदर्शन ग¥यौं । अन्य वामपन्थी तथा प्रगतिशील पार्टी तथा संगठनहरुसित मिलेर हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि साम्राज्यवादी युद्धका विरोधमा कार्यक्रम गरेका छौं । विश्वव्यापी दबाबले गर्दा शायद अमेरिकालाई लाज भयो होला । उसले इजरायल र लेवनानको बीचमा भर्खरै युद्ध विराम सम्झौता गराएको छ । तर त्यहाँको मुख्य संघर्ष इजरायल र प्यालेस्टाइन बीचको संघर्ष हो । त्यसलाई रोक्नका लागि प्यालेस्टाइनीहरुको राष्ट्रिय स्वाधीनताका लागि विश्वव्यापी रुपमा दबाब दिन जरुरी छ । उता सत्ता छाड्ने बेलामा अमेरिकी राष्ट्रपति वाइडेनले अहिलेसम्म प्रयोग नगरेका हतियार प्रयोग गर्न युक्रेनलाई भने । रुसले त्यसको प्रतिकार ग¥यो । विश्वव्यापीरुपमा यद्ध रोक्न सक्ने कम्युनिस्ट सरकारहरु नभए पनि सम्पूर्ण विश्वभरीका कम्युनिस्ट पार्टी, वामपन्थी, प्रगतिशील शक्ति र विश्वभरीका शान्तिप्रिय जनताको बीचमा एकता कायम गर्ने र युद्धको विरोध गर्ने अभियान चलाउनु पर्छ ।