-प्रेम सुवेदी
नेपालको राजनीतिमा बेग्ला बेग्लै पक्ष नागरिक समाज, राजनीतिक पार्टी,विभिन्न संघ सस्था सबै कोणबाट देशको राजनीतिक निकास खोज्न प्रयत्न गरे पनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । बिरामीको वर्षौ उपचार गर्दा रोग पत्ता नलागे जस्तै बनेको छ नेपालको राजनीतिक अवस्था । यसलाई कसैले नेतृत्वको असफलता बताउँछन् त कतिपयले शासकीय स्वरुप, कसैले निर्वाचन प्रणालीमा दोष देख्छ त कसैले संघीयता र अलि पृथक बिचार हुनेहरू यो व्यवस्थामा नै खोट रहेको देख्छन । यी बहसहरु आआफ्नो ठाउँमा चल्दै आएका छन र चल्दै पनि जालान । तर नेपालको राजनीतिमा रहेको क्रोनिक भनेको मुख्यतः राज्यसत्ताको प्रतिक्रियावादी चरित्र नै हो।जसले देशको आवश्यकता र जनताका चाहानालाई भन्दा साम्राज्यवाद र बिस्तावादको सेवा र दलाली मात्रै गर्दै आयो । देशमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनले त्यो राज्यसत्ताको प्रश्नलाई ठिक ढ्ङ्गले हल गर्न सकेन ।
राजनीति र राज्य सत्ताको विषय समाजको वर्ग सापेक्ष प्रश्न भएकोले नेपालको राजनीति पनि त्यो कुरावाट अलग छैन । र ,अहिले सम्म भएका ऐतिहासिक संघर्ष, जनआन्दोलन, बिद्रोह वा जनयुद्धले पनि आफ्नो उद्देश्य पुरा गर्न सकेनन् र ती सबै सघर्षहरु मुलतः सम्झौतामा टुङ्गिए । जसले नेपालको राजनीति थप अन्यौलग्रस्त बन्यो । यसको अर्थ नेपालको राजनीतिमा कुनै उपलब्धि नै भएन भन्ने होइन । बरु, ती उपलब्धिहरुले देश र जनताको आवश्यकता पुरा हुन सकेन भन्ने् यथार्थता अहिले समाजमा देखिएका अन्तरबिरोधले नै प्रष्ट देखाउँछ । तसर्थ, जनता र देशको आवस्यकतालाई पूरा गर्न अहिलेसम्म प्रयोगमा आएका व्यवस्थाद्वारा सम्भव भएन र त्यो भन्दा उन्नत र प्रगतिशील व्यवस्थाले मात्र यो अन्तरबिरोध हल गर्न सक्दछ र हाम्रो प्रयत्न त्यो दिशामा हुनु पर्दछ । अहिलेको संसदीय लोकतान्त्रिक गणतन्त्रमा जनाधिकारका केही हकहरु सम्बोधन भए पनि देशको राष्ट्रिय स्वाधीनता र जनताको आर्थिक समस्यालाई सम्बोधन गर्न सकेन । त्यसैले त्यो अधुरो कामलाई पुरा गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर बहस, छलफल र विमर्श गरियो भने मात्र सही निष्कर्षमा पुग्न सकिएला अन्यथा देश थप संकटको भुमरीमा जाने निश्चित जस्तै छ । देशको कुनै पनि पार्टी वा सचेत नागरिक अहिलेको राजनीतिबाट सन्तोष देखिंदैन र आ आफ्ना ठाउँबाट निकास खोज्न प्रयत्नशील रहेको देखिए पनि परिणाम त्यस्तो केहि देखिंदैन । राजनीतिमा नियत वा आसयको पनि अर्थ र महत्व हुन्छ तर निर्णायक कुरा परिणाम नै हो ।
जस्तो आर्थिक आधार छ राजनीतिक व्यवस्था पनि त्यस्तै बन्छ भन्ने कुरा आम मान्यता हो र नेपालको राजनीति पनि त्यही गोलचक्करमा कैद हँुदै आएको छ । नेपालका सबै आन्दोलन वा संघर्षमा जनताले गरेको त्याग वलिदान र समर्पणले जुन उचाई कायम ग¥यो । राजनैतिक नेतृत्वले त्यो उचाईलाई आत्मसात गर्न सकेन जसको परिणाम हरेक आन्दोलन सबै सम्झौतामा टुङ्गिए ।
त्यसैको नियति जनताले नराम्रो गरि भोग्नु परेको छ । राजनीतिक रुपमा नेपाली जनताले गरेको संघर्षको गौरव गाथा जसरी विश्वव्यापी बन्यो, तर आर्थिक र प्राबिधिक क्षेत्रमा पछाडि रहनुले कैयौं राजनैतिक उपलब्धिहरु सस्थागत हुन सकेनन् । हरेक आन्दोलन वा संघर्षको टुङ्गो अन्ततः साम्राज्यवाद र मुख्यतः भारतीय बिस्तारवादको अगुवाइमा हुनुले नेपालको स्वतन्त्र भूमिका कमजोर रहेको यथार्थलाई देखाउँछ । त्यसका पछाडि हाम्रो अर्थतन्त्रमा रहेको परनिर्भरता, भारतीय पुँजीको एकाधिकार, नेपालका शासकहरु तथा राजनीतिक पार्टीहरुको सम्झौतापरस्त नीति र दलालीका कारण देशको स्वाभिमान, स्वतन्त्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्दै आएको छ ।
नेपालको राजनीतिमा रहेका यी विभिन्न जटिलता र संकटको समाधान संविधानको संशोधन, शासकीय स्वरुपमा हेरफेर, निर्वाचन प्रणालीको सुधार जस्ता विषयले समाधान दिंदैन र त्यो विकल्प पनि होइन । यसका साथै कतिपय व्यक्ति वा पार्टीले मौजदा पार्टी र नेतृत्वबाट अहिलेको समस्या समाधान नहुने भएकोले नयाँ व्यक्ति वा नयाँ शक्तिले नै त्यो निकास दिन सक्छ भन्दै परम्परागत पार्टी र नेतृत्वको शासनबाट आजित भएको असन्तोष र निरास पङ्तिलाइ आफ्नो भोट बैकको रुपमा प्रयोग गरेर ब्यवस्था होइन अवस्था परिवर्तन गर्ने जुन नारा दिए । त्यो पनि अब पानीको फोका फुटे जस्तै बजारमा पोखिएको छ । त्यो राजनैतिक विकल्प थिएन, होइन र हुँदैन पनि । त्यसले अहिलेको राजनीतिक निकास खोज्दा विद्यमान व्यवस्था र सत्ता भित्रबाट सम्भव छैन ।
तसर्थ, अबको वैकल्पिक राजनैतिक बाटो भनेको विद्यमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र जनताको जनवादी राज्यसत्ता स्थापनां गर्दै वैज्ञानिक समाजवाद निर्माण गर्नु हो । त्यसका लागि एकातिर दलाल नोकरशाही पुँजीवाद र कमजोर अवस्थामा रहेको सामन्तवर्गको अन्त्य र अर्कोतिर साम्राज्यवाद÷ विस्तारवादको शोषणलाई समाप्त गरेर त्यो ऐतिहासिक कार्य पूरा हुनेछ । उक्त कार्य सम्पन्न गर्न तथा देशको राजनीतिक दिशालाई सही बाटोमा डोराउन मुख्यतः कम्युनिस्ट क्रान्तिकारीहरु, देशभक शक्तिहरु,उत्पीडित वर्ग, मजदुर, किसानहरु, उपेक्षित र उत्पीडित समुदाय, दलित, आदिवासी, जनजाति र अल्पसंख्यक समुदाय तथा निम्न मध्यमवर्गीय उद्योग व्यापारीहरु र राष्ट्रिय पुजिपतिहरु समेतको व्यापक संयुक्त मोर्चा निर्माण गर्दै जनस्तरबाटै सघर्षको विकास गरेर मात्रै अहिलेको राजनीतिक निकास सम्भव हुबेछ । त्यसका सबै क्षेत्रबाट रचनात्मक पहल र आवश्यक वातावरण निर्माण गरौं ।