-रामसिंह श्रीस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यही २०८१ साल मंसिर १३गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । यो महाधिवेशनलाई भव्य र शानदाररुपमा सफल पार्नु छ । महाधिवेशन भव्य र शानदार रुपमा सफल कसरी हुन्छ ? उद्घाटनमा धेरै जनताजम्मा गर्दैमा भव्य र शानदार रुपमा सफल भएको मानिंदैन । निश्चित रुपमा जनताको सहभागीताको पनि महत्व छ । तर यो आंशिक पक्ष हो । महाधिवेशनको भव्य र सानदाररुपमा सफलताको मुख्य अर्थ हो महाधिवेशनले सही क्रान्तिकारी राजनीतिक लाइन र कार्यक्रम तय गर्नु र त्यसलाई लागु गर्ने सन्दर्भमा क्रान्तिकारी नेतृत्व र संगठनको ढाँचा निर्माण गर्नु । यो काम कसरी सम्पन्न हुन्छ भन्ने कुरा मुख्यतः महाधिवेशन प्रतिनिधिहरुको हातमा हुन्छ । त्यसकारण महाधिवेशन प्रतिनिधिहरुले अत्यन्तै गम्भीर भएर अत्यन्तै सुझबुझका साथ छलफल चलाउने र निर्णयमा पुग्ने गर्नुपर्दछ । त्यसको लागि प्रतिनिधिहरुले निम्नानुसार कार्य गर्न पर्ने हुन्छ ।
१) सर्वप्रथम त प्रतिनिधिहरुले मालेमावादको आधारभूत सिद्धान्तलाई आधार बनाएर छलफल र बहसलाई अगाडि बढाउनु पर्दछ । महाधिवेशनमा लागि प्रस्तुत हुने दस्तावेजहरु प्रत्यक प्रतिनिधिहरुको हातमा पुगिसकेका छन् । दस्तावेजमा प्रस्तुत गरिएका विषयहरु कति सही छन् वा गलत ? त्यसका अपुग के के छन् ? वा आवश्यक भन्दा बढी के के छन् ? त्यस विषयमा प्रतिनिधिहरुले गम्भीरतापूर्वक ध्यान दिन पर्दछ ।
२) दोस्रो कुरा प्रतिनिधिहरुले पूर्व समूह र जातीय क्षेत्रीय चिन्ताभन्दामाथि उठेर सर्वहारावर्गको हितलाई केन्द्रमा राखेर बहस छलफलाई अगाडि बढाउनु पर्दछ । यसरी छलफल गर्दा आफ्ना पूर्व मान्यताहरु कति सही छन् वा छैनन् भनेर पनि मूल्यांकन गर्नुपर्ने हुन्छ । तथ्यबाट सत्य पत्ता लगाउने पद्धतिबाट बहस र छलफल गर्न पर्दछ र हामीले गर्ने निर्णयष् ठोस, वस्तुवादी र वैज्ञानिक होस् भन्ने कुराको हेक्का राख्नुपर्दछ ।
३) बहस र छलफल गर्दै जाँदा कतिपय प्रश्नहरु आफूले सोंचे जस्तो, आफूले भने जस्तो नहुन पनि सक्छ । त्यस्तो हुने अवस्था देखिएमा वा भएमा पनि प्रतिनिधिहरु आत्तिने हडबढाउने गर्नु हुन्न । धैर्यता राख्न सक्नुपर्दछ । किनभने कतिपय कुराहरु बहुमत हुँदैमा सत्य हून्न । सत्य अल्पमत पनि हुन सक्छ । तर सत्य कुरा सावित हुन समय लाग्छ । शुरुमा मानिसहरुमा पृथ्वी चेप्टो छ, पृथ्वीको सूर्यले वरीपरी घुम्छ भन्ने मान्यता राख्थे । तर कपर्निकस र ग्यालिलियोले पृथ्वी गोलो छ सूर्यले पृथ्वीको वरीपरी हैन पृथ्वी सूर्यको वरीपरी घुम्छ भन्ने कुरा बताए । यो कुरा सत्य थियो । तर त्यतिबेला यो सोंच अल्पमतमा थियो । त्यतिबेलाका शासकहरुले उनलाई सजाय दिए । तर सत्यसत्य नै हो । कालान्तरमा सत्य विजय भयो । ठीक यसरी नै राजनीतिमा यसप्रकारका कुराहरु हुने सम्भावना हुन्छ । त्यसकारण अल्पमत भयो भनेर निरास हुने र बहुमत भयो भनेर घमण्डी हुने हुनु हुँदैन ।
४) महाधिवेशन कस्तो बनाउने भन्ने कुरा प्रतिनिधिहरुको बोली वचन, तर्क र व्यवहारमा पनि भर पर्दछ । त्यसकारण छलफल गर्दा अरुलाई आक्षेप लगाएर, व्यक्तिगत आलोचना गरेर बोल्नु हुँदैन । सम्मानजनक रुपमा, शिष्ट भाषामा आफ्ना कुराहरु राख्नुपर्दछ । कसैलाई घोचपेच गरेर तर्कहरु राख्न हुँदैन ।
५) हामीले यो महाधिवेशनलाई किन एकता महाधिवेशन भन्यौं ? किनभने तीनवटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी ) नेकपा (बहुमत) र नेकपा (मशाल) मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी पार्टी नेपाल बनाएका छौं र त्यसैको एकता महाधिवेशन गर्न गइरहेका छौं । त्यसकारण यस महाधिवेशनलाई एकता महाधिवेशन भनेको हो । तिनै पार्टीका नेता कार्यकर्ताहरु देशभरी र प्रवासबाट समेत एक ठाउँमा भेला भएका छौं । कहिल्यै भेट नभएका हामीहरु यहाँ जम्मा भएका छौं । त्यो अवस्थामा हामीहरु वैचारिक, राजनीतिक, सांगठनिक विषयमा छलफल गर्नुका साथै एक आपसमा क्रान्तिका, आन्दोलनका अनुभवहरु साटासाट गर्ने, एक अर्कालाई बुझ्ने र एक आपसमा घुलमिल हुने काम पनि गर्नुपर्दछ ।
६) पार्टी एकताको मूल आधार भनेको वैचारिक, राजनैतिक पक्ष नै हो । महाधिवेशनमा प्रस्तुत मूल राजनीतिक कार्यदिशामा हाम्रो (पूर्व तीनै समूहको ) आम सहमति नै छ । मूल राजनीतिक कार्यदिशामा आम सहमति हुँदै हुँदै पनि कतिपय प्रश्नमा हाम्रा मतभेदहरु पनि छन् । ती मतभेदहरुलाई कसरी साँगुरो पार्ने ? भन्ने कोणबाट नै सबै प्रतिनिधिहरुले छलफल, बहस गर्नुपर्दछ । मतभेदका प्रश्नहरुलाई कसरी व्यवस्थापन गर्ने ? जुन व्यवस्थापनले पार्टी एकतालाई अरु मजबुत बनाओस् त्यस दिशाबाट सोंच विचार गर्ने र निर्णय दिने गर्नुपर्दछ ।
७) हाम्रो समाज वर्गीय समाज हो । यहाँ विभिन्न वर्गहरु छन् । ती वर्गहरुको वर्गस्वार्थको प्रतिविम्व हाम्रो पार्टीमा पनि पर्दछ । त्यसैले पार्टीमा विभिन्न खाले फरकफरक विचारहरु पनि आउँछ । त्यो स्वाभाविक हो । त्यसैकारण एकमना एकताको पार्टी हुँदैन । त्यसप्रकारको पार्टी बनाउु हामीले ज ोड पनि गर्नु हुँदैन । कम्युनिस्ट पार्टी भनेको विपरीत तत्वको एकत्वको पार्टी हो । यही सिद्धान्तमाथि उभिएर क्रान्तिकारी राजनीतिक लाइनलाई अगाडि राखेर अन्तरविरोधहरुको सही समाधान खोज्ने तिर लाग्नु पर्दछ ।
८) हाम्रो राजनीतिक लाइन सही हुँदाहुँदै पनि त्यसलाई सही ढंगले व्यवहारमा लागु गर्ने पार्टी संगठन निर्माण गर्न सकेका छैनौं । त्यसकारण सही क्रान्तिकारी संगठन निर्माणको ढाँचा कोर्नु पनि यो एकता महाधिवेशनको महत्वपूर्ण काम हो । सबै प्रतिनिधि कमरेडहरुले यो विषयमा पनि आ–आप्ना अनुभवहरुबाट शिक्षा लिंदै क्रान्तिकारी संगठन निर्माणको लागि आवश्यक निर्णय लिनुपर्ने छ ।
९) हामी कम्युिनस्टहरुको सांस्कृतिक मूल्यमान्यता के हुने ? एउटा सर्वहारा वर्गीय नैतिक मूल्य मान्यता र सांस्कृतिक आचरणको बारेमा सही नीति निर्माण गर्न सबै प्रनितनिधि कमरेडहरुले ध्यान दिन जरुरी छ । सामन्ती तथा पुँजीवादी साम्राज्यवादी संस्कृति बोकेर क्रान्तिलाई अगाडि बढाउन सकिन्न त्यसकारण यस महाधिवेशनबाट सर्वहारा वर्गीय संस्कृतिको निर्माण गर्ने आधार तयार पार्न काम शुरु गर्न सबै प्रतिनिधि कमरेडहरुले ध्यान दिन जरुरी छ ।
१०) यो महाधिवेशनले मुख्य कार्यभार भनेको क्रान्तिकारी राजनीतिक कार्यदिशा तय गर्नु, क्रान्तिकारी कार्यदिशालाई व्यवहारमा लागु गर्न सक्ने नेतृत्व र संगठन निर्माण गर्नु र पार्टीको एकताचलाई अरु मजबुत र उन्नत बनाउनु । अन्तमा मैले पार्टीको आन्तरिक एकता सम्बन्धी माओका निम्त भनाईहरुलाई यहाँ प्रस्तुत गर्न अनुमति चाहान्छु । माओ भन्नु हुन्छ “अर्को शब्दमा भन्ने हो भने माक्र्सवाद–लेनिनवादको सिद्धान्तमा कुनै पनि हानी नोक्सानी नपुग्ने भएमा हामी अरु मानिसका कतिपय स्वीकार योग्य विचारहरुलाई स्वीकार गर्दछौं र त्याग्न मिल्ने खालका हाम्रो आफ्नै कतिपय विचारहरुलाई त्यागी दिन्छौं । यसप्रकारको गल्ती गर्ने कमरेडहरुसँग व्यवहार गर्नलाई हाम्रा साथमा दुइृवटा हात छन्, एउटा उसँग संघर्ष गर्ने हात र अकोए उसँग एकताबद्ध हुने हात । यस संघर्षको उद्देश्य माक्र्सवादको सिद्धान्तहरुलाई दृढता साथ संघर्ष गर्नु हो, जसको अर्थ सिद्धान्तनिष्ठ हुनु हो । त्यो एउटा हात । अर्को हात चाहिं उसँग एकताबद्ध हुनु हो । एकताको उद्देश्य चाहिं उसलाई बाटो दिनु हो, उसँग सम्झौता गर्नु हो , जसको अर्थ लचिलो हुनु हो । सिद्धान्त र लचिलोपनाको एकता एक माक्र्सवादी सिद्धान्त हो र यो विपरीत तत्वहरुको एकता हो ।” माओका संकलित रचनाहरु भाग ५ नेपालीमा पृष्ठ ४२८ । अन्तर पार्टी एकताकै सन्दर्भमा माओ अर्को ठाउँमा भन्नुहुन्छ “एकता भन्नाले हाम्रो आससय ती मानिसहरुसँगको एकतता हो जसका तपाईहरुसँग मत भिन्नताहरु छन्, जसले तपाईहरुलाई तिरस्कारको दृष्टिले हेर्दछन् वा तपाईहरु प्रति साह्रै कम आदरभाव राख्दछन्, जसले तपाईहरुसँग कचिंगल गरेका छन् वा तपाईहरुसँग संघर्ष गरेका छन् र जसका हातबाट तपाईहरु सताइनु भएको छ । जहाँसम्म तपाईहरुसँग हर कुरामा सहमत हुने मानिसहरुको सवाल छ, उनीहरुसँग त तपाईहरु एकताबद्ध भइसक्नु भएको छ, तसर्थ उनीहरुसँग एकता गर्ने कुरा उठ्ने नै भएन । यहाँ त समस्या ती मानिसहरु सँगको हो, जसलाई एकताबद्ध तुल्याउन बाँकी नै छ । हाम्रो तात्पर्य ती मानिसहरुसँगको एकता हो, जसका विचारहरु तपाईहरुका भन्दा फरक छन् र जसका गम्म्भीर खोटहरु छन् ।” उही पृष्ठ २५३ मा माओका यी उद्धरणहरुबाट शिक्षा लिंदै पार्टी एकतालाई अरु उचाईमा विकास गर्नु आजको आवश्यकता हो । यो कामलाई सफल बनाउन यस एकता महाधिवेशनलाई सफल पारौं ।
राष्ट्रिय एकता महाधिवेशनलाई भव्य रुपमा सफल पारौं
Comments