इजरायल -हमास युद्ध र यसपालिको युद्धविराम

–नरेन्द्रबहादुर थापा
ठिक १५ महिना १३दिन पहिलेदेखि सुरु भएको इजरायल -हमास बीचको युद्ध गतआइतबार (१९ जनवरी २०२५) देखि कतारको राजधानी दोहामा वार्ताटोलीबीचको सहमतिबाट तोकिएको समय भन्दा ३घण्टा ढीलो गरी गाजामा युद्धविराम सुरु भएको छ । हमासले तीनजना महिला युद्धबन्दीहरू रेडक्रसलाई बुझाउँदै रिहा गरेको छ भने इजरायलले ९० जना बन्दीहरू रिहा गरेको कुरा बताइएको छ। हमासले रिहाइ गरेका महिलाहरुको नाम पहिले नै सार्वजनिक गरिएको थियो ।हमासले रिहा गरेका महिलाहरूको सूचीमा ३१ वर्षकी भेटेरेनरी नर्स ,२४ वर्षकी युवती र बृटिस -इजरायल दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ । हमाससँग ९४ जना बन्धकहरू छन्।ती मध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ। यो युद्धविराम चरणबद्ध रूपमा हुने भएको छ। पहिलो चरणमा हमासले इजरायली बन्धक छाड्ने र सट्टामा इजरायलले प्यालेस्टानी बन्दीहरू छाड्ने सहमति भएको छ । हमासले बन्दी बनाएका एकजना बन्दी बराबर इजरायलका ३० जना बन्दी रिहा हुनेछन्। साथै केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुन सुरु हुनेछ । यो पनि विगतका विभिन्न कालखण्डमा भए जस्तै अस्थायी युद्धविराम हो । यो चरण ६ हप्ताको लागि मात्र तोकिएको छ । यसरी पहिलो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ता हुने कुरा बताइएको छ।
युद्धविराम सुरु भएपछि दुवै पक्षमा खुसियाली छाएको छ।किनकि गाजामा घोषणा गरिएको युद्धविराम एउटा बहुप्रतिक्षित र महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। यद्यपि इजरायलका अति दक्षिणपन्थी रक्षामन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् । र युद्धविराम घोषणा भएपछि पनि कम्तीमा ८१ जनाको ज्यान गएको हमासले जनाएको छ। त्यसैले यो युद्धविरामको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन्छ वा हुँदैन शङ्का र चिन्ताको विषय बनेको छ। परन्तु सम्झौता कार्यान्वयन सुरु भएकोमा युद्धरत दुवै पक्षहरू लगायत विश्वका सम्पूर्ण न्यायपमी जनसमुदायहरू खुसी हुनु र स्थायी शान्तिको कामना गर्नु स्वभाविक कुरा भए पनि यो युद्धको कारण बुझ्नको लगि यसको ऐतिहासिक पृष्ठभुमि बुझ्न पर्ने आवश्यकता हुन्छ । यो युद्ध किन, कहिले र कसरी सुरुभयो भन्ने कुरा संक्षेपमा यहाँ उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

२०८० साल असोज २०गते तदनुसार सन २०२३ अक्टोबर ७ का दिन इजरायलमा ठूलो जनधनको क्षति हुने गरि भीषणआक्रमण भएको र त्यसको जिम्मा प्यालेस्टिनी लडाकु समुह हमासले लिएको कुरा सञ्चारमाध्यमका विविध स्रोतबाट सार्वजनिक भएको बिषयमा यो लेखबाट थप प्रष्ट पार्ने प्रयास गरिएको छ । हमासले गरेको यो आक्रमणलाई इजरायलले `अभुतपूर्व´ बताएको छ । सन् २००१ सेप्टेम्बर ११ मा अल्काइदाले अमेरिकामाथि गरेको हमला जस्तै भयो यो हमला इजरायलका लागि।
इजिप्ट, सिरिया लगायत अरब राष्ट्रले इजरायलमाथि आक्रमण गरेको ठिक ५० वर्ष र एक दिनपछि हमासले इजरायलमाथि आक्रमण गरेको हो । उक्त आक्रमणमा हमासले २०००भन्दा बढी रकेट प्रहार गरेको , सिमानामा लगाएका क्यामरा र सेन्सरमा गोली हानेको , इजरायली सैनिक हेडक्वाटरको सञ्चार समेत अवरुद्ध पारेको बताइएको छ ।त्यसपछि गत आइतबारसम्म इजरायलले जवाफी कारबाहीको नाममा प्यालेस्टाइन माथि अमेरिकाको सहयोगमा निरन्तर नरसंहार मच्चाइरहेको छ। अमेरिकाले इजरायलको सुरक्षाका लगि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

इजरायल र प्यालेस्टाइन बीचको लडाइ अहिलेको मात्र होइन ।उनिहरु वीचको द्वन्दको सताब्दिऔ पुरानो रक्तरन्जित इतिहास छ । सदियौंदेखि वेस्ट बैंक र गाजा मुस्लिम बहुल प्यालेस्टाइन थियो। यो पुरै भूभाग प्यालेस्टाइनीहरूको हो।अहिले यो भू-भाग इजरायली यहुदीहरुले कब्जागरी बस्दै आएका छन् र३००० वर्ष पहिले देखि यो भुमिमा आफुहरु बस्दै आएको बताउँछन् ।

यही भूमिको बेथलेहाममा करिब २०२५ वर्षअघि जेसस क्राइस्टको जन्म भएको थियो । क्राइस्टलाई करिब ३८ वर्षको उमेरमा सुली चढाई हत्या गरेकोले क्रिश्चियनका लागि पनि यो भूमि पवित्रस्थल मानिएको छ । यो भूमिमा विभिन्न कालखण्डमा वाहिरियाहरूले कब्जा गरे। सिकन्दर महान, रोमनहरूको कब्जामा पर्यो र जेरुसेलम ध्वस्त पारे। यहुदीहरु संसारभर छरिए। यसरी यो भूमिमा अहिलेसम्म पनि तानातान भईरहेको छ ।यसो हुनुको मूल कारण जाति र धर्म हो ।यही कारण जेरुसलेमको तानातानी भइरहेको छ र विवाद हाल सम्म पनि समाधान हुन सकेको छैन ।

प्राचीन कालमा हालको इजरायललाई असिरी र रोमीहरुले आक्रमण गरेका थिए। रोमन साम्राज्यका बेला प्यालेस्टाइनको नामाकरण गरिएको थियो। ईसापूर्व ७ दशकपछि यहुदीहरूलाई त्यहाँबाट बिस्थापित गरिएको थियो।
सातौं शताब्दीमा यो भूमि अरबहरू र त्यसपछि युरोपेलीहरूले कब्जा गरे । १५१६ मा अटोमन साम्राज्यले कब्जा गरी सिरिया र टर्कीको नियन्त्रणमा राख्यो। त्यसपछि बेलायतले कब्जा गर्‍यो। सन् १८८०को दशकमा प्रायः धेरै यहुदीहरु आएर यहाँ सामुहिक रूपमा बसाई गरे । यहुदीहरूको राजनैतिक पिता मानिने `थियो डर हर्जल´ले यहुदीहरूका लागि प्यालेस्टाइनमा छुट्टै राज्यको माग उठाउन थाले।
सन् १९१४ मा प्रथम विश्वयुद्धको बेलासम्म बसाईसराईको क्रम बढेर प्यालेस्टाइनको यहुदी जनसङ्ख्या दोब्बरभन्दा बढी भयो। विश्वयुद्धमा अटोमन साम्राज्यको पराजय भयो। र देशहरु विखण्डित भए। प्यालेस्टइन बेलायतको हिस्सामा आयो।त्यतिबेला अंग्रेज़हरुले यहुदीहरुलाई दिएको वचन कति पनि पूरा गर्न सकेनन् ।बेलायतले मध्यपूर्वलाई फ्रान्स संग भागबन्डा गरिसकेको हुनाले अरब र यहुदी दुवै पक्षका सशस्त्र समूहबीच झडप हुन थाल्यो।
सन् १९१७ मा बेलायती सरकारले प्यालेस्टाइनी यहुदीहरूलाई `राष्ट्रिय घर ´उपलब्ध गराई यस भूमिलाई यहुदी राज्यको आधार क्षेत्र बनाएको थियो।
अहिले करिब १५ महिना पहिलेदेखि सुरु भएको यो द्वन्द्वको कारण हालसम्म करीब १२००० इजरायलीहरूको ज्यान गएको छ भने करीब ५०००० हजार प्यालेस्टाइननीहरू मारिएका छन्।यो विवाद त्यतिबेलादेखि जारी छ जतिबेला यहुदीहरुले आफ्नो लागि छुट्टै राज्यको माग गरेका थिए ।
बिसौँ सताब्धिको सुरुमा युरोपको निशानामा परिरहेको बेला यहुदीहरूको छुट्टै राज्यको मागले गति लियो। यहाँ यहुदीहरूको ठूलो सङ्ख्यामा बसोबास हुन थालेपछि स्थानीय जनताद्वारा विरोध सुरु भयो।

दोस्रो विश्वयुद्धताका नाजीहरूको हातबाट यहुदीहरूको व्यापक नरसंहारपछि उनीहरूका लागि छुट्टै राज्यको मागको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब बढेका कारण बेलायतको नियन्त्रणमा रहेको उक्त क्षेत्र प्यालेस्टाइनी र यहुदीहरू बीच बाँडफाँड गरिने भयो । तर त्यसपछि बेलायतले यसलाई संयुक्त राष्ट्रसङ्घमा लगेर विचाराधीन राख्यो।
नोभेम्बर २९, १९४७ मा संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनलाई अरब र यहुदीहरु दुबैको लागि विभाजन गर्न मतदान गरी जेरुसेलमलाई बिशेष ब्यवस्था गरी अन्तर्राष्ट्रिय सहर बनाइदियो । यो कार्यलाई यहुदीहरूले मन्जुर गरेता पनि अरब पक्षले नमानेको कारण लागु हुन सकेन। यो असफल प्रयासपछि १९४८ मा ब्रिटिस शासकहरूले प्यालेस्टाइन छोडे।
आखिरमा मे १४, १९४८मा स्वतन्त्र राज्य इजरायल गठनको घोषणा भयो । त्यसको भोलिपल्ट प्यालेस्टाइन माथि बेलायतको नियन्त्रण समाप्त भयो । इजरायललाई संयुक्त राष्ट्रसंघका ८३%राष्ट्रहरूले मान्यता दिए ।इजरायलको स्थापना सँगै यो कार्य क्षत्रिय विवादमा परिणत भयो । अब इजिप्ट, जोर्डान, सिरिया र इराकले यस क्षेत्रमा आक्रमण गरे । यो अरब र इजरायलको पहिलो द्वन्द भयो। यो द्वन्दलाई नै यहुदीहरूको स्वतन्त्र सङ्ग्राम नामाकरण गरियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घले अरब राष्ट्रका लागि आधा भूमि छुट्याइदियो। त्यसै बेलादेखि नै प्यारेस्टाइनीहरूका लागि कष्टकर समय सुरु भयो। साढे सात लाख प्यालेस्टाइनीहरूलाई यहुदी सेनाहरूले धपाए। प्यालेस्टाइनीहरु छिमेकी देशमा शरणार्थी बने ।अरब र यहुदीहरूको यो नै अन्तिम द्वन्द हुन सकेन। १९५६ मा पनि इजरायल र इजिप्ट बीच द्वन्द भयो। तर यसको समयमै समाधान भयो।

सन् १९६७ मा जुन ५ देखि १० सम्म अरब र इजरायल बीच ६ दिने युद्ध भयो। त्यसको दीर्घकालीन प्रभाव रह्यो। अरब राष्ट्रहरूको सैन्य गठबन्धनपछि इजरायल विजयी भयो । इजरायलले गाजापट्टि, इजिप्टको सिनाइ प्रायद्वीप, जोर्डानबाट वेस्ट बैंक (पूर्वी जेरुसेलम सहित) र सिरियाबाट गोलान हाइटस सम्म आफ्नो नियन्त्रणमा लियो। ५० लाख प्यालेस्टानीहरू विस्थापित भए।
यासिर अराफात सन् १९६९ मा पीएलओका प्रमुख भए । त्यसपछि उनी झण्डै चार दशक इजरायल विरोधी प्यालेस्टाइनी आन्दोलनको प्रतीक बने।
सन् १९७३ को `यौनकीपुर´ युद्ध अन्तिम अरब इजरायल सङ्घर्ष थियो। यो युद्ध इजिप्ट र सिरियाले लडेका थिए। इजिप्टले सिनाई प्रायद्वीप पुन प्राप्त गर्यो ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिमा शाह -पलवी वंशलाई सत्ताच्युत गरेर कट्टरपन्थीले शासन गर्न थालेपछि इरान अमेरिका जस्तै इजरायलको पनि कट्टर दुश्मन बन्यो।
सन् १९८२ मा इजरायलले यस क्षेत्रमाथि आफ्नो दाबी छोडेको थियो। तर गाजामा दाबी छोडेन। ६ वर्षपछि इजिप्ट र इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पहिलो अरब राष्ट्र बन्यो । अहिले सम्म पनि जोडान (आजको इजरायल)लाई यहुदीहरुले आफ्नो प्रथम पुर्खा अब्राहमलाई ईश्वरले दान दिने प्रतिज्ञा गरेको कुरा विश्वास गर्दछन् ।

सन् १९९०को दशकको सुरुमा नर्वेको राजधानी ओस्लोमा इजरायल र पिएलओको शान्तिवार्ता हुन थाल्यो । त्यसपछि १९९३ र १९९५ मा गरी दुईवटा शान्ति सम्झौता भए। दुवैले एक अर्काको अस्तित्व स्वीकार गर्न थाले। सम्झौता अनुसार अराफातको नेतृत्वमा प्यालेस्टाइनीको सुशासनको निम्ति पाँच वर्षका लागि अन्तरिम प्यालेस्टानीयन नेशनल अथोरिटी बनाउने सहमति भयो।
पहिलो सम्झौतापछि १९९४ मा अराफात र तत्कालीन इजरायली प्रधानमन्त्री पेरेजले नोवेल शान्ति पुरस्कार समेत पाए । तर दुई राज्य बनाउने सम्झौता दुवै पक्षले विरोध गर्दै आएका थिए।
सन् १९८७ मा भएको पहिलो इन्तिफा अर्थात् आन्दोलन पछि गठन भएको हमासले पुरै भूभाग प्यालेस्टाइनीको हुनुपर्ने भनेर इजरायल माथि हमला जारी राख्यो । तर पनि अराफातको उचाइका कारण उनी नै प्यालेस्टाइनका वैध प्रतिनिधि बनिरहेका थिए ।
४ नोभेम्बर १९९५ मा इजरायली कट्टरपन्थीले प्रधानमन्त्री रविनको हत्या गरेपछि इजरायलमा भने शान्तिपक्षधर कमजोर हुँदै गए। अराफातसँग हात मिलाउँदा प्यालेस्टानीलाई इजरायलको तर्फबाट `इनफ अफ ब्लड एण्ड टेयर्स´ इनफ !भन्ने रबिनकै रगत बगेपछि शान्ति प्रक्रियामा ग्रहण लाग्यो ।
इजरायलले त्यसपछि आफूमाथि भएका आन्दोलन बल प्रयोगद्वारा निस्तेज गर्यो। प्यालेस्टाइनी नियन्त्रणमा अहिले गाजा अनि जोर्डान नदी र डेड सीको पश्चिममा रहेको वेस्ट बैंक छ। ३६५ वर्ग किलोमिटर क्षेत्रफल भएको गाजा र ५८६० वर्ग किलोमिटरको वेस्ट बैंकको बीचमा इजराइली भूमि छ ।
सन् २००५ मा गाजाबाट इजरायलले सेना र आफ्ना नागरिक फिर्ता गरेपछि हमासले युद्ध गरेर प्यालेस्टाइनी अथोरिटीको नेतृत्व गर्ने फताहा समूहलाई हराएर सन् २००७ मा गाजालाई आफ्नो नियन्त्रणमा लियो। वेस्ट बैंकमा भने फताहाले नेतृत्व गरेको प्यालेस्टाइनी अथोरिटीले प्रशासन चलाउँछ ।
अहिले पनि वेस्ट बैंकका थुप्रै ठाउँहरूमा इजराइली सैनिक पोस्टहरू छन्। त्यहाँ इजरायलले व्यापक यहुदीहरुको विस्तार गरेको छ।
सन् २००४ मा अराफतको निधनपछि २००५ मा निर्वाचन जितेका अमूत अब्बास प्यालेस्टाइनी अथोरिटीका प्रमुख छन्। उनी नै प्यालेस्टाइनी राज्यको राष्ट्रपति पनि हुन् ।
सन् २००५ पछि वेस्ट बैंकका निर्वाचन भएको छैन। र हाल ८७ वर्षको अब्बासको सरकारले विदेशी सहायता रकमको व्यापक भ्रष्टाचार गरेकोले उनलाई प्यालेस्टाइनी जनताले मन पराउँदैनन्।
हमास प्यालेस्टाइनी जनताको सच्चा प्रतिनिधि हो। तर इजरायल र अमेरिकाले उसलाई आतंककारी मान्दछन्।
बेन्जामिन नेतेन्याहु प्रधानमन्त्री भ्रष्टाचारबाट बच्ने उद्देश्यले अरुसँग गठबन्धन गरेका छन्। उनीहरूको धेय वेस्ट बैंक र गाजाको सारा भूमिलाई इजरायल बनाउने हो।
वेस्ट बैंक र गाजालाई इजरायलमा मिसाए पनि प्यालेस्टाइनीलाई यहुदीसरह मान्यता दिन उनीहरू मन्जुर छैनन्।
अहिलेको अवस्थामा हमास नियन्त्रित गाजामा इजिप्टसँग मिलेर इजरायलले नाकाबन्दी लगाएको छ भने वेस्ट बैंक इजरायलको नियन्त्रणमा छ। संयुक्त राष्ट्र सङ्घका लगभग सबै राष्ट्रले चाहेको `स्टेट सोलुसन´अहिलेको अतिवादी इजराइली सत्ताले स्वीकार्दैन ।
अतिवादी इजरायलले सधैँ प्यालेस्टाइनीमाथि अन्याय र अत्याचार गरी दबाएको छ।
दोस्रो विश्वयुद्धताका हिटलरले गरेको यहुदीको नरसंहारका कारण सुरुमा गैरमुस्लिम देशहरुले इजरायलप्रति सहानुभूति देखाएका थिए । तर शान्ति आर्जन गरेर बलियो भएको इजरायलले पछिल्लो दशकमा निरीह प्यारिस्टाइन माथि गरिएको अत्याचारको धेरैले विरोध गरेका छन् । हामी पनि घोर विरोध गर्दछौं ।अहिले मानवीय सहानुभूति प्यालेस्टाइनीमाथि छ ।
सन् १९६७ को युद्धमा गाजापट्टी इजरायलको नियन्त्रणमा थियो। यसले (इजरायलले)सन् २००५ मा गाजापट्टीमा आफ्नो कब्जा छोड्यो। हाल गाजापट्टि इजरायलको सशस्त्र समूह हमासको नियन्त्रणमा रहेको छ। हमासले अन्य प्यालेस्टाइनी गुटहरूसँगको इजरायलको सम्झौतालाई अस्वीकार गर्दछ।

यसको विपरीत प्यालेस्टइनी राष्ट्रिय प्राधिकरणले वेस्ट बैंकलाई कब्जा गरेको छ।यस प्राधिकरणलाई अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइनीहरुको सरकारको रूपमा मान्यता दिएको छ । यस क्षेत्रको शान्ति प्रक्रियामा अवरोध ल्याउने केही विषयहरू छन्। ती हुन्: स्वतन्त्र प्यालेस्टाइनी राज्यको निर्माणमा ढिलो हुनु , वेस्ट बैंकमा यहुदी बस्ती निर्माण हुनु र प्यालेस्टाइन क्षेत्र वरपर इजराइलको सुरक्षा घेराबन्दी हुनु। इजरायलको यो घेराबन्दीलाई हेग स्थित अन्तर्राष्ट्रिय अदालतले गलत भनेको छ।
सन् २००० मा अमेरिकी राष्ट्रपति बिल्ड क्लिन्टनको उपस्थितिमा अमेरिकाको क्याम्प डेविडमा दुई पक्ष बीच मेलमिलापको प्रयास गर्दा यिनीहरु बीचको शान्तिको बाटोमा यी मात्रै समस्या नभएर अरु पनि अवरोधहरू भएको कुरा प्रष्ट भएको थियो। दुई पक्ष बीच, जेरुसेलेमको सिमाना र भूमि, यहुदी बसोबास र प्यालेस्टानी शरणार्थीको मुद्दामा सहमति भएन। क्लिन्टनको प्रयास असफल भयो।
इजरायलले जेरुसेलम आफ्नो क्षेत्र भएको र जेरुसेलम यसको राजधानी रहेको दाबी गर्दै आएको छ । तर यसले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन। प्यालेस्टाइनी पक्षले पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छ।
प्यालेस्टाइनीहरुले ६दिनको अरब –इजरायली युद्ध अघि अर्थात् जुन ४ ,१९६७ अघिको अवस्था अनुसार आफ्नो सीमा निर्धारण गर्नुपर्ने भनी माग राखेका छन्।जसलाई इजरायलले मान्दैन । यहुदी बस्ती स्थापना गरेको भूमि इजरायलले नियन्त्रण गरेको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार नै यो अवैध छ। इजरायलले उनीहरूको भूमि कब्जा गर्न पाइँदैन। वेस्ट बैंक र पूर्वी जेरुसेलमका यी बस्तीहरूमा आधाभन्दा बढी यहुदीहरू बसोबास गर्दछन्।
प्यालेस्टिनी शरणार्थीहरूको वास्तविक सङ्ख्या १ करोडभन्दा बढी रहेको प्यालेस्टाइनी राष्ट्रिय प्राधिकरणले बताउँछ। तिनीहरूमध्ये आधा हिस्सा संयुक्त राष्ट्रसङ्घमा दर्ता छन्।

प्यालेस्टिनीहरूको भनाइ अनुसार प्यालेस्टिनी शरणार्थीलाई आफ्नो भूमिमा फर्किने अधिकार छ। यो उनीहरूको जायज माग हो।तर अहिले प्यालेस्टाइनी लडाकुहरुका मागहरू कति पूरा भए भन्ने कुराले युद्धविराम कति दिगो हुने भन्ने कुरा निर्धारण गर्दछ ।

यसैगरी सदियौंदेखि जात,जाति धर्म, वर्ण र वर्ग विभेदका आधारमा विश्वभर विभिन्न देशको बीचमा युद्धहरू हुँदै आएका छन् । इजरायल- प्यालेस्टाइन बीचको युद्ध पनि त्यही अन्तर्गत हुँदै आएको युद्ध हो। अहिले भएको युद्धविराम सकारात्मक भए तापनि विगतमा भएका सम्झौता जस्तै यो पनि अस्थायी युद्धविराम मै सिमित हुनेछ। किनकि वर्गभेद, जातिभेद ,धर्म र वर्ण विभेदको अन्त्य नहुँदासम्म यो वर्गीय समाजमा अन्याय , अत्याचार , स्वषण ,दमन र उत्पिडन भइनै रहन्छ र विगतको जस्तै मानव- मानव बीच द्वन्द भइ नै रहन्छ। यसको अन्त्यको लागि पुँजीवादी युगकै परिवर्तन गर्नुपर्दछ र समाजवाद र साम्यवादमा जानुपर्दछ। तब मात्र मानव जातिमा न्याय ,समानता र स्वाधीनता प्राप्त भएर स्वषणरहीत समाजको निर्माण हुन सक्दछ । त्यसको लागि संसारका तल्लो वर्गका गरिब किसान, मजदुर तथा सर्वहारा जनता एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन ।
मिति २०८१ माघ ८गते

 

 

 

 

 

 

 

 

Th

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित